Friday, May 24, 2013

खेलकुद
तेक्वान्दो च्याम्पियन अब व्यापारी पीडीएफ मुद्रण इमेल

श्रीलोचन राजोपाध्याय/नयाँ पत्रिका
काठमाडौं, २० वैशाख
कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट अब व्यापारीका रूपमा पनि चिनिनेछन् । खेलजीवनसँगै व्यवसायमा पनि जम्ने सुरले उनले बानेश्वरमा एउटा खेलकुद सामग्रीको शोरुम खोल्दै छन् ।
निकट भविष्यमा सन्न्यास लिने सोचाइ बनाएकाले दीपकले व्यवसायमा पाइला राखेका हुन् । स्पोर्टस् युनिभर्स नाम दिइएको आफ्नो शोरुमको प्रचार गर्न उनले शुक्रबार पत्रकार सम्मेलन नै गरे । पत्रकार सम्मेलनमा विष्टले 'खेलजीवनसँगै व्यावसायिक जीवनलाई पनि अघि बढाउने वेला आएको' बताए । उनले सन्न्यासको घोषणा भने गरेनन् ।
'अब व्यावसायिक जीवनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने समय आएको हुनाले यस क्षेत्रमा अघि बढेको हुँ,' नेपाल खेलकुद पत्रकार -मञ्च) मा शुक्रबार पत्रकार सम्मेलन गर्दै ३६ वषर्ीय दीपकले भने । खेलजीवनबाट टाढिएर दीपकले दोस्रोपटक व्यवसाय गर्न लागेका हुन् ।
यसअघि विष्टले रेस्टुरेन्टमा लगानी गरेका थिए । सो रेस्टुरेन्टमा केवल लगानी मात्र गरेको उनी बताउँछन् । त्यसबाट कति फाइदा वा बेफाइदा भयो उनले खुलाउन चाहेनन् । तर, स्पोर्टस् युनिभर्समा भने उनको धेरै हिस्सा छ । चारजना पार्टनर रहेकोमा प्रारम्भिक लगानी ८० लाख रुपैयाँ छ ।
सन्न्यासपछि अर्को विकल्पका रूपमा उनले खेल सामग्री शोरुम खोल्न एक वर्ष अध्ययन गरेका रहेछन् । पार्टनर आत्मराम श्रेष्ठले ठूलो सहयोग गरेको उनले बताए । 'दाजु आत्मराम र मैले एक वर्ष अध्ययन गरेका थियौँ । धेरै सोचविचारपछि शोरुम खोल्ने निर्णय लिएको हुँ,' दीपकले भने ।
स्पोर्टस् युनिभर्समा कोरिया, भियतनाम, चीन तथा भारतका प्रसिद्ध खेलकुद सामग्री राखिने उनले दाबी गरे । आफ्नो उद्देश्य नाफा गर्नु नभएर सेवा भएकोसमेत बताउन उनी चुकेनन् । 'व्यापार गर्नुको पहिलो उद्देश्य नाफा गर्नु हो तर मेरो ध्येय नाफा होइन, खेलकुदलाई योगदान दिनु हो,' दीपकले भने, 'व्यवसायबाट आउने नाफाको केही प्रतिशत खेलकुदका लागि छुट्याउनेछु ।' सोचेभन्दा धेरै नाफा भएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई सहयोग गर्नेसमेत उनले बताए ।
नेपाली खेलकुद जगत्मा दीपक विष्ट सर्वाधिक सफल तेक्वान्दो खेलाडीका रूपमा चिनिन्छन् । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि उनले जस्तो सफलता अन्य खेलाडीले दिलाउन सकेका छैनन् । दीपकले दक्षिण एसियाली खेलकुद -साग) मा लगातार चारपटक स्वर्ण तथा एसियन खेलकुद -एसियाड) मा समेत दुई कास्य पदक मुलुकलाई दिलाएका छन् । साथै तेक्वान्दोबाट छनोट प्रक्रिया पार गर्दै ओलम्पिक खेल्ने उनी दोस्रो खेलाडी हुन् ।
तेक्वान्दोकै संगिना वैद्यपछि उनले छनोट प्रक्रियाबाट बेइजिङ ओलम्पिकमा मुलुकको प्रतिनिधित्व गरेका थिए । उनको यो सफलता नेपाली खेलकुदकै अद्भूत मानिएको छ । यसकारण दीपकलाई सर्वाधिक सफल तेक्वान्दो खेलाडीका रूपमा लिने गरिएको हो ।

सन्न्यासको मुडमा

ओलम्पियन दीपक कहिले सन्न्यास लिन्छन् भन्ने प्रश्न धेरैको छ । ०५१ मा भलिबल छोडेर तेक्वान्दो खेल्न थालेका दीपक अहिलेसम्म उत्तिकै सक्रिय छन् । खुट्टा र शरीरको साथ पाउँदासम्म उनले मुलुकलाई धेरै पदक पनि दिलाए । दुवैले साथ छाडेपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सकेनन् । यतिवेला उनी युवा पिँढीलाई प्रशिक्षण दिइरहेका छन् । एक खेलाडीको नाताले एक दिन सन्न्यास लिनुपर्ने सत्य दीपकलाई बोध छ । यसको तयारी पनि उनले गरिरहेका छन् ।
निकट भविष्यमा सन्न्यासको घोषणा गर्ने उनले नयाँ पत्रिकालाई बताए । दीपकका अनुसार ०७० सालभित्रै उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिँदै छन् । 'तेक्वान्दो संघ तथा राष्ट्रिय खेलकुद परिषद्सँग सन्न्यासबारे कुराकानी भइरहेको छ,' उनले भने । संस्थागत रूपमा विकास गर्नका लागि संघ र परिषद्को निर्णय पर्खिरहेका रहेछन् । 'दुवै पक्षले उचित दिन तोकेको अवस्थामा सन्न्यास लिनेछु,' उनले भने ।

धेरै मान-सम्मान पाउने खेलाडी

खेलकुदमा लागेर पायोभन्दा पनि धेरै गुमायो भन्ने खेलाडी प्रसस्तै भेटिन्छन् । अपवादका रूपमा सीमित खेलाडीले मात्र खेल क्षेत्रमा लागेर ठूलो सफलता पाएको बताउने गरेका छन् । सोही जमात्मा पर्छन् दीपक । खेलेर के पाउनुभयो र गुमाउनुभयो भन्ने प्रश्न गर्दा दीपक भन्छन्, 'खेलेर धेरै चिज पाएँ, मैले केही गुमाएको फिल गरेको छैन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मैले धेरै मान-सम्मान पाएँ ।'
नेपाली खेलकुदमा आफूले जस्तो अन्य खेलाडीले मान-सम्मान नपाएको उनको स्वीकारोक्ति छ । 'सायद मैलेजस्तो अन्य कुनै खेलाडीले यति धेरै मान-सम्मान पाएको छैन होला, विरलै खेलाडीले पाउने सम्मान थापेको छु,' बुसान तथा दोहा एसियाडमा ब्याक टु ब्याक कास्य पदक जितेका दीपकले भने, 'मुलुकले लगानी गरेअनुसार मैले त्यसको प्रतिफल पनि दिएको छु ।'

सर्वाधिक नगद पुरस्कार पाउने खेलाडी

दीपकले जस्तो खेलेर लाखौँ रुपैयाँ पुरस्कार पाउने कमै खेलाडी छन् । सन् १९९९ को काठमाडौंमा सम्पन्न आठौँ साफदेखि एघारौँ ढाका साफसम्मको यात्रामा उनले थुप्रै नगद पुरस्कार थापेका छन् । सरकारले पहिलो दुई साफ गेमको स्वर्ण पदक विजेतालाई समान एक लाख ५० हजार रुपैयाँ दिएको थियो । साथै आठौँ साफको स्वर्ण पदकधारीलाई सरकारले घडेरीका लागि दुई लाख रुपैयाँ दियो ।
दीपकले वैकुण्ठ मानन्धरको तीन स्वण्र्ा पदक कीर्तिमान तोडी लगातार चौथोपटक साफ स्वर्ण जितेपछि सरकारले उनलाई १० लाख रुपैयाँ पुरस्कार दिएको थियो । बुसान र दोहा एसियाडमा कास्य पदक हात पार्दा उनले समग्रमा तीन लाख पाए । बेइजिङ ओलम्पिकमा छनोट हुँदा पाँच लाख रुपैयाँसमेत उनले पाए । साथै दुवै खुट्टा भाँचिँदा सरकारले बैंककमा उनको उपचार गरेको थियो । हात भाँचिँदा पनि सरकारले सबै आर्थिक भार व्यहोरेको थियो ।

 
मैत्रीपूर्ण खेलमा थ्री स्टार विजयी पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १८ वैशाख
लिग च्याम्पियन थ्री स्टारले मैत्रीपूर्ण खेलमा भारतको मोहन बगानलाई २-१ गोलले पराजित गरेको छ । आसन्न एएफसी प्रेसिडेन्ट कपअन्तर्गत समूह 'ए'को छनोटअगाडि थ्री स्टारले तयारीस्वरूप बुधबार मोहन बगानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
दशरथ रंगशालामा उत्कृष्ट प्रदर्शन गर्दै थ्री स्टारले जित नतिजा निकाल्यो । थ्री स्टारले मैत्रीपूर्ण खेलमा टोलीका नयाँ खेलाडीलाई उतार्‍यो । ०६९ को सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन हुँदा सन्तोष साहुखल, विराज महर्जन, विजय गुरुङजस्ता मुख्य खेलाडीलाई प्रशिक्षक प्रदीप हुमागाईंले आराम दिएका थिए । मोहन बगानविरुद्धको खेलमा थ्री स्टारले यस सिजनका लागि भित्र्याइएका पाँचमध्ये चार खेलाडीलाई पहिलो रोजाइमै अवसर दिएका थिए ।
प|mेन्ड्सबाट सर्वाधिक मोटो रकममा थ्री स्टार छिरेका मिडफिल्डर जगजित श्रेष्ठसहित प्रकाश बुढाथोकी, अपि|mकन डोडोज लियोन्स र डिफेन्डर सविन्द्र श्रेष्ठले खेलको पूरै समय मैदानमा बिताए । पहिलो हाफ गोलरहित सकिएको खेलको तीनै गोल दोस्रो हाफमा सम्भव भयो । खेलको ५५औँ मिनेटमा थ्री स्टारलाई जगजितले १-० ले अघि बढाए । प्रकाश बुढाथोकीसँगको उत्कृष्ट तालमेलमा सिक्स यार्ड बक्सनजिकबाट हेडिङ गोल गर्दै जगजितले टोलीलाई अग्रता दिलाएका हुन् ।
खेलको ६८औँ मिनेटमा काउन्टर एट्रयाक्टमा एदिवामी फेमीले थ्री स्टारलाई २-० अघि राखे । मैदानको दायाँ भागबाट डोडोजले उपलब्ध गराएको बलमा फेमीले डिबक्स लाइनबाट प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए ।
मोहन बगानले खेलको अन्तिम अवस्थामा एक गोल फर्कायो । मोहन बगानका लागि खेलको इन्जुरी समयमा दिपेन्दु विश्वासले गोल गर्दै खेल २-१ को गोलअन्तरमा झारे । खेलको ५६औँ मिनेटमा टोल्गे अवेलाको ठाउँमा मैदान छिरेका विश्वासले गुइन्टोन नोर्मानको पासमा सिक्स यार्ड बक्सबाट गोल गरेका हुन् । खेलको प्रायः समय दबाब बनाएको थ्री स्टारले आधा दर्जनभन्दा बढी उत्कृष्ट गोल अवसर
खेर फाल्यो ।
खेलको चौथो मिनेटमै जगजितले डिबक्सको दायाँ भागबाट प्रहार गरेको बल दोस्रो बारमा लागेर फर्किएको थियो । खेलको २३औँ मिनेटमा डोडोजको उत्कृष्ट प्रहारलाई पनि मोहन बगानका गोलरक्षक अरिन्दम भट्टाचार्यले बिफल पारे । खेलको ६६औँ मिनेटमा झन्डै ३० यार्ड दूरीबाट जगजितको उत्कृष्ट प्रहारलाई पनि गोलरक्षक भट्टाचार्यले मुस्किलले
बचाएका थिए ।
खेलपछि थ्री स्टारका प्रशिक्षक हुमागाईंले खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । उनले यसपटक मिडफिल्डमा राम्रो हुँदा टोलीको प्रदर्शन राम्रो देखिएको प्रतिक्रिया दिए ।
'आज जित्नेभन्दा पनि टिम सेट हेर्ने योजना थियो, खेलाडीहरूले राम्रो खेले,' उनले भने, 'यसअघि हाम्रो टोलीमा मिडफिल्ड कमजोर थियो, लिगमा पनि त्यही समस्या भोग्यौँ, तर आजको खेलमा मिडफिल्ड राम्रो भयो, त्यसैले खेल राम्रो भयो ।'
उनले मोहन बगानको पहिलो रोजाइको टोली नआएकाले थ्री स्टारलाई सहज भएको उल्लेख गरे । 'आई-लिगमा राम्रो गरेका केही खेलाडी आएनन्, साथै महत्त्वपूर्ण खेलाडी बब्बे पनि घाइते भए, त्यसैले हामीलाई सहज भयो,' उनले भने ।
प्रशिक्षक हुमागाईंले प्रेसिडेन्ट कपमा थ्री स्टारले राम्रो प्रदर्शन गर्ने बताए । उनले पहिलो खेल आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए । 'नेपाली टोली सधैँ पहिलो खेल हार्ने र अन्तिम खेलको नतिजा कुर्ने बानी छ,' उनले भने, 'यसपटक हामी पहिलो खेल जित्दै राम्रो सुरुवात गर्ने योजनामा छौँ, त्यसैले ढाका अबाहनीविरुद्धको पहिलो खेल हाम्रा लागि महत्त्वपूर्ण छ ।'
यही २४ वैशाखबाट सुरु हुन लागेको प्रेसिडेन्ट कपको पहिलो चरणको खेलमा थ्री स्टारले बंगलादेशको ढाका अबाहनीसहित चाइनिज ताइपेको ताइवान पावर कम्पनी, मंगोलियाको इर्चिमसँग प्रतिस्पर्धा गर्दै छ ।

 
सुरेन्द्रद्वारा राष्ट्रिय टोलीबाट सन्न्यास पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, १८ वैशाख
नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सुरेन्द्र तामाङले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । थ्री स्टार र मोहन बगानबीचको मैत्रीपूर्ण खेलपछि तामाङले आधिकारिक रूपमा सन्न्यासको घोषणा गरेका हुन् । उनलाई अखिल नेपाल फुटबल संघ -एन्फा)को तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले 'ब्लेजर' लगाएर सम्मान गरे ।
सन्न्यास घोषणा गर्ने क्रममा तामाङले खुट्टाको चोट र नयाँ पिढीका खेलाडीले राम्रो गरिरहेकाले सन्न्यास लिएको बताए । उनले भने, 'अहिले नयाँ पुस्ताका खेलाडीहरूले राम्रो गरिरहेका छन्, मलाई खुट्टाले पनि साथ दिएको छैन, त्यसैले सन्न्यासको निर्णय लिएको हुँ ।' अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल भने जारी राख्ने तामाङले बताए । 'क्लब फुटबल भने अझै खेल्ने इच्छा छ, गत सिजन सरस्वतीबाट खेलेँ, नयाँ सिजनका लागि पनि धेरै क्लबहरूसँग कुरा भइरहेको छ,' उनले भने ।
सुनसरी इटहरी-८ का तामाङले उमेर समूहको यू-१६ बाट राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सिनियर राष्ट्रिय टोलीमा सन् २००३ मा मात्रै उनले डेब्यु गरे । १३औँ एसिया कपको छनोट प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्धको पहिलो चरणको पहिलो खेलमा तामाङले राष्ट्रिय टोलीबाट पहिलो क्याप जितेका थिए । सन् २००५ सम्म दुई वर्ष राष्ट्रिय टोलीका सदस्य रहँदा उनले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । उनले राष्ट्रिय टोलीबाट १३औँ एसिया कप छनोटको पहिलो र दोस्रो चरण तथा चौथो साफ च्याम्पियनसिपमा सहभागिता जनाएका छन् ।
तामाङले राष्ट्रिय टोलीबाट अन्तिमपटक सन् २००५ मा चौथो साफ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेलेका थिए । त्यसवेला नेपाली टोली ३-१ ले विजयी हुँदा उनले एक गोल गरेका थिए । सोही गोल उनको पहिलो र अन्तिम गोलका रूपमा रह्यो ।
घरेलु फुटबलमा तामाङले थ्री स्टारबाट १० वर्ष फुटबल खेलेका छन् । तामाङ प|mेन्ड्स र सरस्वतीबाट एक-एक सिजन फुटबल खेले । ०५७ देखि ०६७ सम्म थ्री स्टारबाट फुटबल खेल्दा तामाङले ०६१ मा थ्री स्टारलाई लिग च्याम्पियनसमेत बनाएका थिए । सो लिगमा उनी सर्वाेकृष्ट फुटबलर घोषित भएका थिए । थ्री स्टारलाई च्याम्पियन बनाउनु आफ्नो खेल जीवनकै सबैभन्दा अविस्मरणीय रहेको उनले बताएका छन् ।
'सो प्रतियोगितामा राम्रो खेलेको थिएँ, त्यसैले सर्वाेकृष्ट खेलाडी पनि बनेँ, त्यही क्षण मेरो खेल जीवनकै सबैभन्दा बिर्सन नसक्ने क्षण हो,' उनी भन्छन् । तमाङले थ्री स्टारबाटै खेल्दा मोफसलको प्रतिष्ठित आहागोल्ड कप -पोखरा), बुढासुब्बा गोल्डकप -धरान) तथा सिक्किमको गभर्नस गोल्डसमेत जितेका थिए । गभर्नस गोल्डकप खेल्न सिक्किम जाने क्रममा माइक्रो बस दुर्घटनामा परेका उनको खुट्टा 'प|mयाक्चर' भएको थियो । त्यसपछि तामाङ फुटबलमा सक्रिय हुन सकेनन् ।
गणेशबहादुर तामाङ र स्वर्गीय शनिमायाँ तामाङबाट जन्मिएका ३२ वषर्ीय सुरेन्द्र आफू यहाँसम्म आइपुग्नमा आफ्ना आमाबुबा र नरव कार्कीको ठूलो योगदान रहेको बताउँछन् । 'उहाहरूकै प्रेरणाले म यहाँसम्म आइपुगेँ, उहाँहरूले मलाई सधैँ फुटबलमा लाग्न प्रेरणा दिनुभयो,' उनले भने ।
तामाङले आफ्नो समयका हरि खड्का, वसन्त थापा, वसन्त गौचनलगायत खेलाडीहरू मन पर्ने खेलाडी रहेको बताए । अहिले जगजित श्रेष्ठ, जुमानु राई, सन्तोष साहुखल र अनिल गुरुङ राम्रा खेलाडी रहेका उनको ठम्याइ छ । सन्न्यासपछि पनि फुटबलमै समर्पित हुने उनको योजना छ । उनले भने, 'हामीले इटहरीमा एउटा फुटबल एकेडेमी खोल्ने योजना बनाइरहेका छौँ, त्यही एकेडेमीलाई अघि बढाउने योजना छ ।' क्लब फुटबलबाट सन्न्यास लिएपछि प्रशिक्षणमा लाग्ने उनले बताए ।

 
रियललाई निराश पार्दै डर्टमन्ड फाइनलमा पीडीएफ मुद्रण इमेल

म्याडि्रड/जर्मनी क्लब बोरुसिया डर्टमन्डले युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल स्थान सुरक्षित गरेको छ ।
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल म्याडि्रडले डर्टमन्डमाथि २-० को जित निकाले पनि अन्तिम दुईमा पुग्नका लागि पर्याप्त भएन । पहिलो लेगमा डर्टमन्ड ४-१ ले विजयी भएको थियो । अब उपाधिका लागि डर्टमन्डले बार्सिलोना तथा बायर्न म्युनिखबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समग्रमा जर्मनी क्लब ४-३ गोलअन्तरका आधारमा अन्तिम दुईमा प्रवेश गरेको हो । डर्टमन्डले सन् १९९७ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । जर्मनी क्लब १५ वर्षपछि अन्तिम दुईमा पुगेको हो । घरेलु मैदान सान्टिएगो बर्नाबेउ मैदानमा रियललाई स्पष्ट ३-० को जित आवश्यकता थियो । खेलको ८३औँ मिनेटमा करिमा बेन्जामा तथा खेलको ८५औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियललाई आशा दिलाएका थिए ।
त्यसपछि थप कुनै गोल हुन नसक्दा रियल लगातार तेस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो । हाइ प्रोफाइलका प्रशिक्षक जोसे माउरिन्होको तीन फरक-फरक टोलीबाट च्याम्पियन लिग उपाधि जित्ने सपना तुहिएको छ । माउरिन्होले पोर्चुगलका एफसी पोर्टो तथा इटालीको इन्टर मिलानलाई उपाधि दिलाएका छन् ।
घरेलु मैदानमा रियलले पहिलो हाफमा स्पष्ट तीन गोलको अवसर खेल फाल्नु नै दुर्भाग्य साबित भयो । क्रिस्टियानो रोनाल्डो, डी मारिया, गोन्जालो हिगुइन तथा रामोसले सहज गोल
चुकाएका हुन् ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »