Thursday, May 23, 2013

सप्तरंग
कलाकारितामा बिँडो थाम्ने आश पीडीएफ मुद्रण इमेल

♦ बालकलाकारका रूपमा परिचित निर्देशक नारायण पुरीका जेठा छोरा संयम पुरीले सायद फिल्मबाट आफूलाई वयस्क अभिनेताका रूपमा पनि प्रमाणित गरे ।
♦ थुप्रै फिल्ममा बालकलाकारका रूपमा आफूलाई दर्शकमाझ परिचित गराइसकेका निर्देशक सोभित बस्नेतका छोरा सलोन पनि 'होस्टेल’ फिल्मबाट हिरो बनेका छन् ।
♦ निर्देशक शिव रेग्मीकी छोरी भावना 'सो सिम्पल’ फिल्मबाट हिरोइनका रूपमा देखा परिन् । फिल्म नचले पनि उनको कामले भने तारिफ पायो । नर्सिङ पेसामा आबद्ध उनी अभिनयलाई निरन्तरता दिने सोचमा छिन् ।
♦ हिरो भुवन केसीका छोराका रूपमा मात्र चिनिने गरेका अनमोल केसीले निर्माणाधीन 'होस्टेल’ फिल्ममार्फत आफूलाई अभिनेताका रूपमा परिचित गराउँदै छन् ।
♦ पुराना अभिनेता टीका पहाडीका छोरा गौरव पहाडी पनि अभिनयमा लागेका छन् । उनी हिरो बनेको पहिलो फिल्म 'मञ्जरी’ ९ चैत्रदेखि रिलिज हुँदै छ भने दोस्रो फिल्म होस्टलको हालै सुटिङ सकिएको छ ।

नेपाली चलचित्र अभिनयमा नयाँ पुस्ताको प्रवेश भएको छ । भारतीय फिल्म उद्योगमा झैँ नेपालमा पनि फिल्मकर्मीका सन्तान फिल्ममा आकषिर्त हुने क्रम बढेको छ । सोही मात्रामा स्टारका सन्तान अभिनयमा जम्ने संकेत पनि देखिएको छ ।
बलिउडमा फिल्मी पृष्ठभूमिका नवअभिनेता र अभिनेत्री सजिलै स्थापित भएको देखिएको छ । यहाँ पनि सो सम्भावना बढेको छ । निर्देशक नारायण पुरीका छोरा संयमले थुप्रै फिल्ममा बालकलाकारका रूपमा आफ्नो अभिनय प्रतिभा देखाइसकेका थिए । उनले अघिल्लो वैशाखमा प्रदर्शित 'सायद' फिल्मबाट आफूलाई किशोर अभिनेताका रूपमा पनि प्रमाणित गर्न सफल भए । 'सायद'को सफलतापछि उनलाई थुप्रै फिल्मको अफर आएको थियो । तर, उनी अन्य फिल्ममा देखापरेका छैनन् । संयम आफू हिरोभन्दा पनि कलाकार बन्न चाहेको र त्यस्तै भूमिकाको खोजीमा रहेको बताउँछन् ।
निर्देशक शिव रेग्मीकी छोरी भावना आफ्नै बाबुले निर्देशन गर्ने 'सो सिम्पल' फिल्ममा हिरोइन बनिन् । फिल्म नचले पनि उनको कामको भने तारिफ भयो । अभिनयमा सानैदेखि रुचि भएकाले उनले 'सो सिम्पल'मा राम्रै काम गर्न सकेकी थिइन् । उक्त फिल्मपछि भने उनी नयाँ फिल्ममा देखा परेकी छैनन् । यद्यपि उनी निकटभविष्यमै अर्काे फिल्ममा देखा पर्नेछिन् ।
निर्देशक सोभित बस्नेतका छोरा सलोनले थुप्रै फिल्ममा बालकलाकारका रूपमा आफ्नो प्रतिभा देखाए । उनले अभिनय गरेका फिल्म हिट पनि भए । अहिले आएर उनले हिरोको रूपमा डेब्यू गरेका छन्, सुनील रावलको होस्टेल फिल्मबाट । बाबु सोभित छोरा सलोनलाई आफ्नै निर्देशनको फिल्मबाट हिरोको रूपमा डेब्यू गराउन चाहन्थे । तर, परिस्थितिका कारण सलोन बाहिरी ब्यानरको फिल्मबाट अघि बढे । होस्टेलपछि सलोन छविराज ओझाको नयाँ फिल्ममा देखापर्ने सम्भावना बढेको छ ।
चरित्र अभिनेता टीका पहाडीका कान्छा छोरा गौरवले मुम्बई पुगेर अभिनय प्रशिक्षण लिए । टेलिभिजनमा काम गरेको अनुभवसमेत सँगालेका गौरव प्रदर्शनको क्रममा रहेको गणेश पाण्डेको 'मञ्जरी' फिल्मबाट हिरोको रूपमा डेब्यू भएका हुन् । त्यसपछि भने उनले 'होस्टेल' फिल्ममा अभिनय गरेका छन् । उनी बाबुझैँ अभिनयमै करिअर बनाउन चाहन्छन् । 'मञ्जरी'ले दर्शकको कस्तो प्रतिक्रिया पाउँछ, गौरव त्यसकै प्रतिक्षामा छन् ।
सदावहार अभिनेता भुवन केसीका छोरा अनमोलले 'साथी म तिम्रो' फिल्मको एउटा गीतमा अभिनय गरेका थिए । गतवर्ष एक कार्यक्रममा भुवनले आफू निर्देशक बन्ने र अनमोललाई हिरोमा डेब्यू गराउने घोषणा गरेका थिए । तर, भुवन निर्देशक बन्ने फिल्म अहिलेसम्म फ्लोरमा गएको छैन । अनमोल भने 'होस्टल' फिल्मबाट अभिनेताका रूपमा अघि बढिसकेका छन् । 'होस्टल'मा अभिनेत्री तथा हेयर डे्रसर विपना बस्नेतकी छोरी रिस्ता बस्नेतले पनि अभिनय गरेकी छिन् । हाल नक्कली हिसिला यमीका रूपमा चर्चित विपनाकी छोरी रिस्ता हिरोइनका रूपमा स्थापित हुने विश्वासमा छिन् ।
निर्देशक बदि्र अधिकारीकी छोरी केकी अधिकारीले भने आफूलाई हिरोइनका रूपमा प्रमाणित गरिसकेकी छिन् । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी उनी 'स्वर' फिल्मबाट हिरोइन बनेकी हुन् । त्यसपछि उनले 'मसान', 'आई एम सरी', 'मायाको बारीमा', 'ए फर अमेरिका', 'मुटु', 'बितेका पल'लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । युवापुस्तामाँझ लोकपि्रय रहेकी केकी अभिनयमा करिअर
बनाउन चाहन्छिन् ।
फिल्मकर्मीका केही सन्तानले प्राविधिक क्षेत्र रोजेका पनि छन् । स्वर्गीय निर्देशक प्रकाश थापाका छोरा विजय थापा निर्देशक बने । तर, उनले निर्देशन गरेका फिल्मले कुनै छाप छोड्न सकेका छैनन् । संगीतकार शम्भुजित बास्कोटाका छोरा सौर्यजितले नयाँ 'कुसुमे रुमाल'मा संगीत दिए । गीत हिट भए पनि उनी पुनः अर्काे फिल्ममा संगीतकार भएको देख्न पाइएको छैन । त्यस्तै, निर्माता तथा वितरक उद्धव पौडेलका छोरा नीरक पौडेल पनि सोही फिल्मबाट निर्देशक बने । थुपै्र फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले निर्देशन गरेको नयाँ कुसुमे रुमाल फ्लप भयो । त्यसपछि उनी पुनः निर्देशक बनेका छैनन् ।
हास्य अभिनेता मदनकृष्ण श्रेष्ठका छोरा रेमनले 'फिलिम'नामक फिल्ममा संगीत दिएका थिए भने छोरी सहानाले केही फिल्ममा गीत गाएकी थिइन् । निर्देशक शम्भु प्रधानकी छोरी ईश्वरी थुप्रै फिल्ममा बालकलाकार भइन् । 'सोह्रवर्षे जोवन'नामक फिल्ममा हिरोइनका रूपमा देखा पनि परिन् । तर, पछि उनले अभिनयलाई निरन्तरता दिइनन् । ईश्वरी केही वर्षयता पतिका साथ अमेरिकामा बस्दै आएकी छिन् ।
स्वर्गीय हास्य अभिनेता गोपालराज मैनालीकी छोरी सज्जा मैनाली 'नौ डाँडापारि'बाट हिरोइन बनिन् । त्यसपछि पनि उनी थुप्रै फिल्ममा हिरोइन बनिन् । तर, बिहेपछि भने उनी पति ओम भट्टराईसँग अमेरिका उडिन् । सज्जालाई प्रतिभा र सम्भावना भएकी अभिनेत्रीको रूपमा हेरिएको थियो । तर, उनले अभिनयलाई निरन्तरता दिइनन् । स्वर्गीय अभिनेत्री सुशीला रायमाझीकी कान्छी छोरी प्रसिद्धीका 'पिँजडा' र 'धनसम्पत्ति' फिल्ममा हिरोइन बनिन् । त्यसपछि उनले पनि फिल्मकर्मलाई निरन्तरता दिइनन् ।
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गीले पनि अभिनय क्षेत्र रोजेकी छिन् । 'प्लान'बाट हिरोइन बनेकी उनले त्यसपछि 'दुलही रानी', 'मेरो जीवन साथी', 'भेटी', 'गहिराइ', 'नोथिङ इम्पोसिवल'लगायतका फिल्ममा अभिनय गरेकी छिन् । सन्तानले आफ्नो बिँडो थाम्न लागेकोमा अभिभावकहरू खुशी छन् । अनमोलका बाबु भुवन भन्छन्, 'मेरो छोरो मभन्दा पनि स्टार बन्नेछ । यो मेरो विश्वास हो ।' त्यसैगरी सलोनका बाबु सोभित पनि छोराले कलाकारको रूपमा आफ्नो नाम 'रोशन' गर्नेमा ढुक्क छन् ।

लक्ष्मण सुवेदी

 

 
यसरी बन्यो बधशाला पीडीएफ मुद्रण इमेल

सुगौली सन्धिमार्फत भारतले मिचेको नेपाली भू-भाग फिर्ता गर्नुपर्छ भनेर मैले 'ग्रेटर नेपाल' डकुमेन्ट्री बनाएको थिएँ । सुटिङ गर्न पूर्व-पश्चिम पूरै यात्रा गर्नुपथ्र्यो, तर त्यो वेला -०६० सालमा) सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । घन्टा/घन्टाको दूरीमा हुने सेनाको चेकिङले हैरानै पाथ्र्यो । यात्रुलाई गर्ने व्यवहार मानवीय थिएन । यात्रामा बेपत्ता पारिएका व्यक्तिका आफन्त पनि भेटिन्थे, उनीहरू आफ्ना पीडा पोख्दै भक्कानिन्थे ।
एउटा यात्रामा भेट भएकी रुकुम मैकोटका एक आमाले तीन छोरीलाई सेनाले आफ्नै आँखैअगाडि बलात्कार गरेको दर्दनाक घटना सुनाइन् । रुकुम खाराको एक घरमा बास बसेको थिएँ, घरधनीले सेनाले गाउँ नै जलाएर ध्वस्त पारिदिएको बयान सुनाइन् । सेनाको त्यो क्रूर व्यवहारले नकारात्मक भाव सिर्जना गराउँथ्यो भने युद्धमैदानमा माओवादीबाट लखेटिएर आएका सैनिक देख्दा माया पलाएर आउँथ्यो । 'विचरा यी त साधारण सैनिक न हुन्, यिनीहरूको के दोष छ र ? कतिखेर मारिने हुन्, कताबाट गोली आउने हो भनेर सशंकित छन्,' सोच्दा दया जागेर आउँथ्यो ।
यात्रामा सुनिएका पीडाका कथाले पिरोलिरहेको थियो । त्यहीवेला मैले महेशविक्रम शाहको 'वधशालामा बुद्ध' कथा पढेँ । कथाले यात्रामा मैले सुनँे/देखेका अनुभूतिलाई झन् तरंगित पार्‍यो । 'एउटा व्यक्ति जो सधैँ अरूलाई यातना दिन्थ्यो, माथ्र्यो, उसलाई एक दिन बन्दी बनाएर वधशालामा पुर्‍याइन्छ, त्यसवेला उसलाई कस्तो अनुभूति हुँदो रहेछ ?' महेशविक्रमले मार्मिक ढंगले प्रस्ट्याएका छन् ।
केही समयपछि द्वन्द्वकालमा भैरवनाथ गणमा कार्यरत एक सैनिकको संस्मरण पत्रिकामा पढेँ । भैरवनाथ गणबाट कसरी बन्दीलाई शिवपुरीमा लगेर मारिन्थ्यो ? उनले व्याख्या गरेका थिए । मन नै खलबल्याइदिने अनुभूति थियो त्यो । संस्मरण पढिसकेपछि बन्दीहरू मारिएको भन्दा पनि त्यो सैनिकको सोचाइप्रति मेरो ध्यान तानियो । आफ्ना हाकिमहरूले गरेको व्यवहारप्रति असन्तुष्ट भएर एउटा सैनिकको मनोविज्ञानमा जुन किसिमको द्वन्द्व भइरहेको थियो त्योचाहिँ मलाई सुन्दर लागेको थियो । त्यसैले त्यो सैनिक पात्रसँग मेरो काल्पनिक सम्बन्ध बन्न थाल्यो, त्यही सम्बन्धको सिर्जना हो- वधशाला ।
त्यसपछि पनि करिब एक वर्ष दासढुंगा फिल्म बनाउन व्यस्त भएँ । दासढुंगा सकेपछि जितमान बस्नेतको 'अँध्यारा २५८ दिन' किताब पढेँ । त्यसमा भैरवनाथ गणमा बिताएका कष्टपूर्ण जीवनको अनुभूति थियो । यो किताबले मलाई तथ्यसँग नजिक लग्यो । अझ भैरवनाथ गणमै यातना भोगेका कृष्ण केसीको 'मानव वधशाला' पढेपछि त फिल्म बनाउँछु भन्ने अठोट नै लिएँ ।

बन्दीहरूसँग भेट

फिल्म बनाउने सोच त बन्यो, तर मेरो कथा के हो भनेर पहिल्याउन केही समय लाग्यो । कथा त राज्यले सैनिकलाई प्रयोग गरेर दिएको यातनाको हो, बढी चासोचाहिँ त्यहाँका सैनिकको मनोविज्ञानमा भयो । यातना पाउनेको त आफ्नो पाटो छ, यातना दिने मान्छेको मनोविज्ञान कस्तो होला ? मेरो मुख्य चासो यता गयो । यातना भोग्ने कति माओवादी थिए, कति माओवादीका नाममा समातिएका निर्दोष थिए । यी दुवै मेरो कथाका पात्र बने । तर, मुख्य पात्र यातना दिने सैनिक नै हुन् । कति सैनिकले त बन्दीको ज्यान जोगाउन आफ्नै फौजभित्र संघर्ष गर्नुपर्‍यो, कथा यो पनि छ ।
भैरवनाथ गणमा लामै समय बिताएका अर्का एकजना बस्नेत थरका बन्दीसँग मेरो भेट भयो । उनले त्यहाँका सामान्य सैनिकले देखाएको सद्भावको पनि बयान गरे । उनीसँग कुरा गर्दा महसुस भयो, एउटा बन्दीको सबैभन्दा नजिकको मान्छे सैनिक हुँदो रहेछ ।
ती बन्दीका अनुसार यातनागृहका कतिपय सैनिकहरू एकदमै उच्छृंखल, अभद्र थिए, उनीहरू बन्दुकको कुन्दाले हानेर मात्र संवाद गर्थे । तर, त्यहीँभित्र केही सैनिक यस्ता पनि थिए जो अर्को सैनिकले पिटेर गएपछि मल्हम लगाइदिन्थे । लुकाएर खाना दिन्थे । बाहिर आज यस्तो भएको छ भनेर सुनाउँथे । आँखा छोपिएको हुनाले बन्दीले सैनिक चिन्दैनथे, तर आवाज कर्णपि्रय लाग्थ्यो बन्दीहरूलाई । यसरी लामो समय लगाएर थुप्रै व्यक्तिका संस्मरण पढेर, बन्दीलाई भेटेपछि मेरो कथा बनेको हो ।
राज्यको यातनागृहमा ठूला मान्छे होइन, सामान्य नागरिक मात्रै पुग्थे, यातना दिने पनि सामान्य सैनिक नै हुन्थे । यातना दिने र भोग्नेबीचको सम्बन्ध मलाई अनौठो लाग्यो । मैले त्यो सम्बन्धलाई खोज्ने कोसिस गरेँ । मैले ठूलाठूला मान्छेका कुरै खोजिनँ ।


पहिलो स्त्रिmप्ट हरायो

कथा दिमागमा आइसकेपछि पनि यसलाई मैले पटक-पटक पन्छाउन खोजेँ, । लगभग एक वर्ष यो कथाबाट टाढिएँ पनि । सोच्थेँ, म द्वन्द्वको त्यो पाटोतिर म फकिन्नँ । लाग्थ्यो, कथाको गहिराइसम्म पुग्ने स्रोत र सामथ्र्य मसँग छैन । तर, फेरि सैनिक र बन्दीकोे सम्बन्धले पिरोलिरहन्थ्यो ।
फेरि विद्रोह सिध्याउन विद्रोही मार्ने होइन, विद्रोही मारेर कुनै पनि देशमा विद्रोह सकिएको छैन, सन्देश यही दिनु थियो । अर्को कुरा, विद्रोहीको चरित्र नै समाजमा अस्तव्यस्तता सिर्जना गर्नु हो । त्यो अस्तव्यस्तताले आफ्ना आवाज सत्तालाई सुनाउनु उनीहरूको उद्देश्य हुन्छ । तिनीहरू उच्छृंखल भए भनेर राज्य पनि उच्छृंखल हुनु भएन नि, यस्तै सोचेर स्त्रिmप्ट लेख्न बसेँ ।
स्त्रिmप्ट एक महिनामै तयार भयो । तर, ल्यापटप चोरी भएपछि स्त्रिmप्ट हरायो । स्त्रिmप्टसँगै मेरा आशाहरू पनि हराए । तर, केही समयपछि सैनिक र बन्दीको सम्बन्धले फेरि लखेट्न थाल्यो । मलाई कुनै पार्टीको राजनीतिक प्रोपगान्डा गर्नु थिएन, कुनै संस्थाविरुद्ध वकालत गर्नु पनि थिएन । मात्र त्यो यातनाभित्र सिर्जना भएका मानवीय संवेदना कस्तो थियो त ? देखाउनु त्यत्ति थियो । त्यसैले भन्नैपथ्र्यो । त्यसैले आँट गरेँ । दोस्रोपटक लेख्न बसेँ, स्त्रिmप्ट फाइनल भयो ।
दोस्रो स्त्रिmप्ट लेख्दै जाँदा एउटा पात्रचाहिँ एकदमै सुन्दर ढंगले बन्यो । मेरो पहिलो स्त्रिmप्टमा त्यो पात्र थिएन, तर क्याप्टेनको रूपमा चाहिँ उभिरहन्थ्यो । दोस्रो ड्राफ्टमा त्यो क्याप्टेन एक/दुई सिनमा देखिने भयो । विस्तारै बढ्दै गएर त्यो पात्र आफैँमा महत्त्वपूर्ण हुँदै गयो । स्त्रिmप्ट फाइनल हँुदा त्यो पात्र कथाको सबैभन्दा महत्त्वपूर्ण आयाम बनेर आयो । मैले सोचेको होइनँ, आफँै लेखिँदै गयो । अहिले फिल्ममा एकदमै 'पावरफुल' पात्र जसले कथाको विचार बोकेको छ, त्यो त्यही अचानक आएको पात्र हो ।

दयाहाङ र अनुप

फिल्म बनाउने त सोचियो, तर बनाउन त पैसा चाहिन्थ्यो । खोज्न लामो समय लाग्यो । मलाई थाहा थियो, यो फिल्मबाट ठूलो केही कमाउने छैन, उस्तै परे फिल्मबाट लगानी उठाउनै मुस्किल पथ्र्यो । एकजना साथीले फिल्म बनाउन सहकार्य गर्छु भनेका थिए, तर केही कारणले उनी घाटामा गएका थिए । पैसाको अभावमा योजना स्थगित हुने भइसकेको थियो । त्यहीवेला मोहन डोटेल भन्ने भाइले ढुक्कसँग भने, 'दाइ म तपाईंलाई साथ दिन्छु,' काम अगाडि बढ्यो ।
कलाकार मेरो दिमागमा पहिलेदेखि नै 'सेट' थिए । दासढुंगामा अमर लामाको अभिनय गरेका दयाहाङ राई मेरो प्रमुख रोजाइ थिए, अर्को रोजाइ अनुप बराल । यी दुईजना मेरो प्रारम्भिक रोजाइ थिए । मुख्य पात्रका रूपमा पुष्पराज पुरुषलाई खेलाउन चाहन्थे, त्यही वेला उनी व्यापारिक झमेलामा प“mसे । व्यक्तित्वबाट म प्रभावित थिएँ, तर उनी झमेलामा फँसेपछि साथीहरूले अर्का एकजनाको नाम सिफारिस गरे, खगेन्द्र लामिछाने । उनी नाटकका कलाकार हुन्, मेरो सौभाग्य हो, उनलाई यो फिल्ममा खेलाउन पाएँ । यस फिल्ममा उनी यस्ता अभिनेता छन् जसको अभिनय सहज र सुन्दर छ । यो फिल्मबाट नेपाली चलचित्र उद्योगले एउटा राम्रो कलाकार पाएको छ । अर्पण थापा र सौगात मल्लचाहिँ निर्माता मोहन डोटेलका रुचि हुन् ।


जंगल खोज्न दुई महिना

वधशालाको सुटिङ गर्न 'लोकेसन' सबैभन्दा महत्त्वपूर्ण थियो । वधशालाको कथामा दुईवटा मात्र 'लोकेसन' थिए, एउटाचाहिँ यातनागृहभित्र, अर्को जंगल जहाँ मार्न बन्दी लगिन्थ्यो । यातनागृह त अथेन्टिक देखिनुपर्‍यो । भैरवनाथ गण मैले देखेको छैन, त्यहाँ जान पनि सक्दिनँ । बन्दीलाई पट्ट िबाँधेर यातना दिएको पनि देख्न पाएको थिइनँ । तर, कथा पढ्दा र सुन्दा महसुस गर्न थालिसकेेको थिएँ । त्यही अनुभूतिका आधारमा म 'लोकेसन' खोज्दै गएँ, खोज्न चुनौतीपूर्ण भयो । सेनाको गणजस्ता देखिने भवन सायद काठमाडौंमा धेरै कम छन्, भए पनि सरकारी कार्यालय छन् । एक दिन चारखाल अड्डा पुगेँ, एउटा भवन त्यतिकै छाडिएको रहेछ । भित्र छिरेर हेरेँ, मैले कल्पना गरेको यातनागृह त्यही थियो । जसरी भए पनि यो लोकेसन मलाई चाहिन्छ भनँे-निर्माताले अनेक तिकडम गरेर मिलाए ।
दोस्रो पाटो जंगलको हो । मलाई शिवपुरीजस्तै जंगल चाहिन्थ्यो । खोज्दा काठमाडांैनजिकका अधिकांश जंगलका रूख नापियो । मेरा सहायक महेश बराल मसँगै हुन्थे । दुईजनाले लगभग दुई महिना त जंगल मात्रै खोज्यौँ । जंगल खोज्दै कहिले काभ्रेको कामीडाँडा पुग्थ्यौँ, त कहिले नुवाकोट र धादिङका डाँडा चहार्‍थ्यौँ । तर, परिकल्पनाअनुसारको जंगल पाइएको थिएन । अन्तिममा हेटौँडा जाने बाटोमा एउटा जंगल फेला पर्‍यो, देउरालीको जंगल । त्यो जंगलमा छिर्नेबित्तिकै यस्तो अनुभूति भयो, यही हो मैले खोजेको जंगल ।


यथार्थपरक छायांकन

कलाकारमा बन्दी धेरै चाहिन्थे मलाई । बन्दी बन्न त मान्छे धेरै आए, तर जो आउथे मात्र अनुहार देखाउन खोज्ने । आखिर कलाकार भएपछि त मान्छेले चिनुन् भन्ने चाहना हुने नै भयो, तर कथामा ती बन्दीको अनुहार कालोपट्टीले ढाकेको छ । त्यसैले उनीहरूलाई काममा मनाउन पनि गाह्रो । फेरि यातना भोग्नुछ, पिटाइ खानुछ । पिटाइ खाने तर अनुहार नदेखाएरै पीडा देखाउन ठूलै मुटु भएको मान्छे चाहिन्छ । त्यो चिज हासिल गर्न लामो समय वर्कसप गर्नुपर्‍यो ।
२४ भदौ, ०६९ मा सुटिङ सुरु गर्‍यौँ । सुटिङका अधिकांश दृश्य यातनाका छन् । यस्ता दृश्य सुट गर्न धेरै नाटकीयता गर्न सकिन्थ्यो, तर म वास्तविकता झल्काउन चाहन्थेँ । मैले आफ्ना कलाकारलाई साँच्चिकै पिट्न लगाउँथेँ । एउटा सिनमा दुईजना कलाकार थिए, त्यही सिनका लागि मात्र उनीहरूलाई ल्याइएको थियो । उनीहरू आफ्नो सिनअघिको सुटिङ हेर्दै थिए । दयाहाङले पिट्ने सिन चलिरहेको थियो, उसले यसरी पिट्यो- देेखेर ती दुईजना त भागेछन् । त्यो सिनको सुटिङ नै रोकियो ।
पात्रहरूले पाएको यातना चित्रण गर्न मैले कलाकारहरूलाई धेरै पिटाउनुपर्‍यो । एउटा मान्छेले अर्को निहत्था मान्छेलाई पिट्ने कुरा निकै गाह्रो हुँदो रहेछ । पिटेको हेर्न झन् गाह्रो । सुटिङ गर्दा पिटाइ खाएकासँग तुरुन्तै माफी मागिहाल्थेँ । खगेन्द्र र सौगातले भन्थे, 'जति पिट्छौँ पिट तर चिज आउनुपर्‍यो ।' उनीहरू बन्दीको वास्तविक अनुभूति दिन पनि पिटिन तम्तयार हुन्थे । यो अवधिमा सौगात मल्लको हात सुन्निएको थियो । खगेन्द्रको जिउभरि नीलडाम थियो । दुईजना बन्दी कलाकारको त उपचार नै गर्नुपर्‍यो । उनीहरूको त्यो 'लेभल'को सहयोग नभइदिएको भए यथार्थपरक चित्रण गर्न सकिँदैनथ्यो ।
यातनापछि जंगलको छायांकन थियो । देउरालीे जंगलमा एकदमै जुका लाग्ने । सिमसिम पानी परिरहने, जुका नाकको टुप्पोमा समेत पुग्ने । त्यसैले छायांकन साह्रै कठिन थियो । तर, अनुभूति हुन्थ्यो- यथार्थको धेरैनजिक भएर काम गरिरहेका छौँ । आफ्नो काममा टिम क्लियर थियो । कसले के काम गर्ने ?, कतिखेर रेस्ट गर्ने ? हामी स्पष्ट थियौँ । त्यसैले २० दिनमा सक्ने लक्ष्य बोकेको फिल्मको सुटिङ १८ दिनमा सक्यौँ ।

पप्पु क्यान डान्स

करिब २५ दिनमा पहिलो चरणको 'एडिटिङ' सक्यौँ । फिल्मका सम्पादक निमेष श्रेष्ठ कथा लेख्दादेखि नै सँगसँगै थिए, त्यसैले एडिटिङमा समय लागेन । म सुरुदेखि स्पष्ट थिएँ, हामीलाई एउटा कथा दर्शकले बुझ्ने गरी, अनुभूति गर्न सक्नेगरी भन्नु थियो । सम्पादनपछि प्रस्ट भयो, फिल्मबाट कसैलाई निराश बनाउँदैनौँ ।
१ जनवरीमा फिल्मको 'प्रोमो आउट' गर्‍यौँ । रिलिज डेट तय पनि गर्‍यौँ । हामी प्रदर्शनको तयारीमा थियौँ, एक्कासि रक्षा मन्त्रालय प्रकरण आयो । सेनाको पोसाकविना इजाजत प्रयोग गरेको भन्दै फिल्म रोक्न भनियो ।
चलचित्रले अनुमति पाइसक्या छ भने हलमा प्रदर्शन गर्न नदिनू र अनुमति पाएको छैन भने अनुमति नै नदिनू भनिएको थियो । निरंकुशताको पराकाष्टा । हामीले क्याम्पेनिङ सुरु गर्‍यौँ । विकास बोर्डबाट अनुमति लिने प्रक्रियामा हामीलाई रोकियो । बोर्डले अनुमति दिएन भने हामीले काम गर्न सक्दैनौँ भने लागेको थियो । बोर्डमा नयाँ अध्यक्ष आउने लफडा पनि त्यही वेला चलिरहेको थियो । बोर्डका नयाँ अध्यक्ष पप्पु यादव आउनुभयो । उहाँले जसरी निर्णय गर्नुभयो, म अचम्मित भएँ । त्यो वेला पप्पु क्यान्ट डान्स साला भन्ने चर्चा थियो । तर, रक्षा मन्त्रालयको पत्रको बाबजुद उहाँले अनुमति दिनुभयो । उहाँले कुनै पनि चलचित्र निर्माता मरेको देख्न सक्दिनँ भनेर अडान लिनुभयो । हुन पनि विकास बोर्डको उद्देश्य चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिको उत्थान हो, सरकारी कर्मचारीको विरोधबीच पनि उहाँले चलचित्रको पक्षमा निर्णय दिनुभयो । त्यो दिन लाग्यो, पप्पु क्यान डान्स ।

होच्याउन होइन सच्याउन

यो देशमा राष्ट्रियता ढाकाटोपी लगाउनेहरूको पेवा भनिन्थ्यो, ढाकाटोपी लगाउनेहरूले नै देश जोगाएका छन् भन्थे, तर होइन रहेछ । त्यो तराईको मान्छेले अडान लिन सक्यो, तर ढाकाटोपी लगाएर मन्त्रालयमा बसेकाहरू कसैले पनि अडान लिन सकेनन् । चलचित्र बोर्डले त अनुमति दियो, तर सेन्सर बोर्डमा गएर रोकियो । त्योबीच हामी सञ्चार मन्त्रालय, रक्षा मन्त्रालय धायौँ । जंगी अड्डा पुगेर सेनाका प्रवक्ता पनि भेटेँ, सेना प्रमुखलाई पनि चिठी पठाएँ । यो फिल्मले सेनाको लोकतान्त्रीकरणलाई मद्दत पुर्‍याउँछ, सँगै बसेर फिल्म हेरौँ, त्यसपछि निर्णय गर्नुहोला भनँे ।
सञ्चार मन्त्रालयको पत्रपछि सेनाका मान्छेले वधशाला हेरे । हेरिसकेपछि पनि भने रे, 'यो फिल्मले शान्तिप्रक्रिया बिथोल्छ ।' अचम्म लाग्छ, कस्तो फिल्म बनाएछु मैले जसले नेपालको शान्तिप्रक्रिया नै भंग गर्छ । नेपालको शान्तिप्रक्रिया कति कमजोर रहेछ, एउटा फिल्मबाट भंग हुने । हामी सर्जक, कलाकारचाहिँ शान्तिप्रक्रिया भाँड्ने मान्छे, नेपाली सेनामात्रै यो देशको शान्तिप्रक्रियाको ठेक्का लिएर बसेको छ ? सेनाप्रति म पनि सम्मान गर्छु, तर सेनाले नेपाली जनताले भनेको कुरा सुन्ने कि नसुन्ने ?
जंगी अड्डाले रक्षा मन्त्रालयलाई पत्र पठायो । रक्षा मन्त्रालयले घुमाउरो भाषामा भन्यो, 'फिल्मले शान्तिप्रक्रिया भाँड्ने र सेनालाई होच्याएको हाम्रो निष्कर्ष छ, त्यही आधारमा बसेर सेन्सर बोर्डले केही गर्नू ।' रक्षा मन्त्रालयले त्यस्तो भनिसकेपछि सेन्सरबोर्डले के गर्न सक्छ र ? बोर्डले भन्यो, 'हामी गर्न सक्दैनौँ, यसको छिनोफानो पोलिटिकल लेभलमा हुनुपर्छर् ।' २५ फागुनमा रिलिज गर्ने भनेर २० दिनदेखि सेन्सरबोर्ड धाएको धाएकै थियौँ । तर, संघर्षले काम लागेन । तोकिएको समयमा हामीले फिल्म चलाउन पाएनौँ । अब आशा सर्वोच्च अदालतको मात्र छ ।

प्रस्तुति : प्रवीण बुढाथोकी

 

 
म्याराडोनाको कम्युस्टि मोह पीडीएफ मुद्रण इमेल

फुटबल र विवादका पर्याय हुन् म्याराडोना । उनले जति चर्चा जादुमयी फुटबल खेलेर कमाए, त्यति नै चर्चा विवादबाट पनि कमाए । उनको खेल्ने शैलीले मात्र होइन, रोमाञ्चक विवादका कारणले पनि म्याराडोनाका 'डाई हार्ट फ्यान'को संख्या उल्लेख्य भएको मान्छन्, खेलविश्लेषकहरू । तर, उनी आफैँ भने कम्युनिस्ट नेताहरूको फ्यान बने । र, बने अमेरिकाको कट्टर आलोचक । उनले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस 'युद्ध अपराधी' भएको आरोपसम्म लगाए ।
त्यसो त सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा कम्युनिस्ट समर्थक भएकै कारण उनलाई षडयन्त्रपूर्वक निकालिएको मान्नेहरू पनि छन् । तर, जब उनी लागुपदार्थको कुलतमा फसे, विश्वकपमा अमेरिकी ष्डयन्त्र देख्नेहरूको मुख भने टालियो ।
म्याराडोनाले अमेरिकी दादागिरीविरुद्ध संघर्षसमेत गरे । २००५ मा अर्जेन्टिनामा भएको 'समिट अफ द अमेरिकाज'मा यदि तत्कालीन राष्ट्रपति उपस्थित भए आफैँले उनीविरुद्ध प्रदर्शनको नेतृत्व गर्ने धम्की दिएका थिए । पछि, उनी र्‍यालीमा नै त सहभागी भएनन् । तर, बुसविरोधी भनिएको सो र्‍यालीमा हजारौँको सहभागिता थियो । र्‍याली रंगशाला पुगेपछि भने भेनेजुएलाका नेता ह्युगो चाभेज र म्याराडोनाले समेत उपस्थिति जनाएका थिए । त्यति वेला उनले बुसको फोटोमा 'युद्ध अपराधी' लेखिएको टिसर्ट लगाएका थिए । सो सम्मेलनमा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोबाहेक सबै अमेरिकी देशका नेताहरूको उपस्थिति थियो ।
सो समिटविरुद्धमा म्याराडोना, बोलिभियाली राष्ट्रपति पदका तत्कालीन उम्मेदवार इभो मोराल्स र चर्चित गायक रोडि्रगुएजले छुट्टै 'पिपल्स समिट'को नेतृत्व गरेका थिए । जसलाई 'अमेरिकन एन्टिसमिट'समेत भनिन्छ ।
म्याराडोना क्युवाली क्रान्तिका नायक चे ग्वेभारादेखि निर्वाचनबाट सत्तामा पुगेका भेनेजुएलाका लोकपि्रय राष्ट्रपति ह्युगो चाभेज र बोलिभियाली राष्ट्रपति इभा मोराल्ससम्मका समर्थक हुन् । यही छविका कारण पनि उनी पटक-पटक चर्चामा आए । अमेरिकी गुप्तचर एजेन्ट सिआइएद्वारा बोलिभियामा हत्या गरिएका गुरिल्ला नेता चे ग्वेभाराको त उनी डाई हार्ट फ्यान नै हुन् ।
त्यसो त चे र अर्जेन्टिनाबीच सम्बन्ध नभएको भने होइन । चेको जन्म पनि अर्जेन्टिनामा नै भएको थियो । उनी दक्षिण अमेरिकी देशबाट अमेरिकी साम्राज्यलाई धपाउनुपर्छ भन्थे र त्यही अभियानमा थिए । १९५९को क्युवाली क्रान्तिमा उनको उल्लेख्य भूमिका रह्यो । सो क्रान्ति सफल भएपछि जब उनी बोलिभिया हानिए, उनलाई अमेरिकाले त्यहीँ हत्या गरेको थियो ।
म्याराडोना चेलाई आदर्श व्यक्तित्व मान्छन् । उनले आफ्नो दायाँ पाखुरामा उनै चेको ट्याटुसमेत खोपेका छन् । ट्याटु खोपेपछि उनले भने, 'यो यस्तो समय हो कि दुई महान् अर्जेन्टिनी एउटै शरीरमा एकीकृत भएका छन् ।'
चे सिगारका अति सोखिन थिए । म्याराडोना पनि चेकै शैलीमा मोटो सिगार मुखमा च्यापेर तान्नलाई अति सोखिन थिए । तर, चे दुव्र्यसनी थिएनन् । म्याराडोना भने उपचार नै गर्नुपर्ने
दुव्र्यसनी भए ।
२००२ मा लागुपदार्थबाट टाढा हुन उपचारको सिलसिलामा उनी क्युवा पुगे । यसभन्दा अगाडि उनले १९८७ र १९९४ मा पनि क्युवा भ्रमण गरेका थिए । त्यति वेला नै उनको राष्ट्रपति फिडेल क्यास्ट्रोसँग गतिलो दोस्ती भइसकेको थियो ।
१९८७ मा पहिलोपटक क्यास्ट्रोलाई भेटेपछि म्याराडोनाले उनलाई १० नम्बरको राष्ट्रिय टोलीको जर्सी उपहार दिएका थिए । बदलामा क्यास्ट्रोले उनलाई आफ्नो हरियो सैनिक क्याप दिएका थिए । उपचारको सिलसिलामा पहिलोपटक त्यहाँ पुगेपछि उनले तीन महिना अस्पतालमा नै बसेर उपचार गर्नुपर्ने भयो । त्यति वेला उनको उपचारको प्रत्यक्ष निगरानी क्युवाली राष्ट्रपति क्यास्ट्रो आफैँले गरेका थिए ।
हवानामा रहँदा उनले चे ग्वेभाराको ठूलो चित्र भएको टिसर्ट लगाएर हिँड्थे । चे क्युवाली क्रान्तिमा क्यास्ट्रोका सहयात्री थिए । उनले चेको टिसर्ट लगाउन थालेपछि विश्वभरिका युवामाझ यो लोकपि्रय भएको थियो । चेबारे म्याराडोना भन्छन्, 'म उनलाई मेरो पाखुरामा बोक्छु र मेरो मुटुमा । मैले उनको कथा सुनेको छु, मैले उनलाई माया गर्न जानेको छु । मलाई लाग्छ, मैले उनीबारे सत्य
बुझेको छु ।'
म्याराडोना भेनेजुएला र क्युवाको भ्रमण गर्न खुबै रुचाउँछन् । उनले अर्जेन्टिनाको एक टेलिभिजनका लागि २००५ मा लिएको क्युवाली नेता क्यास्ट्रोको अन्तर्वार्ताले निकै चर्चा कमाएको थियो । उनी क्युवाली नेतालाई भगवान् नै ठान्छन् । उनले क्यास्ट्रोको ट्याटु देब्रे पिँडुलामा खोपेका छन् । क्यास्ट्रोबारे म्याराडोना भन्छन्, 'उनलाई भेट्नु भनेको मेरा आफ्नै हातले आकाश छुनुजस्तै थियो । उनी मेरा लागि भगवान् हुन्, त्यसैले म जीवित छु ।'
क्युवामा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, म्याराडोना र क्यास्ट्रो पटक-पटक भेट्ने गर्छन् । चुनावबाट सत्तामा पुगेका कम्युनिस्ट नेता चाभेज क्यान्सरले ग्रस्त छन् । उनी पनि क्युवामा नै उपचाररत छन् । यति वेला चाभेज, म्याराडोना र चाभेज नजिकका मित्र भएका छन् ।  राष्ट्रपति चाभेजलाई भेट्न म्याराडोना  २००५ मा पहिलोपटक भेनेजुएला पुगेका थिए । उनीसँगको दुई घन्टा लामो बसाइपछि म्याराडोनाले भने, 'म महिलालाई मन पराउँछु, तर मैले चाभेजसँग माया बसेको अनुभूति गरेँ ।' उनी अहिले पनि चाभेजलाई सबैभन्दा बढी भेट गर्ने विदेशीमध्येका एक हुन् ।
२००७ मा भेनेजुएलामा भएको कोपा अमेरिका कप फुटबलको उद्घाटन गर्न चाभेजले म्याराडोनालाई समेत निम्ता दिएका थिए । सो प्रतियोगिताको उद्घाटन चाभेज, म्याराडोना र बोलिभियाका कम्युनिस्ट राष्ट्रपति इभो मोराल्सले मैदानको बीच भागमा बल एक-आपसमा पास दिएर गरेका थिए । पहिलो प्रहार भने मोराल्सले गरेका थिए ।
मोराल्स अर्को अमेरिकी राष्ट्र बोलिभियाका  राष्ट्रपति हुन् । त्यहाँका आदिवासीलाई अधिकार सम्पन्न बनाएर लोकपि्रयता हासिल गरेका उनी पनि बहुदलीय प्रतिस्पर्धाबाट सत्तामा पुग्ने कम्युनिस्ट नेता हुन् । उनीसँग समेत म्याराडोनाको राम्रो सम्बन्ध छ । विश्व फुटबल महासंघ फिफाले समुन्द्र सतहभन्दा दुई हजार सात सय ५० मिटरमाथि फुटबल खेलाउन नपाउने र खेलाउँदा पनि विभिन्न सर्त पूरा गर्नुपर्ने नियम बनाएपछि इभो मोराल्सले त्यसविरुद्ध संघर्ष गर्ने बताएका थिए । किनभने राजधानी लापाजको राष्ट्रिय रंगशाला नै तीन हजार ६ सय मिटरको उचाइमा पर्छ । सो संघर्षमा मोराल्सलाई साथ दिन म्याराडोना लापाज नै पुगेका थिए ।
मोराल्स र म्याराडोनाले बोलिभियाका बाढीपीडितको सहयोगार्थ च्यारिटी फुटबल खेलेर फिफाको विरोध गरेका थिए । खेलको पहिलो हाफ सकिएपछि राष्ट्रपति मोराल्सले उनलाई 'लिबेरटाडोर सिमोन वोलिभार सिभिल' पदक र राष्ट्रिय टोलीको जर्सी दिएर सम्मान गरेका थिए ।
म्याराडोनाले पश्चिम बंगालका पूर्वमुख्यमन्त्री तथा भेट्रान कम्युनिस्ट नेता ज्योति बसुसँग समेत भेट गरेका थिए । पहिलोपटक उनले क्यास्ट्रो र बसुको फोटो क्यास्ट्रोको कोठामा देखेका थिए । सो फोटो १९७३ मा क्यास्ट्रोको कोलकाता भ्रमणका वेला खिचिएको थियो । २००८ मा म्याराडोनाले कोलकाता भ्रमण गरेर बसुलाई भेटेका थिए । सो भेट १० मिनेट मात्र चलेको थियो । भेटमा कोलकाता भ्रमणका वेला खिचिएको क्यास्ट्रोको फोटो एल्बम बसुले म्याराडोनालाई उपहार दिएका थिए ।

प्रकाश गुरागाइ (एजेन्सीको सहयोगमा)

 

 

 
कांग्रेसले बिर्सेको बाँडेगाउँ पीडीएफ मुद्रण इमेल

ललितपुरको बाँडेगाउँमा 'सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान' छ । प्रतिष्ठान कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएको वेला सरकारले बनाएको थियो । प्रतिष्ठान दुईपटक मुलुकको प्रधानमन्त्री बनेका कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई बसोबासका लागि सरकारले बनाइदिएको थियो ।
पछिल्लो समय राजनीति गर्नेहरूले बुझ्नैपर्ने कुरा आफ्नो जीवनभर मुलुकमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका सन्त नेता भट्टराईको बुढेसकालमा गाँस, बास र कपास मात्र नभएर सरकारले उनका लागि प्रतिष्ठान बनाएको हो । मन्त्री बनेका, केही अबार्ंैको भ्रष्टाचार गरेको आरोपमा जेलको चिसो हावा खाएको वेला र अन्यलाई आरोप लाग्ने गरेको वेला 'राजनीति समाजसेवा हो, कमाइ गर्ने व्यापार होइन' भन्ने प्रचार गर्ने दह्रो उदाहरण हो यो । तर, भट्टराईले जुन पार्टीको स्थापना गरेर सोही पार्टीका लागि आफ्नो जीवन सुम्पिए, त्यो पार्टी नेपाली कांग्रेसले भने उनलाई बिर्सेको छ ।
यतिसम्म कि स्मृति दिवसका अवसरमा औपचारिक कार्यक्रमसम्म आयोजना गरिएको छैन् । 'केन्द्रमा त औपचारिक कार्यक्रम गर्ने कुनै योजना अहिलेसम्म छैन्,' कांग्रेस मुख्यालयका एक कर्मचारी शनिबार साँझ भन्दै थिए, 'जिल्लामा पनि सर्कुलेसन गर्ने कुनै आदेश भएको छैन ।'
विसं ०१५ सालको पहिलो संसद्मा सभामुख रहेका भट्टराई ०४६ सालको जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम मन्त्रिमण्डलका प्रधानमन्त्री बनेका थिए । १३ महिनामा उनी नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्ने गरी नेपालको संविधान ०४७ निर्माण गरी नयाँ निर्वाचन गरेर निर्वाचित सरकारलाई नेतृत्व सुम्पेको थियो । कांग्रेसले त्यही उदाहरण पेस गर्दै अहिले मुलुक संकटमा परेको वेला कांग्रेसले नेतृत्व लिएर निकास दिन सक्ने भन्दै सरकारको नेतृत्व दाबी गरिरहेको छ । तर, नाक राख्ने स्थान बनाइदिने पार्टीका संस्थापक नेतालाई भने चटक्कै बिर्सेको छ भन्दा फरक नपर्ला । भट्टराई जीवनको अन्तिमकालमा बसेको बाँडेगाउँस्थित प्रतिष्ठानमा दुई वर्षको अवधिमा कांग्रेस सभापति सुशील कोइराला एकपटक मात्र पुगेका छन् । उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला त्यहाँ नपुगेको प्रतिष्ठानले जानकारी दियो ।
'पार्टीका शीर्ष नेताहरू प्रायः यहाँ आउन रुचाउनुहुन्न, उहाँको देहान्त भएपछि सभापति एकपटक मात्र आउनुभएको जानकारीमा छ,' भट्टराईको सामीप्यमा रहेर काम गरेका प्रतिष्ठानका सदस्य रामहरि खतिवडा भन्छन्, 'अहिलेका नेता परिवारलाई पार्टी सम्झन्छन् । उहाँ पार्टीलाई परिवार सम्झनुहुन्थ्यो । त्यसैले सोचाइमा नै फरक पर्छ, अनि कहाँबाट आउँछन् त ?'
ब्ााँडेगाउँका स्थानीय पनि कांग्रेसका शीर्ष नेताहरू आएको नदेखेको बताउँछन् । उनको जन्मजयन्ती र स्मृति दिवसमा बाँडेगाउँमा हुने कार्यक्रममा कांग्रसी नेताको उपस्थिति निकै कम रहेको देखिन्छ ।
हँसिलो मिजास, ठट्यौलो पारा र बाँचुन्जेल नछुटेको पानको सोख, त्यति मात्र होइन, प्रधानमन्त्रीबाट हट्दा मात्र एउटा ट्यांका, सुराही र छाता बोकेर बालुवाटार छाड्ने एक मात्र नेता हुन्, भट्टराई । यसलाई भजाउन सके कांग्रेसले राजनीति आफ्नो हातमा ल्याउन सक्ने भट्टराई नेतृत्वको ०४७ को अन्तरिम मन्त्रिपरिषद्को सदस्य रहेका निलाम्बर आचार्य बताउँछन् । 'कांग्रेसको जेजस्तो इतिहास छ, त्यसअनुसार उसले आफूलाई खार्दै लैजाने, जनतासँगको सम्पर्क बलियो पार्दै लैजाने हो भने प्रजातन्त्रको योगदान सफलतामा पुग्न सक्छ,' आचार्य भन्छन्, 'त्यसका लागि उदाहरण दिने बलियो व्यक्ति कृष्णप्रसाद भट्टराई हुन सक्छन् ।'
भट्टराईले एक वर्षको अवधिमा आफू हारेर पार्टी र देशलाई बचाए । तर, अहिलेका नेता प्रधानमन्त्रीको कुर्सी र सत्ताका लागि मरिमेटिरहेका छन्, जसकारण समस्या झन् बल्झँदै छ । भट्टराई नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्रप्रतिको निष्ठाबाट टसमस नभई अनुपम उदाहरण बन्न पुगेका छन् । दुईपटक मुलुकको प्रधानमन्त्री बने पनि बेदाग रहनु भट्टराईको अर्काे सम्झनलायक विशेषता हो ।  संकटाप्रसाद र ललितादेवीको कोखबाट पुस कृष्ण एकादशी १९८१ मा (२२ डिसेम्बर १९२४) मा बनारसमा जन्मेका भट्टराई २० फागुन ०६७ मा कहिल्यै नआउने गरी संसारबाट बिदा भएका हुन् ।
आफूलाई दिइएको जिम्मेवारी पूर्ण रूपमा तोकिएको समयमा पूरा गरेर अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै २०४८ मा भएको संसद्को निर्वाचनमा तत्कालीन काठमाडौं क्षेत्र नम्बर-१ बाट एमाले नेता मदन भण्डारीसँग हारेपछि जाँदा लगेको एउटा ट्यांका, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अझै सम्झन्छन् । यसैबीच, आइतबार बाँडेगाउँमा भट्टराईको दोस्रो स्मृति दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको
प्रतिष्ठानले जनाएको छ ।

मधुसुधन भट्टराई

 

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL