Wednesday, May 22, 2013

खेलकुद
एनआरटीद्वारा फुटबल नखेल्ने निर्णय पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, १४ वैशाख
नेपाली क्लब फुटबलमा लामो इतिहास बोकेको न्युरोड टिम -एनआरटी)ले कम्तीमा एक वर्ष फुटबल नखेल्ने निर्णय गरेको छ । आर्थिक संकट देखाउँदै शनिबार सम्पन्न क्लबको विशेष साधारणसभाले एक वर्ष फुटबलका कुनै पनि गतिविधि नगर्ने निर्णय लिएको हो ।
आर्थिक संकट परेपछि फुटबल खेल्ने वा नखेल्ने सम्बन्धमा निर्णय लिन क्लबले शनिबार विशेष साधारणसभा बोलाएको थियो । साधारणसभाले कम्तीमा एक वर्ष कुनै पनि फुटबलका गतिविधि नगर्ने निर्णय गरेको एनआरटीका महासचिव विनयसिंह प्रधानले जानकारी दिए । उनले भने, 'हामीले सदस्यहरूमाझ क्लबको अवस्थाबारे प्रस्ट धारणा राखेका थियौँ, त्यसअनुसार उहाँहरूले फुटबल नखेल्नेमा मत दिनुभएको छ ।'
उनका अनुसार गोप्य मतदानमा क्लबका ४३ सदस्यमध्ये ३४ सदस्यले फुटबल नखेल्नेमा मत दिएका थिए । साधारणसभाको निर्णयअनुसार एनआरटीलेे नयाँ सिजनका लागि एन्फामा क्लब दर्तासमेत नगराउने भएको छ । महासचिव प्रधानले एन्फाले आइतबारसम्मका लागि अन्तिम समय तोके पनि क्लब दर्ता नगर्ने जानकारी दिए । उनले भने, 'एन्फाले आइतबारसम्म क्लब दर्ता गर्ने अन्तिम म्याद तोकेको छ, तर हामी दर्ता गर्दैनौँ ।
नियमअनुसार दर्ता भएका क्लबले एन्फाले आयोजना गर्ने प्रतियोगितामा भाग लिन पाउँछ । नियमअनुसार दर्ता नगरेका क्लबलाई एन्फाले कारबाहीसमेत गर्ने गरेको छ । महासचिव प्रधानले एन्फाको कारबाही सहन तयार रहेको बताए । 'यसअघि ०६२/६३ लिग नखेल्ने क्लबलाई एन्फाले 'ए' डिभिजनमै खेलाएको थियो, अब डाडुपन्यु उनीहरूको हातमै छ, हामीलाई कारबाही गर्छन् भने भोग्न तयार छौँ,' उनले भने ।
महासचिव प्रधानले क्लबको स्थिति सुधि्रए अर्काे वर्ष 'बी' डिभिजनमा खेल्दै फुटबलमा र्फकन सक्ने जानकारी गराए । 'अहिलेलाई एक वर्ष फुटबल गतिविधि ठप्प गर्ने निर्णय भएको छ, तर ऋण सहज भए हामी अर्काे वर्षबाटै 'बी' डिभिजनमार्फत पुनः फुटबलमा र्फकन सक्छौँ,' उनले भने ।
साधारणसभामा महासचिव प्रधानले क्लबका तर्फबाट 'ए' डिभिजनमै बसेर फुटबललाई निरन्तरता दिँदा र फुटबल गतिविधि नै ठप्प पार्दा कहिलेसम्म ऋण चुक्ता गर्न सकिन्छ भन्नेबारे प्रस्तुति राखेका थिए । जसमा केही सदस्यले थोरै लगानी गरेर भए पनि फुटबल गतिविधिलाई निरन्तरता दिनुपर्ने बताएका थिए । तर, बहुमत सदस्यले खर्च धान्न नसक्ने बताएपछि गोप्य मतदानमार्फत निर्णय लिइएको थियो । क्लबसँग अहिले एक करोड ७३ लाख ऋण रहेको छ ।
७९ वर्षको इतिहास टुंगियो
एनआरटी 'ए' डिभिजनमा रहेका क्लबमध्ये पुरानो क्लब हो । एनआरटी विसं १९९१ मा स्थापना भएको हो । विसं ०११ बाट सुरु भएको सहिद स्मारक 'ए' डिभिजन लिग विभिन्न कारणले ३९औँ संस्करणसम्म आइपुग्दा एनआरटीले निरन्तर 'ए' डिभिजनमै खेल्दै आएको छ । एनआरटी तीनपटकको नेपाली लिग च्याम्पियन हो । एनआरटीले विसं ०५२, ०१७ र ०१९ मा लिग उपाधि उचालेको थियो । एनआरटीले आफ्नो ७९ वर्षको इतिहासमा अहिले एक वर्ष फुटबलबाट विश्राम लिने निर्णय लिएको छ ।
एनआरटीको यो निर्णयसँगै नेपाली फुटबलमा क्लबहरूको भविष्यलाई लिएर बहस सुरु भएको छ । कतिपय विश्लेषकले यही अवस्था जारी रहे एक दिन नेपाली फुटबल 'क्रयास' हुन सक्ने विश्लेषण गरेका छन् ।
आर्थिक संकटको सुरुवात
एनआरटीले ०६३ को सिजनका लागि राम्रो टोली बनाएको थियो । त्यसवेला डिफेन्डर सागर थापा, स्ट्राइकर अनिल गुरुङलगायत चलेका खेलाडीलाई राम्रो तलबमा एनआरटीले भित्र्याएको थियो । त्यसका लागि एनआरटीले हिमालयन बैंकबाट एक करोड ४० लाख ऋण लिएको थियो ।
तर, दुर्भाग्यवश त्यही वर्ष अखिल नेपाल फुटबल संघ -एन्फा)मा फुट आयो । पदाधिकारीको झगडाका कारण डेढ वर्ष लिग नै भएन । क्लबले लिग नभए पनि खेलाडीलाई सम्झौताअनुसार मासिक तलब खुवाउनुपर्‍यो । एनआरटीले घरभाडाबापत वाषिर्क एक करोड तीन लाख प्राप्त गर्छ । उसले बैंकको ऋण लिएबापत मासिक नौ लाख ब्याज तिर्नुपर्छ । त्यसैले घरभाडा ब्याज तिर्न नै ठिक्क हुन्छ । त्यसयता ०६६ बाट पुनः लिग सुरु हुँदा एनआरटीले लिग फुटबललाई निरन्तरता दियो । प्रायोजकविना फुटबल खेलेको एनआरटीको खर्च थप बढ्दै गयो ।
एन्फाको कारबाही
एनआरटी क्लबको पछिल्लो निर्णयसँगै नेपाली फुटबलको प्रशासनिक निकाय एन्फाको कारबाहीमा पर्न सक्ने सम्भावना बढेको छ । यसअघि एन्फाले क्लबहरूले नियमअनुसार आफ्नो डिभिजनमा नखेले तल्लो डिभिजनमा झार्नेसम्मको निर्णय लिएको छ । स्रोतका अनुसार एनआरटीले फुटबल नखेलेको अवस्थामा एन्फाले एक डिभिजन घटुवाभन्दा पनि ठूलो कारबाही गर्न सक्ने सम्भावना छ ।


 
एन्फा र गोर्खा ग्रुपबीच सम्झौता नवीकरण पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १३ वैशाख
अखिल नेपाल फुटबल संघ -एन्फा) र व्यावसायिक समूह गोर्खा ग्रुपबीच प्रायोजनसम्बन्धी सम्झौता नवीकरण भएको छ । एन्फा र गोर्खा ग्रुपले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी थप तीन वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् ।
यसअघि गोर्खा ग्रुपअन्तर्गतको बि्रटिस गोर्खा ग्रुपले तीन वर्षसम्म एन्फालाई प्रतियोगिता सञ्चालन गर्न वाषिर्क २० लाख दिँदै आएको थियो ।
सो सम्झौता गत वर्ष सकिएपछि यस वर्षबाट बि्रटिस गोर्खा ग्रुपको मुख्य संस्था गोर्खा ग्रुपले नै प्रायोजन गर्ने भएको हो । सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष गणेश थापा तथा गोर्खा ग्रुपका तर्फबाट प्रेम बेघाले हस्ताक्षर गरे ।
यसपटक पनि वाषिर्क २० लाख प्रायोजन गर्ने सम्झौता भएको एन्फाले जनाएको छ । अर्काे वर्षबाट भने १५ प्रतिशत रकम बढाइने सहमति भएको एन्फा अध्यक्ष थापाले जानकारी दिए । उनले भने, 'यसपटक पनि हामीले २० लाखमै सम्झौता गरेका छौँ, तर अर्काे वर्षबाट १५ प्रतिशत बढाइने सहमति भएको छ ।'
एन्फाले अघिल्लो तीन वर्ष बि्रटिस गोर्खा ग्रुपको प्रायोजनमा बि्रटिस गोर्खा कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । यसपटक प्रायोजकको नाम परिवर्तन भएपछि प्रतियोगिताको नाम पनि गोर्खा कप मात्रै हुने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष थापाले प्रतियोगिताको सफल सञ्चालन तथा फुटबलको बढ्दो लोकपि्रयताका कारण प्रायोजकहरूले विश्वास गरेको बताए । उनले भने, 'एन्फाले प्रतियोगिताहरूको सफल सञ्चालन गरिरहेको छ, साथै लोकपि्रयता पनि बढिरहेको छ, त्यसैले प्रायोजकहरूले पनि फुटबललाई विश्वास गर्न थालेका छन् ।'
यस्तै गोर्खा ग्रुपका अध्यक्ष प्रेम बेघाले गोर्खाहरूको तर्फबाट फुटबल विकासमा टेवा पुर्‍याउने उद्देश्यले लगानी गरेको बताए । उनले भने, 'हामी गोर्खाहरू पनि स्वदेशमा केही गरौँ भन्ने सोचाइले आएका छौँ, त्यसैले फुटबलमा लगानी गरेका हौँ, हाम्रो यो लगानीले नेपाली फुटबल माथि उठ्ने विश्वास लिएका छौँ ।'
गोर्खा कप जेठ दोस्रो साता
एन्फाले वर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता गोर्खा कप जेठको दोस्रो सातादेखि हुने जनाएको छ । 'पक्का भएको छैन, मोफसलको प्रतियोगितालाई हेरेर जेठको दोस्रो सातादेखि गोर्खा कप गर्ने तयारी भइरहेको छ,' एन्फा अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले यसपटक पनि उपाधि विजेता टोलीलाई १० लाख तथा उपविजेतालाई पाँच लाख पुरस्कार प्रदान गरिने जानकारी दिए । यस्तै तयारी रकमबापत क्लबहरूलाई ५०-५० हजार दिइने उनले जानकारी दिए ।
यस वर्ष थप एक नकआउट प्रतियोगिता
एन्फा अध्यक्ष थापाले यस वर्ष थप एक नकआउट फुटबल प्रतियोगिता गर्ने घोषणा गरेका छन् । अध्यक्ष थापाले कुन प्रतियोगिता कहिले गर्ने भन्ने टुंगो नभए पनि यस वर्ष थप एक नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
अध्यक्ष थापाले भने, 'हामीले यस वर्ष थप अर्काे नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ, कुन प्रतियोगिता कहिले गर्ने भन्ने तय भइसकेको छैन ।' एन्फाले अहिलेसम्म गोर्खा कप र एनसेलको प्रायोजनमा एनसेल कप गरी दुई नकआउट फुटबल प्रतियोगिता गर्दै आएको छ ।

 
नेपाली खेलाडीको ट्रान्जिट भिसामा ढिलाइ पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, ९ वैशाख
भारतस्थित बेलायती हाई कमिसनले ट्रान्जिट भिसा दिन ढिलाइ गरेपछि आसन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आइसिसी) विश्व क्रिकेट लिग डिभिजन-३ खेल्न बर्मुडा जान लागेको नेपाली राष्ट्रिय टोलीको यात्रा एक दिन पछि सरेको छ । यसअघि नेपाली टोली मंगलबार अपराह्न बर्मुडा प्रस्थान गर्ने तय भएको थियो ।
नेपाल क्रिकेट संघ -क्यान)का महासचिव अशोकनाथ प्याकुरेलले ट्रान्जिट भिसाका कारण नेपाली टोलीको बर्मुडा यात्रा एक दिन पर सरेको जानकारी दिए । उनले भने, 'आज -सोमबार) साँझसम्म कसैको पनि ट्रान्जिट भिसा स्टाटस थाहा हुन सकेको छैन, त्यसैले मंगलबार अपराह्न त्यसतर्फ जाने हाम्रो कार्यक्रम असम्भव देखिएको छ ।'
महासचिव प्याकुरेलले मंगलबार बिहानै भिजा आइपुगे मात्रै अपराह्न प्रस्थान गर्न सकिने नत्र एक दिन पछि सर्ने जानकारी दिए । उनले उपकप्तान ज्ञानेन्द्र मल्लको मात्रै ट्रान्जिट भिसा आइपुगेको अपुष्ट खबर प्राप्त भएको जानकारी दिए । 'हामीलाई अहिलेसम्म ज्ञानेन्द्रको मात्रै भिसा आइपुगेको भन्ने अस्पष्ट खबर आएको छ, तर पक्का छैन, भोलि बिहान ९ बजे नभईकन अफिस खुल्दैन,' उनले भने, 'त्यसपछि मात्रै थाहा हुनेछ ।'
प्रतियोगितका लागि नेपाली राष्ट्रिय टोली दिल्लीबाट बेलायतलाई ट्रान्जिट बनाउँदै बर्मुडा पुग्ने कार्यक्रम तय भएको थियो । बर्मुडाले प्रतियोगिताका लागि खेलाडीलाई भिसा दिइसके पनि बेलायतले ट्रान्जिट भिसा दिन ढिला गरेपछि समस्या देखिएको हो ।
महासचिव प्याकुरेलले ट्रान्जिट भिसा आउन ढिला भए पनि प्रतियोगिता सहभागितामा कुनै असर नगर्ने बताए । 'हामीले त्यहाँको हावापानीसँग भिज्न सहज हुन्छ भनेर केही दिनअघि नै त्यहाँ पुग्ने योजना बनाएका थियौँ,' उनले भने, 'एक-दुई दिन ढिला पुगेको अवस्थामा खासै असर पर्दैन ।'
उनले प्रतियोगिताको वार्मअप खेल र नियमित खेल तालिका भ्याउने गरी बर्मुडा पुग्ने जानकारी दिए । आइसिसीले प्रतियोगिताअघि सबै टोलीका लागि वार्मअप खेल तय गरेको छ । उनले भने, 'हामी आइसिसीको कार्यक्रम भेट्न त्यहाँ पुग्नेछौँ, वार्मअप खेल नभ्याए पनि हामी नेट सेसन गर्नेछौँ, खासै फरक पर्ने छैन ।'
यही १५ वैशाखबाट सुरु हुने प्रतियोगितामा नेपालले अमेरिकाविरुद्धको खेलबाट सुरु गर्ने कार्यक्रम तय भएको छ । २२ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपालले अमेरिकाबाहेक इटाली, ओमान, युगान्डा र बर्मुडासँग भिड्नेछ । यो प्रतियोगिताको शीर्ष दुईभित्र पुग्न सके सन् २०१५ मा आयोजना हुने विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि छनोट हुुने भएकाले यस प्रतियोगिता नेपालका लागि महत्त्वपूर्ण मानिएको छ ।
पारसको पनि भिसा आयो
क्यानले आयोजक बर्मुडाले कप्तान पारस खड्काको भिसा प्रोसेसिङ पूरा भएको जनाएको छ । यसअघि बर्मुडाले अन्य सबै खेलाडीको भिसा जारी गरे पनि कप्तान पारसका लागि भिसा दिएको थिएन । क्यान महासचिव प्याकुरेलले भने, 'बर्मुडाबाट पारसको पनि भिसा प्रोसेसिङ क्लियर भएको खबर आएको छ, त्यसैले उनको भिसाको समस्या रहेन ।'
महासचिव प्याकुरेलले कप्तान पारसको भिसा र पासपोर्ट भने प्राप्त भइनसकेको जानकारी दिए । यसै कारण कप्तान पारस अन्य टोलीभन्दा पछि बर्मुडा पुग्ने सम्भावना बढेको छ । चाँडै ट्रन्जिट भिसा आएको अवस्थामा अन्य खेलाडी बुधबारै त्यसतर्फ लाग्नेछन्, तर पुनः ट्रान्जिट भिसाका लागि कुर्नुपर्ने भएकाले कप्तान पारसको यात्रा ढिला हुने सम्भावना बढेको हो ।
नेपाली टोली
खेलाडी ः कप्तान पारस खड्का, उप-कप्तान ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, वसन्त रेग्मी, राहुलकुमार विश्वकर्मा, सञ्जम रेग्मी, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, अनिल मण्डल, सुवास खकुरेल, शरद भेषवाकर, पृथु बास्कोटा, चन्द्र सावद ।
प्रशिक्षक ः पुबुदु दासानायके 
व्यवस्थापक ः तारिणीविक्रम शाह  प्राविधिक विश्लेषक ः रमन सिवाकोटी फिजियो ः सुब्रमन्यु बराम्बाई

 
'ए’ डिभिजनमा बस्नेबारे जावलाखेल पनि दोधारमा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, ९ वैशाख
आर्थिक संकट कारण देखाउँदै क्लबहरूले फुटबललाई निरन्तरता दिन नसक्ने बताइरहेका वेला पछिल्लोपटक जावलाखेल युथ क्लब पनि त्यही लहरमा उभिएको छ । जावलाखेलले 'ए' डिभिजनमै बसेर फुटबललाई निरन्तरता दिन नसक्ने भन्दै त्यस सम्बन्धमा निर्णय लिन यसै साता विशेष भेलासमेत बोलाउने भएको छ ।
यसअघि रानीपोखरी कर्नर टिम -आरसिटी) र न्युरोड टिम
-एनआटी)लगायत क्लबहरूले आर्थिक संकटको कारण देखाउँदै फुटबललाई निरन्तरता दिन नसक्ने स्पष्ट पारिसकेका छन् । आरसिटीले अखिल नेपाल फुटबल संघ -एन्फा) को आर्थिक प्याकेजको आशामा एक वर्षलाई ट्रायल पिरिएडका रूपमा फुटबल खेल्ने निर्णय लिएको छ । एनआरटीले भने 'ए' डिभिजनमै बसेर फुटबललाई निरन्तरता दिने वा नदिने भन्नेबारे निर्णय लिन यही शनिबार साधारणसभा डाकिसकेको छ ।
जावलाखेलका अध्यक्ष सुनील राणाले आर्थिक संकटका कारण फुटबललाई निरन्तरता नसकेको भन्दै यही शनिबार विशेष भेला बोलाएर ठोस निर्णय लिने जानकारी दिए । अध्यक्ष राणाले शनिबार कार्यसमिति, सदस्यहरू र शुभेच्छुक सबैलाई बोलाएर विशेष भेलामार्फत 'ए' डिभिजनमै बसेर फुटबललाई निरन्तरता दिने वा के गर्ने भन्नेबारे निर्णय लिने जानकारी दिए । 'अहिले खेलाडीको भाऊ निकै बढेको छ, तर खेलाडीको मिहिनेत छैन, खेलाडीले मागेअनुसार दिएर राम्रो टोली बनाउँदा क्लबले धान्न सक्दैन, कमजोर टोली बनाउँदा कुनै उपलब्धि हँुदैन,' उनले नयाँ पत्रिकासँग भने, 'त्यसैले विशेष भेलामार्फत 'ए' डिभिजनमै रहेर फुटबललाई निरन्तरता दिने वा 'बी' डिभिजनमा झरेर आर्थिक अवस्था बलियो बनाउँदै राम्रो गर्ने भन्नेबारे ठोस निर्णय लिनेछौँ ।'
उनले 'ए' डिभिजनमै बसेर फुटबललाई निरन्तरता दिनुभन्दा केही वर्ष 'बी' डिभिजनमा झरेर राम्रो टोली बनाएर पुनः 'ए' डिभिजनमा फर्किनु आर्थिक र उपलब्धिको दृष्टिले सही हुने तर्क गरे । उनले विशेष भेलाले 'ए' मै बसेर फुटबललाई निरन्तरता दिने सुझाब दिएको अवस्थामा पनि बलियो टोली नबनाउने बताए ।
उनले स्वयं क्लबहरू एक-आपसमा नमिल्दा यो अवस्था सिर्जना भएको तर्क गरे । 'मैले एन्फासँगको बैठकमा खेलाडीलाई ६-६ महिनाको मात्रै सम्झौता दिनुपर्ने, विदेशी खेलाडी कोटा घटाउनुपर्ने, पुरस्कार रकमको अन्तर कम गर्नुपर्नेेलगायत माग राख्दा एनआरटी र सरस्वतीले मात्रै साथ दियो,' उनले भने, 'अरू कुनै क्लब गणेश थापाको अघि बोल्न सकेन, त्यही कारण यो अवस्था आएको हो ।'
अध्यक्ष राणाले ६-६ महिनाको मात्रै सम्झौता दिँदा खेलाडीहरूले टोलीलाई सुपर एटमा पुर्‍याउन मिहिनेत गरेर खेल्ने बताए । यो व्यवस्थाले सुपर एटमा नपुगेका क्लबहरूका लागि पनि वाषिर्क २० देखि ३० लाख खर्च बचत हुने तर्क गरे । उनले एन्फाले 'प्राइज मनी' मा अन्तर धेरै राखेकाले पनि क्लबहरूले घाटा बेहोर्नु परेको दाबी गरे ।
'पहिलो र दोस्रो टोलीबीचको पुरस्कार रकम ४० लाखको फरक छ, पहिलो हुनेले खेलाडी वा अन्य टोलीलाई ५-१० लाख दिएर फिक्सिङ गरेर लिग जित्न के बेर ?,' उनले भने, 'यसपटक पनि त्यही भएको हो, मँसग प्रमाण छैन, तर खेलाडीहरूले फिक्सिङ गरेका छन््, त्यसैले क्लबहरूलाई बचाउन पुरस्कार रकम पनि मिलाउन आवश्यक छ ।' उनले पुरस्कार रकम अन्तर पाँच-पाँच हजारको फरक राख्नुपर्ने तर्क गरे ।
अध्यक्ष राणाले क्लबलाई बचाउन पदाधिकारीले आफैँले सही निर्णय लिनुपर्ने धारणा राखे । 'हामी सधै एन्फाले यो गरेन त्यो गरेन भन्छौँ, एन्फाले क्लब चलाउने हैन, यदि त्यसो हो भने क्लबको अध्यक्ष नै गणेश थापालाई दिए भइहाल्यो नि ?,' उनले भने, 'त्यसैले आफ्नो क्लब कसरी चलाउने भन्नेबारे स्वयं पदाधिकारीले सोच्नुपर्ने कुरा हो ।' साथै उनले एन्फाले फुटबलमा धेरै राम्रा काम गरेको पनि बताए ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »