|
विदेशबाट फर्किएको सात महिना मात्र भएको थियो । कुवेतमा चार वर्ष र ओमानमा दुई वर्ष बिताएर नेपाल फर्केकी थिएँ । फेरि विदेश नै जाऊँजस्तो लाग्थ्यो । उताबाट फर्किएपछि नयाँबस्तीमा डेरा लिएर बस्दै आएकी थिएँ । गत पुसमा उता सँगै काम गरेर फर्किएकी मोरङकी साथीले भेटौँ न भन्दै फोन गरिन् । उनी एकदम मिल्ने साथी थिइन् । उताबाट मभन्दा पछि फर्किएकी हुन् । र्फकेको केही दिनपछि भेट्न खोजिन् । मैले नयाँबस्ती नै बोलाएँ । हामी नजिकैको बेम्बो रेस्टुरेन्टमा तिब्बतियन मःम खान गयौँ । कुवेतमा बसेका दिनहरूको कहानी सम्झँदै खाजा खाइरहेका थियौँ । त्यही होटलमा एक महिला अन्य केही युवतीसँग थिइन् । दुईजना साथीलाई पठाएपछि उनले हामीसँग कुरा गर्न खोजिन् । बहिनी कहाँ घर भनेर सोधिन् । 'संखुवासभा हो, किन र दिदी ?' मैले भनेँ । 'ए, मेरो पनि सोलु हो, नजिकै रहेछ,' उनले भनिन्, 'बहिनीहरू विदेश गएर आएकोजस्तो लाग्छ, त्यही भएर सोधेको ।' 'हो दिदी, कसरी गेस गर्नुभयो ?' मैले सोधेँ । 'मैले तपाइर्ंहरूको गफ सुनिसकेँ,' उनले भनिन् । 'दिदी पनि विदेशबाट फर्किनुभएको हो ?' मैले फेरि सोधेँ । नभन्दै उनी पनि विदेश गएर फर्केकी रहिछन् । उनले आफूलाई कुमारी शेर्पा भनेर चिनाएकी थिइन् । तर, खासमा उनको नाम फूलकारी महरा रहेछ । कुरा गर्ने क्रममा उनी हामी बसेकै टेबलमा आइन् । यो मेरो दाइकै होटल हो भन्दै विभिन्न कुरा गर्न थालिन् । अब नेपाल नै बस्ने कि फेरि विदेश जाने भनेर पनि सोधिन् । 'म त विदेशै र्फकन्छु होला, दिदी,' मैले मनको कुरा भनेँ । 'विदेश जाने भए त म पनि पठाउँछु,' उनले भनिन् । कहाँ-कहाँ पठाउनुहुन्छ भनेर सोध्दा उनले कुवेत, साउदी, दुबई, इराक सबैतिर पठाउने बताइन् । इराकमा त झन् महिनामा ७०/८० हजार हुन्छ भनेर लोभ्याइन् । मैले पहिलोचोटि उनकै मुखबाट इराक देशको नाम सुनेकी थिएँ । इराक भनेको कहाँ हो कस्तो छ भनेर सोधँे । म त अनपढ मान्छे, इंग्लिस आउँदैन पनि भनेँ । उनले अरबी र हिन्दी जाने पुग्ने जवाफ दिइन् । कम्पनीमा आठ घन्टा काम गर्नुपर्ने, महिनामा आठ सय डलर तलब हुने, खाना आफ्नै हुने र बस्न कम्पनीले दिने उनको भनाइ थियो । अन्तिममा जानका लागि साढे चार लाख लाग्ने बताइन् । मैले घटाएर चार लाख रुपैयाँमा मनाएँ । हामीले नम्बर साटासाट गर्यौँ । म इराक जाने सपना देख्न थालेँ ।
०००
एक हप्तापछि सोही रेस्टुरेन्टमा उनले बोलाइन् । म पासपोर्ट लिएर गएकी थिएँ । पासपोर्टसँगै पैसा पनि राख्नुपर्ने बताइन् । भिसा आएर नगए जिम्मेवारी को हुन्छ भन्दै ५० हजार मागिन् । मैले ३५ हजार रुपैयाँ दिएँ । पैसा र पासपोर्ट दिएको एक महिनापछि फोन गरिन् । भिसा आएको भनेर भेट्न बोलाइन् । काम एकदम राम्रो छ, सेल्समेनमा हो भनिन् । हिन्दी र अरबी भाषा आउने भएकाले म पनि खुसी भएँ । घरमा बुबाआमा बूढाबूढी हुनुहुन्छ । उहाँहरूलाई पाल्नुपर्छ । बहिनीहरू छन्, उनीहरूलाई पढाउनुपर्छ । त्यही जिम्मेवारीका कारण फेरि विदेश जाने निर्णय गरेकी थिएँ । दाइलाई भने इराक नभई अन्तै जान लागेको भनेर ढाटेँ । दाइले ऋण मागेर मिलाइदिनुभयो ।
०००
पुस २६ गते म उड्ने भएँ । २५ गते पैसा बुझाइयो । पैसा दिएपछि रसिद मागेँ । घरजग्गा किनेको होइन, तमसुकहरू पर्दैन भन्दै उल्टै उनी रिसाइन् । पछि, अंग्रेजीमा तीन लाख ६५ हजार लिएको लेखेर सही गरेकी रहिछन् । पैसा बुझाएको भोलिपल्ट इराक जाने पक्का भयो । बेलुका पाँच बजे सोही होटलमा बोलाइन् । ६ बजे त्यहाँबाट एयरपोर्ट पुर्याइन् । विमान नचढेसम्म फोन गरिन्, त्यसपछि सम्पर्क गरिनन् । दुबईमा दुई घन्टा ट्रान्जिट भनेको आठ घन्टासम्म बस्नुपर्यो । पानी पनि खान दिइएन । यहाँबाट बिहान १० बजे खाना खाएर हिँडेकी थिएँ । तीन दिनसम्म म भोकै भएँ । इराक पुगेपछि एउटा व्यक्ति लिन आयो । भोकले म मर्न लागिसकेकी थिएँ । एयरपोर्टबाट चार घन्टा लगाएर सुलेवाली भन्ने ठाउँमा रहेको एउटा अफिसमा लग्यो । अफिसको माथिको तलामा लगेर एउटा कोठामा राख्यो । कोठामा आराम गर भन्यो । तीन दिन भयो खाना नखाएको, खाना खान देऊ भनेँ, तर उसले दिएन । राति मात्र खान पाइन्छ भन्यो । रातिचाहिँ दुई गाँस भात र तरकारी ल्याएर दियो । त्यसपछि मेकअप गर, चिटिक्क परेर बस भन्यो । म कहिल्यै मेकअप गर्दिनँ भनँे । उनीहरू अरबी भाषामा बोल्थे । मलाई त्यसरी यसो गर, उसो गर भन्ने बंगाली फूलकुमारीको साथी रहेछ । त्यहाँ पुगेको तीन दिनसम्म केही काममा लगाएन । खान पनि राति अलिकति दिन्थ्यो ।
०००
त्यो त कोठी रहेछ । त्यहाँ बाहिरबाट मान्छे आउँदा रहेछन् । चौथो दिन बेलुका म बस्ने कोठाभन्दा तल्लो तलामा बोलाए । त्यहाँ बाहिरबाट आएका केटाहरूले मलाई जिस्काएर छुन खोजे । के खोज्न आएको तिमीहरू भन्दै मैले गाली गरेँ । ती केटाहरू रिसाएर गए । उनीहरूलाई तिमीले के भनेर पठायौ भन्दै पछि बंगाली पनि जंगियो । केही होइन, नेपालको एजेन्टलाई तुरुन्त फोन गर्न दे भन्दै मैले ऊसँग झगडा गरेँ । मलाई एकदमै रिस उठ्यो । म यस्तो काम गर्दिनँ कि त मलाई काममा पठाऊ, नत्र नेपाल र्फकन्छु भनेँ । आखिर चार/चार लाख पैसा तिरेर म त्यहाँ पुगेकी थिएँ । मलाई त काम चाहिएको थियो । सुमन भन्ने त्यो बंगालीसँग मेरो झगडा नै पर्यो । त्यसपछि रिसाउँदै झन् अँध्यारो कोठामा लगेर मलाई थुनिदियो । तँ हामीले भनेको मान्छेस् कि मान्दिनस् भन्दै फेरि थर्कायो । मान्दिनँ भन्दै म पनि झोक्किएँ । जे कामका लागि आएको हो, त्यो पाए गर्छु नत्र गर्दिनँ भनेर अड्डी लिएँ । म एकदमै ठूलो-ठूलो स्वरमा म कराएँ । आखिरमा ल ठीक छ, तँलाई म काममा पठाउँछु भन्यो । तर, मार्केटिङको काम नभई घरमा काम गर्न पठायो । ठीकै छ भनेर म गएँ । किनकि, त्यहाँ म बस्नै सक्दिनथेँ । त्यसपछि साहु आएर मलाई हेर्दै साइन गर्न लगाएर उसको घर लिएर गयो । तर, त्यो घरमा पनि राम्रो भएन । साहुले सधैँ कुट्ने गथ्र्याे । साहुका दुईवटा छोरा थिए । ठूलो छोरा दुव्र्यवहार गथ्योर्े । 'तँैले मलाई समाउन पाउँदैनस्, नोकर भए पनि तैँले समाउन पाउँदैनस् । यसरी हातपात गरिस् भने भने म पुलिसकहाँ जान्छु' भन्दै त्यसलाई पनि धम्क्याएँ । सधैँ झगडा हुन्थ्यो । त्यसरी नै दुई महिना बित्यो । ल मेरो अब तलब दे भन्दै पैसा मागँे । चार/चार लाख पैसा तिरेर आएको छु, नेपाल पैसा पठाउनुपर्यो भनेँ । त्यतिवेला म छाँगाबाट खसेझैँ भएँ, जब साहुले भन्यो, 'तँलाई त आठ हजार डलरमा हामीले किनेर ल्याएका हौँ, अस्ति अफिसमा त्यही सही गरेको होइन ?' उसले तलब नपाउने, फोन गर्न पनि नदिने र गेटबाट बाहिर निस्कन पनि नपाउने बतायो । अहिल्यै मेरो अफिसमा पुर्याइदे भनेर बाझेँ । यसले अब मान्दिन भन्ने लागेछ, त्यसपछि मलाई अफिसमा पुर्याइयो । त्यहाँ पुगेपछि त्यो साहु र बंगाली केटाले मलाई कुट्न थाले । यता पनि लुगा तान्छन्, उता पनि तान्छन् । मैले डेढ तोलाको सुनको सिक्री लगाएकी थिएँ । त्यो पनि लुटे । खाने सुविधा नहुने भनेकाले पैसा चाहिन्छ भनेर मैले आठ सय डलर पनि लिएर गएकी थिएँ । छातीमा लुकाएर राखेको त्यो पैसा पनि उनीहरूले लछारपछार गर्दा खस्यो, र उनीहरूले टिपेर लगे । तिमीहरूलाई दया छ भने यस्तो नगर, दया छैन भने अहिले नै मारिदेऊ भनेर म रोएँ, चिच्याएँ । नत्र एक दिन न एक दिन म भागेर पुलिसकहाँ जान्छु भनेर धम्क्याएँ पनि । उनीहरूले पटक-पटक कोठामा थुनेर बलात्कार गर्न खोजे, तर सकेनन् । कुट्नचाहिँ भक्कु कुटे । मेरो दाहिने हात र औँला मर्कियो । दुईजना केटाले बलजसरी एउटा कुनाबाट अर्काे कुनामा फाले । मेरो त हातखुट्टा ढुंगाजस्तो भयो, केही थाहा नहुने । बाहिरबाट ताल्चा लगाएर जाने गर्थे । एकदमै जाडो ठाउँ थियो । हिउँ नै हिउँ पथ्र्याे । कति जाडो हुन्थ्यो । त्यस्तोमा सिमेन्टीको भुईंमा राखिएको थियो । हिउँको चिसोले जिउ सुन्नियो । अरू केटीलाई पनि त्यहाँ कोठामा राखिएको थियो । जे भने पनि मान्नेलाई चाहिँ माथिल्लो बिल्डिङमा लगेर राम्रै गर्थे । नमान्नेलाई चाहिँ कुट्ने र घरमा बेच्ने गर्दा रहेछन् । हाम्रो तलब पनि उनीहरूले नै ल्याएर खाँदा रहेछन् । कोठीमा रातको ११ बजेेदेखि १ बजेसम्म केटाको लाइन लाग्थ्यो । मान्छे आएको-गएको कोठाभित्रैबाट म सबै थाहा पाउँथेँ । दुई/तीन बजेतिर केटाहरू र्फकन्थे ।
०००
त्यहाँ सफा गर्ने, चिया खुवाउने एउटा फिलिपिनी केटी पनि काम गर्थी । मैले उसलाई आफ्ना दुःख सुनाएँ । म दाइलाई फोन गर्छु, तिम्रो फोन देऊ न भनेर मागेँ । तर, उसले दिइन । उसले 'नेपालमा फोन गर्न धेरै लाग्छ, यहाँ बस्ने एकजना नेपाली दाइ चिनेको छु त्यो दाइलाई फोन लगाउँछु, त्यो दाइलाई तेरो घरको नम्बर दे' भनेर सिकाई । ल ठीकै छ भनेँ । त्यो नेपाली दाइलाई फोन गर्न लगाएर उहाँसँग कुरा गरे । मेरा दुःख सबै सुनाएँ । उहाँले मेरो दाइलाई फोन गरेर तपाईंकी बहिनी यस्तो-यस्तो अवस्थामा छे भनेर सुनाइदिनुभएछ । म उता गएदेखि दाइसँग फोन भएको थिएन । त्यस्तो खबर थाहा पाएपछि मलाई नेपाल फर्काउन दाइले धेरै दुःख गर्नुभयो । दुनियाँ बहाना गरेर दाइले मलाई नेपाल फर्काउन सफल हुनुभयो । फिलिपिनीमार्फत त्यो बंगालीको नम्बर पत्ता लगाएर दाइले उसलाई फकाउनुभयो । 'मेरी बहिनी बिरामी छ, नेपालमा एकदम राम्रो-राम्रो डाक्टर छ । उपचार गरेर उसलाई पठाइदिन्छु । म पनि यस्तै -कोठी) बिजनेस गर्छु । धेरै केटी विदेशमा पठाउने गर्छु । गाउँमा धेरै केटी छन् । चाहियो भने म ५०/६० जना एकैचोटि पठाइदिन्छु । मेरो बहिनीचाहिँ फर्काइदेऊ भनेर दाइले फकाउनुभएछ । दाइले पटक-पटक त्यो बंगालीलाई फोन गर्नुभयो । त्यो फूलकुमारीलाई पनि मेरी बहिनी फर्कादे, तलाइर्ं केही गर्दिनँ भनेर फकाउनुभएछ । त्यसपछि एकदिन मलाई बंगालीले एक दिन फुलकुमारीसित कुरा गरायो । उसले बहिनी के छ खबर भनेर सोधी । मेरो हालखबर सबै तपाइर्ंलाई थाहा नै होला, तर मलाई जसरी भए पनि नेपाल झिकाइदिनु । तपाईंलाई केही हानि गर्दिनँ, कुनै दुःख दिन्नँ भनेर फकाएँ । त्यसपछि उनीहरूबीच कुरा भयो होला । बहिनीलाई पठायो भने दाइले अरू केटी पठाउँछ भनेर होला मलाई नेपाल फर्काइदिए । यो केटी बिरामी भएर २४ सय डलर खर्च लागेको भनेर साइन गर्न लगाएर फर्काए । रातको दुई बजे त्यहाँबाट हिँडेकी थिएँ । बिहान सात बजे एयरपोर्टमा पुगेँ । त्यो दिन पनि केही खान दिइएन । चैत १६ गते काठमाडौं आइपुगेँ । यता आएपछि दाइले हनुमानढोकामा रिपोर्ट गर्नुभयो । मैले पनि माइती नेपालमा रिपोर्ट गरेँ । सबै ठाउँमा गएँ, त्यसलाई समाउन । १०/१२ दिनपछि त्यो फूलकुमारीलाई पक्राउ गरियो । अहिले त्यो हनुमानढोकामा छे । मजस्तै अन्य केटी पनि लगेर उसले बेचेकी छे । दुई नेपाली केटीलाई त्यस्तो काम गर्न नमानेको भनेर कुटिरहेका थिए । बिचरा ! उनीहरू रगत छादिरहेका थिए ।
०००
इराकमा दुई महिना २० दिन बसँे । बाचँुलीजस्तो लागेको थिएन । भगवान्ले पनि साथ दिए । इराकजस्तो देशमा मर्नु परेन । कोठामा थुनेर राख्दा आज मर्छु कि भोलि मर्छुजस्तो हुन्थ्यो । हामीले भनेको मान्छेस् भने तलाईं स्वर्ग हुन्छ, भनेको मानिनस् भने यहीँ कुहिन्छेस् भन्थे । फूलकुमारीले नमानेसम्म भात खानै नदिई त्यसरी नै थुनिराख भनेकी रहिछे । मारेपछि त्यहाँ ढलमा फाल्ने गर्दा रहेछन् । मेरो दाइ नभएको भए म मर्थें होला । दाइ र भगवान्ले गर्दा फर्किन पाएकी छु । अहिले माइती नेपालले मलाई सहयोग गरिरहेको छ । सात कक्षासम्म गाउँमा पढेकी थिएँ । घरको दुःखले गर्दा सानै उमेरमा विदेश जान भनेर काठमाडौं आएँ । दुईचोटिचाहिँ राम्रो भयो, यसपटकचाहिँ नराम्ररी फसेँ ।
प्रस्तुति : नवराज मैनाली
|
|
नेपालले आइसिसी विश्वकप क्रिकेट खेल्न ६ पटक विभिन्न रूपमा प्रयास गरेको छ । बर्मुडामा सञ्चालन भइरहेको आइसिसी डिभिजन-३ को छनोटमा नेपाल शीर्ष दुईमा रहँदै अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने सन् २०१५ को विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणमा आफ्नो स्थान पक्का गरेको छ । नेपालको विश्वकप प्रयासको इतिहास यस्तो छ :
आइसिसी ट्रफी-२००१, क्यानडा, टोरोन्टो
२००१ मा क्यानडाको टोरोन्टोमा सम्पन्न आइसिसी ट्रफी नै नेपालको पहिलो प्रतियोगिता थियो । दिल्लीस्थित क्यानडेली दूतावासलेे नेपाली टोलीका कप्तान राजु खड्कासहित राजकुमार प्रधान, वीरेन्द्र शाह र कुस गुरुङलाई भिसा नदिएपछि २००३ को विश्वकप छनोटमा नेपालको सहभागिता नै अनिश्चितजस्तो बनेको थियो । नेपाली खेल पदाधिकारी दिनहँुजसो भिसाका लागि दिल्ली धाए । चार वैकल्पिक खेलाडी पवन अग्रवाल, नवीन घिमिरे, सन्दीप श्रेष्ठ र दुर्गा सेनलाई लिएर टोली अन्तिम समयमा क्यानडा लागेको थियो । पाकिस्तानी प्रशिक्षक अल्ताफ बालुचलाई इस्लामाबादको क्यानडेली दूतावासले भिसा नदिएपछि प्रतियोगितामा नेपाल प्रशिक्षकविहीन हुन पुग्यो । माल्टोन क्रिकेट क्लबमा नेपालले जिब्रालटारलाई तीन विकेटले हराएर उत्कृष्ट सुरुवात गर्यो । जिब्रालटारले ६ विकेट गुमाई १ सय ३३ रन बनायो । पारस लुनियाले ३६ र पवन अग्रवालले २६ रन बनाएपछि नेपालले ३९.५ ओभरमा लक्ष्य भेट्टायो । अर्को खेलमा नेपाल नामिबियासँग ८ विकेटले हार्यो । सो हारसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्तझँै भयो । समूह चरणको अन्तिम खेलमा जर्मनीमाथि पाएको दुई रनको रोमाञ्चक जित नेपालका लागि सान्त्वना मात्र बन्यो ।
पाँचौँ एसिसी ट्रफी-२००४, मलेसिया
मलेसियामा पाँचौँ एसिसी ट्रफीको शीर्ष दुई स्थान पाउने टोली सीधै डिभिजन-२ मा पुग्ने प्रावधान थियो । यसर्थमा सो ट्रफी डिभिजन-२ को छनोटका रूपमा समेत थियो । नेपालले सजिलै क्वार्टरफाइनलमा स्थान बनायो । समूह चरणमा नेपालले भुटानलाई ९ विकेटले र इरानलाई १० विकेटले हराउँदै अन्तिम आठको यात्रा पक्का गर्यो । क्वार्टरफाइनलमा कतारसँग अनेपेक्षित ४ विकेटको पराजयपछि डिभिजन-२ मा पुग्ने सीधा बाटो बन्द भयो । कतारसँगको हारलाई नेपाली क्रिकेटको सबैभन्दा ठूलो हार मानिएको छ । नेपालले ५० ओभरमा ९ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । कतारले २० बलअगावै लक्ष्य पूरा गर्यो ।
आइसिसी डिभिजन-२, मलेसिया
२००७ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न आइसिसी डिभिजन लिग-२ सन् २००७ को विश्वकप क्रिकेटमा छनोटको बाटो थियो । एसिसी ट्रफीमा बेहोरेको असफलतापछि नेपालले २००७ को विश्वकप लक्ष्य बनायो । तर, सेमिफाइनलमा फिजीसँग ३ रनको पराजय बेहोरेको नेपालको विश्वकप खेल्ने एक मात्र ढोका पनि बन्द भयो । मलेसियामा पपुवा न्युगिनीसँग ७० रनको पराजयका साथ नेपालले प्रतियोगिता सुरु गरेको थियो । नेपालले कुवेतलाई ५ विकेट र इटालीलाई ८८ रनले हराएर सेमिफाइनलमा स्थान पक्का गर्यो । फिजीसँगको सेमिफाइनल जित्न नेपाललाई केवल १ सय ४४ रनको लक्ष्य थियो । ७७ रनका लागि ९ विकेट गुमाएपछि नेपालका लागि जित असम्भवप्रायः बनेको थियो । कप्तान विनोद दास र राजकुमार प्रधानले अन्तिम विकेटका लागि ६३ रन जोडे पनि नेपालले पुनरागमन गर्न सकेन ।
आइसिसी डिभिजन-५, न्युजर्सी
मलेसियामा भएको एसिसी ट्रफीमा शीर्ष तीनभित्र पर्न नसकेपछि नेपालले 'लबिङ' माध्यमबाट डिभिजन-५ मा स्थान बनाएको थियो । अमेरिकाको न्युजर्सीमा भएको आइसिसी डिभिजन-५ को खेल २०१० को विश्वकप छनोटका रूपमा थियो । तर, सेमिफाइनलमा उदाउँदो एसियन क्रिकेट राष्ट्र अफगानिस्तानसँग स्तब्ध हुँदा नेपाल तेस्रो स्थानमै सीमित भयो । जर्सीको ब्रेलेड मैदानमा नेपालले जर्मनीलाई ७ विकेटले हरायो । मोजाम्बिकविरुद्धको अर्को खेल नेपाली अलराउन्डर महबुब आलमका लागि दुर्लभ कीर्तिमान रह्यो । मोजाम्बिकलाई ७० रनमा सीमित गरेपछि नेपालले विजय लक्ष्य पछयाउने क्रममा दुई रन बनाउँदा खेल वषर्ाले बिथोलिएको थियो । अर्को दिन नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाई २ सय ३८ रन बनायो । महबुबले सबै १० विकेट लिएपछि मोजाम्बिक १४.५ ओभरमा १९ रनमा सिमित भयो । महबुब ७.५ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १० विकेट लिई आइसिसीको एकदिवसीय खेलमा १० विकेट लिने पहिलो खेलाडी बने । नेपालले नर्वेलाई १ सय २८ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो पार्यो । भानुटुलाई १ सय ३७ रनले पराजित गरी नेपाल औपचारिक रूपमै अन्तिम चारमा पुग्यो । अमेरिकासँगको खेल वषर्ाका कारण रद्द भएपछि नेपाल समूह 'ए' को विजेता बन्यो । अफगानिस्तानसँग ३७ रनले पराजित भएपछि नेपालको २०११ को विश्वकप खेल्ने महत्त्वाकांक्षी योजना सपनामै सीमित भयो । अमेरिकालाई ९८ रनले पराजित गरी नेपालले तेस्रो स्थानमा चित्त बुझायो ।
डिभिजन-५, नेपाल, २०१०
न्युजर्सीको असफलतापछि नेपालले २०१५ को विश्वकपमा छनोट हुने आशालाई यथावतै राख्यो । २०१० मा काठमाडौंमै भएको आइसिसी डिभिजन-५ मा नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आयोजना गरेको उपाधि पहिलोपटक हात पार्यो । आयोजक नेपालसहित बहराइन, फिजी, न्युजर्सी, सिंगापुर तथा अमेरिकाले प्रतिस्पर्धा गरेका थिए । नेपालले लिग चरणमा न्युजर्सीलाई ६ विकेटले हरायो । त्यसपछि सिंगापुरमाथि रोमाञ्चक १६ रनको जित दर्ता गर्यो । बहराइनविरुद्धको खेलमा नेपाल आठ विकेटले विजयी भयो । चौथो खेलमा नेपालले फिजीमाथि १९३ रनको सानदार जित दर्ता गर्यो । कडा प्रतिद्वन्द्वी अमेरिकासँग नेपाल डकवर्थ लेविस नियममा पाँच विकेटले हार्यो । डिभिजनका विजेता नेपाल र उपविजेता अमेरिका डिभिजन-४ मा बढुवा भए ।
आइसिसी डिभिजन-४, मलेसिया, २०१२
मलेसियामा २०१२ मा सम्पन्न आइसिसी डिभिजन-४ मा नेपाललाई उपाधिको दाबेदार टोलीका रूपमा लिइएको थियो । उत्कृष्ट र्फममा रहेको नेपालले पहिलो खेलमै अमेरिकालाई १३२ बल अगाडि आठ विकेटले हराउँदै डिभिजन-३ मा प्रवेश गर्यो । मलेसियामा अपराजित रहने क्रममा नेपालले डेनमार्कलाई डकवर्थ लेविसमा २५ रन, अमेरिकालाई ३२ रन, तान्जानियालाई आठ विकेट तथा सिंगापुरलाई पाँच विकेटले पाखा लगायो ।
आइसिसी डिभिजन-३, बर्मुडा, २०१३
विश्वकपको छनोट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ बर्मुडा पुगेको नेपालले सुरुवाती दुई खेलमा हारको सामना गर्यो । पहिलो खेलमै अमेरिकासँग नेपाल ७६ रन तथा युगान्डासँग ६ विकेटले पराजित भयो । दुई हारसँगै नेपालको विश्वकप छनोट यात्रा कमजोर हुनुका साथै डिभिजन-३ मै रहन पनि मुस्किल देखियो । त्यसपछि नेपालले आयोजक बर्मुडालाई आठ विकेट, ओमानलाई २८ रन तथा इटालीलाई ८ विकेटले हराउँदै छनोटको आशा जीवित राख्यो । अमेरिकालाई बर्मुडाले स्तब्ध पारेपछि नेपाल आइसिसी डिभिजन-२ मा छनोट भयो ।
|
मोटरसाइकलमा बन्देज
बेलायतमा सेक्समाथि कुनै नियन्त्रण त छैन । त्यहाँको सेक्ससम्बन्धी कानुन आफैँमा अनौठो छ । यो कानुनअनुसार मोटरसाइकलमा सेक्स गर्नु अपराध हो । यसका कारण जेल सजाय हुन सक्छ । त्यसैले समस्या आउनुअघि नै यस कानुनबारे ध्यान राख्नुहोस्, किनकि यसो गर्दा तपाई समस्यामा त पर्नुहुन्छ नै, तपाईंको आनन्द पनि भंग हुन्छ ।
आमाबाबुलाई सजाय
हवाईमा अठार वर्षभन्दा कम उमेरकी किशोरीसँगै रहनु गैरकानुनी हो । तर, यो नियमको विचित्रको कुरा के छ भने नियम उल्लंघन गरिएमा किशोरीसँगै बस्ने पुरुषलाई होइन, किशोरीका आमाबुबालाई सजाय दिइन्छ । विवाहअघि आफ्नी छोरीलाई स्वतन्त्र राखेको सजायस्वरूप उनीहरूले तीन वर्ष श्रम शिविरमा बिताउनुपर्छ ।
जुवा खेल्न मनाही
भनिन्छ कि कुनै पनि काम राम्ररी गर्न एकपटकमा एउटै काम गर्नुपर्छ । एस्टोनियाको कानुनले 'एक पन्थ दो काज' हुने काम गर्न अनुमति दिँदैन । उत्तरी युरोपको बाल्टिक क्षेत्रमा रहेको यो देशको कानुनमा यौन क्रियाकलाप गर्दै हुनुहुन्छ भने जुवा खेल्न मनाही गरिएको छ । यसको अर्थ हो कि तपाईं जुवा मात्रै खेल्नुहोस् कि त सेक्स मात्रै गर्नुहोस् ।
स्त्रीलाई छुट, पुरुषलाई बन्देज
यो त हामी सबैलाई थाहा छ कि सेक्स पुरुष र नारी जातिबीच हुन्छ । त्यो पनि एकै प्रजातिबीच । त्यो मानिस-मानिसबीच होस् या पशु-पशुबीच । तर, विकृति त सबै ठाउँमा देखिन्छ नै । लेबनानमा कुनै पुरुषले स्त्री पशुसँग पनि सेक्स गर्न सक्छ । तर, उसले पुरुष पशुसँग सेक्स गरेको पाइएमा मृत्युदण्डको सजाय हुन्छ ।
आमाले हेर्नैपर्ने
कोलिम्बियाको परम्परा वा कानुन निकै अचम्मको छ । यहाँ एउटा महिलाले केवल आफ्नो पतिका साथ मात्र सेक्स गर्न सक्छिन् । अरूसँगको सेक्स दण्डनीय छ । त्यति मात्रै होइन, महिलाले जब पहिलोपटक आफ्नो पतिसँग सेक्स गर्छिन्, त्यतिवेला उनकी आमा पनि कोठामा हुनुपर्छ र उनीहरूले सेक्स गरेको हेर्नुपर्छ । अब यो त कोलम्बियाकै जोडीले बताउन सक्छन् कि कुनै व्यक्तिको उपस्थितिमा उनीहरू कसरी सेक्स गर्छन् होला या उनीहरूको अनुभूति कस्तो होला ?
हत्या गर्न अनुमति
उफ ! यस्तो पनि कुनै कानुन हो । हङकङमा निकै कडा कानुन छ, सेक्सबारे । यहाँ कुनै महिलाको पति उसलाई धोका दिएर अरू कुनै महिलासँग यौनसम्बन्ध स्थापित गर्छ भने यस्तो स्थितिमा महिलालाई कानुनी रूपमा नै पतिको हत्या गर्ने अधिकार छ ।
सिसामा हेरेर उपचार
उपचार या सर्जरीका क्रममा कुनै पनि चिकित्सकले जाँचका लागि बिरामीको कुनै पनि अंग हेर्न सक्छन् । तर, बहराइनको कानुन भने अलि अलग छ । यहाँ पुरुष चिकित्सक कुनै पनि महिलाको उपचार गर्न सक्छन् र बिरामीको गुप्तांग पनि हेर्न सक्छन् । तर, त्यस्ता अंग सीधै भने हेर्न पाउँदैनन् । त्यस्ता अंग हेर्न सिसाको प्रयोग गर्नुपर्छ र सिसामा हेरेर नै उपचार गर्नुपर्छ ।
भेडाको मासु खान नपाइने
मध्यपूर्वका देशमा आफूले सेक्स गरेको भेडाको मासु खानु महापाप मानिन्छ । निश्चितै हो कि त्यहाँ कोही पनि पापको भागीदार बन्न चाहँदैनन् । किनकि, मासु खानका लागि अर्को भेडा खोज्न नसक्ने कुरा छ र ?
दुईवटा मात्र भाइब्रेटर
महिला र पुरुष दुवैका लागि आजकाल सेक्ससम्बधी अनेक उपकरण्ा छन् । जसको मद्दतमा विनायौनसाथी यौनसन्ुतष्टि लिन सकिन्छ । तर, अमेरिकाको एरिजोनामा दुईभन्दा बढी भाइब्रेटर्स (यौनसाधन) राख्न मनाही छ । त्यसो गर्नु कानुनको उल्लंघन मानिन्छ ।
|
सुनील खड्का
त्यो दिन म कसरी भुल्न सक्छु ! गएको मंसिर २२ गते । मलाई एक नेपाली साथीको फोन आयो, 'पूर्वयुवराजलाई कसैले लखेटिरहेको छ, तपाईंले रेस्क्यु गर्नुपर्यो ।' पारस सरकारसित मेरो दोहोरो चिनजान थिएन । बैंककमा बस्दै आए पनि कहिल्यै देखेको थिइनँ, उहाँलाई । तर, नेपालको पूर्वयुवराज र त्योभन्दा बढी एक नेपाली नागरिक भएको नाताले उहाँलाई सहयोग गर्नु आफ्नो दायित्व सम्झेँ । पारस पहिले बैंककमा एउटा अपार्टमेन्टमा बस्दै आउनुभएको थियो । त्यहाँ नयाँ चिनजानमा आएका केही 'शंकास्पद' विदेशीले एक दिन लागुपदार्थ सेवन गरेर उहाँको अपार्टमेन्टभित्रै तोडफोड गरेछन् । त्यसपछि उहाँले असुरक्षित महसुस गरेर अपार्टमेन्ट नै छाड्नुभयो । त्यहाँबाट फुकेट आएर होटलमा बस्न थाल्नुभएको रहेछ । तर, त्यहाँ पनि उहाँलाई असुरक्षा फिल भएछ । शंकास्पद चरित्रका नयाँ विदेशी मान्छे भेट्न आउने र चिनजान गर्ने गर्दा रहेछन् । साथै, त्यस्ता व्यक्तिले लगातार आफूलाई फलो गरेको महसुस गर्नुभयो । यसैक्रममा एकदिन होटलमा बसिरहेका वेला आफूलाई कसैले पछ्याइरहेको पाएपछि उहाँले चिनजानका नेपालीहरूलाई फोन गर्नुभएछ । तीनजना नेपाली गएर उहाँलाई आफ्नो गाडीमा हालेर भगाएछन् । तर, पछाडिबाट अर्को गाडीले फलो गर्न थालेछ । त्यसपछि ती साथीले अत्तालिँदै मलाई फोन गरेका थिए । मैले सहयोग गर्ने निर्णय लिएँ र उनीहरूलाई मेरो घरनजिकैको सपिङ मलको पार्किङमा बोलाएँ । उहाँहरूले गाडी हुइक्याउँदै लिएर आउनुभयो । मैले पारसलाई त्यो गाडीबाट झिकेर हतार-हतार आफ्नो गाडीमा हालेँ । अनि एक सय ४५ किलोमिटरको रफ्तारमा गाडी कुदाएँ । कुदाएँ के भन्नु उडाएँ ! केही समयसम्म पछाडि फलो गर्ने गाडी देखिएको थियो । तर, मैले छलेर अघि बढेँ । मैले खुला राजमार्गमा गाडी लगातार कुदाइरहेँ । करिब दुई सय किलोमिटर चलाएपछि बल्ल ज्यान जोगिएको महसुस भयो र विश्राम लिएँ । मेरो गाडीमा चढ्न लाग्दा पारस निकै हतास मनस्थितिमा हुनुहुन्थ्यो । म पनि भित्र-भित्र साह्रै डराएको थिएँ । तर, आफ्नो डर नदेखाईकन उहाँलाई ढाडस दिएँ, 'अब केही हुँदैन, म सुरक्षित ठाउँमा पुर्याउँछु भनेर ।' त्यसपछि उहाँको अनुहारको रंग केही फेरियो र आश्वस्त हुनुभयो । त्यति स्पिडमा गाडी चलाउँदा पनि म उहाँसित कुरा गरिरहेको थिएँ, मनको डर मत्थर होस् भनेर । उहाँले मेरो परिचय सोध्नुभयो, अनि धन्यवाद दिनुभयो थियो, सहयोग गरेकोमा । मैले उहाँको बसाइ र पारिवारिक कुरा सोधेको थिएँ । फलो गर्नेहरूबाट फुत्काएर सुरक्षित ठाउँमा पुर्याए पनि पारसलाई एक्लै छाड्न मेरो मन मानेन । त्यसैले मैले आफ्नो घरमा बस्न जाने प्रस्ताव राखेँ । उहाँले खुसी भएर मेरो प्रस्ताव स्वीकार गर्नुभयो । घरमा लगेर उहाँलाई राखेपछि हामी दुवैले शान्तिको सास फेर्यौँ । यो घटना अहिले सम्भिmँदा फिल्मजस्तो लाग्छ ।
०००
मैले माथि पनि भनँे- पारस सरकारसित मेरो न दोहोरो चिनजान थियो, न कहिल्यै देखभेट भएको थियो । उहाँको बारेमा मेरो त्यस्तै नकारात्मक सोचाइ थियो, जस्तो आमनेपालीको छ । तर, उहाँलाई भेटेकै दिनदेखि मेरो उहाँप्रतिको धारणा एक सय ८० डिग्रीमा बदलियो । उहाँलाई मैले जस्तो मान्छे सोचेको थिएँ, त्योभन्दा शतप्रतिशत भिन्न पाएँ । खुला दिलको, रसिक, सहयोगी । एउटा असल मान्छेमा हुनुपर्ने धेरै गुण भएको । सच्चा नेपाली मन र मुटु भएको । सुरुका दिनमा म उहाँलाई पारस सरकार भनेरै सम्बोधन गर्थें । तर, बिस्तारै नजिक हुँदै गएपछि आफ्नै ठूल्दाइजस्तो लाग्न थाल्यो । उहाँले नै आफूलाई सरकार नभन्न अनुरोध गर्नुभएपछि दाजु नै भन्न थालेँ । म उहाँलाई तपाईं भन्थेँ । उहाँ मलाई तिमी भन्नुहुन्छ । अहिले हामी दाजूभाई जस्तै छौं । नेपालमा पारसले दारु पिएर बबाल गरेको समाचार मैले पनि बारम्बार पढ्दै-सुन्दै आएको हुँ । तर, मैले संगत गरेदेखि उहाँले एकपटक पनि दारु छुनुभएको छैन । उहाँ दारु खानुहुन्नभन्दा धेरैले नपत्याउलान्, तर यो धु्रवसत्य हो । यो म भगवान्को कसम खाएर भन्न सक्छु । सिंगापुर बस्दासम्म खानुहँुदो रहेछ । तर, बैंकक आएपछि खानुभएको छैन । कहिलेकाहीँ म उहाँसित बसेर दारु खाँदा उहाँ पानी खानुहुन्थ्यो । स्वास्थ्यका कारणले नै पिउन छाड्नुभएको हो । बैंककमा मसित बस्दाखेरि उहाँको लाइफस्टाइल एकदमै सामान्य थियो । घरबाहिर प्रायः निस्कनुहुन्नथ्यो । कहिलेकाहीँ म घुमाउन लैजान्थेँ । उहाँकी एउटी थाई केटीसाथी थिइन् । बैंकक आएपछि भाषाको समस्या भएकाले उहाँले सहयोगीका रूपमा राख्नुभएको रहेछ । उनी वेलाबखत मेरो घरमा आउँथिन्, उहाँलाई भेट्न । उहाँहरूको सम्बन्धको प्रगाढताबारे म जान चाहन्नँ । घरमा उहाँ प्रायः कम्प्युटर चलाएर बस्नुहुन्थ्यो । कम्प्युटरमा नेपालको न्युज हेर्ने, फेसबुक चलाउने तथा गेम खेल्ने पनि गर्नुहुन्थ्यो । अरू वेला पुस्तक पढ्नुहुन्थ्यो । उहाँ एकदमै दिल खोलेर कुरा गर्नुहुन्थ्यो मसित । हाँसोठट्टा पनि खुबै गर्नुपर्ने । उहाँ र मेरो सम्बन्ध पूरै अनौपचारिक भइसकेको थियो । सायद मसित लुकाएका कुरा केही छैनन् । परिवारका बारेमा, पत्नीका बारेमा पनि सबै कुरा गर्नुहुन्थ्यो । तर, उहाँले मसित गर्नुभएको कुरा मिडियामा फैलाउनु उचित छैन । दरबार हत्याकाण्डबारे पनि कुरा गर्नुभएको छ । त्यो पनि म बाहिर ल्याउन चाहन्नँ । बाहिर ल्याए पनि कसैले पत्याउनेछैनन् । यति मात्रै भन्न सक्छु, दरबार हत्याकाण्डको मामलामा पारस र उहाँको परिवारप्रति ठूलो अन्याय भएको छ । यसले उहाँलाई भित्र-भित्रै धेरै कमजोर बनाएको मैले पाएको छु । हामीबीच राजनीतिक कुरा पनि हुन्थे । नेपालबारे धेरै चिन्ता थियो उहाँमा । समाचारमा अपडेट हुनुहुन्थ्यो । म पनि नयाँ कुरा थाहा पाउनेबित्तिकै उहाँलाई सुनाउँथेँ । अन्ततः नेपालमै र्फकने सोच थियो उहाँको । राजनीतिमै लाग्नेभन्दा पनि समाजसेवा गर्ने कुरा गर्नुहुन्थ्यो । राजनीतिमा उहाँको धारणा भनेको देश जसले चलाए पनि स्थिर र विकासमुखी सरकार चाहिन्छ भन्ने थियो । उहाँ घरेलु काममा पनि निकै रुचि राख्नुहुन्थ्यो । निकै सफासुग्घर बस्नुपर्ने । आफ्नो मात्रै होइन, कोठाको सरसफाइ पनि गर्नुहुन्थ्यो । वेलाबखत पकाउन पनि जाँगर गर्नुहुन्थ्यो । चिया-कफी तथा मासुका आइटम पकाएर खुवाउनुहुन्थ्यो । खानामा मासुको झोल र भात उहाँको पि्रय हो । हामी एउटै परिवारका सदस्यजस्ता भएर बसेका थियौँ । उहाँको कारणले मैले आफूलाई नेपालमै बसिरहेको अनुभूति गरेँ ।
०००
त्यस दिन हामी दिनभरि सँगै थियौँ, घरमै । उहाँकी थाई साथी पनि आएकी थिइन् । बेलुकी खाना खाने वेला चिकेन सकिएछ । उहाँले मलाई चिकेन किन्न पठाउनुभयो । म बाहिर निस्केको केही बेरमा उहाँकै नम्बरबाट मिसकल आयो । तर, मैले कलब्याक गर्दा उठेन । पछि उहाँकी साथीलाई गर्दा उनले पारसलाई हार्ट अट्याक भएको बताइन् । अनि मैले तत्कालै गार्डलाई फोन गरेर हस्पिटल लैजान भनेँ । संयोगले समितिभेज हस्पिटल मेरो अपार्टमेन्टबाट केवल पाँच मिनेटको दुरीमा छ । उनीहरूले दौडाएर अस्पताल पुर्याए । म पनि हस्याङफस्याङ गर्दै सोझै अस्पताल गएँ । म पुग्दा उहाँको धड्कन बन्द भइसकेको रहेछ । डाक्टरले 'हि इज नो मोर' भने । मेरो आँखाबाट बरबर्ती आँसु आयो । आफूलाई सम्हालेर मैले नेपालमा कल गर्ने प्रयास गरेँ उहाँको परिवारलाई । मसित सबैको नम्बर थियो । तर, कसैको फोन लागेन । त्यसपछि एसएमएस गरेँ । पछि उताबाट कलब्याक भयो । उता सम्पर्क नहुन्जेलसम्म उहाँलाई भेन्टिलेटरमा राख्न अनुरोध गरेँ, मैले डाक्टरहरूलाई । सायद नेपालमा ढिला सम्पर्क हुनु पनि पारस बाँच्नुको एउटा कारण बन्यो । किनकि, पहिल्यै सम्पर्क भएको भए, मैले उहाँलाई मेसिन लगाइराख्न भन्ने थिइनँ, डाक्टरले त डेथ नै डिक्लेयर गरेका थिए । नेपालबाट फोन आउनुभन्दा केवल एक मिनेटअगाडि आश्चर्यजनक रूपमा उहाँको सास फर्कियो । यदि दुई मिनेटअगाडि मात्र फोन आएको भए मैले उहाँ रहनुभएन भन्थेँ होला । यसलाई भाग्यकै कुरा ठानौँ । नेपालबाट पूर्वराजपरिवार नपुग्दासम्म म पारसको एक्लो अभिभावक थिएँ । निकै विचलित पनि भएको थिएँ । हरेक ठाउँमा मैले नै हस्ताक्षर गर्नुपथ्र्यो, उपचार गर्दा तलमाथि भएमा मेरो जिम्मेवारी भनेर । ठूलो प्रेसर भएको थियो मलाई । उहाँकी थाई साथी पनि उहाँ मर्ने निश्चित देखेर होला, आउन छाडेकी थिइन् । नेपालबाट पहिले हिमानी सरकार अनि पूर्वराजारानी आएपछि मैले बल्ल आफ्नो बोझ हलुका भएको अनुभव गरेँ । उहाँहरूले मैले गरेको सहयोगका लागि हृदयदेखि धन्यवाद दिनुभयो । त्यसपछि सबै उहाँहरूले सम्हाल्नुभयो । एउटा चमत्कार भएजस्तो गरी उहाँको होस खुल्यो । यो साँच्चिकै चमत्कार थियो, चिकित्सकका निम्ति पनि । होस खुलेपछि मैले पहिलोचोटि भेट्दा उहाँ भावविह्वल हुनुभयो । मलाई 'तिमी मेरो जीवनरक्षक हौ' भन्दै आलिंगन गर्नुभयो । म पनि भावुक बनेँ । अस्पतालबाट डिस्चार्ज भएपछि हस्पिटलकै एउटा उपचार केन्द्र -सुधारगृह जस्तै) मा राखियो । तीन दिनअघि उहाँ त्यहाँ बस्न गाह्रो लागेर निस्किनुभएको छ । अहिले हस्पिटलनजिकै एउटा अस्थायी अपार्टमेन्ट लिएर बस्न थाल्नुभएको छ । डाक्टरले नियमित अनुगमन गरिरहेका छन् । खानपिनमा निकै बारबन्देज छ । म नियमित रूपमा भेट्छु । यद्यपि, बिस्तारै मोटाउन थाल्नुभएको छ । अनुहार उज्यालो हँुदै गएको छ । म उहाँ जतिसक्दो चाँडो पहिलेजस्तै भएको हेर्न चाहन्छु ।
प्रस्तुति ः चिरञ्जीवी पौडेल
|
|
|