|
काठमाडौं/ साबिक विजेता जनकपुर आइतबारदेखि सुरु भएको महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगन्जसँग ४५ रनले पराजित भएको छ । त्रिवि मैदानमा पहिलो ब्याटिङ गरेको नेपालगन्जले २४.४ ओभरमा ९९ रनको योगफल बनायो । प्रत्युत्तरमा जनकपुर १५.१ ओभरमा ५४ रनमा समेटियो । नेपालगन्जको सुरुवात कमजोर रह्यो । नेपालगन्जले स्कोरबोर्डमा १४ रन मात्र बटुल्दा ६ ब्याट्सम्यान आउट भएका थिए । नेपालगन्जको धरमराएको इनिङलाई कप्तान रेखा बिसीले सम्हालिन् । उनले पाँच चौका प्रहार गर्दै सर्वाधिक ४१ रनको योगदान दिइन् । नेपालगन्जकी सावित्री क्षेत्रीले २७ रनको गतिलो योगदान दिइन् । उनले ४८ बलको सामना गरेकी थिइन् । रेखा र सावित्रीले सातौँ विकेटमा ७६ रनको साझेदारी गरे । साविक विजेता जनकपुरले नेपालगन्जबाट प्राप्त लक्ष्य सहजै भेट्टाउने अनुमान गरिएको थियो । म्यान अफ द म्याच सामना पुनले चार विकेट लिएपछि जनकपुरको इनिङ सोचेजस्तो भएन । सो इनिङमा जनकपुरका लागि सरस्वतीले अविजित १३ रनको योगदान दिइन् । उनीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालगन्जको जितमा अनु केसी र डिम्पल खड्काले २-२ विकेट लिए । अर्को खेलमा वीरगन्जले काठमाडौंमाथि चार विकेटको जित दर्ता गर्यो । पहिलो ब्याटिङ गरेको काठमाडौंले २५ ओभरमा ९८ रनमात्र बनायो । प्रत्युत्तरमा वीरगन्जले २१.२ ओभर ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । वीरगन्जका लागि सीताले ४५ रन जोडिन् । काठमाडौंका रविना भण्डारी १२ र कञ्चन श्रेष्ठले १३ रन बटुले ।
|
|
म्याडि्रड/ रियल म्याडि्रडका प्रशिक्षक जोसे माउरिन्होले यसै साता क्लब छाड्न लागेको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् । गत शुक्रबार रियल म्याडि्रड कोपा डेल रेको फाइनलमा छिमेकी क्लब एट्लेटिको म्याडि्रडसँग २-१ ले पराजित भएपछि माउरिन्होले ठूलो उपाधिविना यो सत्र टुंग्याएका छन् । यसकारण पनि माउरिन्हो रियलमा बस्न नचाहेको स्पेनिस पत्रिकाहरूले दाबी गरेका छन् । माउरिन्हो चेल्सीमा र्फकन लालायित भएको एजेन्सीहरूको भनाइ छ । सन् २००४ देखि २००७ सम्म उनी चेल्सीमै थिए । त्यसवेला चेल्सीको व्यवस्थापकसँग सम्बन्ध बिगि्रएपछि उनी एसी मिलान गएका थिए । पाँच वर्ष स्पेनिस क्लबलाई प्रशिक्षण दिलाउँदा उनले केवल एकपटक मात्र क्लबलाई स्पेनिस लिग विजेता बनाए । उनले रियललाई तीनपटक च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याए । रियल मालिक फ्लोरेन्टो परेजले उनीमाथि निकै विश्वास राखेका थिए । माउरिन्होको प्रशिक्षणमा रियलले दशौँपटक च्याम्पियन्स लिग उपाधि जित्ने आशा परेजको थियो । तर, माउरिन्होले आफ्नो मालिकको चाहना पूरा गर्न सकेनन् । कोपा डेलमा छिमेकी क्लबसँग हारको सामना गर्दा माउरिन्हो दुःखी बनेको म्याडि्रडबाट प्रकाशित मार्का दैनिकले जनाएको छ । 'पछिल्लो हारबाट उनी निराश छन्, उनी धेरै समय रियलमा बस्ने मुडमा छैन,' मार्काको आइतबार प्रकाशित संस्करणमा उल्लेख छ, 'माउरिन्हो यसै साता चेल्सी जान सक्छन्, रियल व्यवस्थापकले पनि उनको अन्तिम बिदाइ गर्ने योजना बनाएको छ ।' चेल्सी पनि राफेल बेनेटिजलाई हटाएर माउरिन्होलाई ल्याउन इच्छुक छ । चेल्सीका धेरै सिनियर खेलाडीले माउरिन्होको पक्षमा वकालत गरेका छन् । एल मुन्डो आउँदो दुई खेलमा माउरिन्होले प्रशिक्षण नगर्ने दाबी गर्छ । रियलले स्पेनिस लिगको अन्तिम दुई खेलमा रियल सोसिडाड तथा ओसासुनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कोपा डेलको फाइलनमा रातो कार्ड खाएर बाहिरिएपछि उनी प्रतिबन्धमा छन् । सिजनमा खराब नतिजा दिलाएका कारण क्लब मालिक परेज पनि माउरिन्होलाई बर्खास्त गर्ने पक्षमा रहेको मुन्डोले उल्लेख गरेको छ । 'सम्भवतः म्याडि्रड पनि माउरिन्होलाई हटाउन चाहन्छ,' मुन्डोले आफ्नो संस्करणमा उल्लेख गरेको छ । अध्यक्ष परेज सिजनको अन्त्यमा कोपा डेलको उपाधि जित्न चाहन्थे । घरेलु मैदानमा छिमेकीसित पराजित हुँदा परेज ड्रेसिङ रुममा थिए । त्यहीँबाट माउरिन्होको बहिर्गमनको कथा बुनेको मुन्डोले उल्लेख गरेको छ । 'रियलको डे्रसिङ रूममा परेजले प्रशिक्षकलाई हटाउने योजना खेलाडीलाई सुनाएका थिए,' मुन्डोले लेखेको छ । माउरिन्होले आफ्ना नजिकका साथीहरूलाई क्लबलाई यस सिजनमा सोचेजस्तो सफलता दिलाउन नसकेको बताए । 'यसपटक रियललाई स्पेनिस लिग उपाधि दिलाउन सकेनौँ, तेस्रोपटक हामी च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियौँ,' प्रशिक्षक माउरिन्होका साथीको भनाइ उद्धृत गर्दै मुन्डोले लेखेको छ । यता, म्याडि्रड स्पोर्टस् दैनिक पत्रिकाले भने माउरिन्होले क्लब नछाड्ने दाबी गरेको छ । 'बजारमा जस्तो हल्ला चले पनि माउरिन्हो रियलमै बस्नेछन्, क्लब तत्काल उनीमाथि कारबाहीको पक्षमा छैन,' सो पत्रिकाले उल्लेख गरेको छ । रियलले माउरिन्होको स्थानमा कार्लो एसेलोटीलाई भित्र्याउने तयारी गरेको छ ।
|
|
ब्युनसआयर्स/ अन्तर्राष्ट्रिय फुटबलमा डिएगो म्याराडोना बढी विवादमा आउने फुटबलर हुन् । खेलाडीदेखि प्रशिक्षक हुँदासम्म उनी विवादमा आइरहे । उनी कहिले इटालीको नेपोली क्लबलाई ट्याक्स नतिरी भागेकोमा चर्चामा आउँछन् । कहिले उनी सार्वजनिक स्थलमा सिगारको धुँवा उडाउँदै गरेको अवस्थामा भेटिन्छन् । यस्तै विविध क्रियाकलाप गर्ने उनलाई अन्तर्राष्ट्रिय मिडियाले सधैँ नजर राख्ने गर्छन् । कुनै न कुनै दिन म्याराडोनाले केही अनौठो काम गर्छन् भन्ने विश्वास मिडियाको छ । सन्की तथा रिसालु स्वभाव भएकै कारण म्याराडोना पटकपटक विवादमा आइरहन्छन् । अर्जेन्टिनाको ब्युनस आयर्सको सडकमा बिहीबार यस्तै घटना भयो । विमानस्थलबाट राजधानी जाँदै गरेका म्याराडोनालाई एक टोलीले पिछा गरेको थियो । आफ्नो तीनमहिने छोरालाई भेट्न म्याराडोना पूर्वप्रेमिका बोरिनिका ओजेडासँगै कालो कारमा सवार थिए । अगाडिको सिटमा म्याराडोना सिगार तान्दै थिए । पछाडि सिटमा पूर्वप्रेमिका बोरिनिका थिइन् । म्याराडोना सवार कारलाई स्थानीय मिडयाको सेतो कारले पछ्याइरहेको थियो । मिडियाका फोटोग्राफरले अगाडि झ्यालबाट म्याराडोनाले सिगार तानिरहेको फोटो खिचेपछि उनी विवादमा उत्रिएका हुन् । स्वीकृतिविना नै फोटो खिचेको भनी म्याराडोना विवादमा उत्रिए । सम्झाउँदा पनि फोटोग्राफरले नमानेपछि म्याराडोना कारबाट ओर्लेर ढुंगाले सेतो कारमा प्रहार गर्न थाले । यति गर्दा पनि म्याराडोनाको रिस रोकिएन । त्यसपछि उनी फोटो खिच्दै गरेका फोटोग्राफरलाई झम्टिन पुगे । म्याराडोनाका साथी तथा कारचालकले उनलाई रोक्न धेरै कोसिस गरेका थिए । तर, म्याराडोनाले फोटोग्राफरलाई बायाँ खुट्टाले प्रहार गरेका थिए । फुटबल शैलीमै म्याराडोनाले फोटोग्राफरको घुँडामै लाग्ने गरी दुई-तीन लात्ती बर्साए । फोटोग्राफरको क्यामरा खोस्ने उद्देश्यले उनी अगाडि बढेका थिए । यता, म्याराडोनाको क्रियाकलापबाट फोटोग्राफर भने ट्वाल परे । फोटोग्राफरले सामान्य कुरा गर्दा पनि म्याराडोना विवादमा उत्रिएका हुन् । नीलो र सेतो धर्के टिसर्ट लगाएका म्याराडोनालाई साथीले पाखुरा समातेर गाडीमा राखेपछि विवाद साम्य भयो । फोटोग्राफरले स्थानीय एजेन्सी रोसियो ओलिभलाई भने, 'पानी परिरहेको थियो, त्यतिवेला म्याराडोना सिगार सल्काउँदै गाडीबाट ओर्ले, उनले सिगार तान्दै गरेको फोटो खिच्ने प्रयास मात्र के गरेको थिएँ, ममाथि ढुंगा बर्साए ।' विनाअनुमति फोटो खिचेको भन्दै म्याराडोना झगडा गर्न आएको फोटोग्राफरले बताए ।
|
|
म्याडि्रड/ पाँच वर्षभित्र चारपटक स्पेनिस लिग उपाधि जितेपछि बार्सिलोनाले बिहीबार दिउँसो आधिकारिक रूपमा च्याम्पियन टोलीलाई दुईतले बसमा सहर परिक्रममा गराएको छ । बसको माथिल्लो छतमा खेलाडी तथा क्लबका पदाधिकारीले बार्सिलोना सहर परिक्रममा गरेका थिए । क्याटलान सिटीमा आफ्ना असंख्य समर्थकलाई धन्यवाद दिन च्याम्पियन खेलाडीहरू व्यस्त देखिन्थे । थकित नहुनका लािग खेलाडीहरूलाई बसमै अल्कोहल र संगीतको व्यवस्था गरिएको थियो । विभिन्न ब्रान्डका अल्कोहलको चुस्की लगाउँदै खेलाडीले मनोरञ्जन लिइरहे । यसबीचमा एक अनौठो घटना देखियो जुन हेर्दा साधारण तर गम्भीर थियो । जेरार्ड पिके तथा मिडफिल्डर सोङबीच मुक्कामुक्की नै पर्ने स्थिति देख्दा अन्य खेलाडी जिल्ल परे । सोङले सामान्य बहसमा नै पिकेलाई मुक्का हान्ने प्रयास गरेपछि हल्का तनाव देखिएको हो । सोङले जेरार्डको नीलो टिसर्ट तानेर मुखैमा मुक्का हान्न लागेको तस्बिर बि्रटिस मिडियाले सार्वजनिक गरेका छन् । जेराड र सोङसँगै गोलरक्षक भिक्टर भाल्डस थिए । भिक्टरलाई सुरुवाती क्रममा दुवैबीच ठट्टा भएको होला भन्ने लाग्यो । हेर्दाहेर्दै सोङले जेरार्डको गर्दन समातेर तानेपछि कप्तान पियोल अगाडि बढेका थिए । यता, स्पेनिस एजेन्सीहरूले दुवै खेलाडी अल्कोहलमा मात्तिएको दाबी गरेका छन् । 'खेलाडीहरू रक्सीमा झुमेका देखिन्छन्, उनीहरू होस गुमाउँदा मुक्कामुक्कीमा उत्रेका हुन्,' स्पेनिस एजेन्सीहरूले जनाए । यता, सडकका समर्थकले दुवै खेलाडी आपसमा रमाइलो गरिरहेको सम्भिmए । भिक्टर र पियोलले दुवैलाई छुट्याएपछि घटना सामान्य भएको हो । बार्सिलोनाको इतिहासमा च्याम्पियन खेलाडी बसेको बसलाई नगर परिक्रममा गराउँदा यस्तो घटना कहिल्यै घटेको छैन । यस घटनालाई क्लबले गम्भीरतापूर्वक लिएको व्यवस्थापकले बताएको छ । 'सामान्य विवादबाट मुक्कामुक्कीसम्म पुग्नु खेलाडी तथा क्लबलाई समेत राम्रो होइन,' बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'घटनाको छानबिन हुनेछ, दोषीलाई कारबाही हुनेछ ।'
|
|
|
|
|
|