Saturday, May 18, 2013

सप्तरंग
१३८ वर्षपछि पनि जंगबहादुरको श्राद्ध पीडीएफ मुद्रण इमेल

नेपालमा निरंकुश जहानियाँ शासनको सुरुवात गर्ने जंगबहादुर राणाको निधन भएको एक सय ३८ वर्ष भइसकेको छ । तर, उनको आत्माको वैकुण्ठवासको प्रार्थना गर्दै उनको श्राद्ध अझै पनि गर्ने गरिएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित
कालमोचनघाटमा गुठी संस्थानले जंगबहादुर राणाको श्राद्ध गर्‍यो । श्राद्धकर्ता थिए गोविन्दप्रसाद कोइराला । कोइराला प्रसूतिगृहमा काम गर्छन् । यसैगरी, जंगबहादुर राणाको श्राद्धका पुरेत थिए पुरुषोत्तम मिश्र । श्राद्ध गरिसकेपछि कर्ताले पुरेतलाई १३ सय रुपैयाँ दान दिए । यसैगरी मिश्रका छोरा-छोरी र पत्नीलाई कोइरालाले मिष्ठान्न भोजन पनि गराए । जंगबहादुरको श्राद्ध खान वरिपरिका केही मान्छे पनि आएका थिए । उनीहरूलाई पनि मिष्ठान्न भोजन उपलब्ध गराइएको थियो । श्राद्धमा खीर, रोटी, तरकारी, लड्डुलगायतका परिकार बनाइएका थिए । श्राद्धकर्ताले श्राद्ध खान आउने सबैलाई एक-एक रुपैयाँको सिक्का दक्षिणा दिए । श्राद्ध आइतबार बिहान नौदेखि बाह्र बजेसम्म गरिएको थियो ।
जंगबहादुरको श्राद्ध हरेक वर्ष दुईपटक कालमोचनघाटमा रहेको जंगे हिरण्य हिमनारायण मन्दिरनजिकै गरिन्छ । मन्दिरनजिकै जंगबहादुरको मूर्ति छ । हिरण्य र हिमकुमारी जंगबहादुरका रानी थिए । उनीहरूकै नाममा जंगबहादुरले मन्दिर स्थापना गरेका थिए । मन्दिरभित्र जंगबहादुरको चर्चा गरिएको शिलापत्र पनि छ । शिलापत्र सम्मुख पारेर श्राद्ध गरिएको हो । फागुन शुक्ल द्वादशी उनको श्राद्धतिथि हो । यो वर्ष भने एक महिना ढिलो भई चैतमा परेको छ । यसैगरी, उनको अर्को श्राद्ध आगामी असोज महिनामा गरिँदै छ ।
विसं १९३१ साल फागुन १२ गते बर्दियाको पत्थरघट्टामा सिकार खेल्न गएको वेला जंगबहादुरको रहस्यमय निधन भएको थियो । उनको निधनबारे अनेक किंवदन्ती छन् । कोही सपनामा सेतो बाघ देखेर उनको निधन भएको भन्छन् भने केहीले पखालाका कारण निधन भएको चर्चा गर्छन् । त्यस्तै, केहीले जंगबहादुरबाट बलात्कृत युवतीका बाबुले रिस थाम्न नसरी उनको शिरच्छेदन गरेको चर्चा गर्ने गरेका छन् । जंगबहादुरले जिउँदो छँदै आफूलाई सबैले चिनून् भनी आफ्नो नाममा राजगुठी स्थापना गरेका थिए । सो गुठीले अहिले त्रिपुरेश्वर कालमोचन क्ष्ाेत्रमा ३० रोपनी जग्ग्ाा ओगटेको छ । उक्त जग्गा भाडामा दिइएको छ । भाडाबाट आएको आम्दानीले श्राद्ध गर्न पुग्छ । बाँकी रकम गुठी संस्थानमा पुर्‍याइने गरिन्छ । जंगबहादुरको निधन भएपछि उनकी रानी हिमकुमारीले आफ्ना पतिको वैकुण्ठवास होस् भन्ने कामना गर्दै पतिका नाममा ब्राह्मणलाई दान दिन र मिष्ठान्न भोजन गराउन थालिन् । हिमकुमारीले पतिको आत्माको चिरशान्तिको कामना गर्दै श्राद्ध गर्ने संस्कार थालेकी हुन् । त्यसपछि अहिलेसम्म त्यो परम्परा कायमै रहेको छ । जंगबहादुरको श्राद्ध खान आउनेलाई एक-एक रुपैयाँको सिक्का दान गर्ने परम्परा पनि हिमकुमारीले नै बसालेकी हुन् । सुरुमा 'श्री ३ सर्कार गुठी बन्दोबस्त अड्डा'ले जंगबहादुर राणाको श्राद्ध गथ्र्यो, तर अहिले भूमिसुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत गुठी संस्थान तथा खर्च कार्यालयले जंगबहादुरको श्राद्ध गर्दै आएको छ ।
यस वर्ष जंगबहादुरको श्राद्ध गर्न गुठी संस्थानले १५ हजार रुपैयाँ विनियोजन गरेको थियो । कालमोचनघाटका कर्मचारी पनि जंगबहादुरको श्राद्धका पाहुना बने । उनीहरूलाई पनि श्राद्धकर्ताले एक-एक रुपैयाँको सिक्का दक्षिणा दिएका थिए । 'गुठी संस्थानले हरेक वर्ष दुईपटक जंगबहादुर राणाको श्राद्ध गर्ने गरेको छ । त्यो परम्परालाई निरन्तरता दिँदै आइतबार हामीले उहाँ -जंगबहादुर राणा) को श्राद्ध गर्‍यौँ,'
त्रिपुरेश्वरस्थित कालमोचनघाटका प्रमुख जयराम रेग्मीले भने, 'जंगबहादुरको श्राद्ध यसपटक पनि सबै विधि पुर्‍याएर गरिएको छ ।'
जंगबहादुुर राणाको बाल्यकालको नाम बालनरसिंह कुँवर थियो । उनले जहानियाँ शासन सुरु गरेपछि आफ्नो नामथर फेरेर जंगबहादुर राणा राखेका थिए । जंगबहादुरको श्राद्धमा पुरेत्याइँ गर्दै आएका एकजना ब्राह्मणले केही वर्षपहिले बाग्मतीमा हामफालेर आत्महत्या गरेका थिए । त्यस घटनापछि उनको श्राद्धमा पुरेत हुन कसैले पनि मान्न छाडे । यस वर्ष श्राद्धकर्ता कोइरालाले पुरेत खोजेका थिए । जंगबहादुर राणा निकै कठोर शासक थिए । त्यसैले उनको श्राद्धमा सबै विधि अपनाउने र त्यसलाई भव्य बनाउने परम्परा छ । जंगबहादुरको श्राद्धमा उनका सन्तति भने देखिएका थिएनन् ।

प्रस्तुति : भुवन शर्मा

 

 
दोस्रो स्थानकेन्दि्रत सुपर लिग पीडीएफ मुद्रण इमेल

टेलिभिजनमा युरोपेपियन लिग फुटबल प्रत्यक्ष हेर्ने बाँनी लागेका हामी पि्रमियरसिप, स्पेनिस ला लिगा, बुन्डेस लिगा वा सिरी 'ए' का फयान छौँ । रमाइलो पक्ष के भने हामीलाई घरेलु लिगभन्दा पनि युरोपियन लिग क्लबको इतिहास कन्ठै हुने गर्दछ । कुन वेला कसले गोल गर्‍यो, कति गोलले विजयी भयो, पूरै रामकहानी भन्न सक्छौँ ।
माथिल्लो स्तरका युरोपियन लिग हेर्ने बाँनी भएकाले हुन सक्छ, घरेलु सहिद स्मारक लिगमा खासै चासो राखेको देखिँदैन । यसैकारण नेपालमा नेपालीभन्दा युरोपेली फुटबलकै चर्चा बढी हुने गरेको छ । स्पेनिस लिगमा क्रिस्टियानो रोनाल्डो, मेसी, राडामेल फाल्काओ वा पि्रमियरसिपमा वाइनी रुनी, रोविन भान पर्सी र लुइस सुवारेजको गोलको निक्कै चर्चा गरिन्छ । अनि नेपाली फुटबलसँग दाँजेर एउटा निराशाजनक वाक्य निस्कन्छ 'नेपाली फुटबल यस्तो कहिले होला ?'
पैसा, पावर र एक्पोजरले माथि आएको युरोपेली लिग फुटबल नेपाली लिगभन्दा निकै माथि छ । प्रतिशतमै तुलना गर्ने हो भने यसको कुनै मूल्यांकन छैन । दर्शकहरूको फुटबल क्रेजको हिसाबले तुलना गर्दा नेपालमा फुटबल मोह कम छैन, तर भौतिक संरचना र स्तरको तुलना गर्ने हो भने आगामी कैयौँ वर्षसम्म पनि नेपाली लिग फुटबलले युरोपेली शैली भेट्टाउन मुस्किल पर्नेछ ।
युरोपेली लिग फुटबल र नेपाली लिग फुटबलमा आकास-पातालको फरक रहे पनि एउटा समानता भने पक्कै छ । कम्तीमा यस वर्ष त्यही एक समानताबाट नेपाली लिगलाई युरोपेली लिगसँग तुलना गर्न सकिन्छ । त्यो के भने, अहिले युरोपेली लिग फुटबल र नेपाली लिग फुटबलमा एउटै सिनारियो देखिएको छ । नेपाली लिग फुटबल र युरोपेली लिग फुटबल -विशेष पि्रमियरसिप, ला लिगा, बुन्डेस लिगा र सिरी 'ए')मा क्लबहरू उपाधिका लागि भन्दा पनि दोस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
कुनै पनि लिग फुटबलमा क्लबहरूको उद्देश्य उपाधि नै हुन्छ । उपाधि जित्ने टोलीले भारी रकम पाउँछ । साथै विजेता टोलीलाई उक्त देशको लिग च्याम्पियनको टयाग झुन्डयाउने अवसर मिल्छ । तर, अचम्म के भने, युरोपका चारै प्रतिष्ठित लिग र नेपालको 'ए' डिभिजन लिगमा क्लबहरू पहिलो स्थान छाडेर दोस्रो हुनका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
यी लिगहरूमा शीर्ष स्थानका लागि भन्दा दोस्रो स्थानका लागि कठिन प्रतिस्पर्धा भइरहेको देखिएको छ । क्लबहरूका लागि यो आयोजकले राखिदिएको कुनै बाध्यात्मक अवस्था भने पक्कै होइन । पुरस्कार राशि बढी राखिएका कारण क्लबहरू दोस्रो स्थानका लागि आकषिर्त भएका पनि होइनन्् । उपाधि होडमा पछि परेपछि क्लबहरूको प्रतिस्पर्धा उपाधि छाडेर दोस्रो स्थानका लागि केन्दि्रत भएको हो । र, यसलाई संयोग नै मान्नुपर्छ, युरोपेली चारै लिगका साथै नेपाली लिगमा यो सिजन एउटै अवस्थामा देखिएको छ ।
प|mेन्ड्स र मच्छिन्द्रको खेलपछि प|mेन्ड्सका प्रशिक्षक मेघराज केसीले खुलेर भने, 'अब सुपर लिगमा सात क्लबले दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, थ्री स्टार मात्र उपाधिको होडमा अगाडि बढेको छ ।' पि्रमियर लिगमा म्यान्चेस्टर युनाइटेड, स्पेनिस लिगमा बार्सिलोना, सिरी एमा युभेन्टस र बुन्डेस लिगामा बार्यन म्युनिखले उपाधि लगभग पक्का गरिरहेका छन् । दोस्रो स्थानमा रहेका क्लबलाई उनीहरूले धेरै अंकले पछाडि छाडेका छन् ।
यी क्लबबाहेक अन्यले लिग उपाधि जित्ने सम्भावना नकार्न त मिल्दैन, तर आश भने निक्कै कम छ ।
खेलकुदको भाषामा भन्नुपर्दा युरोपमा यो सिजन लिग च्याम्पियनको टयाग झुन्डयाउने सौभाग्य युनाइटेड -पि्रमियरसिप), बार्सिलोना -ला लिगा), युभेन्टस -सिरी 'ए') र बार्यन -बुन्डेस लिगा)बाहेकका क्लबहरूको सम्भावना गणितीय हिसाबमा मात्रै बाँकी छ ।
पि्रमियरसिपमा युनाइटेडले साविक विजेता एवं दोस्रो स्थानको छिमेकी क्लब म्यान्चेस्टर सिटीसँगको दूरी स्पष्ट १५ अंकमा पुर्‍याइसकेको छ । लिगमा अन्तिम नौ चरणको खेल बाँकी छँदा युनाइटेडलाई उपाधिबाट रोक्न सिटीका लागि असम्भव देखिन्छ । स्पेनिस लिगमा पनि बार्सिलोनाले दोस्रो स्थानको चिर प्रतिद्वन्द्वी रियल म्याडि्रडलाई स्पष्ट १३ अंकले पछि पारिसकेको छ । यो सिजनको पछिल्लो तीन प्रतिस्पर्धामा रियलले बार्सिलोनालाई पराजित गर्दै आइरहेको छ । तर, उपाधि होडमा भने रियल बार्सिलोनालाई भेट्टाउन नसक्ने गरी पछि परिसकेको छ ।
यता इटाली सिरी 'ए'मा युभेटस र बुन्डेस लिगामा बार्यन म्युनिखले पनि आफ्नो उपाधि सम्भावना लगभग पक्का गरिसकेका छन् । युभेन्टसले दोस्रो स्थानको नापोलीसँगको दूरी नौ अंकमा पुर्‍याएको छ । त्यस्तै, बुन्डेस लिगमा बार्यनले साविक विजेता बुरुसिया डोर्टमन्डलाई स्पष्ट १० अंकले पछाडि छाडेको छ । यो अवस्थामा बाँकी क्लबको प्रतिस्पर्धा अब दोस्रो स्थानका लागि मात्रै सम्भव छ । पि्रमियरसिप, ला लिगा, सिरी 'ए' र बुन्डेस लिगामा अन्य टोलीलाई उपाधि जित्न शीर्ष स्थानको टोलीले लिगको बाँकी खेलमा पराजय बेहोर्नुपर्नेछ । साथै उनीहरूले पनि सबै खेलमा जित हात पार्नुपर्नेछ । तर, पछिल्लो समय युरोपमा शीर्ष स्थानका यी चारै क्लबले आ-आफ्नो लिग फुटबलमा बलियो प्रदर्शन दिइसकेका छन् । त्यसैले यस वर्ष इंल्यान्डमा युनाइटेड, स्पेनमा बार्सिलोना, इटालीमा युभेन्टस र जर्मनीमा बार्यन म्युनिख च्याम्पियन बन्ने लगभग पक्का भइसकेको छ ।
नेपाली लिगमा पनि थोरै फरक तर कथा भने उस्तै छ । फरक यो अर्थमा की शीर्ष स्थानको थ्री स्टार र दोस्रो स्थानको न्युरोड टिम एनआर्टीबीचको दूरी चार अंकमा मात्रै छ । तर, दोस्रो स्थानको टोलीलाई उपाधिसम्म पुग्न निकै मुस्किल छ । त्यसैले यस अर्थमा नेपाली लिगमा पनि बाँकी क्लबहरूको प्रतिस्पर्धा दोस्रो स्थानका लागि मात्रै सीमित छ ।
लिगको १९औँ चरणको खेल जारी रहदा थ्री स्टार ३९ अंकका साथ लिगको शीर्ष स्थानमा छ । बुधबार रानीपोखरी कर्नर टिम आरसिटी -२-१)लाई पराजित गर्दै एनआरटी ३५ अंकका साथ दोस्रो स्थानमा पुग्यो । ३४ अंक जोडेको मनाङ मस्र्यांदी क्लब लिगको तेस्रो स्थानमा छ । तर, अब लिगका अन्तिम तीन खेल बाँकी छँदा थ्री स्टारलाई उपाधिबाट विमुख गर्न मनाङ र एनआरटीलाई सहज पक्कै छैन ।
अन्य टोलीले उपाधि जित्नका लागि थ्री स्टारले पूरै खेल हार्नुपर्ने छ । कम्तीमा एक वा दुई खेल गुमाएर अन्यमा बराबरी खेल्नुपर्नेेछ । यो अवस्थामा मनाङ वा एनआरटीले पनि आफ्ना सबै खेलमा जित हात पार्नुपर्नेछ । अनि मात्रै उपाधिको सम्भावना रहन सक्नेछ ।
लिगमा अब मनाङले नेपाल पुलिस, एनआरटी र मच्छिन्द्रजस्ता टोलीसँग प्रतिस्पर्धा गर्दै छ । एनआरटीले मनाङसहित प|mेन्ड्स र पुलिसजस्ता बलिया प्रतिद्वन्द्वीसँग भिड्नेछ ।
यता थ्री स्टारले भने अब आरसिटी, सेना र मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम तीन खेलमा शीर्ष तीनमा रहेका टोलीहरूका लागि प्रतिद्वन्द्वी पनि उस्तै छन्, तर बराबरीको नतिजामा पनि उपाधि नजिक पुग्ने भएकाले थ्री स्टार निक्कै सहज स्थितिमा छ । मनाङ र एनआरटीका लागि भने जितभन्दा अर्काे नतिजाले उपाधिबाट विमुख बनाउने मात्रै होइन दोस्रो स्थानमा रहनसमेत मुस्किल पर्नेछ ।
सुपर लिगमा थ्री स्टार र प|mेन्ड्सबाहेक अन्य ६ टोली -मनाङ, एनआर्टीर्, आरसिटी, पुलिस, सेना र मच्छिन्द्र)को प्रतिस्पर्धा दोस्रो स्थानका लागि मात्रै हुनेछ । सुपर लिगमा क्लब जिम्मेवारी सम्हालिरहेका प्रशिक्षकहरूको भनाइलाई मान्ने हो भने पनि थ्री स्टारबाहेकका क्लबहरूको अबको प्रतिस्पर्धा दोस्रो स्थानका लागि मात्रै हो । बिहीबार उपाधि होडबाट बाहिरिएपछि प|mेन्ड्सको जिम्मेवारी सम्हालिरहेका प्रशिक्षक मेघराजले अन्य टोलीको उपाधि व्यावहारिक रूपमा सकिएको दाबी गरे । उनको तर्क थियो, 'अन्य टोलीको उपाधि सम्भावना हिसाबमा मात्रै बाँकी हो, व्यावहारिक रूपमा भने सकिइसकेको छ ।'
समकक्षी केसीको जस्तै विश्लेषण छ मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यको पनि । उनि पनि अबको प्रतिस्पर्धा दोस्रो स्थानका लागि भएको तर्क गर्छन् । 'उपाधिको आश छैन, तर दोस्रो स्थानका लागि सबै टोलीको सम्भावना उत्तिकै छ, त्यसैले अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने हो,' उनले भने, 'दोस्रो र तेस्रो स्थानका लागि कडा प्रतिस्पर्धा हुनेछ ।' केसी र शाक्यको जस्तै अन्य पाँच टोलीका प्रशिक्षकहरूको बुझाइ पनि लगभग उस्तै छ ।
उपाधिका लागि पछिल्लो समय थ्री स्टारलाई टक्कर दिनसक्ने सम्भावना एनआरटी र मनाङसँग मात्रै छ । तर, एनआरटीका प्रशिक्षक डिकेन सुवाल र मनाङ प्रशिक्षक छिरिङ लोप्साङले पनि थ्री स्टारलाई धक्का दिँदै उपाधि भित्र्याउने त्यो सम्भावना झिनो मात्रै देखेको बताउँछन् । त्यसैले उनीहरू पनि गणितीय सम्भावनामा उपाघि जित्ने आधार रहेको बताउँछन् ।
थ्री स्टार प्रशिक्षक प्रदीप हुमागाईंले आरसिटीविरुद्ध जित हात पार्दै यस वर्षको लिग उपाधि पक्का गर्ने योजना सार्वजनिक गरिसकेको अवस्थामा शनिबार उनको योजना सफल भए उक्त गणितीय सम्भावना पनि सकिनेछ । त्यसपछि क्लबहरू आधिकारिक रूपमै दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

टर्निङ प्वाइन्ट

सुपर लिगमा थ्री स्टारले ३५ अंकका साथ यात्रा सुरु गरेको थियो । थ्री स्टारले त्यसवेला दोस्रो स्थानको नेपाली सेनासँग स्पष्ट ६ र तेस्रो स्थानको मनाङलाई ९ अंकले पछि पारेको थियो । पहिला दुई खेलमा लगातार जित हात पारेको भए थ्री स्टारले उपाधि आफ्नो पक्षमा पारिसकेको हुने थियो । चारमध्ये दुईमा पराजय तथा एकमा बराबरी खेल्दै थ्री स्टारले उपाधिको बाटो आफूले कमजोर बनायो । थ्री स्टारले प|mेन्ड्सलाई मात्र हरायो ।
थ्री स्टारले नेपाल पुलिससँग २-१ ले पराजय बेहोर्‍यो । सेनाले पनि प|mेन्ड्ससँग २-१ ले नै हार्‍यो । मनाङले भने आरसिटीलाई २-० ले पराजित गर्दै थ्री स्टारसँगको दूरी ६ अंकमा छोटयायो । १७औँ चरणको खेलमा थ्री स्टारले प|mेन्ड्सलाई १-० ले परजित गर्दा मनाङले पनि सेनालाई १-० ले पराजित गर्दै थ्री स्टारसँग दूरी छ अंकमै राख्यो । १८औँ चरणमा थ्री स्टारसँगको दूरी समान बनाउने मनाङसँग सुनौलो अवसर थियो । त्यसवेला थ्री स्टार एनआर्टीसँग १-० ले पराजित हुँदा मनाङसामु प|mेन्ड्सलाई पराजित गर्दै दूरी तीन अंकमा झार्ने अवसर थियो ।
तर, अनील गुरुङ अनुपस्थित रहेको उक्त खेलमा २-२ को बराबरीमै रोकिएपछि मनाङले अवसर गुमायो । त्यो खेलपछि १९औँ चरणको खेलमा मनाङ फेरि थ्री स्टारसँग (१-१) बराबरीमै रोकियो र यस नतिजाले ललितपुरे क्लबलाई उपाधि होडमा सहज बनायो । त्यसैले प|mेन्ड्ससँगको बराबरीनै थ्री स्टारलाई उपाधिबाट रोक्न मनाङका लागि टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

दीपेन्द्र गुरुङ



 
लेखक गुनासाको पोको बन्नुहुँदैन पीडीएफ मुद्रण इमेल

आजभन्दा झन्डै तीन दशकअगाडि पल्लव रञ्जनसँग दुई विकल्प थिए । चालीस हजार रुपैयाँमा काठमाडौंको महँगो ठाउँ, न्युरोडमा जग्गा किन्ने कि भर्खरै आएको क्यामेरा किन्ने । मन न हो, क्यामेराको क्रेज थियो रञ्जनमा । उनी त्यति वेला हररात क्यामेराले स्वप्न बगैँचाका तस्बिर कैद गरेको सपना देख्थे ।
आमाले पल्लवलाई नसम्झाएकी पनि होइनन्, 'बाबु, क्यामेराभन्दा जग्गामा नै लगानी गर्दा राम्रो हुन्छ । जग्गा किन्यो भने सम्पत्ति जोडिन्छ,' पल्लवले बारम्बार सुन्नु परेको थियो, 'क्यामेराले खान दिन्छ र ? जग्गा भयो भनेे भाउ बढ्दै जान्छ ।' तर, उनको मनले मानेन । उनलाई भोकै बसे पनि स्वयम्भूको डाँडामा गएर अस्ताउँदो सूर्य र उदाउँदो जुनलाई आफ्नो क्यामेरामा नै कैद गर्दा भोक मेटिनेजस्तो लाग्यो । त्यसकारण उनले घरको सल्लाह अटेर गरेरै
क्यामेरा किनिछाडे ।
तर, उनले जे कुरा त्यति वेला बारम्बार सुनेका थिए, त्यो कुरा अहिले सत्य प्रमाणित भइदिएको छ । क्यामेराका नयाँ-नयाँ मोडल आउनाले क्यामेरा सस्तो पर्न थालिसकेका छन् । जग्गाका दाम दिन दुईगुना, रात चारगुना बढी नै रह्यो । त्यति वेला आमाको कुरा सुनेर जग्गा किनेको भए साहु हुन्थे, पल्लव । 'धन भएर के गर्नु ? जब मनको भोक मेटिँदैन भने,' पल्लव भन्छन्, 'आफूले चाहेको काम गरेकाले नै आज म सन्तोषले जीवन बिताइरहेको छु ।' पल्लव त्यति नै वेला सम्झन्छन्, कवि देवकोटालाई । वरिपरि हेर्छन्, भनौँभनौँ लाग्छ र फ्याट्ट भनिदिन्छन्, 'हातका मैला, सुनका थैला, के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले ।'
पल्लवले जुन वेलादेखि आफूलाई साहित्य र कलाकारितामा डुबाए, त्यति वेलादेखि उनलाई आजसम्म दिक्दार लागेको कुनै दिन छैन । होस् पनि किन, जब मनमा अनेक थरी कुरा खेल्छन्, उनी कविताको किताब लिन्छन् र पढिदिन्छन् । कवितामा डुबेपछि तताएको दूध उम्लेर गएको पनि उनलाई हेक्का हुँदैन रे । कसलाई पो हुन्छ र जब कविले कवितामा जीवन देख्छ ? पल्लवले त्यसैले सानैमा कविता कोर्न थाले, रंगहरूलाई क्यानभासमा आकारमा परिवर्तन गर्न थाले । जब उनले आफूलाई साहित्यको नजिक ल्याउन थाले, तब उनलाई लाग्न थाल्यो, यो संसार त्यति वेला मात्र चल्न सक्छ, जति वेला साहित्यको कदर हुन्छ । त्यसैले सानैमा पल्लवले एउटा संस्था खोले, र त्यसलाई साहित्यकारहरूको जमघटस्थल बनाइदिए । 'हामीले कवितावाचन गर्न सुरु गर्‍यौँ,' उनी सम्झन्छन्, 'त्यति वेला कविता पढ्ने कुनै संस्कार नै बसिसकेको थिएन । माधव घिमिरे, ईश्वर वल्लभजस्ता कविहरू ओझेलमा थिए । उनीहरूका कविता सबैले मन त पराउँथे, तर कविता कार्यक्रम गरेर सुनाउने चलन नै थिएन । हामीले त्यो संस्कृतिको सुरुवात गर्‍यौँ ।'
त्यति नै वेला पल्लवलाई नेपाली कविताले विश्वमा खासै स्थान जमाउन नसकेको भान हुन थाल्यो । 'यहाँका एकसेएक कविता भाषाका कारण नै बाहिरी दुनियाँमा कहिल्यै देखापरेनन्,' उनी भन्छन्, 'मनमा कवितालाई बाहिरी दुनियाँमा पनि लैजानुपर्छ भन्ने जुन दिन लाग्यो, त्यो दिनदेखि मेरा कैयौँ रात आँखा नझिम्क्याई बितेका छन् ।' हुँदो के रहेछ भने, साँझमा उनी कविताको किताब लिँदा रहेछन् । कुनै एक कविताले मनमा छोएपछि रातभर त्यसलाई कैयौँ रूपमा अंग्रेजीमा अनुवाद गर्दा रहेछन् । अन्तिममा उनको प्रयास सफल निस्कियो । त्यसो हुन थालेको केही वर्षमा नै नेपाली अनूदित कविताको संग्रह 'सेलेक्टेड पोएम्स अफ नेपाल' न्युयोर्कबाट निस्कियो । त्यसमा उनले अनुवाद गरेका कविता समाविष्ट छन् ।
तर, पल्लवले अनुवादमा मात्र आफूलाई सीमित राखेनन् । कविता लेख्न थाले । उनले सुरुवात गरेको कविता कार्यक्रम पनि राम्रो हुँदै गयो । उनी सम्झन्छन्, 'हामीले त्यति वेला एउटा प्ल्याटर्फम निर्माण गरेका थियौँ, त्यसले कवि नै जन्माउन नसके पनि कविमनहरूलाई भने सधैँ प्रोत्साहित भने गरिरह्यो । कवि अति कोमल हुन्छ, कवि मन पनि त्यति नै कोमल हुन्छ, त्यसैले कविलाई चियापसल वा गल्लीमा मन पोखिन दिनुहुँदैन, उसका लागि एउटा त्यस्तो ठाउँ उपलब्ध गराइदिनुपर्छ, जहाँ कविले आफैँलाई सम्मानित गर्ने धारणा विकास गर्न सकोस् ।'
साहित्यलाई पल्लव जीवन ठान्छन् र आफ्नै जीवन उनलाई साहित्यजस्तो लाग्छ । मानिसमा अनुभवका थुप्रा कति हुन्छन्, हुन्छन्, तर ती थुप्रालाई मिलाएर चलायो भने त्यो साहित्य हुन्छ । पल्लवलाई पनि आजभोलि त्यस्तै लाग्न थालेको छ । मानिसका जीवनलाई उनी साहित्यमा देख्छन् । मानिसका प्रत्येक भोगाइलाई उनी कवितामा देख्छन् । 'कवितामा होस् या साहित्यमा नै किन नहोस्,' उनी भन्छन्, 'मानिसको जीवनको पलपल एकाएक आएको हुन्छ । त्यो जीवनलाई सुन्दर रूपमा उतार्न सक्नु नै सफलता हो, साहित्य हो ।'
लामो समयदेखि साहित्यमा नै लागेका पल्लवलाई एकाएक धेरै कुराले खुसी बनाए । 'बिस्तारै परिपक्व बन्दै गएको रिडिङ कल्चरले मन छोएको छ, खुसी बनाएको छ,' दर्जनौँ उदाहरणबाट टपक्क केही कुरा टिपेर उनी भन्छन्, 'अहिले साहित्यमा लागेको मान्छे निर्धक्कले म कवि हुँ वा लेखक हुँ भन्दा जुन आत्मगौरव ठान्छ, त्यसले नेपाली समाजमा साहित्यको सम्मान हुन थालेको पुष्टि हुन्छ ।'
पल्लव आफूलाई लेखनमा मात्र सीमित भने गर्दैनन् । उनी रंगहरूलाई मिलाएर क्यानभासमा सुन्दर चित्र पनि उतार्छन् । उनलाई लाग्छ, 'पेन्टिङ पनि साहित्यको अभिन्न अंग हो, त्यसमा पनि जीवन हुन्छ । तर, अभिव्यक्तिका माध्यम मात्र फरक हुन् ।' त्यसैले होला, पल्लवले आफ्नो लेखनका साथसाथै कलाकारितालाई पनि अघि बढाएका छन् । 'जीवन नै रंगहरूको संयोजन हो,' विशेषगरी एब्स्ट्रयाक्ट पेन्टिङमा ध्यान दिने पल्लव भन्छन्, 'जसरी शब्दहरूले जीवन भोगाइको भित्री रहस्यलाई बाहिर ल्याउँछन्, त्यसरी रंगहरूले जीवनलाई दृश्यमा उतार्न सहयोग गर्छन् ।' उनले जुन दिन रंगहरू एउटा भाँडोमा खन्याएर कुची समात्न थाले, त्यो दिनदेखि आफ्नै वरिपरिका र जीवनमा भोगेका विभिन्न प्रसंगलाई क्यानभासमा उतारेका छन् ।
त्यसो त पल्लव आफ्ना पेन्टिङ लिएर देशदौडाहामा पनि नकुदेका होइनन् । केही वर्ष पहिले बढ्दो सूचना-प्रविधिका कुरालाई समेटेर मिनिम्यालिज्ममा आधारित पल्लवको नेपालकै सबैभन्दा ठूलो पेन्टिङ देशका ३० जिल्लामा प्रदर्शन पनि गरिएको थियो । थोरै रंगको प्रयोग गरेर धेरै कुरा अभिव्यक्त गर्ने उनको त्यो पेन्टिङयात्राले नेपालमा एउटा इतिहास नै रच्यो भन्दा पनि फरक नपर्ला । कलाकारले माया गर्ने तर आफ्ना कलाकारितालाई पुर्‍याउन त्यति सहज नहुने मुस्ताङ होस् या मिथिलाकलाको केन्द्रबिन्दु जनकपुरमा नै किन नहोस्, पल्लवको कलायात्राले नयाँ आयाम रचेको थियो । उनी ५२ फिट लामो र ८ फिट चौडा चित्रलाई लिएर देशका विभिन्न गाउँमा पुग्दा आफूले नयाँ क्यानभासमा कोर्नुपर्ने हजारौँ कुरा भेटेको अनुभूत गर्छन् ।
'सांस्कृतिक रूपले नेपाल जति धनी छ, त्यति नै साहित्य र कलामा पनि धनी छ,' पल्लव भन्छन्, 'हामीले मन दिएर लागेको खण्डमा नेपाली कला-साहित्य विश्वका जुनसुकै साहित्यको दाँजोमा अगाडि हुन सक्छ । तर, त्यसका लागि हामीमा लगन र मिहिनेतको आवश्यकता पर्छ ।' डडेलधुरामा होस् या राजविराजमा नै किन नहोस्, पल्लव सबैको मनलाई एकीकृत गराएर विकासमा सहयोग गर्न पनि कला-साहित्यको ठूलो हात हुने बताउँछन् । तर, पल्लव एउटा कुरामा गुनासो गर्छन् । उनको गुनासो हो, 'विश्व दिनदिनै जतिसक्दो सहज र सरल हुन खोजिरहेको छ, तर नेपाली लेखक अझै पनि कसरी आफ्नो अभिव्यक्तिलाई क्लिष्ट बनाउँदा राम्रो होला भन्ने सोचिरहेका छन् ।'
प्रायः लेखक आफूहरूलाई राज्यले बेवास्ता गरेको गुनासो गर्छन् । तर, पल्लवलाई यो विषयमा कुनै गुनासो नै छैन । उनी त देशले लेखकलाई दिनेभन्दा पनि लेखक तथा कलाकारले देशलाई केही दिनेमा विश्वास गर्छन् । 'लेखकले राज्यसँग यस्तो चाहियो, उस्तो भएन भनेर हुँदैन,' उनी भन्छन्, 'राज्यले सबैलाई एउटै कुरा दिन्छ, सबै नागरिक बराबर हुन्, तर लेखकले आफ्नो सिर्जनात्मक कामबाट राज्यलाई सहयोग गर्न सक्नुपर्छ । लेखक गुनासैगुनासाको पोको होइन, र कहिल्यै हुनुहुँदैन ।' त्यसैले पनि होला, पल्लव पछिल्लो समय समाजका विम्ब र घटनालाई आफ्नो सिर्जनामा उतार्दै छन् । त्यसैको प्रमाण हो, उनको पछिल्लो उपन्यास 'माया माई लभ' । उपन्यासमा पल्लवले कसरी गाउँका युवतीलाई फसाएर विदेश पुर्‍याउँदै वेश्यावृत्तिमा संलग्न गराइन्छ भन्ने विषय सामान्य भाषा तथा मीठो शैलीमा वर्णन गरेका छन् ।

प्रकाश गुरागाईं

 

 
मजदुर नेताको नजरमा मजदुर आन्दोलन पीडीएफ मुद्रण इमेल

रामदिप आचार्य

अनुभूति

अनुभव भनेको व्यवहारको सामान्यीकृत ज्ञान हो, जो ज्ञानको प्रारम्भिक चरणमा हुन्छ । जब त्यो गहिराइमा पुग्छ, धारणा निश्कर्षतिर पुग्दछ, तथ्यद्वारा प्रमाणित हुन्छ, तब सिद्धान्त बन्दछ । मजदुर आन्दोलनमा एक वर्षको मेरो अनुभव सिद्धान्तको गहिराइतिर भन्दा अनुभवको सतहतिर बढी भएको पाउँछु । ज्ञान सिद्धान्तको सामान्य नियम पनि हो । छिपछिपेबाट गहिराइतिर, सामान्यबाट जटिलतिर, आमबाट विशिष्टतिर प्रवेश गर्ने । मजदुर आन्दोलनको नेतृत्वको एक वर्षमा मेरो ज्ञान क्रमशः सतहबाट गहिराइतिर प्रवेश गर्दै छ ।

मुख्य बहस

विश्व कम्युनिस्ट आन्दोलनमा मजदुर आन्दोलन जहिले पनि बहस र विवादको केन्द्रमा रहँदै आएको छ । माक्र्सवाद, अराजकतावाद र सुधारवादका रूपमा विभक्त त्यो बहसले विश्वमा दार्शनिक, राजनीतिक, सांगठनिक र आन्दोलनात्मक दृष्टिले थुप्रै उथलपुथल ल्याएको छ । समाजविज्ञानमा उपलब्धि र क्षति भएका छन ।
नेपालको मजदुर आन्दोलनको चर्चा गर्दा यो अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबाट निर्देशित र प्रभावित रहँदै आएको छ । नेपालको मजदुर आन्दोलनको सवाल सैद्धान्तिक महत्त्वको सवाल हो । यसमध्ये पनि पुँजीपतिवर्गको स्वार्थअनुकूल मजदुर आन्दोलनलाई सञ्चालन गर्ने कि स्वतन्त्र धाराका रूपमा विकास गर्ने भन्ने नै मुख्य सवाल हो । सुधारलाई सत्तासँग जोड्ने माक्र्सवाद, सुधार र सत्ता दुवैलाई अस्वीकार गर्ने अराजकतावाद र सुधारलाई सत्ताको सवालबाट अलग गर्ने सुधारवादका मूल विशेषता रहँदै आएका छन् ।

पुँजीपतिवर्गको चरित्र

पुँजीपतिवर्गले जहिले पनि ट्रेड युनियनका कारण आफ्नो व्यवसायसँग चौपट अवस्थामा रहेको बताउँदै आएको छ । मजदुरका कारण, युनियनका कारण, राजनीतिक अस्थिरताका कारण, गलत आर्थिक नीतिका कारण व्यवसाय घाटामा रहेको फेहरिस्त प्रस्तुत गर्ने पुँजीपतिवर्गको विशेषता नै भन्नुपर्छ । व्यवसाय घाटामा भए पनि मजदुरलाई पालिरहेकोले मजदुरले कुनै पनि समस्या नराखी खुरुखुरु विनासर्त आफूलाई सहयोग गर्नुर्पर्ने 'रोजगारदाता'को भनाइ हुन्छ । सकेसम्म पुँजीवालाहरू आफूलाई संकट नआओस् भन्ने चाहन्छन् ।
मजदुर संगठित नबनून् भन्ने पहिलो चाहना उनीहरूमा देखिन्छ । त्यसमा असंगठित मजदुरलाई टुक्रा-टुक्रा गरी काबुमा राख्न सकिने मनोविज्ञानले काम गरेको हुन्छ दोस्रो, बनिहाले पनि एउटा मात्रै युनियन बनोस्, जससँग सम्झौता गर्न, युनियनका प्रतिनिधिलाई प्रलोभनमा पारी आफूअनुकूल सञ्चालन गर्न सजिलो होओस् ।
तेस्रो, युनियन गठन भए पनि श्रम ऐनले व्यवस्था गरेअनुसारको सेवा-सुविधा दिन नपरोस् । आस्थाका आधारमा संगठित हुने अधिकार र नियुक्तिपत्र दिने दुईवटा सवालमा पुँजीवाला निकै कन्जुस देखिन्छन् । अझ बहुराष्ट्रिय निगमवाला त यी दुईवटै सवालबाट बीस हात पर भाग्न खोज्छन् । कठालोमा समातेर बाध्य नपारेसम्म उनीहरू सितिमिति चेत्दैनन् ।

सौदाबाजी कि अधिकार

'सामूहिक सौदाबाजी' मजदुर आन्दोलनमा खुब प्रचलित शब्द हो, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा । ट्रेड युनियनको मुख्य भूमिका भनेकै सामूहिक सौदाबाजी हो भन्ने अथ्र्याउन खोजिन्छ । सामूहिक सौदाबाजी आफँैमा जालसाजीपूर्ण कुरा हो । मजदुर सौदाबाजीका लागि संगठित हुने र आन्दोलित हुने गर्दैनन्, अधिकारका लागि संघर्ष गर्छन् र संघर्षलाई सफल बनाउन संगठित हुन्छन् ।
सामूहिक सौदाबाजीजस्तै अर्को जालसाजीपूर्ण कुरा मजदुर युनियन, रोजगारदाता र सरकारबीच 'सुमधुर सम्बन्ध' कायम गर्ने बनावटी नीति पनि हो । लुट्ने र लुटिनेबीच, श्रम गर्ने र श्रम चोर्नेबीच सुमधुर सम्बन्ध कायम हुनै सक्दैन । बरु हुनुपर्ने र भएको कुरा 'बाध्यात्मक सम्बन्ध' हो । बाँच्नका लागि आफ्नो श्रमशक्ति बेच्ने र अतिरिक्त मूल्य कमाउनका लागि श्रमशक्ति किन्नेबीच बाध्यात्मक एकता हुन्छ । वस्तु उत्पादन तथा सेवामूलक उद्योग सञ्चालनका लागि पुँजीपति र जीविकोपार्जनका लागि मजदुरलाई विपरीत स्वार्थसहित एकै थलोमा आउन बाध्य हुनुपर्छ । यसमा सुमधुर सम्बन्धको कुनै गुन्जायस नै छैन ।


मध्यस्थकर्ता र न्यायालयको भूमिका

टे्रड युनियनले कहिलेकाहीँ मध्यस्थकर्ता, न्यायालयको समेत भूमिका निर्वाह गर्नुपर्छ । आफ्नै प्रतिष्ठानमा, कम्पनीमा काम गर्ने मजदुरका मुद्दा सुरुमा पुँजीवालाले बेवास्ता गर्छन् र सुनुवाइ नै गदैनन् । जब मजदुर आन्दोलन चर्काउँदै जान्छन् र काममा बाधा उत्पन्न हुन्छ, पुँजीवाला सपनाबाट ब्युँझेजस्तै गरी सर्वत्र चाहार्न थाल्छन्, सहयोगको याचना गर्दै । अनि मजदुर कान ठाडा पारेर चनाखो भएर बस्छन् ।
पुँजीवालाले कसरी षड्यन्त्र गर्छ र आफ्नै वर्गभित्रका साथीहरू खासगरी अगुवा साथीहरूले कहाँ, कति वेला र कसरी घात गर्छ भन्ने विषयलाई उनीहरू शंकाको नजरले हेर्न थाल्छन् । जब सम्पूर्ण उपाय, विधि र षड्यन्त्रले फेल खान्छ, हाई काढ्दै पुँजीवाला मजदुरको शरणनजिकै आउँछ । तर, उसभित्रको दम्भ, अहंकार, हेपाहा प्रवृति र नम्र हुन नजान्ने संस्कारका कारण आफ्नै कम्पनीमा कार्यरत मजदुरसँग सीधै छलफल गर्न हिचकिचाउँछ ।
अनि ऊ युनियनको दैलो चाहार्न बाध्य हुन्छ । लोभ, प्रलोभन, घुर्की, धम्कीसहित आफ्नो सौदाबाजी प्रक्रियालाई माथि पार्ने प्रयत्न गर्छ । कहिलेकाहीँ कानुन, प्रहरी, प्रशासन, राजनीतिक शक्ति, सहरमा पालित 'डन' र युनियनकै परिचालनद्वारा मजदुर संघर्षलाई छिन्नभिन्न पार्ने प्रपञ्च पनि सँगसँगै जारी राख्छ । यस्तो अवस्थामा कैयौँ बिचौलियाले समेत 'राम्रै' काम पाउँछन् ।
अरू कुनै आरनमा नगलेको पुँजीवाला मजदुर आन्दोलनको रापिलो भट्टीमा पसेपछि तरल भएर गल्छ र कैयौँ क्षति, तिक्तता र प्रतिशोधसहित सहमतिमा आउन बाध्य हुन्छ । गलेर पनि ऊ आत्मसमर्पण गर्दैन, वर्ग चरित्रका कारण ।

कानुनको सहाराले, ज्यालादारी वकिलको षड्यन्त्रपूर्ण कुतर्कको सहाराले निरन्तर छलछाम, षड्यन्त्र र दुई अर्थी भाषाको प्रयोगद्वारा आफ्नो लुटमा कम क्षति गर्ने प्रयत्न गर्छ । मजदुरबीचको एकता र चलाखीले मात्रै षड्यन्त्रलाई परास्त गर्न सम्भव हुन्छ ।

मजदुर आन्दोलनको चक्र

एकता र संघर्षको द्वन्द्वात्मक सम्बन्ध नै पुँजीपति र मजदुरबीचको वास्तविक सम्बन्ध हो । नाफा कमाउने तीव्र अभिलाषा र जीवन निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्थाले दुवै विपरीत वर्गलाई एकै थलोमा ल्याइपुर्‍याउँछ । यस सर्तमा उनीहरूबीच एकता कायम हुन्छ ।
जब नाफा अत्यधिक कमाउनका लागि मजदुरको चरम शोषण गर्नुपर्ने हुन्छ, पुँजीपतिवर्ग क्रुर भएर आउँछ । जीवन निर्वाह गर्नै नसक्ने अवस्थामा पुगेपछि मजदुरवर्गले ज्यालावृद्धि र सेवा-सुविधामा सुधारका लागि संघर्ष गर्छ । त्यसले मजदुरवर्गलाई एकताबद्ध र स्थापित बनाइदिन्छ । अनि दुई वर्गबीच घमासान मोर्चा बन्दी सुरु हुन्छ, एक-अर्काका विपक्षमा । ठीक यही वेला टे्रड युनियन अग्रभागमा देखापर्छन्- कम्पनी पनि नडुब्ने र मजदुर पनि नमर्ने गरी सहमतिको बीचको बिन्दु खोज्ने गरी । यस्तै बिचौलियाको भूमिका निरन्तर निर्वाह गर्दै गर्दा सुरुमा मजदुरको पक्षमा देखापरेका टे्रड युनियन कालक्रमसँगै पुँजीपतिवर्गको भूमिकामा प्रस्तुत हुन पुग्छन् । कुरा यत्तिमै रोकिँदैन । मजदुर फेरि अर्को युनियन दर्ता गर्छन्, पुरानो युनियनको धोकाधडी, गद्दारी र बेइमानीको बिरासतलाई सम्झँदै र घृणा व्यक्त गर्दै । यसरी मजदुरका पक्षमा लड्न खोलिएका युनियनको संख्या वृद्धि हुन्छ ।
अब युनियनहरूबीच पनि होडबाजी चल्छ, आफूले केही नयाँ, राम्रो गरेर मजदुरको सहानुभूति बटुल्ने र आफ्नो संगठनात्मक घेरा फराकिलो पार्ने काममा । त्यो रस्साकस्सी, तानातान र प्रतिस्पर्धा पनि केही समयपछि मत्थर हुन्छ र वातावरण शान्तजस्तो देखिन्छ, आँधी आउनुअघिको सन्नाटाजस्तो । तर, पनि समस्याको समाधान हुँदैन । संगठन, संघर्ष, सम्झौता र धोका, यही हो मजदुर आन्दोलनको चक्र । संगठन, संघर्ष र विजयको अर्को चक्र निर्माण गर्नुपरेको छ ।

नेत्र पन्थी

 

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL