|
नयाँ पत्रिका काठमाडौं, १९ जेठ नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ०६९ को चर्चित खेलाडीको मनोनयन गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ मनोनयनमा परेका छन् । मञ्चले आइतबार एक कार्यक्रमबीच चर्चित खेलाडी सार्वजनिक गर्दा पौडीका शिरीष गुरुङ, उसुकी झरना गुरुङ र एथलेटिक्सकी केशरी चौधरी छन् । मनोनयमा परेका कप्तान खड्का ०६९ भरि नै नेपाली खेलकुदमा चर्चामा रहे । गत वर्ष पारसले नेपाललाई आइसिसी विश्व डिभिजन–४ र एसिसी ट्रफीको उपाधि दिलाएका थिए । एसिसी टी–२० कपमा अफगानिस्तानसँग फाइनलमा पराजित हुँदा नेपाल उपविजेता बन्यो । एसिसी ट्रफीमा पारसले २ सय ९१ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । सो प्रतियोगितामा उनी म्यान अफ दी सिरिज भए । एसिसी टी–२० मा पारसले २ सय ७ रन बटुल्नुका साथै चार विकेट लिँदै म्यान अफ दी सिरिज उपाधि जिते । डिभिजन–४ मा उनले ८९ रन बटुले भने १२ विकेट लिएका थिए । फुटबलका जगजितले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सबाट प्रतिस्पर्धा गर्दा ४ गोल गरेका थिए । उनले आफ्ना साथीलाई तीन गोलका अवसर प्रदान गरेका थिए । सो लिगमा उनी उत्कृष्ट मिडफिल्डर बनेका थिए । एएफसी च्यालेन्ज कपको छनोट खेलमा नर्दन मारियाना आइल्यान्डविरुद्धको खेलमा जगजितले ३ गोलका लागि असिस्ट गरेका थिए । मनोनयनमा परेका शिरीष गुरुङ ०६९ मा ६ राष्ट्रिय कीर्तिमानसहित ३२ स्वर्ण जित्न सफल पौडीबाज हुन् । उनले १७औँ राष्ट्रिय पौडीमा १० स्वर्ण, एक रजत र एक कास्य हात पारे । मनोनयनमा परेका पाँच खेलाडीमध्ये एसएमएसमार्फत सबैभन्दा बढी मत प्राप्त गर्ने एकजनालाई वर्षको चर्चित खेलाडी घोषणा गरिनेछ । यसपटक मनोनीत खेलाडीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पनि मत दिन सक्ने व्यवस्था मिलाइएको छ । फेसबुक लाइकलाई २० प्रतिशत र एसएमएसलाई ८० प्रतिशत अंकभारका रूपमा गणना गरिने मञ्चका महासचिव महेश आचार्यले जानकारी दिए ।
|
|
नयाँ पत्रिका काठमाडौं, १८ जेठ वर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता गोर्खा कपको समूह ‘डी’अन्तर्गत शनिबार भएको दोस्रो चरणको खेलमा फ्रेन्ड्स र ब्वाइज युनियनले जित हात पारेका छन् । फ्रेन्ड्सले हिमालयन शेर्पालाई २–० तथा ब्वाइज युनियनले जावलाखेल युथ क्लबलाई ३–२ ले स्तब्ध तुल्यायो । शनिबारको खेलसँगै समूह ‘डी’बाट क्वाटरफाइनल प्रवेश गर्ने बाटो चारै टोलीका लागि खुला भएको छ । शनिबारको जितका साथ फ्रेन्ड्स र ब्वाइज युनियनले आफ्नो खातामा तीन–तीन अंक जोडे । पहिलो चरणको खेलमा ब्वाइज युनियनलाई हराएको शेर्पा र फ्रेन्ड्सलाई हराएको जावलाखेलको खातामा पनि समान तीन–तीन अंक छ । यद्यपि गोल अन्तरमा फ्रेन्ड्स पहिलो, जावलाखेल दोस्रो, हिमालयन तेस्रो तथा ब्वाइज युनियन तेस्रो स्थानमा छन् । यो समीकरणमा चारै टोलीका लागि समूह चरणको अन्तिम खेल प्रतियोगिताको अन्तिम आठमा पुग्न निर्णायक बन्नेछ । फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसी पनि अन्तिम आठमा पुग्ने चारै टोलीको सम्भावना उत्तिकै रहेको तर्क गर्छन् । ‘समूह ‘डी’का चारै टोलीले भर्खरै टिम सेट गरेका छन्, नतिजाभन्दा पनि कसरी टोली बलियो बनाउन सकिन्छ भन्ने उद्देश्यले खेलिरहेका छन्, खेलाडीहरूको स्तर पनि उस्तै उस्तै,’ उनी भन्छन्, ‘त्यसमाथि अंक पनि बराबर हुँदा टोलीको सम्भावना बलियो छ भन्न कठिन छ ।’ समूह चरणको अन्तिम खेलमा फ्रेन्ड्सले ब्वाइज युनियन तथा शेर्पाले जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछन् । शनिबार रंगशालामा अन्तिम १९ मिनेट १० जनामा सीमित भएको शेर्पाविरुद्ध फ्रेन्ड्सले जित हात पार्दै महत्त्वपूर्ण तीन अंक बटुल्यो । फ्रेन्ड्सलाई खेलको २७औँ मिनेटमा रितेश मल्लले १–० ले अघि राखे । रितेशले दोस्रो प्रयासमा गोल गरेका हुन् । उनको पहिलो प्रहारलाई शेर्पाका गोलरक्षक विनय श्रेष्ठले पन्च गर्दै आधा क्लियर गरे । तर, त्यही बललाई सिक्स यार्ड बन्सभित्रबाट गोलमा परिणत गर्दै रितेशले टोलीलाई अग्रता दिलाए । उनको गोलसँगै फ्रेन्ड्स पहिलो हाफमा १–० ले अघि रह्यो । दोस्रो हाफमा शेर्पाले दुर्भाग्यपूर्ण नतिजा बेहोर्यो । खेलको ७१औँ मिनेटमा रञ्जित श्रेष्ठलाई फल गर्दा रेफ्री विकास महतले शेर्पाका डिफेन्डर पाल्साङ लामालाई दोस्रो पहेँलो कार्डमा मैदानबाट बाहिर पठाए । त्यसपछि अन्तिम १९ मिनेट १० जनामा सीमित भए पनि शेर्पाले उत्कृष्ट फुटबल खेलेको थियो । यद्यपि खेलको इन्जुरी समयको पहिलो मिनेटमा विष्णु केसीले उत्कृष्ट हेडिङ गोल गर्दै फ्रेन्ड्सको जित २–० ले पक्का पारे । खेलको ८७औँ मिनेटमा पुकार आलेको ठाउँमा मैदान छिरेका विष्णुले भिक्टर अमोबीले शेर्पाका दुई डिफेन्डरलाई छक्याउँदै क्रस गरेको बललाई गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले आधा दर्जन बढी गोल अवसर खेर फालेका थिए । खेलपछि शेर्पाका प्रशिक्षक विकास गौचनले पराजयका बाबजुद अझै अन्तिम आठको सम्भावना बलियो रहेको बताए । ‘सबै टोलीको उत्तिकै अंक छ, तर हाम्रो सम्भावना केही बलियो देखेको छु,’ उनले भने । उनले दोस्रो हाफमा निकै राम्रो प्रदर्शन गरे पनि पहिलो हाफमा खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको बताए । फ्रेन्ड्सका प्रशिक्षक केसीले खेलाडीहरूले पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘जावलाखेलविरुद्ध हाम्रो पोल एटेम्प्ट थिएन, यसपटक गोल पनि भयो, पोस्ट आक्रमण पनि भयो ।’ यसअघि आजको पहिलो खेलमा ‘बी’बाट हालै ‘ए’ डिभिजनमा उक्लिएको ब्वाइज युनिएनले असीमजंग कार्कीले निर्णयक गोल मद्दतमा जावलाखेललाई पराजित गर्दै पहिलो जित हात पार्यो । खेलको १८औँ मिनेटमा उमेश थापाले गरेको गोलसँगै जावलाखेलले खेलमा अग्रता लिन सुरु गरेको थियो । सहकर्मी राज पौडेलको प्रहारलाई ब्वाइज युनियनका गोलरक्षक राजु योगीले क्लियर गर्न नसकेको अवस्थामा उमेशले हेडिङ गोल गरेका थिए । तर, जावलाखेलको अग्रता लामो समय टिकेन । त्यसको ८ मिनेटपछि अर्थात् खेलको २८औँ मिनेटमा आशिक थापामगरले ब्वाइज युनिएनका लागि बराबरी गोल फर्काए । उनले चलाखीपूर्ण तरिकाले जावलाखेलका गोलरक्षक विकेश कुथू अघि बढेको अवस्थामा गोल गरेका थिए । खेलको २९औँ मिनेटमा विनोद लामा घिसिङले गोल गर्दै ब्वाइज युनियनलाई २–१ ले अघि बढाए । तर, जावलाखेल पनि बराबरी गोल फर्काउन सफल भयो । जावलाखेलका लागि खेलको ३४औँ मिनेटमा प्रदीप महर्जनले २–२ को बराबरी गोल फर्काए । तर, खेलको ८५औँ मिनेटमा निर्णयक गोल गर्दै असिमले ब्वाइज युनियनलाई ३–२ को रोचक जित दिलाए । खेलपछि जावलाखेलका प्रशिक्षक राजकुमार केसीले खेलाडीहरूमा अझै फिटनेसको कमी देखिएको बताए । ‘खेलाडीहरूमा फिटनेस छैन, विशेष गरी मिडफिल्ड कमजोर देखियो,’ उनले भने । ब्वाइज युनिएनका प्रशिक्षक विजय महर्जनले पनि खेलाडीको प्रदर्शनमा सन्तुष्टि देखाएनन् । उनले भने, ‘जित महत्त्वपूर्ण हो, खेलाडीको मनोबल पनि उच्च भएको छ, तर प्रदर्शनबाट भने अझै म खुसी हुन सकेको छैन ।’ उनले अन्तिम खेलमा राम्रो गर्दै क्वाटरफाइनलसम्म पुग्ने योजना रहेको बताए ।
|
|
एजेन्सी/ स्पट फिक्सिङको विषयले चर्काे रूप लिँदै गएपछि इन्डियन प्रिमियर लिग (आइपिएल)का अध्यक्ष राजीव शुक्लाले राजिनामा दिएका छन् । यस विषयमा छलफल गर्न भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइतबारका मिटिङ बोलाए पनि त्यसको एक दिनअघि नै राजीनामा घोषणा गरे । उनले पछिल्लो परिस्थितिअनुसार आफूले पद त्याग्नु उचित रहेको बताएका छन् । उनले भनेका छन्, ‘म पछिल्लो केही समय यसै विषयमा गम्भीर सोचमा थिएँ, अन्त्यमा पद त्याग्ने निर्णय लिएको छु ।’ शुक्ला आइपिएलअन्तर्गत राजस्थान रोयल्सका तीन खेलाडी स्पट फिक्सिङको आरोपमा गिरफ्तारमा परेपछि पद त्याग्ने तेस्रो वरिष्ठ पदाधिकारी बनेका छन् । यसअघि यसै विषयमा नैतिकताको कारण देखाउँदै बिसिसिआईका सचिव सञ्जय जग्दल तथा कोषाध्यक्ष अजय सिर्केले पनि राजीनामा दिइसकेका छन् । शुक्लाले बिसिसिआईका दुई पदाधिकारीले भारतीय क्रिकेटका लागि पद त्यागेको उल्लेख गर्दै आफूले पनि उनीहरूकै बाटो अपनाएको बताए । ‘सञ्जय र अजयले भारतीय क्रिकेटको विकास होस् भनेर राजीनामा दिए, त्यसैले मलाई पनि पद त्याग्ने अवस्था आएको महसुस भयो,’ उनले भने ।’ आइपिएल अध्यक्ष शुक्लाको राजीनामासँगै बिसिसिआईका अध्यक्ष श्रीनिभासनमाथि पनि राजीनामाका लागि थप दबाब पर्न सक्ने अनुमान गरिएको छ । आइपिएल स्पट फिक्सिङको घटना सार्वजनिक भएपछि राजीनामाको चर्काे दबाब आइरहे पनि बिसिसिआई अध्यक्ष श्रीनिभासनले पद नत्याग्ने अडान लिँदै आएका छन् । आइपिएलअन्तर्गत हालै सम्पन्न २०१३ को सिजनमा स्पट फिक्सिङ गरेको आरोपमा राजस्थानका श्रीशान्तसहित तीन खेलाडी पक्राउ परेका छन् ।
|
|
नयाँ पत्रिका काठमाडौं, १६ जेठ मनाङमस्र्याङ्दी र नेपाली सेना गोर्खाकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले टुसाललाई ६–० तथा मनाङले संकटालाई ५–१ ले पराजित गर्दै अन्तिम आठको स्थान पक्का पारेका हुन् । समूह ‘सी’मा मनाङ र सेनाले ६–६ अंक बटुलेका छन् । मनाङ र सेनाबीचको अन्तिम खेलपछि समूह ‘सी’को विजेताको छिनोफानो हुनेछ । टुसाल र संकटा समूह चरणबाटै बाहिरिए । सेनाको जितमा नरेश मेचेले ह्याट्रिक गरेका थिए । नरेशले १६ मिनेटको अन्तरमा आफ्नो ह्याट्रिक पूरा गरेका हुन् । वर्षाका कारण हिल्लामे मैदानमा सेनाले खेलको १६औँ मिनेटमा अग्रता लिएको थियो । कासीराज कार्कीले सेनालाई अग्रता दिलाए । टेकबहादुर बुढाथोकीको क्रसलाई टुसालका गोलरक्षक सुरज मोक्तानले नियन्त्रणमा लिन नसकेको फाइदामा कासीराजले सहजै गोल गरे । खेलको १९औँ मिनेटमा टेकबहादुरले क्रसबारमा आकर्षक गोल गर्दै सेनालाई २–० को अग्रता दिलाए । सेनाले कमजोर प्रतिद्वन्द्वी टुसाललाई पहिलो हाफमा दबाबमा राख्यो । टुसालले खासै राम्रो मुभ बनाउन सकेन । खेलको ३२औँ मिनेटमा नरेशले महेन्द्र खवासको पासमा ३–० का लागि गोल गरे । खेलको ३७औँ मिनेटमा गोलरक्षक सुरजको गल्तीमा नरेशले ४–० का लागि गोल ठोके । खेलको ४८औँ मिनेटमा टुसालका गोलरक्षक सुरजले बललाई नियन्त्रणमामा लिन नसक्दा नरेशले ह्याट्रिक पूरा गरी सेनालाई ५–० को बलियो स्थितिमा राखे । मिडफिल्डर राजु तामाङद्वारा प्रहारित बललाई गोलरक्षक सुरजले नियन्त्रणमा लिन नसक्दा बल रिबाउन्स भएको हो । खेलपछि सेनाका प्रशिक्षक योगम्बर सुवालले खेलाडीबाट उत्कृष्ट प्रदर्शन भएको बताए । ‘खेलाडीको स्तर बिस्तारै बढिरहेको छ, टुसालका खेलाडीहरू युवा छन्, उनीहरूले आफ्नो क्षमताअनुसार प्रदर्शन गरे, तर खेलमा सेनाको स्तर माथि रह्यो ।’ टुसालका प्रशिक्षक उमेश लामा खेलाडीको प्रदर्शनबाट खुसी देखिए । ‘सेनाजस्तो बलियो टोलीविरुद्ध मेरा युवा खेलाडीले राम्रो प्रदर्शन गरे,’ लामाले भने, ‘पहिलो खेलको तुलनामा दोस्रो खेलमा सुधार भयो, यसबाट म खुसी छु ।’ संकटाविरुद्धको खेल आत्मसम्मानका लागि हुने उनले बताए । ‘संकटासँगको खेलमा हामी जितका लागि प्रतिस्पर्धा गर्छाैँ,’ उनले भने । अर्को खेलमा मनाङलाई विजयी दिलाउन सुजल श्रेष्ठ तथा अनिल गुरुङले दुई–दुई गोल गरेका थिए । संकटाका लागि राजीव गुरुङले सान्त्वना गोल फर्काए । खेलको २३औँ मिनेटसम्म संकटाले मनाङलाई रोकेको थियो । सुजलले खेलको २१औँ मिनेटमा गोल गरेपछि संकटाको लय बिग्रियो । अनिलको सटिक पासमा सुजलले मनाङलाई १–० को अग्रता दिलाए । खेलको ३२औँ मिनेटमा संकटाले बराबरी अवसर गुमाएको थियो । स्ट्राइकर राजीवले पोस्टभन्दा २२ यार्ड टाढाबाट प्रहार गरेको बललाई मनाङका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । मध्यान्तरको पाँच मिनेटअघि रूपेश केसीले मनाङलाई २–० का लागि गोल गरे । यसै सत्रमा सरस्वतीबाट मनाङ छिरेका अफ्रिकन स्ट्राइकर योनाको प्रहारलाई संकटाका गोलरक्षक दिपेश यादवले बचाए । तर, डिबक्सभित्र अनमार्कमा रहेका रूपेशले रिबाउन्स भएको बललाई गोलमा परिणत गरेका हुन् । मध्यान्तरपछि संकटाले खेलमा सुधार ल्यायो । जसका कारण मनाङले तेस्रो गोल खेलको ७२औँ मिनेटमा सम्भव पार्यो । सुजलले शिव श्रेष्ठको पासमा टोलीलाई ३–० को स्थितिमा पुर्याए । सुजलले दोस्रो गोल गरेको एक मिनेटभित्रै अनिलले ४–० का लागि गोल ठोके । खेलको ७९औँ मिनेटमा राजीवले संकटालाई ४–१ को अन्तरमा पुर्याए । मनाङका गोलरक्षक विशालको गल्तीमा राजीवले सो गोल गरेका हुन् । मनाङका प्रशिक्षक अमृत पन्तले भने, ‘खेलाडीले सोचेअनुसार खेले, उनीहरूको प्रदर्शनबाट खुसी छु ।’ खेलाडीबीच राम्रो तालमेल मिलेको उनले बताए । उपाधिभन्दा पनि समूह विजेताको लक्ष्य राखेको उनको भनाइ छ । ‘हाम्रो पहिलो प्रयास भनेको समूह विजेता हुने हो, त्यसपछि मात्र उपाधिको विचार हुनेछ,’ प्रशिक्षक पन्तले भने । संकटाका प्रशिक्षक श्याम मालीले क्लबमा विदेशी खेलाडीको अभाव भएकाले पराजित भएको बताए । ‘हामीसँग विदेशी खेलाडी छैनन्, यदि विदेशी खेलाडी भए, संकटाले राम्रो नतिजा निकाल्न सक्थ्यो,’ माली भन्छन्, ‘सुरुवाती योजना दोस्रो चरणमा पुग्ने थियो, लगातार दुई हारपछि त्यो सम्भावना रहेन ।’
|
|
|