|
लड्र्स/ दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा वेस्टइन्डिजविरुद्ध ‘ड्र’को नतिजा निकालेपछि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बराबरी नतिजासँगै समूह ‘बी’बाट वेस्टइन्डिज र पाकिस्तान बाहिरिएका छन् । यो समूहबाट भारत भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ । वेस्टइन्डिज र दक्षिण अफ्रिकाले ३ खेलमा ३ अंक जोडे भने दुवै खेल हारेको पाकिस्तानको कुनै पनि अंक छैन । दुई खेलबाट चार अंक भएको भारत समूहको शीर्ष स्थानमा छ । वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिका भाग्यमानी रह्यो । टस हुनुपुर्व भारी वर्षा भएपछि खेल ३१ ओभरमा घटाइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २३० रनको उत्कृष्ट योगफल जोड्यो । दक्षिण अफ्रिकाका लागि ओपनर कोलिन इन्ग्रामले ७३ रनको योगदान दिए । उनले ६३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै डेभिड मिल्नरले ३८ रन जोडे । मात्र २९ बल सामना गरेका मिल्नरले तीन छक्का र एक चौका प्रहार गरे । त्यसबाहेक एडिबी भिल्लियर्सले ३७ रन तथा फ दु प्लेसिसले ३५ रन जोड्दा हसिम अमला २३ रनमा आउट भए । भिल्लियर्सले २६ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरे । रियान म्याकलरेन सात रन तथा रोबिन पिटरसन शून्यमा नटआउट रहदा जेपी डुमिनी दुई रनमै आउट भएका थिए । बलिङतर्फ ड्वाइन ब्राभोले दुई तथा मार्लाेन स्यामुइल्स, किरन पोलार्ड र रवि राम्पाउलले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिजलाई फेरि वर्षाले अवरोध पुर्यायो । अन्त्यमा डकवर्थ लुइस नियमका आधारमा खेल बराबरी भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली बन्यो । दोस्रोपटक वर्षाले खेल रोकिनुअघि वेस्टइन्डिजले २६ ओभर १ बलमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । तर, डकवर्थ लुइस नियमका आधारमा खेल घटाइँदा जितका लागि वेस्टइन्डिजले १९१ रनको लक्ष्य पाएको थियो । वेस्टइन्डिजका लागि मार्लाेन स्यामुइल्सले सर्वाधिक ४८ रनको योगदान दिए । डेल स्टेनको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै ओपनर क्रिस गेलले ३६ रन, डेभोन स्मिथले ३० रन तथा किरन पोलार्डले २८ रन जोडे । गेलले मात्र २७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । स्मिथले २९ बलमा चार चौका प्रहार गर्दा पोलार्डको नाममा २३ बलमा पाँच चौका रह्यो । यसबाहेक चाल्र्स जोहनसनले १६ रन जोड्दा डारेन ब्राभोले १२ रन जोडे । ड्वाइन ब्राभो आठ रन तथा डारेन सामी शून्य रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका डेल स्टेनले दुई विकेट लिँदा क्रिस मोरिस, रोबिन पिटरसन र रियान म्याकलरेनले एक–एक विकेट लिए ।
|
|
नयाँ पत्रिका काठमाडौं, ३० जेठ चौथो संस्करणको गोर्खाकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङमस्र्याङ्दी क्लब र नेपाली सेनाबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालमा बिहीबार भएको खेलमा मनाङले घरेलु फुटबलकै चिरपिरिचित प्रतिद्वन्द्वी थ्री स्टारलाई दोस्रो सेमिफाइनलमा १–० ले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । मनाङलाई दोस्रोपटक फाइनलमा पुर्याउन मिडफिल्डर विशाल राईले निर्णायक गोल गरेका थिए । विशाल खेलको ८०औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका थिए । खेलको ८७औँ मिनेटमा थ्री स्टारका डिफेन्डर तथा गोलरक्षकलाई स्तब्ध पार्दै विशालले ८७औँ मिनेटमा १–० का लागि गोल गरेका थिए । थ्री स्टारको सिक्स यार्ड बक्समा अनिल गुरुङले अफ्रिकन स्ट्राइकर योना इलियासलाई हेडिङ पास उपलब्ध गराए । त्यसपछि योनाले अनमार्कमा रहेको विशाललाई ‘ब्याक पास’ मिलाइदिएका थिए । विशालले पनि गल्ती नगरी सीधै पहिलो बारमा गोल गर्दै मनाङलाई जित दिलाए । हारसँगै थ्री स्टार लगातार चौथोपटक फाइनल पुग्नबाट वञ्चित भयो । यसअघि थ्री स्टारले पहिलो दुई संस्करणको उपाधि जितेको थियो । तेस्रो संस्करणमा थ्री स्टार फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । यता, मनाङको भने यो दोस्रो फाइनल यात्रा रह्यो । मनाङ पहिलो संस्करणको फाइनलमा थ्री स्टारबाट पराजित भएको थियो । मनाङले गत सिजन ‘ए’ डिभिजन लिगको पहिलो चरणमा थ्री स्टारसँग बेहोरेको हारको बदलासमेत लियो । थ्री स्टारले लिगको १५औँ चरणमा मनाङलाई १–० ले पराजित गरेको थियो । सुपर एटमा दुवैले १–१ को बराबरी खेलेका थिए । यसअघि खेलको ४२औँ मिनेटमा थ्री स्टार दश खेलाडीमा सीमित भएको थियो । मनाङका मिडफिल्डर शिव श्रेष्ठलाई घुँडामा प्रहार गरेपछि रेफ्री सचिन अमात्यले डिफेन्डर विष्णु सुनुवारलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए । खेलको ३७औँ मिनेटमा विष्णुले योनालाई हातले अठ्याएर लडाएपछि पहिलो पहेँलो कार्ड पाएका थिए । दोस्रो हाफ पूरै १० जनामा सीमित थ्री स्टारले केही राम्रा गोल अवसर खेर फाल्दा पराजित हुन पुग्यो । खेलपछि मनाङका प्रशिक्षक अमृत पन्तले भने, ‘पहिलोभन्दा दोस्रो हाफ राम्रो भएन, सेनासँगको फाइनल खेल कडा हुनेछ ।’ सधैँ तनावपूर्ण खेल थ्री स्टार र मनाङ घरेलु फुटबलका दुई शक्तिशाली टोली हुन् । त्यसैले यी दुईबीचको खेल सधैँ प्रतिस्पर्धात्मक र तनावपूर्ण हुने गर्छ । यी दुई क्लबबीचको भिडन्तमा दर्शक र खेलाडी पनि उत्तिकै उत्तेजक देखिन्छन् । बलियो टोलीबीच प्रतिस्पर्धा हुँदा खेलाडीहरू पनि मैदानमा तनावपूर्ण र उत्तेजक देखिन्छन् । विपक्षी खेलाडीप्रति जाइलाग्न र फल प्रहार गर्न आतुर हुन्छन् । त्यस्तै परिणाम बिहीबार पनि देखियो । रेफ्रीले नौ पहेँलो कार्डसहित तीन रातो कार्ड प्रयोग गरे । खेलको पहिलो हाफमै थ्री स्टारका विष्णुले रातो कार्ड पाइसकेका थिए । इन्जुरी समयमा मनाङका योना र थ्री स्टारका जगजित श्रेष्ठ पनि लगातार रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । बल प्रहार गर्ने क्रममा पहिले जगजितले योनालाई प्रहार गरे । त्यसपछि दुईबीच तनाव सुरु भएको थियो । फोर्थ अफिसियलको सल्लाहअनुसार रेफ्री अमात्यले दुवैलाई रातो कार्ड देखाए । योनाले सेनाविरुद्धको फाइनल खेल गुमाउनेछन् । हातैले गोल मनाङका अनिल गुरुङ मिहिनेती र क्षमतावान स्ट्राइकर हुन् । उनको प्रदर्शनमा ‘कन्सिस्टेन्सीŁ’ पाइन्छ । तर, उनी कहिलेकाहीँ अविश्वसनीय गल्ती गर्न पुग्छन् । थ्री स्टारविरुद्ध उनले हातैले गोल गरे । उनको त्यो गल्ती रातो कार्डलायकको थियो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेलाडीले जानाजान हातले गोल गर्ने प्रयास गर्दा रेफ्रीले सीधै रातो कार्ड देखाउने गर्छन् । तर, रेफ्री अमात्यले पहेँलो कार्ड मात्रै पाए । अनिलको यस्तो हर्कत पहिलो भने होइन । अनिलले गत वर्षको ‘ए’ डिभिजन लिगमा पनि नेपाल पुलिसविरुद्धको खेलमा हातैले गोल गर्दा दोस्रो पहेँलो कार्डमा रातो कार्ड पाएका थिए ।
|
|
बर्मिघम/ अस्ट्रेलियन क्रिकेट बोर्ड (सिए)ले ओपनर डेभिड वार्नरलाई आसन्न एसेज सिरिजसम्म प्रतिबन्ध लगाएको छ । बोर्डले वार्नरमाथि ११ हजार ५ सय डलरसमेत जरिवाना तोकेको छ । अस्ट्रेलियन ब्याट्सम्यान वार्नरले गत आइतबार आयोजित एक पार्टीमा इंग्लिस टोलीका जोए रुटमाथि सांघातिक आक्रामण गरेका थिए । सोही दिन अस्ट्रेलिया इंग्ल्यान्डसँग पराजित भएको थियो । सो पार्टीमा मात्तिँदै वार्नरले रुटसँग झगडा गरेका थिए । अस्ट्रेलियन क्रिकेट बोर्ड तथा च्याम्पियन्स ट्रफी आयोजकले गरेको अनुसन्धानमा वार्नरलाई नै दोषी ठहर्याएको छ । बोर्ड तथा आयोजकले वार्नरले अनुशासनविपरीत तथा टिम स्पिरिटभन्दा बाहिर गएर सो कार्य गरेको जनाएका छन् । ‘३१ वर्षीय वार्नरलाई इंग्ल्यान्डविरुद्धको एसेजअन्तर्गत पहिलो टेस्टसम्मका लागि प्रतिबन्धको निर्णय सुनाएको छ, उनलाई सचेत गराउन ११ हजार ५ सय डलरसमेत जरिवाना तोकिएको छ,’ अस्ट्रेलियन क्रिकेट बोर्डले बिहीबार जारी विज्ञप्तिाम उल्लेख छ । यो निर्णयसँगै वार्नर अस्ट्रेलियन टोलीबाट बाहिरिएका छन् । यसअघि अस्ट्रेलियाले न्युजिल्यान्डसँगको प्रतिस्पर्धामा वार्नरलाई टोलीबाट हटाएको थियो । सो खेल वर्षाका कारण अनिर्णित भएको थियो । आउने सोमबार समूह ‘ए’को अन्तिम खेलमा अस्ट्रेलियाले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । श्रीलंकासँगको खेलअगाडि नै वार्नर स्वदेश फर्कने एजेन्सीहरूले जनाएका छन् । अस्ट्रेलियन क्रिकेट इतिहासमा ठूलो प्रतियोगिताबाटै खेलाडीलाई घर पठाइएको यो दोस्रो घटना हो । यसअघि सन् २००९ को टी–२० विश्वकपमा तत्कालीन अलराउन्डर एन्ड्रयु साइमन्डलाई डिस्कोमा मनोरञ्जन गरेको आरोपमा घर पठाइएको थियो । ‘वार्नरले पार्टीमा रुटसँग अभद्र व्यवहार देखाए,’ अस्ट्रेलियन क्रिकेट बोर्डले भन्यो, ‘सांघातिक आक्रामक गर्नु ठूलो अपराध हो ।’ अस्ट्रेलियन क्रिकेट टोलीमा वार्नरलाई अनुशासन तोड्ने क्रिकेटरका रूपमा लिने गरिन्छ । यसअघि, ट्विटरमा दुई अस्ट्रेलियन पत्रकारमाथि फोहोरी शब्द प्रयोग गरेको आरोपमा उनलाई बोर्डले ५ हजार ७ सय ५० अस्ट्रेलिय डलर तिराएको थियो । च्याम्पियन्स ट्रफीमा भाग लिनुअघि वार्नरले आफ्नै मुलुकका पत्रकारलाई ट्विटरबाट गाली गरेका थिए । यसैबीच वार्नरले इंग्लिस ब्याट्सम्यान रुटसँग माफी मागेको एजेन्सीहरूले जनाएका छन् ।
|
|
दीपेन्द्र गुरुङ/नयाँ पत्रिका काठमाडौं, २९ जेठ नेपाली सेना वर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता गोर्खाकपको फाइनलमा प्रवेश गरेको छ । सेनाले दशरथ रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजनको नवप्रवेशी ब्वाइज युनियन क्लबलाई ३–० ले स्तब्ध पारेको हो । सेना आठ वर्षपछि काठमाडौंमा आयोजित नकआउट प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको हो । सेनाले ०६२ मा दशरथ रंगशालामा सम्पन्न सुवर्णशमशेर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । सेना आठ वर्षअघि मनाङसँग हारेको थियो । सेनाले उपत्यकामा उपाधि जित्न नसकेको भने दुई दशक भइसकेको छ । ०५० मा सेनाले आरएनएसीलाई ३–२ ले पराजित गर्दै शुभजन्मोत्सव कपको उपाधि चुमेको थियो । उपत्यकाबाहिर गत वर्ष धरानमा बुढासुब्बा गोल्डकप फाइनल खेलेको सेना हङकङ महासंघसँग पराजित भएपछि उपाधिबाट विमुख भयो । गोखाकर्पमा एक गोल पनि नखाई र अपराजित रही फाइनलमा पुग्ने सेना पहिलो टोली हो । सेनाले पाँच खेलमा १५ गोल गरेको छ । सेनासँगको हारसँगै ब्वाइज युनियनको गोर्खाकपमा जारी हनिमुन समाप्त भएको छ । सेनाले खेलको १५औँ मिनेटबाट गोलरक्षक राजु योगीको गल्तीमा १–० को अग्रता लियो । सेनाका राजु नेपालीले डिबक्स लाइननजिकबाट प्रहार गरेको बल गोलरक्षक योगीले रोक्ने प्रयास गर्दा उनको खुट्टामुनिबाट गोलमा परिणत भएको थियो । पहिलो हाफमा खासै राम्रो प्रदर्शन गर्न नसकेको सेनाले दोस्रो हाफमा थप दुई गोल गरी खेलमा फर्कियो । सेनालाई खेलको ५५औँ मिनेटमा रामकुमार विश्वासले २–० ले अघि राखे । राजु तामाङको फ्रिकिकमा सिक्स यार्ड बक्सबाट विश्वासले उत्कृष्ट हेडिङ गोल गरे । खेलको ७०औँ मिनेटमा नरेश मेचेले गोल गर्दै सेनाको जित ३–० ले पक्का पारे । मध्यभागबाट राजु तामाङको थ्रो बलमा विपक्षी दुई डिफेन्डरलाई छक्याउँदै मेचेले गोलरक्षक योगीसँगको वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । पहिलो हाफको खेलमा ब्वाइजले सेनालाई एक गोलमा रोकेको थियो । खेलको ४४औँ मिनेटमा गोलरक्षक योगी लडेको अवस्थामा मेचेले खाली पोस्टमा गोल गर्न सकेनन् । मेचेले खेलको ६०औँ मिनेटमा गोल अवसर गुमाए । उनको प्रहार क्रसबारमा लागेको थियो । खेलको इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा गोलरक्षक योगीले टेकबहादुर बस्नेतलाई विफल तुल्याए । ब्वाइज समूह ‘डी’को विजेता टोली बन्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेशका लागि ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी)लाई २–० ले स्तब्ध पार्यो । समग्र प्रदर्शनलाई लिएर ब्वाइजका प्रशिक्षक विजय महर्जनले खुसी व्यक्त गरे । ‘गोलरक्षकको मूर्खतापूर्ण गल्तीका कारण गोल खायौँ, त्यसपछि खेलाडी नर्भस देखिए, त्यसैले सेनाविरुद्ध राम्रो प्रदर्शन भएन,’ उनले भने, ‘तर प्रतियोगितामा अनुभव भयो, खुसी नै छौँ ।’ उनले पहिलो गोल नै पराजयको टर्निङ प्वाइन्ट बनेको बताए । सेनाका प्रशिक्षक योगम्बर सुवालले पहिलो हाफमा स्वाभाविक लयमा खेल्न नसकेको बताए । यद्यपि उनले योजना सफल भएको बताए । ‘पहिलो हाफमा हाम्रो नियमित स्पिडमा खेल्न सकेनौँ, तर फाइनल पुग्ने योजना थियो, सफल भयौँ,’ उनले भने । उनले फाइनलमा जुनै प्रतिद्वन्द्वी परे पनि फरक नपर्ने बताए । प्रतियोगिताअन्तर्गत बिहीबार मनाङमस्र्याङ्दी र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ ।
|
|
|
|
|
|