|
एजेन्सी डोनेटस्क, १२ असार युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिताको साबिक विजेता स्पेनले बुधबार फाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्दै छ । पछिल्लो तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगललाई स्पेनले रोक्न कठिन देखिन्छ । स्पेनको पहिलो प्रयास पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई गोल गर्नबाट रोक्नु हो । रोनाल्डोको उत्कृष्ट प्रदर्शनका कारण पोर्चुगल युरोकपको सेमिफाइनलमा पुगेको हो । यस कारणले स्पेनविरुद्ध रोनाल्डो चम्कने विश्वास पोर्चुगी खेलाडीले राखेका छन् । पोर्चुगलको उद्देश्य भनेको स्पेनको आकर्षक खेल बिगार्नु हो । प्राविधिक तथा काउन्टर पक्षमा बलियो स्पेनिस खेलाडीलाई डिबक्सभित्र खुला रूपमा बल प्रहार गर्न नदिने रणनीति पोर्चुगलले बनाएको छ । बल पोसिजनमाथि नियन्त्रण राख्दै स्पेन गोल गर्न खप्पिस छ । पोर्चुगल विपक्षी खेलाडीको गल्तीमा काउन्टर एट्याकमा गोल गर्न रुचाउँछ । यी विभिन्न पक्षका कारण युरोकप २०१२ को पहिलो सेमिफाइनल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने देखिन्छ । इतिहासको पाना पल्टाउँदा पोर्चुगलको दाँजोमा स्पेन माथि देखिन्छ । स्पेन र पोर्चुगलबीच ३७ पटक प्रतिस्पर्धा हुँदा स्पेन नौपटक मात्र पराजित भएको छ । पछिल्लो भेटमा पोर्चुगलले स्पेनलाई ४-० ले पाखा लगाएको थियो । दुई वर्षअघि दक्षिण अपि|mकामा सम्पन्न विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्पेनले पोर्चुगललाई १-० ले हराएको थियो । ठूलो फुटबल प्रतियोगितमा लगातार तेस्रोपटक सेमिफाइनल पुग्ने स्पेन पहिलो टोली हो । सन् २००४ को फाइनलमा गि्रससँग हारेयता पोर्चुगल पहिलोपटक युरोकपको अन्तिम चारमा पुगेको हो । पछिल्लो ४७ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा स्पेन तीन खेलमा मात्र पराजित भएको छ । उपाधिनजिक पुगेको स्पेनले डोन्वास एरिना रंगशालामा आठ नियमित खेलाडीलाई पहिलो सेटमा उतार्नेछ । पोर्चुगलले नौ नियमित खेलाडीलाई स्पेनविरुद्ध प्रतिस्पर्धा गराउनेछ । 'विशेषतः हामी रोनाल्डोमाथि केन्दि्रत हुन्छौँ,' स्पेनिस प्रशिक्षक भिसेन्टे डेल बोस्कीले भने, 'रोनाल्डो उत्कृष्ट र्फममा छन्, उसलाई खुला छाड्यो भने स्पेनले ठूलो मूल्य चुकाउनुपर्छ ।' फुटबल एकल खेल नभएको बताउँदै प्रशिक्षक बोस्कीले भने, 'रोनाल्डोलाई मात्र मार्किङ गर्दा मिडफिल्ड हाबी हुन सक्छ, पोर्चुगलको दुवै पक्षलाई रोक्नु जरुरी देखिन्छ ।' पोर्चुगी मिडफिल्डर कास्टोडियोले स्पेनको बल पोजिसन कमजोर पार्ने उद्देश्यकाका साथ रणनीति बनाएको बताए । 'यतिवेला स्पेन सर्वाधिक बलियो तथा उपाधि दाबेदार टोली हो, तर हामी पनि कम छैनौँ,' पोर्चुगी कप्तान रोनाल्डोले भने, 'पोर्चुगल उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्नेछ, अन्तिम समयसम्म स्पेनलाई कडा चुनौती दिन्छौँ, मलाई विश्वास छ, योपटक पोर्चुगलको युरोकप हो ।' पोर्चुगलका प्रशिक्षक पाउलो वेन्टोले स्ट्राइकर हेल्डेर पोस्टिगाको स्थानमा हुँगो अल्मेडियालाई खेलाउने भएका छन् । क्वाटरफाइनलमा चेकरिपब्लिकविरुद्ध पोस्टिगा चोटग्रस्त भएका थिए । डिफेन्डर पेपे तथा फावियो कोन्ट्राओ फिट हुँदा पोर्चुगलको डिफेन्स सशक्त देखिन्छ । स्पेनिसका कुनै पनि खेलाडीहरूले चोट बोकेका छैनन् । उनीहरू सतप्रतिशत फिट छन् । यसको फाइदा स्पेनले पोर्चुगलविरुद्ध उठाउन सक्छ । प्रशिक्षक बोस्कीले पोर्चुगलविरुद्ध सेस फावि्रगासलाई दोस्रो हाफमा मैदानमा प्रवेश गराउने सम्भावना छ । यसपटक फर्नान्डो टोरेस पहिलो सेटमा प्रतिस्पर्धा गर्नेछन् ।
|
|
नयाँ पत्रिका काठमाडौं, १२ असार मलेसिया सञ्चालन भइरहेको एसिसी यू-१९ एसिया कपबाट नेपाल बाहिरिएको छ । प्रतियोगिताको मंगलबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा भारतसँग डकवर्थ लेइस नियममा ८७ रनले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । सो समूहबाट पाकिस्तानले तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ६ अंकका साथ उपविजेता हँुदै अन्तिम चारमा प्रवेश गर्यो । नेपालले मलेसियालाई मात्र हराएको थियो । आयोजक मलेसिया तीनै खेलमा पराजित भएको छ । वायुमास मैदानमा नेपालले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । नेपाली टोलीको कसिलो बलिङ तथा फिल्डिङ सामना गर्न नसक्दा बलियो भारत ४५.२ ओभरमा १७६ रनमा समेटियो । भारतलाई सस्तो रनमा समेट्न भुवन कार्की तथा राहुल विश्वकर्माले समान तीन-तीन विकेट लिएका थिए । भुवनले २३ रन खर्चदै ३ विकेट लिए । राहुलले ३ विकेटका लागि ३५ रन खर्चिए । सागर पुनले २ तथा कप्तान पृथु बास्कोटा र अविनाश कर्णले एक-एक विकेट लिएका थिए । वषर्ाका कारण नेपालले ४७ ओभरमा १७३ रनको लक्ष्य पाएको थियो । सेमिफाइनल स्थान बनाउन नेपालले भारतलाई हराउनुपर्ने थियो । भारतलाई पनि अन्तिम चारको स्थान सुरक्षित गर्न नेपाललाई पाखा लगाउनुपर्ने थियो । दुवै टोलीले सो खेल 'गर या मर'को स्थितिमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीले सहज लक्ष्यलाई पछ्याउन सकेन । नेपाली ब्याट्सम्यानले पुरानै कमजोरी दोहोर्याउँदा पराजित भयो । नेपालका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानले कमजोर ब्याटिङ गरेका थिए । नेपाली टोली २७.३ ओभरमा ९१ रनमा अल आउट भएको थियो । शीर्ष पाँच ब्याट्सम्यान आउट हुँदा नेपाल ११.५ ओभरमा २०-५ को दयनीय अवस्थामा थियो । सुभाष खकुरेल -९), प्रदीप ऐरी -४), नरेश बुढाऐर -५), सागर पुन -१) तथा कप्तान पृथु -०) रनमा आउट भएका थिए । नेपालले स्कोर बोर्डमा २० रन चढाउँदा तीन ब्याट्सम्यान गुमाएको थियो । धर्मराएको ब्याटिङ इनिङमा राजु पुलामी र भुवनले केही समय सम्हाल्ने प्रयास गरेका थिए । राजुले १८ बलमा एक चौका प्रहार गरी १७ रनको योगदान दिए । भुवनले २९ बलमा पाँच चौका ठोक्दै नेपालका लागि सर्वाधिक २४ रनको योगदान दिए । भारतको ब्याटिङ इनिङमा बी. अपराजिताले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । उनले ८७ बलमा दुई चौका प्रहार गरेका थिए । यसैगरी, चन्दले ७३ बलमा सात चौका तथा एक छक्का हिर्काउँदै ४७ रनको विशेष पारी खेले । भारतले पहिलो विकेट १९ रनमा गुमाएको थियो । चन्द र अपराजिताले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।
|
|
काठमाडौं/ पल्सर स्पोर्ट्स अवार्ड ०६८ को वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाका ५-५ जनाको मनोनयन मंगलबार सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा गठित आठ सदस्यीय छनोट समितिले सो उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षक सार्वजनिक गरेको हो । उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का, घोडचढीका ध्रुवप्रसाद अर्याल, गल्फका शिवराम श्रेष्ठ, पौडीका शैलेश राणा र एथलेटिक्सका तिलकराम थारू मनोनयनमा परेका छन् । उत्कृष्ट महिला खेलाडीमा भारोत्तोलनकी तारादेवी पुन, एथलेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबलटेनिसकी नविता श्रेष्ठ र ब्याडमिन्टनकी नङशलदेवी तामाङ छन् । उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका पृथु बास्कोटा र रुबिना क्षेत्री, एथलेटिक्सका सिद्धान्त अधिकारी र विश्वरूपा बुढा एवं पौडीका शिरीष गुरुङ मनोनयनमा परेका छन् । वर्षको उत्कृष्ट प्रशिक्षकका लागि क्रिकेटका पुबुदु दासानायके, जगत टमटा र नवीन सिंह, जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । छनोट समितिका संयोजक आचार्यले थप एक विधा सार्वजनिक गरेका छन् । 'अपि्रसिएटिङ अचिभमेन्टस, अनरिङ हिरोज' नारालाई सार्थक बनाउन खेलाडीको मनोनयन गर्दा वर्षभरको प्रदर्शन, प्राप्त उपलब्धि र प्रतियोगिताको स्तर हेरिएको उनले बताए । यसअघि, मञ्चले वर्षको लोकपि्रय खेलाडी विधामा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, भलिबलकी रमिला तण्डुकार, एथलेटिक्सकी सविता चौधरी र टेनिसकी अष्लेशा लिसानोभिच मनोनयनमा परेको सार्वजनिक गरेको थियो । मञ्चले २० असारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पल्सर स्पोटर््स अवार्ड ०६८ आयोजना गर्ने घोषणा गरेको छ ।
|
|
लन्डन/ सेरेना विलिम्यसले मंगलबार वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको दोस्रो चरणको स्थान पक्का गरेकी छिन् । अमेरिकन खेलाडी सेरेनाले बारोरा जाल्हाभोकलाई ६-२ र ६-४ को सोझो सेटमा हराउँदै पहिलो चरण पार गरेकी हुन् । अघिल्लो दिन दिदी भेनस विलियम्स अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएकी थिइन् । ग्रान्डस्लाम इतिहासमा सेरेनाले पहिलो चरणमा ४६-० को कीर्तिमान बनाएकी छिन् । महिलातर्फकी साबिक विजेता पेट्रा किभिटोवले अगुल अमानुरोभलाई ६-४ र ६-४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी छिन् । पुरुषतर्फ दोस्रो वरियताका राफाल नाडालले ब्राजिलका थोमाज बेलुसिकलाई ७-६, ६-२ र ६-३ ले पाखा लगाउँदै पहिलो चरण पार गरेका छन् । सन् २००८ र ०९ का विजेता नाडालले पहिलो जित जित्न ट्राइब्रेकरको सहायता लिएका थिए । अर्को खेलमा पाँचौँ बरियताका जो सोङ्गाले पूर्वविजेता लियटोन हेविटलाई ६-३, ६-४ र ६-४ ले स्तब्ध पारेका छन् ।
|
|
|
|
|
|