Wednesday, Jun 19, 2013< /p>

सप्तरंग
इखले बनायो नृत्य प्रशिक्षक पीडीएफ मुद्रण इमेल

विराटनगर- १५ का सागर साहको दुइटा परिचय छ, एउटा उनी यहाँका नामुद नृत्य निर्देशक हुन् भने अर्काे, उनी व्यापारमा समेत संलग्न छन् । विराटनगरका जुनै पनि औपचारिक होस् या स्कुलको वाषिर्कोत्सवमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम, अधिकांश स्थानमा उनले सिकाएका विद्यार्थी नै सहभागी हुने गरेका छन् ।
व्यापारी बन्ने इच्छाका कारण सुरुमा बिहान आठदेखि बेलुका नौ बजेसम्म कपडा पसलमा काम गरेका उनको करिअर एक दिनको एउटा घटनाले पूरै मोडिदियो । धेरै पछि 'त्यो दिन' को फ्ल्यासब्याकमा गए उनी, 'गाउँमा बिहे थियो । माहोलमा म पनि नाचेँ । तर, मैले नाचेको देखेर मान्छेहरू हाँसँे । उनीहरूले मलाई नाच्न आउँदैन भनेर खिल्ली उडाए । त्यो कुराले मेरो मनमा तोड पर्‍यो ।' आफू कलाकारिता क्षेत्रमा लाग्नुको खास कारण खोल्दै उनी भन्छन्, 'त्यसपछि मैले मनमनै अठोट गरँे कि एक दिन म यिनीहरू सबैलाई राम्रो नाचेर देखाइदिन्छु । त्यसपछि मैले डान्सलाई नै आफ्नो लक्ष्य बनाएँ ।' सबैलाई आफ्नो डान्सले झुमाउने प्रण गरेका उनले त्यसपछिका दिनमा पसलमा काम गर्दै हरेक बिहान नृत्य गुरु कामेश्वर झाकहाँ डान्स सिक्न थालेँ । 'जागिर' सकेपछि घरमा राति दश बजेसम्म पनि डान्स अभ्यास गर्थे रे, उनी । एकदिन सागरको सपना विपनामा परिणत भएरै छाड्यो । त्यसपछि उनले पूर्वप्रणअनुसार सारा गाउँलेलाई आफ्नो नृत्यमा झुमाउन सफल भए रे । गाउँमा उनको डान्सको तारिफ भएछ । त्यसपछि भने उनको हौसला बढेर गएछ । 'त्यसपछि भने मेरो व्यापारी बन्ने इच्छा बिस्तारै बदलिएर डान्सर बन्नेतिर बढेर गयो,' उनले भने । राज्यको बेवास्ताका कारण काठमाडौंकै पनि धेरै कलाकार होटललगायत यस्तै अन्य व्यवसायमा लागेको सुनाउँदै उनले भने, 'यदि राज्यले कलाकारलाई बाँच्ने आधार बनाउने हो भने कोही पनि पलायन हुनुपर्दैन ।'
नृत्य सँगसँगै वाद्यवादनतिर पनि रुचि भएका सागरले ०५९मा पूर्वाञ्चल संगीत तथा नृत्य प्रशिक्षण केन्द्र स्थापना गरेर अरूलाई सिकाउन थालेका हुन् । आफूले अहिलेसम्म २० हजारभन्दा बढीलाई डान्स सिकाइसकेको दाबी उनको छ ।
आफूसँग सिकेका थुप्रै शिष्यले राष्ट्रियस्तरमा आफ्नो पहिचान राख्न सफल भएकोमा खुसी छन्, उनी । उनले डान्स सिकाएकी निस्मा घिमिरे नेपाल टेलिभिजनबाट आयोजित छमछमी कार्यक्रममा पाँचाँै स्थानमा पर्न सफल भएकी थिइन् । उनकी अर्की चेली समीक्षा कार्कीले लाल मधेस नामक फिल्ममा अभिनय गरेकी छिन् ।
पैसा कमाउनका लागि जुनसुकै क्षेत्रमा लागे पनि सन्तुष्टि भने नहुने बताउँछन्, उनी । 'ढुंगामाटो उठाएर बेचे पनि पैसा कमाउन सकिन्छ तर नाम र इज्जत कलाकारिता क्षेत्रमा जस्तो कहाँ छ र अन्त ? '
बिरामीलाई औषधिका साथै संगीत पनि सुनाएमा उसको रोग चाँडै ठीक हुने, औषधि र संगीतले फरकफरक तरिकाले उपचार गर्दा संगीतसहितको उपचार पद्धति सफल भएको अनुसन्धानले देखाएको भन्दै आफू लागेको क्षेत्र राम्रो भएको पुष्टि उनले गरे ।
समाजमा पहिलेभन्दा कलाकारप्रतिको दृष्टिकोण बद्लिएको उनको अनुभव छ । पहिलापहिला केटाकेटी एकै ठाउँमा नाच्छन्, यसमा लागे भने बिगि्रन्छन् भन्ने आरोप लाग्ने गरे पनि अहिले चाहिँ अभिभावक पनि सँगै आएर बुझ्ने गरेको उनले बताए ।
विद्यार्थीको मागअनुसार नै डान्स सिकाउने गरेका सागरले आधुनिक, लोक, पप सबै किसिमका गीतमा डान्स सिकाउँछन् । आउने पुस्तालाई उनको टिप्स छ, 'जुनसुकै क्षेत्रमा पनि धैर्यता र विश्वास राखेर मिहिनेत गरेमा लक्ष्यमा अवश्य पुगिन्छ ।'
डान्स त धेरैले सिकाउँछन् तर सागरसँग अरूभन्दा भिन्दै अनुभव रहेछ । उनले बूढाबूढी, साना चिचिला नानीदेखि लिएर एउटा हात नभएका, एउटा खुट्टा नभएका, दुवै आँखा नदेख्ने, तेस्रो लिंगी र बहिरालाई समेत डान्स सिकाएका रहेछन् । 'बहिराहरू जो कान पनि सुन्दैनन् र बोल्न पनि सक्दैनन्, त्यस्तालाई पनि सिकाउँदाको अनुभव अर्कै हुँदो रहेछ,' उनले अनुभव सुनाए, 'उनीहरूलाई सामान्य मान्छेलाई जस्तो कराउनुपर्दैन । यहाँ आऊ, यसो गर, यो भएन आदि भन्नु पनि पर्दैन । उनीहरू अनुशासनको पनि धेरै ख्याल गर्छन् ।' बहिराहरू सिकाएको कुरा चाँडै टिप्ने र बदमासी पनि कहिल्यै नगर्ने स्वभावका भएको उनको भनाइ छ । आफूले अहिलेसम्म तीन सयभन्दा बढी बहिरालाई डान्स सिकाइसकेको
बताउँछन्, सागर ।

प्रस्तुति : मोहन भट्टराई

 
सेतो बिकिनीमा साल्पा पीडीएफ मुद्रण इमेल

एजेन्सी/ दुई साता पनि पुगेको छैन, गि्रक मोडेल साल्पा जर्जिया विश्वकै पाँचौँ सेक्सी महिलाको सूचीमा परेकी । एक सय उत्कृष्ट महिलामध्येबाट पाँचौँ उत्कृष्टमा परेकी साल्पाको दैनिक गतिविधि र क्रियाकलापप्रति पनि उनका फ्यानले चासो दिन थालेका छन् ।
तर, यस्तैमा हालै मात्र स्पेनस्थित बिचमा सेतो बिकिनीसहित प्रस्तुत भएकी साल्पाको गतिविधिले हलिउडमा सनसनी मच्चायो । बिदा मनाउने क्रममा बिचमा पुगेकी २७ वषर्ीया साल्पा सेतो बिकिनीमा थिइन् । र, उनले त्यही क्रममा बिकिनिमाथि अर्को कट्टु लगाइन् ।
यसरी उनले अस्तव्यस्त रूपमा लगाएको लुगाका कारण उनको व्यक्तित्व नै धरापमा परेको व्याख्या गरिएको छ । साथै, उनी कसरी पाँचौँ सेक्सी महिलामा परिन् भन्नेमा आशंका गर्न थालिएको छ ।
बिदा मनाएर साल्पा २७ वर्षे जन्मदिन मनाउन सोमबार मार्वेल्ला आइपुगे पनि बिचमा उनले देखाएको गतिविधि अझै चर्चा अनि विवादमै छ ।

 
'हली दाइ'का सर्जक मदन भण्डारी पीडीएफ मुद्रण इमेल

♦लोककृष्ण भट्टराइ

स्वतन्त्र वामपन्थी

'बल्छन् झुपडीहरूमा दीपावली हजार..... '
यस्तै अरू के-के थियो । गीतको पूरै अंश मलाई आउँदैन । तर, बुद्धिमान् थकालीको शब्दको यो गीत सुन्दा मलाई उनै मित्र मदन भण्डारीको झल्को आउँछ । गीत प्रगतिशील हो । गीतमा त्यतिविघ्न के थियो, त्यसमा मलाई थाहा छैन । तर, अझै पनि यो गीत सुन्दा मलाई यो गीत मदन भण्डारीकै लय र शब्दको हो जस्तो लाग्छ ।
मदन भण्डारीलाई अति नै मन पर्ने गीत थियो, यो । र, उनी पटकपटक गुनगुनाइरहेका हुन्थे । लाग्थ्यो, यो गीत मदन भण्डारीकै हो । खासमा, यो गीतको वास्तविक लय अरू कसैको थियो । तर, मदन भण्डारीले भावनामा डुबेर गाएको देख्दा उनकै झैँ लाग्थ्यो । उसो त, मदन कविता अथवा साहित्यमा अत्यन्तै रुचि राख्थे । 'हली दाइ' कविताकै कारण उनले पुष्पलाललाई आफूप्रति प्रभावित बनाएका थिए ।
हामी संगठनात्मक रूपमा जति निकट थियौँ । त्योभन्दा बढी हामी दुई घनिष्ठ मित्र थियौँ । २०२७ सालको चैत महिनामा मैले कम्युनिस्ट पार्टीको सदस्यता लिँदा भण्डारी पनि पार्टीका लागि नयाँ कार्यकर्ता नै थिए । हाम्रो पहिलो भेट भएको अति छोटो अवधिमै हामी  नजिकियौँ । मदन भण्डारी, वासु शाक्य, लोककृष्ण भट्टराई -पंक्तिकार),  आनन्दसन्तोषी राई, प्रभुनारायण चौधरी, सूर्य कन्दङवा, अम्बिका साँवा गरी सात जना हामी सँगसँगै जस्तो कम्युनिस्ट आन्दोलनमा लागेका थियौँ । त्यतिवेला हामी मनमोहनसँग नजिक थियौँ । तर, पछि उहाँ र म पुष्पलाल समूहतिर लाग्यौँ । ०२७ देखि ०३३ सालसम्म हाम्रो सांगठनिक सहकार्य अति नै निकट बन्यो । तर, ०३३ सालताका मदन भण्डारी तत्कालीन माले पार्टीमा प्रवेश गरी झापा विद्रोहमा सामेल भए । मैले चाहिँ माक्र्सवादी छाडिनँ । त्यहीँबाट हाम्रो सांगठनिक दुरी बढेको थियो । तर, अचम्मको कुरा के थियो भने हामी सांगठनिक रूपमा जति टाढा भए पनि भावनात्मक रूपमा यति निकट थियौँ कि भण्डारी मालेको बैठकमा जानुअघि र बैठकपछि मकहाँ सल्लाह गर्न आउँथे, मसँग सोधपुछ गर्थे । यतिसम्म कि मेरो भान्साभित्रै सरासर छिर्थे । म आफैँ अचम्ममा पर्थेँ कि किन यति धेरै हामी निकट थियौँ । मलाई लाग्थ्यो, हामी कम्युनिस्ट पार्टीमा सँगै लागेकाले पार्टीबाट छुट्टएिपछि पनि त्यति नै निकट बनेका थियौँ । उसो त हामी उत्तिकै बहस र वादविवाद गरिरहेका हुन्थ्यौँ । मदन र म मेरो घरमा बसेर राति अबेरसम्म राजनीतिक बहस गरिरहेका हुन्थ्यौँ । बहसले चर्को रूप लिएपछि उनी फुत्त बाहिर निस्किन्थे अनि चुप लागेर चुरोट तान्न थाल्थे । म चाहिँ जिल्ल पर्थेँ । विवादको खास विषय चाहिँ राजतन्त्र र भारतलाई हेर्ने दृष्टि कस्तो हुने भन्नेमा नै बढी हुने गथ्र्यो । बहस चर्को भएर त्यसले व्यापकता लिए पनि उनको शालीनता र भद्रता सधैँ उस्तै रहन्थ्यो । तर, कहिलेकाहीँ कस्तो लाग्थ्यो भने बढी ज्ञानका कारण भण्डारी अलि घमण्डी छन् ।
पछि माले र माक्र्सवादी एकीकरण भएपछि त हाम्रो सम्बन्ध झनै बढी नजिकियो । तैपनि राजनीतिक बहस र विवाद भने भइरहन्थ्यो । मनमोहन अधिकारीसँग पनि उनी उत्तिकै नजिक थिए । मनमोहन अलि बढी नै सम्झौतापरस्त छन् भन्ने कुरा उनी स्वयं स्वीकार गर्थे । तर, पनि मनमोहनलाई पार्टी अध्यक्ष बनाएर उनले गरेको सम्मान निकै प्रशंसायोग्य थियो । त्यस्तै सिपी मैनालीलाई समेत उनले आफूभन्दा माथि राखेर उपमहासचिव बनेका थिए, मदन । उनको यस्तो गतिविधिले उनलाई बढी नै लचिलो जस्तो देखाउँथ्यो । तर, वास्तवमा उनले इतिहासको सम्मान गरेका थिए । राजनीतिक रूपले जे जस्ता भए पनि मनमोहनले राजनीति थाल्दा मदन जन्मेका पनि थिएनन् । तर, मदन अति नै तीक्ष्ण र प्रतिभावान् नेता थिए । आफू जति प्रतिभावान् र तीक्ष्ण भए पनि आफूभन्दा माथिल्ला नेताहरूको चित्त दुखाउने काम उनले कहिल्यै गरेनन् । खासमा उनी कम्युनिस्ट नेता पुष्पलालको व्यवहार र शैलीबाट प्रभावित थिए । ०३३ सालमा मालेमा गए पनि उनले पुष्पलाललाई कहिल्यै गाली गरेनन् । उनीसँगै मालेमा गएका अन्य सबै नेता आफ्नो हैसियत नै बिर्सेर तथानाम गाली गर्थे, पुष्पलाललाई 'गद्दार' जस्ता कटु आरोप लगाउँथे । तर, मदनले कहिल्यै कुनै दिन गद्दार शब्द निकालेनन्, न बोल्दा न त लेख लेख्दा नै । सम्मानित नेता पुष्पलालप्रति देखाएको यस्तो शीतल व्यवहारले पनि मदनलाई
बुझ्न सकिन्थ्यो ।

०००
रातबिरात मदन मेरो घरमा आइरहन्थे । कहिले जीवराजलाई पनि साथै लिएर आएका हुन्थे । सादा जीवन उच्च विचार, कम बोल्ने तर गुत्थ फुलेको या अहंजस्तो चाहिँ होइन । उनी बोल्ने कुरामा पनि उत्तिकै ख्याल राख्थे । के बोल्ने के नबोल्ने, उनलाई राम्ररी थाहा थियो । सहज रूपमा मेरो घर आइरहँदा मेरो परिवारका सदस्यसँग पनि उत्तिकै नजिकिएका थिए, मदन । मेरा दुई छोरी र श्रीमती सायद, मदनलाई पनि हाम्रै घरको सदस्यजस्तै ठान्थे ।
छोरीहरू उनलाई माया गरेर काले अंकल भन्थे । उनी चाहिँ सरक्क झोला बिसाएर छोरीलाई काखमा च्यापेर चुप्प म्वाइर्ँ खान्थे ।
कम्युनिस्ट पार्टीका अन्य धेरै नेता भूमिगत होस् या खुल्ला राजनीतिको क्रममा वालुवाटारको मेरो घरमा आइरहन्थे । तर, मेरा घरका जहान मदनसँग जस्तो कोहीसँग पनि नजिकिएनन् । अझै, उनको कुरा चल्दा मेरा छोरीहरू र श्रीमती अनुहार मलिन बनाउँछन् ।
कुनै बेला म पार्टीको खास भूमिकामा नरहँदा पनि मदन निरन्तर मेरो घरमा आएर सरसल्लाह गरिरहेका हुन्थे । मदनले आफ्नो एउटा कमजोरी जीवनभरि नै महसुस गरिरहे । मुखैले नखोले पनि अंग्रेजी भाषामा आफू कमजोर भएको महसुस गरिरहे । तर, म चाहिँ सिपालु नै थिएँ । हुन त मदन पढाइमा पनि राजनीतिमा जस्तै अब्बल थिए । तर, भाषाको विषयमा चाहिँ अलि कमजोर नै थिए, उनी । किनकि, मदन त संस्कृतमा शास्त्री र नेपालीमा एमए गरेका हुन् । तर, पनि उनी आफ्नो अध्ययनमा भने जहिले पनि अब्बल नै रहे । धेरैपछि ०४६ सालताका एक दिन उनले मलाइ सुटुक्क भने, 'लोककृष्ण कमरेड, सुन्नुस् त ।'
मैले भनेँ, 'के कुरा ? भन्नुस् न कमरेड ।'
'मलाई अंग्रेजी भाषा सिकाउने मान्छे खोजिदिनुपर्‍यो,' उनले भने । मेरो भाइ त्रिचन्द्र क्याम्पसमा अंग्रेजी पढाउँथ्यो । अनि मैले उसैलाई भनेर मदनलाई अंग्रेजी भाषा सिकाउने व्यवस्था गरिदिएँ ।
तर, यो कुरा अति नै गोप्य थियो । उनी चाहन्थे, यो विषय कसैले चाल नपाओस् । मैले पनि खासै
चर्चा गरिनँ ।
तर, हिन्दी, मैथिली, भोजपुरी र बंगाली भाषामा उनी यति पोख्त थिए कि ती सबै भाषामा धाराप्रवाह रूपमा उनले गरेकोे भाषणबाट भारत सरकार नै थर्कमान भएको थियो । भारतका कतिपय स्थानमा आमजनतालाई उनले हिन्दी तथा बंगाली भाषामा धाराप्रवाह शैलीमा दिएको भाषण यति प्रभावशाली बन्यो कि अन्ततः भारत सरकार मदनविरुद्ध षड्यन्त्र बुन्न थाल्यो । भारत सरकारलाई के लाग्यो भने, यस्तो चोटिलो र प्रभावशाली रूपमा भारतमै आएर भाषण गर्ने नेपाली नेताले अब यता पनि कम्युनिस्टको लहर बढाउँछ भन्ठानेर मदनलाई सिध्याउने योजना बनाएको मलाई लाग्छ । खासमा, उनको एकछत्र दबदबा नै भारतका लागि अपाच्य बन्यो । जसका कारण उनी भारतीयकै हातबाट मारिएकामा कुनै शंका छैन ।

०००
जेठ ३ गतेको रात । मलाई अचानक खबर आयो, 'मदन भण्डारी खसे' रे ।  मैले समय हेरिनँ । सिधै लागियो दासढुंगा । पुग्दा रातको दुई बजिसकेको थियो । खबर सुनेरै यता सबै अत्तालिएका थिए । मन थाम्नै सकिएन । क्षतविक्षत लास हेरेपछि नरुने कोही भएन, त्यहाँ ।
त्यसको केही समयअघि मात्रै राजनीतिक विषयमा मदनसँग मेरो डिबेट परेको थियो, लेखको सन्दर्भमा । तर, पनि बागबजारस्थित पार्टी कार्यालयअघि हामीले चिया र ममः खाएका थियौँ । त्यसको केही दिनमै मदन पोखरातिर लागे । त्यसपछि त उनको निधनको खबर सुन्नुपर्‍यो । बागबजारको त्यही बसाइ नै मदनसँगको मेरो अन्तिम भेट बनिदियो । पोखरा जानुअघि मसँग त्यही लेखको विषयमा उनले फेरि बहस र छलफल गर्ने भनेका थिए । म पनि त्यही चाहन्थेँ । अफसोच फेरि भेट्ने इच्छा अधुरै बन्यो । उनको
निधनको खबरले धेरैलाई सतायो ।
मेरो राजनीतिक रूपमा मात्रै नभएर अति निकटतम मित्र मदन भण्डारीको निधनले मलाई मात्रै नभएर मेरो घरका जहानलाई पनि उस्तैगरी विक्षिप्त बनाएको थियो । छोरीहरू पनि काले अंकलको निधन भयो रे भन्ने सुनेर निकै रोए, धेरैपछिसम्म । उनीसँगको राजनीतिक सम्बन्ध त एउटा कुरा, हाम्रो बलियो पारिवारिक सम्बन्ध पनि उनको निधनसँगै बिस्तारै फितलो बन्दै गयो । विद्या पनि मदनसँगै मेरो घरमा आउँथिन्, सँगै बसेर खान्थ्यौँ । तर, मदनको निधनपछि उनी फर्केरै आइनन् । हुन त उनी पछि झन ठूलो नेता बनिन्, पछि मन्त्री नै बनिन् । मन्त्री बनेपछि त झन के आउँथिन् र । तर, पनि मदनसँगको मित्रताले सधैँ चिमोटिरहँदो रहेछ ।
उनी किसान, हलिया र तल्लो वर्गका गाउँलेहरूकहाँ पुगेका हुन्थे, किसानकहाँ पुगेर भारी बोकिदिन्थे । खेत खनिदिन्थे । सकसमा परेकालाई सहयोग गर्थे । भावना अति नै सहयोगी र सहृदयी थियो । साइकलमा चढेर पार्टी कार्यालय पुग्थे । त्यतिबेलै जिउ जोखिममा परेका मदनलाई साइकल चढेरै भयो भने अहिलेका ठूला नेता प्रचण्डले चुइर्ँचुइर्ँ पार्दै हिँडिरहेको देख्दा उदेक लागेर आउँछ । कम्युनिस्ट आन्दोलनमा लागेका अन्य कैयौँ नेतालाई भूमिगत या खुल्ला राजनीतिको क्रममा अनेक आरोप लागे, कतिलाई त कारबाही नै भयो । तर, मदन जीवनभरि नै चरित्रवान् र निष्कलंकित नेताको रूपमा रहे । साथै जीवराज पनि उस्तै थिए । उनको विषयमा पनि कहिल्यै कसैले औँला उठाउन सक्दैनथ्यो । कुशल संगठकका रूपमा चिनिएका जीवराज पनि असल बनेरै जीवन सिध्याए ।
हुन त राजनीतिक सिद्धान्तका हिसाबले मदनलाई सम्झौतावादी पनि भन्ने आरोप लाग्यो । तर, एमालेका नेतालाई उनले घुस खानु, भ्रष्टाचार गर्नु भनेर कहिल्यै सुझाब दिएनन् । पजेरोभित्र बसेर सुलुल्ल बग्दै आलिसान महलभित्र खुसुक्क छिर्न भनेर उनले कहिल्यै कसैलाई भनेका थिएनन् ।

(रमन पौडेलले गरेको कुराकानीमा आधारित )
तस्बिर : क्रान्ति थापा

 
'अभिनय चानचुने कुरा रहेनछ' पीडीएफ मुद्रण इमेल

एजेन्सी/ केही समयअघि रिलिज भएको फिल्म लेडिज भर्सेज रिकी बहलमा तीनवटी हिरोइन थिए । तर, फिल्म हेरेपछि दर्शकको दिमागमा तीनमध्ये डिम्पल चढ्ढाको भूमिका निभाउने परिणीति चोपडाको बेग्लै छाप बसेको थियो । फिल्ममा उनले एकदमै मनमौजी युवतीको भूमिका निभाएकी थिइन् ।
पहिला यशराज फिल्मस्को अफिसमा काम गर्ने परिणीतिलाई निर्देशक मनीष शर्माले अभिनयको दुनियाँमा ल्याएका हुन् ।
चर्चित हिरोइन पि्रयंका चोपडाकी बहिनी पर्ने परिणीती हाल प्रदर्शनरत इसकज्यादे फिल्मका कारण चर्चामा छिन् । दिदी पि्रयंकाको चर्चा देखे पनि उनले आफू कहिल्यै फिल्म अभिनयमा लागुँला भन्ने सोचिनन् रे । तर, उनलाई मान्छेहरूले फिल्म अभिनयमा लाग्ने सल्लाह दिन्थे रे । त्यतिवेला उनलाई अभिनयमा कुनै रुचि नभएकाले त्यसबारे वास्ता गर्दिनथिन् । परिणीतिलाई लाग्थ्यो रे, जो मान्छे धेरै मिहिनेत गर्न चाहँदैनन्, उसले मात्रै अभिनय गर्छ । पहिला फिल्म अभिनयलाई हल्का रूपमा लिने गरेकी उनलाई एक दिन फिल्म खेल्ने अफर आयो । 'मलाई फिल्म खेल्ने अफर आयो । मैले सोचेँ, एकचोटि ट्राई गरौँ न त ।
'त्यसपछि मैले स्वीकारेँ,' उनी भन्छिन्, 'तर फिल्मी दुनियाँमा आएपछि मात्रै मलाई थाहा भयो कि अभिनय चानचुने कुरा होइन रहेछ ।' त्यसपछि उनलाई अभिनय प्यारो लाग्न थालेछ । अनि त अभिनयमै करिअर बनाउने निर्णय गरिन्, उनले ।
परिण्ाीतिले हाल प्रदर्शनमा रहेको इसकजादेमा जोया नामक चरित्र निभाएकी छिन् । फिल्ममा उनी र हिरो अर्जुन कपुरको छिनछिनमा झगडा परिरहन्छ । तर, पछि उनीहरू गहिरो प्रेममा पर्छन् ।
इसकजादे अर्जुनको पहिलो तथा परिणीतिको दोस्रो फिल्म हो । अर्जुन आफूभन्दा नयाँ भएकाले सुटिङको पहिलो दिन आफूले उनलाई जुनियर सोचेको बताउँछिन्, परिणीता । 'मैले पहिला एउटा फिल्म गरिसकेको र अर्जुनको यो पहिलो फिल्म भएकाले मैले उसलाई जुनियर सोचेकी थिएँ । तर, अभिनयको मामलामा ऊ मेरो गुरु निस्कियो,' उनी भन्छिन्, 'ऊ फिल्मी परिवारको भएकाले उसलाई हरेक प्रकारका अभिनय र प्रविधिको ज्ञान रहेछ । उसको अगाडि म त फिक्का भएँ । मैले ऊबाट धेरै कुरा सिक्ने मौका पाएँ ।' इसकजादेको सुटिङमा सक्कली पेस्तोल प्रयोग गरिएको थियो । उनी यो कुरा आफूलाई निकै रोमाञ्चकारी लागेको बताउँछिन् कि पेस्तोल सक्कली भए पनि गोली भने नक्कली थियो ।
उनी दिदी पि्रयंकासँग पनि फिल्म खेल्न चाहन्छिन् । पि्रयंकाले आफूलाई अहिलेजस्ती छेस्, उस्तै बनिरहने सल्लाह दिएको बताउँछिन, उनी । उनको नाम अलि अनौठो मानिने गरिएको छ । उनले आफ्ना बाबुआमाले प्रकाश झाको परिणीता फिल्मबाट प्रभावित भएर आफ्नो नाम परिणीति राखिदिएको बताउँछिन् ।

 
« सुरुअघिल्लो81828384858687888990पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL