|
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाइला चालेको लगभग १६ वर्ष नाघिसकेको छ । यसबीच नेपालले थुप्रै सफलताको स्वाद चाखेको छ भने असफलताको पीडा कम्ता भोगेको छैन । तथापि, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लेको मान्नै पर्ने हुन्छ । यसको ताजा उदाहरण हो भर्खरै काठमाडौंमा सम्पन्न एसिसी टी-२० क्रिकेट । नेपाल फाइनलमा पराजित भयो, बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसित । तर, फाइनलसम्मको यात्रा तय गर्दा नेपालले समर्थकलाई बलियोसित प्रभावित पारिसकेको थियो । सामान्यतया ब्याटिङमा कमजोर, त्यसमा पनि २० ओभरको प्रतियोगितामा ठूला सटहरू लगाउन नसक्ने नेपालले यसपटक टोलीमा आएको सुधारको धेरै प्रमाण पेस गरेको छ । कुनै समय थियो, नेपाली क्रिकेट केवल बलिङमा निर्भर हुने गथ्र्यो । ब्याट्सम्यानहरू पूरा ओभर बिरलै क्रिजमा टिक्न सक्थे । तर, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट टोली बिस्तारै बलिङबाट ब्याटिङकेन्दि्रत बन्दै गएको देखिन्छ । यस प्रतियोगितामा पनि नेपालका बलरको तुलनामा ब्याट्सम्यानहरू बढी चम्के र त्रिवि मैदानमा उपस्थित दर्शकको उर्लंदो भिडलाई चौका र छक्काको वषर्ा गरेर मनोरञ्जन दिलाए । फाइनलसम्मको यात्रामा नेपालको प्रदर्शनले सन्तुष्ट भइसकेका दर्शकले फाइनलमा अफगानिस्तानसित पराजित हुँदा पनि खासै अफसोस मानेनन् । कीर्तिपुरमा एसिसी टी-२० कपमा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले केही कीर्तिमानी प्रदर्शन दिए, जुन छोटो ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको अहिलेसम्मकै अब्बल प्रदर्शन दरिन पुग्यो । नेपाल फाइनलमा अफगानिस्तानसँग पराजित हुँदा लगातार तीन उपाधि भित्र्याउनबाट वञ्चित भयो । तर, फेरि खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई हेर्दा नेपालले अर्काे उपाधि भित्र्याए झैँ लाग्छ । एसिसी टी-२० कपमा सिंगापुरविरुद्ध बनाएको दुई सय १० रनको योगफल नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको सर्वाधिक ठूलो योगफल थियो भने प्रतियोगिताकै दोस्रो ठूलो । सिंगापुरविरुद्धको एक सय २१ रनको जित पनि अहिलेसम्मकै ठूलो जित अन्तर बन्न पुग्यो । खेलाडीहरूको व्यक्तिगत प्रदर्शनको मूल्यांकन गर्दा कप्तान पारस खड्काले हङकङविरुद्ध ८७ रन हाने, जुन २० ओभरको प्रतियोगितामा नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक हो । युवा ब्याट्सम्यानद्वय प्रदीप ऐरी र विनोद भण्डारी पनि खुबै चम्के । नेपालले खेलेका पछिल्ला तीन प्रतियोगितामा नेपाली खेलाडी 'म्यान अफ दि सिरिज' चुनिएका छन् । डिभिजन चारमा अफ स्पिनर बसन्त रेग्मी 'म्यान अफ दि सिरिज' घोषित हुँदा एसिसी ट्रफी एलिट र एसिसी टी-२० कपमा कप्तान पारस खड्का 'म्यान अफ दि सिरिज' घोषित भए । टी-२० मा फाइनलमा हारे पनि पारसले गरेको प्रदर्शन उत्कृष्ट थियो । नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनबाट विदेशी प्रशिक्षकसमेत मोहित छन् । सन् २०११ मा नेपाल छाड्नुअघि १० वर्ष नेपाली टोलीलाई प्रशिक्षक दिएका श्रीलंकाली प्रशिक्षक रोय लुक डायस अहिले नेपाली खेलाडी निक्कै परिपक्व भएको स्वीकार गर्छन् । समूह चरणको तेस्रो खेलमा नेपालसँग उनको टोली मलेसिया पराजित भएपछि प्रशिक्षक डायसले भनेका थिए, 'पछिल्लो समय नेपाली खेलाडीमा निक्कै परिवर्तन आएको रहेछ, अहिले नेपाली खेलाडी निक्कै परिपक्व भएका रहेछन्, साथै उनीहरूमा आफैँलाई विश्वास गर्ने क्षमता बढेको देखेँ ।' फाइनलमा नेपाललाई पराजित गर्दै लगातार चौथोपटक उपाधि जितेको अफगानिस्तानका प्रशिक्षक कबिर खानले पनि नेपाली टोलीको खुलेरै प्रशंसा गरे । उनले एसियन बरियतामा नेपाली टोली टेस्ट मान्यताप्राप्त एसियाका चार राष्ट्र -भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश) र अफगानिस्तानपछि नेपाली टोली रहेको बताए । 'नेपाली टोली निक्कै उत्कृष्ट छ,' उनले भने, 'तर अझै अन्तर्राष्ट्रिय उपाधि भित्र्याउन नेपाली टोलीले माथिल्लो स्तरका टोलीसँग प्रतिस्पर्धा गर्न आवश्यक छ ।' एसिसी टी-२० कपको म्याच अफ दि सिरिज घोषणा गर्ने क्रममा एसिसीका म्याच रेप|mी रमेश रत्नायकेले भनेका थिए, 'ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकाले मेरो म्यान अफ दि सिरिज पारस हुन्, उनलाई यो उपाधि टोलीको सफल कप्तानी गरेकाले पनि दिइएको हो ।' यसको मतलब पारसले प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शन त गरेकै थिए, उनले सफल कप्तानी पनि निभाएका थिए । त्यसैले म्याच रेप|mी रत्नायकले अन्त्यमा सफल कप्तान जोडेका थिए ।
चुनौती छनोटको
नेपालले एसिसी टी-२० कपको उपाधि गुमाए पनि फाइनलसम्मको यात्रा तय गर्दै आगामी डिसेम्बरमा युएईमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ । उक्त प्रतियोगिता अर्काे वर्ष बंगलादेशमा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोट प्रतियोगिता हो । १६ टोली सहभागी हुने उक्त प्रतियोगितामा अन्तिम ६ भित्र पर्ने टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ । त्यसैले अब नेपालको चुनौती युएई प्रतियोगितामा अन्तिम ६ भित्र पर्दै विश्वकप खेल्ने रहेको छ । नेपाली टोलीका प्रशिक्षक र कप्तानलाई विश्वास गर्ने हो भने यसपटक विश्वकप खेल्ने नेपालको योजना सफल हुनेछ । प्रशिक्षक दासानायके भन्छन्, 'छनोट प्रतियोगितामा हामीले यसअघि पराजित गरेका टोली पनि छन्, त्यसैले हामीले स्वाभाविक खेल पस्कन सके विश्वकप खेल्ने हाम्रो सपना पूरा हुनेछ ।' कप्तान पारसले भने त्यसका लागि अझै निक्कै तयारी गर्नुपर्नेछ । उनले भने, 'हाम्रा लागि त्यो असम्भव छैन, तर त्यसका लागि अझै निक्कै मिहिनेत गर्न आवश्यक छ ।'
वाह दर्शक !
नेपाली खेलकुदमा उपलब्धि जस्तै होस्, दर्शकहरूले फुटबललाई धेरै माया गर्छन् । रंगशालामा जुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भए पनि नेपाली टोलीको समर्थनमा हजारौँ दर्शक पुग्छन् । तर, आजभोलि क्रिकेटमा दर्शकको चाप बढ्न थालेको छ । यसै हप्ता सम्पन्न एसिसी टी-२० कपका लागि नेपाली टोलीले खेलेको हेर्न हजारौँको संख्यामा दर्शक टियू क्रिकेट मैदानमा ओर्लिए । दर्शकले नेपाली टोलीलाई माल्दिभ्सविरुद्ध समूह चरणको खेलबाटै साथ दिएका थिए । नेपाल लगातार जित हात पार्दै सेमिफाइनल र फाइनलसम्म पुग्दा दर्शकको मानवसागर नै ओर्लियो । युएईविरुद्धको सेमिफाइनलमा १५ हजारको हाराहारीमा दर्शक कीर्तिपुर पुगेका थिए । तर, अफगानिस्तानविरुद्धको फाइनल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आएको स्वयम् क्यानले दाबी गरेको छ । फाइनल खेल हेर्न बस्ने ठाउँ नपुगेर दर्शकले बाहिरबाट घेरिएको सबै बार तोडिदिएका थिए । दर्शकको साथ र उपस्थिति नेपाली क्रिकेटका लागि वरदान र अभिशाप दुवै सावित भएको छ । वरदान यसकारण कि नेपालले तिनै दर्शकलाई देखाएर भौतिक संरचनामा आफूभन्दा निक्कै अघि रहेका राष्ट्रहरूलाई पछि पार्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको छ । तर, झन्डै १६ महिनाअघि आईसिसी विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत सिंगापुरविरुद्धको खेलमा दर्शकले ढुंगामुढा गरेपछि आइसिसी र एसिसीले नेपाललाई झन्डै दुई वर्ष कुनै प्रतियोगिता दिएन । यसपटक फेरि तिनै दर्शकको साथ देखाएर नेपालले एसिसी टी-२० कप आयोजनाको जिम्मेवारी लिएको थियो । तर, नेपाललाई फेरि दर्शकले त्यस्तै व्यवहार गरिदिने हुन कि भन्ने डर थियो । तर, यसपटक दर्शक निक्कै भव्य देखिए । नेपालले राम्रो खेल्दा वा हारनजिक पुग्दा पनि दर्शकले नेपाली टोलीलाई हौस्याइरहे । त्यसैले खेलपछि आयोजक नेपाल क्रिकेट संघ -क्यान) महासचिव अशोकनाथ प्याकुरेल निक्कै हषिर्त देखिए । उनले प्रतियोगिता सोचेको भन्दा निक्कै सफल सम्पन्न भएको बताए । 'दर्शक सहभागिता र व्यवस्थापनका हिसाबले हामी यसपटक निक्कै सफल भयौँ, हामीले प्रतियोगिताको सफल सञ्चालन गरेका छौँ,' उनले भने ।' महासचिव प्याकुरेलले यसपटक दर्शकको साथ अभूतपूर्व रहेको समेत बताए । क्यानले टियू क्रिकेट मैदानमा खेल हेर्न आउने दर्शकका लागि पहिलोपटक 'टिकट'को व्यवस्था गरेको थियो । टिकट बेचेरै क्यानले आधा करोडभन्दा बढी रकम उठायो । तर, टिकट सकिएपछि धेरैजसो दर्शकलाई क्यानले टिकटै नलिई मैदानभित्र पठाउन बाध्य भयो । साथै टिकट बिक्री गर्ने स्थानसमेत सहज देखिएन । टिकट काट्ने ठाउँ नै थाहा नपाउने तथा भएका टिकट सेन्टरहरूमा पनि लामो लाइन बस्नुपर्नेलगायत समस्या देखियो ।
श्रीलोचन राजोपाध्याय/दीपेन्द्र गुरुङ
|
|
ललितपुर सैँबु बस्ने पूर्वराजाका आफन्त सुमनसिंह जोधाको घरबाट गतवर्ष एक करोडभन्दा बढीको डकैती भएपछि प्रहरीमा सनसनी मच्चियो । घरबाट एकैचोटि करोडमाथि डकैती हुनुभन्दा पनि अनुसन्धानका लागि विभिन्न समिति गठन गर्दा लामो समयसम्म पनि कुनै तथ्य पत्ता नलाग्नु प्रहरीका लागि टाउको दुखाइको विषय भएको थियो । ५/६ जनाको एक समूहले हातहतियार देखाएर घरका सदस्यलाई नियन्त्रणमा लिई नगद तथा बहुमूल्य सामान लिएर भागेका थिए । मुखमा रुमाल बाँधेर आएका उनीहरूलाई जोधाका परिवारले पहिचान गर्न सकेनन् । जोधाको घरमा जस्तै गतवर्षयता राजधानीमा अन्य ६ डकैतीका घटना भए । गतवर्ष फागुनमा काठमाडौंका पुष्पमणि गौतमको घरमा जोधाकै घरमा जस्तै गरी डकैती भयो । ललितपुरको धापाखेल बस्ने दिनेश श्रेष्ठको घरबाट यही वर्ष पनि त्यस्तै प्रकृतिको डकैती भयो । त्यस्तै, गत असोज २५ गते चपली हाइट बस्ने विराट सुजका मालिक विराट थापाको घरमा नकाबधारी समूहले हतियार देखाएर नगद र धनमाल गरी २५ लाखभन्दा बढी डकैती गर्यो । त्यस्तै, ललितपुरको भैँसेपाटी बस्ने प्रतिमा कायस्थको घरबाट गत २९ मंसिरमा अर्काे डकैती भयो । यी पाँचैवटा घटनाको प्रकृति उस्तै थियो । घरमा भएको कुकुर तथा गार्डलाई पहिला नै नियन्त्रणमा लिने वा हत्या गर्ने । त्यसपछि हतियार देखाई घरका परिवारलाई नियन्त्रणमा लिएर धनमाल लिएर भाग्ने । एकपछि अर्काे गर्दै भएका डकैतीका घटनाले प्रहरीको टाउको दुखेको थियो । एउटा घटनाकै अनुसन्धान असफल भइरहेका वेला अर्काे समूहले डकैती गर्दा प्रहरी तनावमा पर्नु स्वाभाविक थियो । निकै दुःख गर्दा पनि प्रहरीले डकैतीमा संलग्नबारे केही पत्ता लगाउन सकेको थिएन । प्रतिमा कायस्थको घरमा भएको डकैतीको अनुसन्धानको क्रममा भने प्रहरीले अनुसन्धानमा एउटा महत्त्वपूर्ण तथ्य फेला पार्यो । त्यही तथ्य केलाउँदै जाँदा पृथ्वी लिम्बू र राजेश लामा गत १५ पुसमा पक्राउ परे । उनीहरूमाथि अनुसन्धान गर्दा ती ६ वटै घटनामा सोही समूह संलग्न भएको खुल्यो । प्रहरीलाई केही राहत भयो । थप अनुसन्धान गर्ने क्रममा अर्काे अचम्मको तथ्य खुल्यो । घटनाका प्रमुख नाइके थिए 'मस्ट वान्टेड' अपराधी गोकुल गिरी । गिरी तिनै व्यक्ति हुन्, जसको समूहले पाँच वर्षअघि डा. उपेन्द्र देवकोटाकी छोरीको अपहरण गरेको थियो । सो घटनादेखि फरार रहेका गिरी पछिल्लो समयमा डकैती गिरोह सञ्चालन गर्दै आएका थिए । गत २९ मंसिरमा ललितपुरको सैँबुमा भएको १० लाख रुपैयाँबराबरको डकैतीसमेत मस्ट वान्टेड गिरीकै संलग्नतामा भएको थियो । खुकुरी देखाई घरका सदस्यलाई नियन्त्रणमा लिई प्रतिमा कायस्थको घरबाट १० लाखबराबरको धनमाल डकैती भएको थियो । त्यस्तै, ललितपुरमै ९ भदौमा सो समूहले अर्काे ठूलो डकैती गरेको थियो । धापाखेलनिवासी दिनेश श्रेष्ठको घरबाट उनीहरूले करिब १० लाखबराबरको धनमाल चोरी गरेका थिए । सो समूह राजधानीको हालसम्मकै सबैभन्दा 'प्रोफेसनल' आपराधिक गिरोह रहेको प्रहरी अधिकारी बताउँछन् । उनीहरू सुरुमा एक व्यक्तिलाई खटाएर धनाढ्य व्यक्ति बस्ने घरको रेकी गर्छन् । घरबारे विस्तृत विवरण लिएपछि योजना बनाउने गर्छन् । घरमा हुने कुकुर तथा गार्डबारेसमेत पहिले नै उनीहरूले जानकारी लिने गरेका छन् । कुकुर भए खानेकुरामा विषादी मिसाएर कुकुरको हत्या गर्ने तथा सुरक्षा गार्डलाई समेत नियन्त्रणमा लिई घरमा प्रवेश गर्छन् । मुखमा रुमाल बाँधेर पेस्तोल तथा खुकुरीसहित प्रवेश गर्ने सो समूहले एकैप्रकारले डकैती गर्दै आएको थियो । पछिल्लो दुई वर्षमा उनीहरूले आधा दर्जन ठाउँमा गरेर करिब तीन करोडबराबरको डकैती सफल रूपमा गरेका थिए । गत पुसमा उनीहरूका दुईजना साथी पक्राउ परेपछि उनीहरू रोकिएका छन् । मुख्य नाइके गिरीसहित समूहका केही सदस्य अझै फरार छन् । उनीहरूले राजधानीमा डकैतीका अन्य घटना पनि घटाउन सक्ने चिन्ता प्रहरीमा छ । निकै प्रोफेसनल तरिकाले चोरी गर्ने भएकाले उनीहरूमाथिको अनुसन्धान एकदमै कठिन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । राजधानीका चोरी-डकैतीमा संलग्न एक प्रोफेसनल समूहको यो उदाहरण मात्र हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता डिएसपी सुरेन्द्र मैनालीका अनुसार यस्ता विभिन्न चोरी-डकैतीमा राजधानीमा विभिन्न प्रोफेसनल समूह छन् । 'तर, हाम्रो सक्रियताका कारण यस्ता समूह निष्त्रिmय हुँदै आएका छन् ।' रामेछाप तथा दोलखा जिल्लाको एक समूह पनि प्रोफेसनल रूपमा राजधानीमा सक्रिय छ । रामेछापको टोकनपुर र गोश्वारा तथा दोलखाको शैलुंगेश्वरी गाविसका धेरै मान्छे राजधानीमा पेसागत रूपमा नै चोरी-डकैतीमा संलग्न हुने गर्दथे । तर, सो समूहका धेरै व्यक्ति पक्राउ परेपछि अहिले थोरै मात्र सक्रिय छन् । सो समूहका प्रमुख व्यक्ति अमर थापा हाल जेलमा छन् । त्यस्तै, कमल थापा मगर, टीका थापा, लीलाबहादुर श्रेष्ठ, रामेश श्रेष्ठ, कुमार श्रेष्ठलगायत व्यक्तिलाई प्रहरी सुधार गरिरहेको छ । केही व्यक्ति वैदेशिक रोजगारीमा समेत गइसकेका छन् । साथै, केही व्यक्ति भने अझै भक्तपुरतिरको चोरीमा संलग्न हुँदै आएका छन् । बेलुका काठमाडौं आई राति चोरी गरी बिहानै उनीहरू भाग्ने गरेका थिए । सो गाविसका कतिपय परिवारको पेसा नै चोरी-डकैती बनेको थियो । तर, प्रहरी उनीहरूको गाउँ नै पुगेर पक्राउ गर्न थालेपछि उनीहरू निष्त्रिmय बनेका छन् । भारतीय समूह उपत्यकालगायतका जिल्लामा चोरी-डकैतीबाट हैरान पार्ने अर्काे महत्त्वपूर्ण समूह भने भारतीय चोर-डाँको समूह हो । जसको मोडेस ओपेरान्डी -अपराध गर्ने तरिका) पनि निकै रोचक छ । अपराध महाशाखाका प्रहरी अधिकारीका अनुसार उनीहरू गाडी नै रिजर्भ गरेर काठमाडौं आउने गर्छन् । उनीहरू घुम्ने बहानामा काठमाडौं आउने, लजमा बसेर सुन तथा इलेक्ट्रोनिक्स पसलको निगरानी गर्ने र बिहानै चोरेर भाग्ने गरेका छन् । प्रहरीले चोरी भएको थाहा पाउँदा उनीहरू भारत पुगिसक्ने गर्छन् । डिएसपी मैनालीका अनुसार यस्तो समूहबाट खासगरी सुनचाँदी र इलेक्ट्रोनिक्स पसलेहरू पीडित छन् । दुई वर्षअघि एक भारतीय गिरोहले पोखरामा समेत पुगेर वराह ज्वेलर्समा लाखौँको चोरी गरेको थियो । सो समूहका मन्जुल मियाँ, सोहनकुमार पासवान, मुदिन मियाँ, राजा हुसने तथा भारतको मोतिहारीका नागरिक थिए । सो सूमहले २०६७ साल १२ भदौमा विष्णु रिजालको न्युरोडस्थित लक्ष्मी सुनचाँदी पसलमा चोरी गरेको थियो । त्यस्तै, गत २७ भदौमा एक भारतीय गिरोहले नै न्युरोडको क्यामेरा स्टोरमा सटर फुटाएर चोरी गर्यो । दिलीप गिरी नेतृत्वको भारतीय गिरोहले सो पसलमा चोरी गरेको थियो । अनुसन्धानपछि पक्राउ परेका गिरी हाल जेलमा छन् । गिरीको समूहले डिउटीमा रहेको प्रहरीलाई विभिन्न बहानामा एकातिर भुल्याएर अर्काेतिर चोरी गरेको थियो । डेढ वर्षअघि ललितपुरको पुल्चोकस्थित गुण ज्यासः पसःमा कार्यरत जुजुभाइ तण्डुकारको हत्या गरी एक भारतीय समूहले डकैतीको प्रयास गरेको थियो । तर, थोरै गहना मात्र चोरी गरी भागेको सो समूहका एक व्यक्तिलाई प्रहरीले केही महिनापछि भारत नै पुगेर पक्राउ गरेको थियो । सो घटनाले पनि राजधानीमा आतंक मच्चाएका थियो । पसलमा काम गर्ने एक पूर्वकर्मचारीकै सहयोगमा त्यसरी गहना पसलमा डकैतीको प्रयास भएको थियो । खासगरी नेपालका सुनचाँदी पसलमा भारतीय कालिगडहरू काम गर्ने र उनीहरूकै सूचनाका आधारमा सुनपसल डकैती हुने गरेको एक व्यवसायी बताउँछन् । पछिल्लो समयमा पक्राउ परेको सातजनाको भारतीय समूहले देशभरि नै चोरी गरेको खुलेको छ । भारतीय नागरिकहरू पवन साह, नसिम मियाँ, संसार अन्सारी, मदन साह, अनेस साह, अमरकुमार, रोमनकुमार यादवलगायतको समूह प्लेन नै चढेर एक ठाउँबाट अर्काे ठाउँमा पुग्ने गर्नुले पनि उनीहरूले चोरीबाट कति धेरै कमाउँछन् भन्ने प्रष्ट हुन्छ । सो समूहले विराटनगर, काठमाडौं, चितवनलगायत एक दर्जन ठाउँमा शृंखलाबद्ध रूपमा चोरी गरेको थियो । उनीहरू आधुनिक सरसामान बोकेर चोरी गर्न काठमाडौं आउने गरेको प्रहरी अधिकारी बताउँछन् । 'आलु काटेजस्तो गरी सटर काट्ने ठूलो कैँची बोकेर आउने गर्छन्,' अपराध महाशाखाका एक अधिकारी भन्छन्, 'पुल्चोकलगायत ठाउँमा ग्यासको प्रयोग गरेर ताला काट्ने गरेको देखिएको छ ।' प्रायः बिहान २/३ बजेको समयमा उनीहरूले पसललाई छेक्ने गरी गाडी राखेर सटर काटी चोर्ने गरेका छन् । चोरीका सामान भारतीय सहरमा लगेर बेच्ने गरेकाले अनुसन्धान गर्न प्रहरीलाई गाह्रो हुने गरेको छ । प्रायः भारतको घोडासन गाउँका व्यक्ति संगठित रूपमा काठमाडौंमा चोरी गर्न आउने गरेको प्रहरीको तथ्यांक छ । सो समूहको पेसा नै चोरी हुने गरेको छ ।
टिपटाप पारेर टाप
सडकमा कागज-बोतल टिप्ने समूह पनि चोरीमा संलग्न हुँदै आएको छ । कागज- बोतल टिप्न गएको बहानामा यस्तो समूहले घर तथा पसलका विभिन्न समान टिपटाप गरेर भाग्ने गरेको छ । यस्तो समूहमा आधा भारतीय नागरिक संलग्न हुने गरेका छन् । महिला पनि यस्तोमा संलग्न रहेको प्रहरी अधिकारी बताउँछन् । तीन महिनाअघि महानगरीय प्रहरी प्रभाग जनसेवाले एक भारतीय महिलाको गिरोहलाई नै पक्राउ गरेको थियो । 'मान्छे नदेख्नेबित्तिकै उनीहरू चोरेर भाग्ने गर्छन्,' अपराध महाशाखामा चोरीसम्बन्धी अपराधको अनुसन्धान गर्दै आएका प्रवक्ता मैनाली भने । यस्तो समूह बाँच्नकै लागि चोरीमा लाग्ने गरेको छ । गत २४ माघमा यस्तै समूहकी रेणुदेवी साह महतो पक्राउ परेकी थिइन् । उनले कमलपोखरीको एक पसल चोरी गरेको प्रहरीले जनाएको छ ।
आफन्तले नै भ्याउँछन्
राजधानीका कतिपय चोरी-डकैती चिनजानै व्यक्तिबाट समेत हुने गरेका छन् । घरमै काम गर्नेको सहयोग, निकट व्यक्तिको सूचनाका आधारमा कतिपय चोरी भएका छन् । घरमा प्लम्बरका रूपमा काम गर्ने एक व्यक्तिको सूचनाका आधारमा दुई महिनाअघि ललितपुरमा दुइटा डकैती भयो । २५ माघमा ठिमीका दीपक बस्नेत तथा १९ फागुनमा सोही ठाउँका उमेश रौनियारको घरमा डकैती भएको थियो । अनुसन्धानपश्चात् दुवै घरमा प्लम्बरको काम गर्ने मदनकुमार श्रेष्ठको योजनाअनुसार त्यसरी चोरी भएको खुलेको थियो । घटनामा संलग्न किरण रुचाल तथा सुदीप पहाडीलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोरपाटीका तुलाराम कुँवरको घरमा पनि चिनजाकै व्यक्तिको सहयोगमा १३ लाखबराबरको डकैती भयो । घटनामा संलग्न होमबहादुर श्रेष्ठ, ओम थापा मगर तथा विमल पाखि्रनलाई प्रहरीले पक्राउ गरेको छ । बौद्धमा क्षेत्रमा घरमा काम गर्ने एक महिलाले नै चोरको गिरोहलाई सूचना दिएर सहयोग गर्दै आएको गत महिना खुलेको थियो । एक युवकले प्रेमी बनेरसमेत चोरी गर्दै आएको हालै खुलेको छ । भक्तपुरका राजु तामाङले लाजिम्पाट बस्ने दालचिनीकुमारी कार्कीको नगद तथा गरगहना चोरी गरेका हुन् । गएको तीन महिनादेखि प्रेम सम्बन्धमा रहँदै आएकी कार्कीको डेराबाट तामाङले चोरी गरेका थिए । युवती नभएको वेला डेरामा गई नगद मात्र नभई, युवतीको दराजसमेत फुटाएर करिब पाँच तोला सुनलगायत सरसामान चोरी गरी उनी भागेका थिए । नगद पचास हजारका साथै आफ्नो करिब पाँच लाख रुपैयाँ तामाङले चोरी गरेको उजुरी कार्कीले दिएकी छिन् । घटनाको दुई दिनपछि तामाङलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरी मुद्दा चलाएको छ । तामाङले चोरी गरेको स्वीकार गरेका छन् । चोरी गरेको केही रकम तथा गहनासमेत प्रहरीले उनको साथबाट बरामद गरेको छ । प्रहरीका अनुसार चोरी गरेको रकम आफूले क्यासिनो र डान्सबारमा गएर सिध्याएको उनले बताएका छन् । युवतीको एटिएमको पिन नम्बरसमेत थाहा पाएर उनले एटिएमबाट पटक-पटक रकम निकालेका थिए । पीडित कार्की विवाहित महिला हुन् । श्रीमान् विदेशमा रहेकाले उनी तामाङसँगको प्रेममा फसेकी थिइन् । उनी न्युरोडको एक डान्सबारमा कार्यरत छिन् । पक्राउ परेका २९ वषर्ीय तामाङ बेरोजगार युवा हुन् । यसअघि पनि उनले यसैगरी विभिन्न महिलासँग सम्बन्ध राखी चोरी गर्ने गरेको खुलेको छ । क्यासिनो र डान्सबार जाने नशामा आफूले चोर्न सुरु गरेको उनको भनाइ छ । त्यस्तै, गत वैशाखमा आफन्तकै घरमा चोरी गर्ने सोनम केसी श्रेष्ठ पक्राउ परिन् । आफ्नो सम्पत्ति हडपेको भन्दै उनी साढे १२ लाखबराबरको धनमाल चोरी गरी भाग्ने क्रममा पक्राउ परेकी थिइन् । चिनजाकै व्यक्तिबाट हुने चोरी महत्त्वपूर्ण समस्याका रूपमा देखापरेको प्रहरी अधिकारी बताउँछन् । 'अब कामदार तथा आफन्तमाथि पनि निगरानी गर्नुपर्ने वेला आएको छ,' डिएसपी मैनालीले भने ।
दिउँसै चोरी
पछिल्लो समयमा दिउँसो चेारी गर्ने समूह सक्रिय रहेको महाशाखाका प्रवक्ता डिएसपी मैनाली बताउँछन् । यस्तो समूहले घरको रेकी गरी कोही नभएको अवस्थामा चोरी गर्छन् । दिउँसो कोही नहुने घरबारे सूचना लिई यस्तो समूहले चोरी गर्ने गर्छ । दिउँसो चोरी गर्ने समूहले अहिले राजधानीलाई सताएको छ । यस्तो किसिमको चोरी राजधानीमा दैनिकजसो हुने गरेको छ । यस्तो समूहले पैसा तथा गरगहना चोरी गरी भाग्ने गरेको छ । गत भदौमा अपराध महाशाखाले सुवास तामाङ नेतृत्वको एक समूह पक्राउ गरेको थियो । खासगरी बेरोजगार युवाले समूह बनाएर यसरी चोरी गर्ने गरेको डिएसपी मैनाली बताउँछन् ।
नवराज मैनाली
|
|
नयाँदिल्ली/ भारतको प्रसिद्ध विज्ञापन कम्पनी जे वाल्टर थम्पसन -जेडब्लुटी) ले फोर्ड कारको विवादास्पद विज्ञापन शृंखलाको मामिलामा आफ्ना कर्मचारीलाई बर्खास्त गरेको छ । कर्मचारीको लापर्वाहीले इटालियन पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीसहितको विवादास्पद विज्ञापन प्रकाशन भएको भन्दै जेडब्लुटीले कर्मचारीलाई बर्खास्त गरेको हो । यस कम्पनीले बनाएको फोर्ड कारको एउटा विज्ञापनमा डिक्कीमा तीन अर्धनग्न महिलालाई बाँधेर राखिएको छ र बर्लुस्कोनी ड्राइभिङ सिटबाट पछाडि फर्केर मुस्कुराइरहेका छन् । विज्ञापनलाई फोर्डले अन्तिम स्वीकृति नदिँदै भारतीय एजेन्सी ग्लोबल टिम फोर्डका कर्मचारीले लोकपि्रय विज्ञापन साइट एडसफ्टवल्र्ड डटकममा हालेका थिए । विज्ञापन अरुचिपूर्ण र नियमविपरीत भएको निष्कर्षसहित कम्पनीले र्फमको प्रबन्धन साझेदार बबी पवारलाई समेत साझेदारी छाड्न भनेको छ । त्यस्तै, फोर्ड बिजनेस एकाइका क्रिएटिभ डाइरेक्टर बिबय सिंह भेलेन्कीलाई पनि राजीनामा गर्न भनिएको छ । जेडब्लुटीले भनेको छ, 'हामी यस्तो पोस्टर प्रकाशन भएकोमा गहिरो दुःख व्यक्त गर्छौं । आन्तरिक समीक्षापछि यस कार्यमा संलग्न कर्मचारीलाई निष्कासनसहित उचित अनुशासनको कारबाही गरिएको छ ।' विज्ञापनको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । मोटर कम्पनी फोर्डले विज्ञप्ति जारी गरी ती विज्ञापन फोर्ड र एजेन्सी पाटर्नरको व्यावसायिक भावनाविरुद्ध भएको भन्दै यसबाट पुग्न गएको क्षतिप्रति माफी मागेको थियो । फोर्डका लागि बनाइएको अर्को पोस्टरमा अमेरिकी रियालिटी टिभी स्टार किम कर्दासियनका तीन बहिनीलाई गाडीको डिक्कीमा हालिएको देखाइएको छ । विज्ञापनको नारा छ- आफ्नो समस्या फोर्डको एक्स्ट्रा लार्ज डिक्कीमा राख्नुहोस्, अनि बेफिक्री हुनुहोस् । तेस्रो विज्ञापनमा मोटर स्पोर्टस् प्रतियोगिता 'फर्मुला वान'का ड्राइभर माइकल सुमाकरजस्तै व्यक्तिलाई ड्राइभिङ सिटमा राखेर अन्य तीन प्रतिस्पर्धी सेवेस्टियन वेटल, फर्नान्डो आलोन्सो र लुइस ह्यामिल्टनलाई डिक्कीमा राखिएको छ ।
|
पुराना पुस्ताले भुलेको छैन राजेन्द्र थापालाई, सम्झन्छ- 'पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ...’का गीतकार भनेर । नयाँ पुस्तालाई बिर्सन दिँदैनन् राजेन्द्र थापा, झुमाउँछन् 'दर्शन नमस्ते...’ र 'क्या दामी भो...’ जस्ता गीतमा । त्यसो त उनका गजल र मुक्तकको पनि आफ्नै मानक छ नेपाली साहित्यमा ।
पछिल्लो समय भने उनी उपन्यासकारका रूपमा चर्चामा छन् । नयाँ पुस्ताको यौन मनोविज्ञानमाथि लेखिएको उपन्यास ँखेलौना’का कारण । चर्चा र बिक्रीको नयाँ उचाइ कायम गरेको दाबीसहित उपन्यासको दोस्रो संस्करणको तयारी गरिरहेका थापासँग गरिएको कुराकानी :
खेलौनाले जनमानसको मथिंगल खेलायो है ?
सम्ाजको चेतनास्तर बढिसकेको मात्र होइन, फैलिसकेको प्रमाण पनि हो यो । साहित्यकार स्वयंले मात्रै पढ्ने र साहित्यकारकै लागि क्लिष्टतापूर्ण बौद्धिक कसरतका रूपमा मात्रै लेखिइने तथा काल्पनिक कलालाई मात्र साहित्य मान्ने कुरा अब त भ्रम मात्र हुन् भन्ने तथ्य प्रमाणित भएको छ । १८ वर्षे छोरा-छोरीदेखि वृद्ध आमाबुबाजस्ता पाठकबाट दैनिक प्राप्त हुने प्रतिक्रिया यसका प्रमाण हुन् । साहित्यिक, सञ्चार, राजनीतिक, शैक्षिक, व्यापारिक, कर्मचारी तथा बौद्धिक जमातलगायत हरक्षेत्रबाट यति गहन तथा सूक्ष्मतम प्रतिक्रिया आइरहेका छन् कि म आफैँसित प्रश्न गर्छु - के मैले यति विधि प्रतिक्रिया पाउनेबारे लेख्दाखेरी नै सोचेको थिएँ त ?
के सोच्नुभएको थियो त ?
उपन्यास सफल त हुने लक्ष्य लिएरै लेखेको हुँ । जे लेख्दा पनि म सफल हुने लक्ष्य राखेरै लेख्छु । त्यति शक्ति त मेरो लेखनमा छ भन्ने बोध मलाई छ नै । हरेक विधा लेखनमा त्यही बोधले नै मलाई आत्मविश्वास दिन्छ, राम्रो सिर्जना गर्ने आधार दिन्छजस्तो महसुस हुन्छ । तर, साधारणतया उपन्यास पढ्ने सीमित वर्ग या समूह छ । त्यसलाई छुने लक्ष्य तथा आशा हरेक लेखकले राख्छ । मैले सोचेको उपभोक्ता अनुहार पनि त्यही हो । तर, अहिले आएर खेलौनाबाट भेटेका असंख्य विविधतापूर्ण पाठक तथा प्रतिक्रियाको फैलावटले मलाई अद्भुत अनुभव दिएको छ । साथै, अर्को उपन्यास रचनामा ती फैलावटलाई समेटेर, उनीहरूलाई केन्द्रविन्दुमा राखेर लेख्नुपर्ने विचार र प्रेरणा दिएको छ । आभार छु म पाठकहरूप्रति । र, जिम्मेवारी बढेको छ - कसैले नलेखेको विषयमा, कसैले नलेखेको तरिकाले लेख्नुपर्ने विषयमा ।
प्रतिक्रिया सबै उस्तै छन् र ?
छैनन् । यसको विशेषता पनि विविधतापूर्ण नै छ । मान्छेपिच्छे अलग-अलग भए पनि प्रतिक्रियालाई केही समूहमा विभाजित गर्न चाहन्छु । १८ वर्षे नानीदेखि ८० वर्षसम्मका महिलाका भन्ने तरिका फरक छन् । उनीहरूले पकडेका कुरा अलग छन् । तर, महिलामाथिको लैंगिक विभेदविरुद्ध उठाइएको आवाजमा सबैको समर्थन र धन्यवाद उस्तै छ । पुरुषका हकमा कतिपय युवाले 'सेक्सी नोभेल' भने । कतिले रोमान्टिक पनि भने । बौद्धिक चेतको स्तरअनुसार युवा तथा पाकाहरूले साहित्यिक, मनोवैज्ञानिक, दार्शनिक, विद्रोही, सूचनामूलक, ज्ञानवर्द्धक, यथार्थपरक इत्यादि दृष्टिकोणबाट हेरेको पाएँ । त्रिभुवन विश्वविद्यालय एमएडमा 'नारीवादी उपन्यास खेलौनाको लैंगिक विभेद सम्बन्ध' शीर्षक थेसिसका लागि स्वीकृत हुनुले परम्परागत पण्डितवादको आरोप खेपिरहेका त्रिविविका नेपाली भाषाका गुरुवर्गका बौद्धिक चेत र व्यावहारिक परिवर्तनको झलक त देखियो नै । त्यसले यौनको पृष्ठभूमिमा नारीवादको 'थिम' खेल्न सकिन्छ भन्ने प्रमाणित पनि गर्यो । यो युद्धभूमिको पृष्ठभूमिमा शान्ति र मानवताका विम्ब खेल्न सकिन्छ भनेजस्तै हो ।
थिमको कुरा उठिहाल्यो । यसको थिम यौन मात्रै हो ? चर्चामा आएजस्तो एक मोडलको यौनकथा लेख्नुभएको हो, खेलौनामा ?
एक मोडल अर्थात् पात्र स्मिताका यौन तथा प्रेमकथा एक 'फम्र्याट' अर्थात् घर बनाउन उपयोग गरिने फर्मा मात्र हो । यसको 'थिम' हरेक पुरुषको गिदीमा पोथी योनि भरिएको हुन्छ भन्ने प|mायडको भनाइबाट उठान भएको हो । त्यही गिदीको पोथी योनिकै कारण पुरुषमा सानैदेखि घाटसम्म महिलाप्रति हेर्ने दृष्टिकोण यौनिकताकै सेरोफेरो हुन्छ । शास्त्र, पुराण, रीतिरिवाज, सामाजिक मर्यादा, बन्धन, वर्ग, भेद, चालचलन, आस्था, अनास्था जे पनि त्यसलाई यही पुरुषको गिदीले निर्धारण गरेको हुन्छ । त्यसैले पीडित छ, नारी हुनुको चेत । त्यसैले शोषित छ, नारी शब्द पनि । त्यसैले नारी जन्मैदेखि आतंकित छन् । धर्म, नैतिकता, संस्कार, मर्यादाका हर परिभाषा, हर अर्थले नारीमाथि जन्जिर बाँध्ने काम मात्र गरेको छ, नारित्वका नाममा । त्यो सबै पुरुषको गिदीमा भएको नारी योनिकै कारणले भएको हो । यही प्रमाणित गर्न खेलौनामा एक अधबैँसे पुरुष पात्रको सिर्जना गरिएको छ । सामाजिक मर्यादा उच्च भएको, लेखकवर्गको यस इन्द्र पात्रले पुरुष मनोविज्ञानको हरेक केन्द्र योनिमा अडेको प्रमाणित गर्छ । उपन्यासमा भर्खरकी युवती १६ वर्षदेखि नै परिपक्व पुरुषका हातबाट खेलौना बन्दै जान्छे । गधापच्चीसे पुग्नुअघि उसले ३० देखि ४० वर्षसम्मका पुरुषको सम्पर्कबाट महसुस गरेकी पुरुष मनोविज्ञानको बयान गर्छे । हेर्दा कथा एक सेक्सी युवतीको जस्तो लाग्छ, तर वास्तवमा कथा पुरुष मनोविज्ञानको हो । स्मिताका पाँच प्रेम तथा यौनकथा झिके पनि उपन्यास बन्छ, किनभने थिम प्रमाणित गर्न मात्र स्मिताको उपयोग गरिएको हो । तर, इन्द्र पात्र झिके उपन्यास बन्दैन । नत्र स्मिताको अन्तर्वार्तामा उपन्यास लेख्ने सोच बनेको अवस्थामा किन सिर्जना गर्थें त अन्तर्वार्तामा कतै नभएको अधबँैसे पचास'ओभर'को पात्र ? यसमा ११ पुरुष पात्र छन् । २७ देखि ४० सम्मका दश, जो स्मिता तथा विनीताका प्रेम तथा यौनकथाका आधार हुन् । ती सबै वास्तविक समाजमा अहिले पनि मौजुद पात्र हुन् । ती सबैले महिलालाई उपयोग मात्रै गरेका छन् । हो, कसै-कसैले प्रेमको नाम टाँसेका पनि छन् योनिप्रतिको लालसा र आशक्तिलाई । त्यसैमध्येको एक पात्र इन्द्र हो, उही हो मूल पात्र । खेलौनाको वाचक । अझ अर्को अर्थमा महिला शोषण तथा भेदको मूल जड, पुरुष मनोविज्ञानको प्रतीक ।
खेलौना पढेपछि विभिन्न सवाल उठेका छन् । जस्तो कि स्मितामार्फत यौनप्रतिको जुन दृष्टिकोण अभिव्यक्त भएको छ उपन्यासमा, त्यो आमनेपाली समाजको प्रतिनिधि दृष्टिकोण हो त ? यसमा यौनलाई जुन ढंगले अभिव्यक्त गरिएको छ, यौनको महत्त्व त्यति मात्रै हो ? त्यसरी मात्रै लिइएको छ त समाजमा यौनलाई ?
यस्ता सवालले पुरुष मनोग्रन्थि र खुम्चिएको मनोवृत्ति प्रस्ट पार्छ । उपन्यास लेखिएकै यही मनोग्रन्थि खोल्न हो । स्मितामार्फत स्त्री यौन दृष्टिकोण अभिव्यक्त भएको छैन, पुरुष यौन दृष्टिकोण मात्र अभिव्यक्त भएको छ । स्मिता एक कराही मात्र हो, जसमा पुरुषका माछाहरू तारेर पस्किएको छु, पाठकसामु । सक्कली स्मिता या कथाकी स्मिताले अन्तर्वार्तामार्फत व्यक्त किन गरिन् ? भित्रभित्रै कुरा गर्ने को नहोला ? स्मिताले पनि नभने भइहाल्थ्यो नि । तर किन भनिन् ? यो समाजमा पुरुषको यौन दृष्टिकोण र तिनका यौनको महत्त्वलाई उदांग पारेकीले कति पुरुषले आफ्नै पर्दाफास भएको भयको अभिव्यक्ति त होइनन् यस्ता सवाल ?
आधार, वर्ग, पृष्ठभूमि, चेतनाहीन पात्रमाथि कथा बुनेको आरोप त तपाइर्ंले पनि सुन्नुभएको छ, आरोप स्वीकार गर्नुहुन्छ ?
पक्का स्विकार्छु । म भुईंमान्छेकै गीत लेख्छु, गजल, मुक्तक, लेख लेख्छु । म महलकाहरूलाई किन बनाऊँ पात्र ? अन्तर्वार्तापछि स्मिता आफ्नै समाजबाट सीमान्तकृत भइन्, र त, मेरा कलममा मिसिइन् । वर्ग त सम्पन्न वर्गै हो कथाकी स्मिताको, जातिगत, सामाजिक, शैक्षिक तथा आर्थिक पनि । खालि महिला भएकीले उच्च वर्गकी छोरी पनि स्वतः सीमान्तकृत हुने हाम्रो समाजको कुसंस्कारको भने बेग्लै कुरा हुन सक्छ । स्मिताको चेतना आमशोषक पुरुषभन्दा माथि भएकैले त्यो विद्रोह गर्ने आँट गरेकी हुन् । कथित चेतनामय पुरुष पात्रले देखाऊन् न त स्मिताको जस्तो आँट । सक्छन् ? जब कि पुरुष भएकै कारण भुवन केसीका कथा ग्ल्यामरका चटपटे हुन्छन् । १६ हजार एक सय आठ पत्नी र १६ सय गोपिनी भएकै कारण कृष्ण रासलीलामय देउता हुन्छन् । स्मिताको विद्रोह भुवन केसीको ग्ल्यामरमाथि गरिने तारिफविरुद्ध हो । कृष्णको रासलीलाविरुद्ध हो । यदि त्यो ठीक हो भने यो पनि ठीक हो, नत्र दुवै बेठीक । यही हो स्मिताको विद्रोहको धरातल ।
'खेलौना’मा साहित्यिक भाषाको मानक नै छैन । त्यसैले ँखेलौना’ साहित्य नै होइन । यसको मूल्य रत्नपार्क तथा पुरानोबसपार्कमा पाइने यौन उपन्यासजत्तिको मात्रै हो भन्ने तर्क पनि आए । तपाईं के भन्नुहुन्छ ?
यसको भाषा शैली र आधारभूमिलाई पनि शोधपत्रको विषय बनाएर त्रिविवि एमएडले नै जवाफ दिइसकेको छ । रत्नपार्क तथा बसपार्कमा पाइने यौनकथा भएको भए यत्रो समर्थन, यत्रो विरोध, यत्रो ताली, यत्रो गाली, धापका हात र सरापका धारेहात किन हुन्थे ? न त अडियो, टिभी र पि्रन्ट मिडियामा हप्तामा कमसेकम ३ अन्तर्वार्ता दिनु नै पथ्र्यो । न त दिनको पचासौँ एसएमएस आउँथे । न त सडक, सभा, रेस्टुरेन्ट जता पनि, जो भेटे पनि किन तारिफ हुन्थ्यो खेलौनाको ? किन पढ्न नपाएकोमा पोख्थे दुःख ? अन्तिममा मैले भन्नैपर्छ, एउटा तीतो सत्य- अर्की नारीले धेरै अंग देखाउँदा वाह, क्या ग्ल्यामरस, आफ्नी नारीले थोरै मात्र देखाए निर्लज्ज ? कुनै सेक्स पार्टनरले उत्तेजना प्रकट गरे वाहवाह π आफ्नी पत्नीको सामान्य प्रतिक्रियामा पनि शंका ? अर्थात्, स्वास्नीले चुपचाप भोगिनुपर्ने, परस्त्रीचाहिँ प्रतिक्रियात्मक हुनु बेस ! हो, यही मानसिकताको पर्दाफास हो खेलौना, स्मिताको माध्यमबाट । र त, स्मिता भन्छे, 'मलाई लोग्ने हैन, लोग्नेमान्छे चाहिन्छ ।'
प्रस्तुति : कला अनुरागी
|
|
|