|
सुगौली सन्धिमार्फत भारतले मिचेको नेपाली भू-भाग फिर्ता गर्नुपर्छ भनेर मैले 'ग्रेटर नेपाल' डकुमेन्ट्री बनाएको थिएँ । सुटिङ गर्न पूर्व-पश्चिम पूरै यात्रा गर्नुपथ्र्यो, तर त्यो वेला -०६० सालमा) सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । घन्टा/घन्टाको दूरीमा हुने सेनाको चेकिङले हैरानै पाथ्र्यो । यात्रुलाई गर्ने व्यवहार मानवीय थिएन । यात्रामा बेपत्ता पारिएका व्यक्तिका आफन्त पनि भेटिन्थे, उनीहरू आफ्ना पीडा पोख्दै भक्कानिन्थे । एउटा यात्रामा भेट भएकी रुकुम मैकोटका एक आमाले तीन छोरीलाई सेनाले आफ्नै आँखैअगाडि बलात्कार गरेको दर्दनाक घटना सुनाइन् । रुकुम खाराको एक घरमा बास बसेको थिएँ, घरधनीले सेनाले गाउँ नै जलाएर ध्वस्त पारिदिएको बयान सुनाइन् । सेनाको त्यो क्रूर व्यवहारले नकारात्मक भाव सिर्जना गराउँथ्यो भने युद्धमैदानमा माओवादीबाट लखेटिएर आएका सैनिक देख्दा माया पलाएर आउँथ्यो । 'विचरा यी त साधारण सैनिक न हुन्, यिनीहरूको के दोष छ र ? कतिखेर मारिने हुन्, कताबाट गोली आउने हो भनेर सशंकित छन्,' सोच्दा दया जागेर आउँथ्यो । यात्रामा सुनिएका पीडाका कथाले पिरोलिरहेको थियो । त्यहीवेला मैले महेशविक्रम शाहको 'वधशालामा बुद्ध' कथा पढेँ । कथाले यात्रामा मैले सुनँे/देखेका अनुभूतिलाई झन् तरंगित पार्यो । 'एउटा व्यक्ति जो सधैँ अरूलाई यातना दिन्थ्यो, माथ्र्यो, उसलाई एक दिन बन्दी बनाएर वधशालामा पुर्याइन्छ, त्यसवेला उसलाई कस्तो अनुभूति हुँदो रहेछ ?' महेशविक्रमले मार्मिक ढंगले प्रस्ट्याएका छन् । केही समयपछि द्वन्द्वकालमा भैरवनाथ गणमा कार्यरत एक सैनिकको संस्मरण पत्रिकामा पढेँ । भैरवनाथ गणबाट कसरी बन्दीलाई शिवपुरीमा लगेर मारिन्थ्यो ? उनले व्याख्या गरेका थिए । मन नै खलबल्याइदिने अनुभूति थियो त्यो । संस्मरण पढिसकेपछि बन्दीहरू मारिएको भन्दा पनि त्यो सैनिकको सोचाइप्रति मेरो ध्यान तानियो । आफ्ना हाकिमहरूले गरेको व्यवहारप्रति असन्तुष्ट भएर एउटा सैनिकको मनोविज्ञानमा जुन किसिमको द्वन्द्व भइरहेको थियो त्योचाहिँ मलाई सुन्दर लागेको थियो । त्यसैले त्यो सैनिक पात्रसँग मेरो काल्पनिक सम्बन्ध बन्न थाल्यो, त्यही सम्बन्धको सिर्जना हो- वधशाला । त्यसपछि पनि करिब एक वर्ष दासढुंगा फिल्म बनाउन व्यस्त भएँ । दासढुंगा सकेपछि जितमान बस्नेतको 'अँध्यारा २५८ दिन' किताब पढेँ । त्यसमा भैरवनाथ गणमा बिताएका कष्टपूर्ण जीवनको अनुभूति थियो । यो किताबले मलाई तथ्यसँग नजिक लग्यो । अझ भैरवनाथ गणमै यातना भोगेका कृष्ण केसीको 'मानव वधशाला' पढेपछि त फिल्म बनाउँछु भन्ने अठोट नै लिएँ ।
बन्दीहरूसँग भेट
फिल्म बनाउने सोच त बन्यो, तर मेरो कथा के हो भनेर पहिल्याउन केही समय लाग्यो । कथा त राज्यले सैनिकलाई प्रयोग गरेर दिएको यातनाको हो, बढी चासोचाहिँ त्यहाँका सैनिकको मनोविज्ञानमा भयो । यातना पाउनेको त आफ्नो पाटो छ, यातना दिने मान्छेको मनोविज्ञान कस्तो होला ? मेरो मुख्य चासो यता गयो । यातना भोग्ने कति माओवादी थिए, कति माओवादीका नाममा समातिएका निर्दोष थिए । यी दुवै मेरो कथाका पात्र बने । तर, मुख्य पात्र यातना दिने सैनिक नै हुन् । कति सैनिकले त बन्दीको ज्यान जोगाउन आफ्नै फौजभित्र संघर्ष गर्नुपर्यो, कथा यो पनि छ । भैरवनाथ गणमा लामै समय बिताएका अर्का एकजना बस्नेत थरका बन्दीसँग मेरो भेट भयो । उनले त्यहाँका सामान्य सैनिकले देखाएको सद्भावको पनि बयान गरे । उनीसँग कुरा गर्दा महसुस भयो, एउटा बन्दीको सबैभन्दा नजिकको मान्छे सैनिक हुँदो रहेछ । ती बन्दीका अनुसार यातनागृहका कतिपय सैनिकहरू एकदमै उच्छृंखल, अभद्र थिए, उनीहरू बन्दुकको कुन्दाले हानेर मात्र संवाद गर्थे । तर, त्यहीँभित्र केही सैनिक यस्ता पनि थिए जो अर्को सैनिकले पिटेर गएपछि मल्हम लगाइदिन्थे । लुकाएर खाना दिन्थे । बाहिर आज यस्तो भएको छ भनेर सुनाउँथे । आँखा छोपिएको हुनाले बन्दीले सैनिक चिन्दैनथे, तर आवाज कर्णपि्रय लाग्थ्यो बन्दीहरूलाई । यसरी लामो समय लगाएर थुप्रै व्यक्तिका संस्मरण पढेर, बन्दीलाई भेटेपछि मेरो कथा बनेको हो । राज्यको यातनागृहमा ठूला मान्छे होइन, सामान्य नागरिक मात्रै पुग्थे, यातना दिने पनि सामान्य सैनिक नै हुन्थे । यातना दिने र भोग्नेबीचको सम्बन्ध मलाई अनौठो लाग्यो । मैले त्यो सम्बन्धलाई खोज्ने कोसिस गरेँ । मैले ठूलाठूला मान्छेका कुरै खोजिनँ ।
पहिलो स्त्रिmप्ट हरायो
कथा दिमागमा आइसकेपछि पनि यसलाई मैले पटक-पटक पन्छाउन खोजेँ, । लगभग एक वर्ष यो कथाबाट टाढिएँ पनि । सोच्थेँ, म द्वन्द्वको त्यो पाटोतिर म फकिन्नँ । लाग्थ्यो, कथाको गहिराइसम्म पुग्ने स्रोत र सामथ्र्य मसँग छैन । तर, फेरि सैनिक र बन्दीकोे सम्बन्धले पिरोलिरहन्थ्यो । फेरि विद्रोह सिध्याउन विद्रोही मार्ने होइन, विद्रोही मारेर कुनै पनि देशमा विद्रोह सकिएको छैन, सन्देश यही दिनु थियो । अर्को कुरा, विद्रोहीको चरित्र नै समाजमा अस्तव्यस्तता सिर्जना गर्नु हो । त्यो अस्तव्यस्तताले आफ्ना आवाज सत्तालाई सुनाउनु उनीहरूको उद्देश्य हुन्छ । तिनीहरू उच्छृंखल भए भनेर राज्य पनि उच्छृंखल हुनु भएन नि, यस्तै सोचेर स्त्रिmप्ट लेख्न बसेँ । स्त्रिmप्ट एक महिनामै तयार भयो । तर, ल्यापटप चोरी भएपछि स्त्रिmप्ट हरायो । स्त्रिmप्टसँगै मेरा आशाहरू पनि हराए । तर, केही समयपछि सैनिक र बन्दीको सम्बन्धले फेरि लखेट्न थाल्यो । मलाई कुनै पार्टीको राजनीतिक प्रोपगान्डा गर्नु थिएन, कुनै संस्थाविरुद्ध वकालत गर्नु पनि थिएन । मात्र त्यो यातनाभित्र सिर्जना भएका मानवीय संवेदना कस्तो थियो त ? देखाउनु त्यत्ति थियो । त्यसैले भन्नैपथ्र्यो । त्यसैले आँट गरेँ । दोस्रोपटक लेख्न बसेँ, स्त्रिmप्ट फाइनल भयो । दोस्रो स्त्रिmप्ट लेख्दै जाँदा एउटा पात्रचाहिँ एकदमै सुन्दर ढंगले बन्यो । मेरो पहिलो स्त्रिmप्टमा त्यो पात्र थिएन, तर क्याप्टेनको रूपमा चाहिँ उभिरहन्थ्यो । दोस्रो ड्राफ्टमा त्यो क्याप्टेन एक/दुई सिनमा देखिने भयो । विस्तारै बढ्दै गएर त्यो पात्र आफैँमा महत्त्वपूर्ण हुँदै गयो । स्त्रिmप्ट फाइनल हँुदा त्यो पात्र कथाको सबैभन्दा महत्त्वपूर्ण आयाम बनेर आयो । मैले सोचेको होइनँ, आफँै लेखिँदै गयो । अहिले फिल्ममा एकदमै 'पावरफुल' पात्र जसले कथाको विचार बोकेको छ, त्यो त्यही अचानक आएको पात्र हो ।
दयाहाङ र अनुप
फिल्म बनाउने त सोचियो, तर बनाउन त पैसा चाहिन्थ्यो । खोज्न लामो समय लाग्यो । मलाई थाहा थियो, यो फिल्मबाट ठूलो केही कमाउने छैन, उस्तै परे फिल्मबाट लगानी उठाउनै मुस्किल पथ्र्यो । एकजना साथीले फिल्म बनाउन सहकार्य गर्छु भनेका थिए, तर केही कारणले उनी घाटामा गएका थिए । पैसाको अभावमा योजना स्थगित हुने भइसकेको थियो । त्यहीवेला मोहन डोटेल भन्ने भाइले ढुक्कसँग भने, 'दाइ म तपाईंलाई साथ दिन्छु,' काम अगाडि बढ्यो । कलाकार मेरो दिमागमा पहिलेदेखि नै 'सेट' थिए । दासढुंगामा अमर लामाको अभिनय गरेका दयाहाङ राई मेरो प्रमुख रोजाइ थिए, अर्को रोजाइ अनुप बराल । यी दुईजना मेरो प्रारम्भिक रोजाइ थिए । मुख्य पात्रका रूपमा पुष्पराज पुरुषलाई खेलाउन चाहन्थे, त्यही वेला उनी व्यापारिक झमेलामा प“mसे । व्यक्तित्वबाट म प्रभावित थिएँ, तर उनी झमेलामा फँसेपछि साथीहरूले अर्का एकजनाको नाम सिफारिस गरे, खगेन्द्र लामिछाने । उनी नाटकका कलाकार हुन्, मेरो सौभाग्य हो, उनलाई यो फिल्ममा खेलाउन पाएँ । यस फिल्ममा उनी यस्ता अभिनेता छन् जसको अभिनय सहज र सुन्दर छ । यो फिल्मबाट नेपाली चलचित्र उद्योगले एउटा राम्रो कलाकार पाएको छ । अर्पण थापा र सौगात मल्लचाहिँ निर्माता मोहन डोटेलका रुचि हुन् ।
जंगल खोज्न दुई महिना
वधशालाको सुटिङ गर्न 'लोकेसन' सबैभन्दा महत्त्वपूर्ण थियो । वधशालाको कथामा दुईवटा मात्र 'लोकेसन' थिए, एउटाचाहिँ यातनागृहभित्र, अर्को जंगल जहाँ मार्न बन्दी लगिन्थ्यो । यातनागृह त अथेन्टिक देखिनुपर्यो । भैरवनाथ गण मैले देखेको छैन, त्यहाँ जान पनि सक्दिनँ । बन्दीलाई पट्ट िबाँधेर यातना दिएको पनि देख्न पाएको थिइनँ । तर, कथा पढ्दा र सुन्दा महसुस गर्न थालिसकेेको थिएँ । त्यही अनुभूतिका आधारमा म 'लोकेसन' खोज्दै गएँ, खोज्न चुनौतीपूर्ण भयो । सेनाको गणजस्ता देखिने भवन सायद काठमाडौंमा धेरै कम छन्, भए पनि सरकारी कार्यालय छन् । एक दिन चारखाल अड्डा पुगेँ, एउटा भवन त्यतिकै छाडिएको रहेछ । भित्र छिरेर हेरेँ, मैले कल्पना गरेको यातनागृह त्यही थियो । जसरी भए पनि यो लोकेसन मलाई चाहिन्छ भनँे-निर्माताले अनेक तिकडम गरेर मिलाए । दोस्रो पाटो जंगलको हो । मलाई शिवपुरीजस्तै जंगल चाहिन्थ्यो । खोज्दा काठमाडांैनजिकका अधिकांश जंगलका रूख नापियो । मेरा सहायक महेश बराल मसँगै हुन्थे । दुईजनाले लगभग दुई महिना त जंगल मात्रै खोज्यौँ । जंगल खोज्दै कहिले काभ्रेको कामीडाँडा पुग्थ्यौँ, त कहिले नुवाकोट र धादिङका डाँडा चहार्थ्यौँ । तर, परिकल्पनाअनुसारको जंगल पाइएको थिएन । अन्तिममा हेटौँडा जाने बाटोमा एउटा जंगल फेला पर्यो, देउरालीको जंगल । त्यो जंगलमा छिर्नेबित्तिकै यस्तो अनुभूति भयो, यही हो मैले खोजेको जंगल ।
यथार्थपरक छायांकन
कलाकारमा बन्दी धेरै चाहिन्थे मलाई । बन्दी बन्न त मान्छे धेरै आए, तर जो आउथे मात्र अनुहार देखाउन खोज्ने । आखिर कलाकार भएपछि त मान्छेले चिनुन् भन्ने चाहना हुने नै भयो, तर कथामा ती बन्दीको अनुहार कालोपट्टीले ढाकेको छ । त्यसैले उनीहरूलाई काममा मनाउन पनि गाह्रो । फेरि यातना भोग्नुछ, पिटाइ खानुछ । पिटाइ खाने तर अनुहार नदेखाएरै पीडा देखाउन ठूलै मुटु भएको मान्छे चाहिन्छ । त्यो चिज हासिल गर्न लामो समय वर्कसप गर्नुपर्यो । २४ भदौ, ०६९ मा सुटिङ सुरु गर्यौँ । सुटिङका अधिकांश दृश्य यातनाका छन् । यस्ता दृश्य सुट गर्न धेरै नाटकीयता गर्न सकिन्थ्यो, तर म वास्तविकता झल्काउन चाहन्थेँ । मैले आफ्ना कलाकारलाई साँच्चिकै पिट्न लगाउँथेँ । एउटा सिनमा दुईजना कलाकार थिए, त्यही सिनका लागि मात्र उनीहरूलाई ल्याइएको थियो । उनीहरू आफ्नो सिनअघिको सुटिङ हेर्दै थिए । दयाहाङले पिट्ने सिन चलिरहेको थियो, उसले यसरी पिट्यो- देेखेर ती दुईजना त भागेछन् । त्यो सिनको सुटिङ नै रोकियो । पात्रहरूले पाएको यातना चित्रण गर्न मैले कलाकारहरूलाई धेरै पिटाउनुपर्यो । एउटा मान्छेले अर्को निहत्था मान्छेलाई पिट्ने कुरा निकै गाह्रो हुँदो रहेछ । पिटेको हेर्न झन् गाह्रो । सुटिङ गर्दा पिटाइ खाएकासँग तुरुन्तै माफी मागिहाल्थेँ । खगेन्द्र र सौगातले भन्थे, 'जति पिट्छौँ पिट तर चिज आउनुपर्यो ।' उनीहरू बन्दीको वास्तविक अनुभूति दिन पनि पिटिन तम्तयार हुन्थे । यो अवधिमा सौगात मल्लको हात सुन्निएको थियो । खगेन्द्रको जिउभरि नीलडाम थियो । दुईजना बन्दी कलाकारको त उपचार नै गर्नुपर्यो । उनीहरूको त्यो 'लेभल'को सहयोग नभइदिएको भए यथार्थपरक चित्रण गर्न सकिँदैनथ्यो । यातनापछि जंगलको छायांकन थियो । देउरालीे जंगलमा एकदमै जुका लाग्ने । सिमसिम पानी परिरहने, जुका नाकको टुप्पोमा समेत पुग्ने । त्यसैले छायांकन साह्रै कठिन थियो । तर, अनुभूति हुन्थ्यो- यथार्थको धेरैनजिक भएर काम गरिरहेका छौँ । आफ्नो काममा टिम क्लियर थियो । कसले के काम गर्ने ?, कतिखेर रेस्ट गर्ने ? हामी स्पष्ट थियौँ । त्यसैले २० दिनमा सक्ने लक्ष्य बोकेको फिल्मको सुटिङ १८ दिनमा सक्यौँ ।
पप्पु क्यान डान्स
करिब २५ दिनमा पहिलो चरणको 'एडिटिङ' सक्यौँ । फिल्मका सम्पादक निमेष श्रेष्ठ कथा लेख्दादेखि नै सँगसँगै थिए, त्यसैले एडिटिङमा समय लागेन । म सुरुदेखि स्पष्ट थिएँ, हामीलाई एउटा कथा दर्शकले बुझ्ने गरी, अनुभूति गर्न सक्नेगरी भन्नु थियो । सम्पादनपछि प्रस्ट भयो, फिल्मबाट कसैलाई निराश बनाउँदैनौँ । १ जनवरीमा फिल्मको 'प्रोमो आउट' गर्यौँ । रिलिज डेट तय पनि गर्यौँ । हामी प्रदर्शनको तयारीमा थियौँ, एक्कासि रक्षा मन्त्रालय प्रकरण आयो । सेनाको पोसाकविना इजाजत प्रयोग गरेको भन्दै फिल्म रोक्न भनियो । चलचित्रले अनुमति पाइसक्या छ भने हलमा प्रदर्शन गर्न नदिनू र अनुमति पाएको छैन भने अनुमति नै नदिनू भनिएको थियो । निरंकुशताको पराकाष्टा । हामीले क्याम्पेनिङ सुरु गर्यौँ । विकास बोर्डबाट अनुमति लिने प्रक्रियामा हामीलाई रोकियो । बोर्डले अनुमति दिएन भने हामीले काम गर्न सक्दैनौँ भने लागेको थियो । बोर्डमा नयाँ अध्यक्ष आउने लफडा पनि त्यही वेला चलिरहेको थियो । बोर्डका नयाँ अध्यक्ष पप्पु यादव आउनुभयो । उहाँले जसरी निर्णय गर्नुभयो, म अचम्मित भएँ । त्यो वेला पप्पु क्यान्ट डान्स साला भन्ने चर्चा थियो । तर, रक्षा मन्त्रालयको पत्रको बाबजुद उहाँले अनुमति दिनुभयो । उहाँले कुनै पनि चलचित्र निर्माता मरेको देख्न सक्दिनँ भनेर अडान लिनुभयो । हुन पनि विकास बोर्डको उद्देश्य चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिको उत्थान हो, सरकारी कर्मचारीको विरोधबीच पनि उहाँले चलचित्रको पक्षमा निर्णय दिनुभयो । त्यो दिन लाग्यो, पप्पु क्यान डान्स ।
होच्याउन होइन सच्याउन
यो देशमा राष्ट्रियता ढाकाटोपी लगाउनेहरूको पेवा भनिन्थ्यो, ढाकाटोपी लगाउनेहरूले नै देश जोगाएका छन् भन्थे, तर होइन रहेछ । त्यो तराईको मान्छेले अडान लिन सक्यो, तर ढाकाटोपी लगाएर मन्त्रालयमा बसेकाहरू कसैले पनि अडान लिन सकेनन् । चलचित्र बोर्डले त अनुमति दियो, तर सेन्सर बोर्डमा गएर रोकियो । त्योबीच हामी सञ्चार मन्त्रालय, रक्षा मन्त्रालय धायौँ । जंगी अड्डा पुगेर सेनाका प्रवक्ता पनि भेटेँ, सेना प्रमुखलाई पनि चिठी पठाएँ । यो फिल्मले सेनाको लोकतान्त्रीकरणलाई मद्दत पुर्याउँछ, सँगै बसेर फिल्म हेरौँ, त्यसपछि निर्णय गर्नुहोला भनँे । सञ्चार मन्त्रालयको पत्रपछि सेनाका मान्छेले वधशाला हेरे । हेरिसकेपछि पनि भने रे, 'यो फिल्मले शान्तिप्रक्रिया बिथोल्छ ।' अचम्म लाग्छ, कस्तो फिल्म बनाएछु मैले जसले नेपालको शान्तिप्रक्रिया नै भंग गर्छ । नेपालको शान्तिप्रक्रिया कति कमजोर रहेछ, एउटा फिल्मबाट भंग हुने । हामी सर्जक, कलाकारचाहिँ शान्तिप्रक्रिया भाँड्ने मान्छे, नेपाली सेनामात्रै यो देशको शान्तिप्रक्रियाको ठेक्का लिएर बसेको छ ? सेनाप्रति म पनि सम्मान गर्छु, तर सेनाले नेपाली जनताले भनेको कुरा सुन्ने कि नसुन्ने ? जंगी अड्डाले रक्षा मन्त्रालयलाई पत्र पठायो । रक्षा मन्त्रालयले घुमाउरो भाषामा भन्यो, 'फिल्मले शान्तिप्रक्रिया भाँड्ने र सेनालाई होच्याएको हाम्रो निष्कर्ष छ, त्यही आधारमा बसेर सेन्सर बोर्डले केही गर्नू ।' रक्षा मन्त्रालयले त्यस्तो भनिसकेपछि सेन्सरबोर्डले के गर्न सक्छ र ? बोर्डले भन्यो, 'हामी गर्न सक्दैनौँ, यसको छिनोफानो पोलिटिकल लेभलमा हुनुपर्छर् ।' २५ फागुनमा रिलिज गर्ने भनेर २० दिनदेखि सेन्सरबोर्ड धाएको धाएकै थियौँ । तर, संघर्षले काम लागेन । तोकिएको समयमा हामीले फिल्म चलाउन पाएनौँ । अब आशा सर्वोच्च अदालतको मात्र छ ।
प्रस्तुति : प्रवीण बुढाथोकी
|