|
रमेश सापकोटा/नयाँ पत्रिका काठमाडौं, ५ जेठ महाधिवेशनको दुई महिनामा पूर्ण हुनुपर्ने विभागलाई कांग्रेसले तीन वर्ष पुग्न लाग्दा मात्र पूर्णता दिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको असन्तुष्टि साम्य पार्दै सभापति सुशील कोइरालाले पार्टीका ४२ वटै विभागलाई शनिबार राति पूर्णता दिएका हुन् । सभापति कोइरालाले नौ महिनाअघि पार्टीका विभाग र अञ्चल संयोजक तोके पनि सहमतिविपरीत गठन गरेको भन्दै देउवा पक्षले सामूहिक राजीनामा दिएको थियो । तर, देउवा पक्षको सहमतिमा नाम दिएको भन्दै कोइरालाले तिनै नाममा विभाग संयोजक तोकेका छन् । कोइरालाले साउनमा ४२ वटै विभागको संयोजक तोके पनि देउवा पक्षका १२ विभाग संयोजक र चार अञ्चल संयोजकले राजीनामा दिएका थिए । कांग्रेस विधानको धारा २५ -५) मा केन्द्रीय कार्यसमिति र धारा २४-८) मा पार्टी सभापतिलाई विभाग गठनको अधिकार दिइने उल्लेख छ । सोही अधिकार प्रयोग गर्दै सभापति कोइरालाले विभाग गठन गरेका हुन् । पार्टीको महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी कोइरालानिकटका आनन्दप्रसाद ढुंगानालाई दिइएको छ । संसदीय समितिको जिम्मेवारी भने देउवा पक्षका पूर्णबहादुर खड्काले पाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी सुजाता कोइरालाले पाएकी छिन् । कांग्रेसका विभागमा सदस्य पनि तोकिएको छ । ४० वटा विभागमा २०-२० सदस्य छन् भने निर्माण व्यवसायी समन्वय विभाग र मुस्लिम विभागमा २१-२१ सदस्य छन् । यी दुई विभागमा एक-एक सदस्य आमन्त्रितको रूपमा राखिएको छ । विभागलाई पूर्णता दिए पनि कोइरालाले विवादका कारण एक सहमहामन्त्रीसहित तीन केन्द्रीय सदस्य मनोनयन तथा संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छैनन् । सहमहामन्त्रीमा आफ्नो पक्षबाट हुनुपर्ने माग देउवा पक्षको छ । आठ सदस्य रहने संसदीय बोर्डमा देउवा पक्षले चार सदस्य माग गरेको छ ।
संख्या कम भएकोमा देउवा पक्षको असन्तुष्टि
आप\mनो पक्षले माग गरेअनुसार सदस्यसंख्या नभएको भन्दै देउवा पक्षले विभाग गठनमा असन्तुष्टि जनाएको छ । सिफारिस गरिएकामा १० प्रतिशत मात्रै आप\mनो पक्षलाई सदस्य दिइएको देउवा पक्षको भनाइ छ । सदस्यमा देउवा पक्षले ४० प्रतिशत माग गरेको थियो । 'नाम दिँदा कम्तीमा पनि ४० प्रतिशत सदस्य हाम्रो पक्षको हुनुपर्ने भनेका थियौँ । तर, सदस्यसंख्यामा हामीले दिएको नामको १० प्रतिशतजति मात्रै देखियो,' देउवापक्षीय केन्द्रीय सदस्य रमेश रिजालले नयाँ पत्रिकासँग भने, 'देउवासहितका नेता काठमाडौंबाहिर हुनुहुन्छ, उहाँहरू आएपछि हामी थप छलफल गरी अघि बढ्छौँ ।' विभाग संयोजकमा विरोध नभए पनि सदस्यसंख्यामा पुनः सभापतिले पेल्न खोजेको रिजालको आरोप छ । विधि, विधान र सहमतिको परम्पराअनुसार अघि बढ्ने सर्तमा नाम दिएको तर सभापतिले एकलौटी निर्णय गरेको उनको भनाइ छ ।
संस्थापन पक्ष विभाग र नाम स्थानीय निकाय विभाग — दिलबहादुर घर्ती उद्योग, व्यापार विभाग — दीपकुमार उपाध्याय गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग — डा. नारायण खड्का प्रचार विभाग — डा. मीनेन्द्र रिजाल मुस्लिम विभाग — फरमुल्लाह मंसुर महिला विभाग — मीना पाण्डे अन्तर्राष्ट्रिय सम्बन्ध विभाग — श्रीमती सुजाता कोइराला स्वास्थ्य विभाग — डा. शशांक कोइराला तराई-मधेस विभाग — उमाकान्त चौधरी नेपाली जनसम्पर्क समिति समन्वय विभाग — अर्जुनप्रसाद जोशी आदिवासी तथा जनजाति विभाग — भीष्मराज आङ्देम्बे पेसागत तथा बौद्धिक विभाग — डा. शेखर कोइराला संगठन विभाग — आनन्दप्रसाद ढुंगाना काठमाडौं सम्पर्क समिति समन्वय विभाग — सूर्यमान गुरुङ निर्माण व्यवसायी समन्वय विभाग — दीपक गिरी विद्यार्थी विभाग — नवीन्द्रराज जोशी शिक्षा विभाग — चन्द्र भण्डारी प्रशासन विभाग — कमला पन्त यातायात तथा व्यवसाय विभाग — अजयकुमार चौरसिया खेलकुद विभाग — धनराज गुरुङ संवैधानिक तथा कानुन विभाग — पुष्पा भुसाल तरुण विभाग — शंकर भण्डारी संघीय मामिला विभाग — गगनकुमार थापा श्रमिक विभाग — बद्री पाण्डे दलित विभाग — जीवन परियार वन तथा वातावरण विभाग — कविताकुमारी सरदार बाँतर शान्ति सुरक्षा र सेवा विभाग — पार्वती डिसी चौधरी वित्तीय संस्था समन्वय विभाग — राजनप्रसाद पन्त वैदेशिक रोजगार क्षेत्र समन्वय विभाग — लक्ष्मी राई सांस्कृतिक विभाग - मीना सुब्बा
देउवा पक्ष संसदीय विभाग - पूर्णबहादुर खड्का
सिँचाइ एवं पूर्वाधार विकास विभाग — मीनाक्षी झा अपांग विभाग — सुश्री सुजाता परियार विज्ञान तथा प्रविधि विभाग — सुश्री सीता गुरुङ द्वन्द्व व्यवस्थापन विभाग — ईश्वरी न्यौपाने पर्यटन विभाग — किशोरसिंह राठौर अनुगमन तथा मूल्यांकन विभाग — अम्बिका बस्नेत अनुसन्धान तथा अभिलेख विभाग — श्रीमती महालक्ष्मी उपाध्याय 'डिना' साहित्य, कला तथा संस्कृति विभाग — मनमोहन भट्टराई प्राकृतिक स्रोत विभाग — डा. प्रकाशरण महत भू.पू. सैनिक विभाग — रमेश रिजाल कृषि तथा सहकारी विभाग — बालकृष्ण खाँण
|
|
नयाँ पत्रिका काठमाडौं, ५ जेठ एकीकृत माओवादीनिकटको अखिल क्रान्तिकारीले २३ जेठमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशैभरका क्याम्पसमा सभापतिको उम्मेदवार घोषणा गरेको छ । आइतबार जनसञ्चार अभियानमा पत्रकार सम्मेलन गरी क्रान्तिकारीले देशभरका एक सय ११ वटा क्याम्पसमा सभापतिका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । बाँकी क्याम्पसका उम्मेदवारको घोषणा ९ जेठमा सार्वजनिक गर्ने क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मानुषी यमी भट्टराईलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गमा सुरेन्द्र बस्नेत, अमृत साइन्स क्याम्पस, ठमेलमा दीपेश पुन, महेन्द्ररत्न क्याम्पस ताहचलमा ध्रुवविक्रम वलीलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । त्यस्तै महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा देवानन्द यादव, महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर दाङमा प्रवीण शर्मा, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा सूर्य घर्ती, सानोठिमी क्याम्पस भक्तपुरमा गणेश बुढाथोकीलाई उठाउने भएको छ । विद्यार्थी संख्याका आधारमा मोफसलको सबैभन्दा ठूलो पृथ्वीनारायण क्याम्पस पोखरामा गोविन्द केसी, बुटवल बहुमुखी क्याम्पसमा विमल गिरी, पाटन संयुक्त क्याम्पसमा हेम मोक्तान र जलजला क्याम्पस रोल्पामा तुकमान महराले सभापतिमा उम्मेदवारी दिने क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले निर्वाचनमा तालमेलका लागि ११ विद्यार्थी संगठनसँग गरिएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 'हाम्रो संगठनसहित मुलकका जिम्मेवार ११ विद्यार्थी संगठनबीच भएको तलमेल र कार्यगत एकतासम्बन्धी सहमतिप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,' पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने । उनले नेकपा-माओवादीसँग सम्बद्ध अखिल क्रान्तिकारी सापेक्षित एजेन्डा मिल्ने भएकाले निर्वाचनमा तालमेल गरी अगाडि बढन अपिल गरेको छ । उनले उम्मेदवारको नाम सार्वजनिक गरे पनि कार्यगत एकता र तालमेलको प्रयोजनका लागि आवश्यकताअनुसार छाड्न हामी तयार भएको बताए । पत्रकार सम्मेलनमा क्रान्तिकारीले आफनो संगठनले एकमुष्ट र नक्कली भर्ना नगरेको स्पष्ट पारेको छ । 'हाम्रो संगठनको नाम लिएर एकमुष्ट र नक्कली विद्यार्थी भर्नासम्बन्धी गरिएको भ्रामक प्रचारबाजी र आरोपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' अध्यक्ष शर्माले भनेे, 'हामीले यसप्रकारको गतिविधि गरेका छैनौँ र यस प्रकारका मिथ्या प्रचारबाजी र आरोपको खण्डन गर्दछौँ ।' अन्य संगठनले बैंकका कर्मचारी र क्याम्पस प्रशासनलाई मध्यरातको १२ बजेसम्म नियन्त्रणमा लिएर एकमुष्ट भर्ना गरेको भन्दै क्रान्तिकारीले निन्दा गरेको छ । उसले केही विद्यार्थी संगठनले जनआन्दोलनमा योगदान गरेका योद्धाहरूको अवमूल्यन हुनेगरी जनआन्दोलनका घाइतेको नक्कली कार्ड तयार गरी विभिन्न क्याम्पसमा भर्ना गरेको आरोप लगाए । उनले त्यसको छानबिन गरी कारबाही गर्न र फर्जी भर्नालाई खारेज गर्न विश्वविद्यालयसँग माग गरे ।
|
|
नीरज खड्का/नयाँ पत्रिका काठमाडौं, ५ जेठ बागमती फोहोरमुक्त पार्ने भन्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई गमबुट लगाएर बागमतीमा पसेको वर्षदिनपछि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बागमती सफा गर्न उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायतको पहलमा आयोजित बागमती नदी सफाइ अभियानमा ऐक्यबद्धता जनाउन रेग्मी आफैँ सरसफाइमा खटिएका हुन् । अध्यक्ष रेग्मीले करिब एक घन्टा बागमती सफा गरेका थिए । गुह्येश्वरीदेखि सिनामंगलसम्म गरिएको विशेष सरसफाइ अभियानमा अध्यक्ष रेग्मीसँगै नेपाल चलचित्र कलाकार संघ, विज्ञापन संघ, सेना प्रहरी, काठमाडौं महानगरपालिकाका कर्मचारीलगायतले साथ दिएका थिए । प्रायः दौरासुरुवालमा ठाँटिने रेग्मी आइतबार बिहान सर्ट, कोट, पाइन्ट लगाएर गमबुटसहित बागमतीमा पसेका थिए । बागमती नदी सरसफाइका लागि सरकारको ऐक्यबद्धता जनाउन आफू आएको रेग्मीले बताए । बागमतीको सफाइमा सहयोग गर्न भन्दै धार्मिक संगठन गायत्री परिवार भारत र नेपालका सदस्यहरू पनि खटिएका थिए । आइतबार करिब दुई हजार व्यक्ति सफाइमा खटिएका थिए । नदी सफाइमा रेग्मीसँगै चर्चित नायक राजेश हमाल, नवल खड्का, गायक बद्री पंगेनीलगायत सहभागी भएका थिए । बागमतीलाई ढलमुक्त र फोहोरमुक्त बनाउन ९ माघबाट सफाइ अभियान चलाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख महेश बस्नेतले बताए । 'सुतेको बहाना बनाएकालाई उठाउने प्रयास स्वरूप अभियान चलाइएको हो,' बस्नेतले भने, 'दैनिक ४०-५० मजदुर लगाएर सफाइ अभियान चलाइरहेका छौँ ।' बागमती नदीमा ढल हाल्ने काम भइरहेकाले सफाइ अभियान चलाइएको बस्नेतले बताए ।
|
|
नयाँ पत्रिका सल्यान, ५ जेठ स्ववियु निर्वाचनलाई लक्षित गरी अनियमित तरिकाले विद्यार्थी भर्ना गरिएको भन्दै तीन विद्यार्थी संगठनले जिल्लाका सबै क्याम्पस अनिश्चितकालका लागि बन्द गरेका छन् । अनेरास्ववियु, नेविसंघ र नेकपा-माओवादीनिकटको अखिल क्रान्तिकारीले जिल्लामा रहेका तीनै क्याम्पस बन्दको घोषणा गरेका हुन् । एकीकृत माओवादीनिकटको अखिल क्रान्तिकारीले सल्यान क्याम्पस सल्यान, शिवजन क्याम्पस शीतलपाटी र जनकल्याण क्याम्पस थारमारेमा फर्जी विद्यार्थी भर्ना गरेको उनीहरूको आरोप छ । प्रमाणपत्रविनै आचारसंहिताविपरीत हुनेगरी क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गरेको नेविसंघ सल्यानका अध्यक्ष लोकराज आचार्यले बताए । अनेरास्ववियुका अध्यक्ष घनश्याम पुनले जिल्लाका चारवटै क्याम्पसमा अखिल क्रान्तिकारीले एउटै विद्यार्थी भर्ना गरेको आरोप लगाए । उनले भने, 'पढाइका लागि भर्ना भएको विद्यार्थी चारै क्याम्पसमा ३ गते नै भर्ना हुँदैन, त्यस कारण पनि फर्जी विद्यार्थी भर्ना भएको प्रमाणित हुन्छ ।' उनले क्याम्पसले आफना मागको बेवास्ता गरे आन्दोलन सशक्त बनाउने चेतावनी दिए । एउटै विद्यार्थी तीनै क्याम्पसमा भर्ना हुँदा समस्या उत्पन्न भएको भन्दै पुनले माग सम्बोधन नगरिए सल्यानमा अखिल क्रान्तिकारीबाहेकका विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन बहिष्कार गर्ने बताए । विद्यार्थी संगठनहरूले ३ जेठमा गरिएको भर्नाको छानबिन नहुँदासम्म क्याम्पस नखोलिने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, 'स्ववियु चुनावलाई षडयन्त्र गरी क्याम्पस प्रशासनहरू अघि बढेकाले सो दिनको भर्ना प्रक्रिया छानबिन गर्न माग गर्दै माग पूरा नहुँदासम्म अनिश्चितकालीन क्याम्पस बन्द गर्दछौँ ।' अखिल क्रान्तिकारीले सल्यान क्याम्पसमा ६८, शिवजन क्याम्पसमा ७० र जनकल्याण क्याम्पसमा ४२ जना फर्जी विद्यार्थी भर्ना गरेको उनीहरूको दाबी छ । तर, अखिल क्रान्तिकारीले भने सो आरोपको खण्डन गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा बुढाथोकीले आफूहरूको बदनाम गर्ने उद्देश्यले कुप्रचार गरिएको बताए । सल्यान बहुमुखी क्याम्पसका प्रमुख धु्रव मल्लले सोमबार क्याम्पस खोलेर वार्ताका लागि पहल गरिने बताए । उनले क्याम्पसमा अत्यावश्यक काम रोक्न नमिल्ने भएकाले वार्ताका लागि पहल गर्ने बताए । यस्तै सल्यान क्याम्पस सल्यानका लेखा शाखामा कार्यरत अनिल थापाले आफूहरूलाई विद्यार्थी चाहिएकाले भर्ना गरेको बताए ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |