|
नयाँ पत्रिका काठमाडौं, १ जेठ व्यापारी राजेशकुमार अग्रवाललाई भेट्न बोलाएर अपहरणको जालोमा पार्ने युवती पक्राउ परेकी छिन् । महानगरीय प्रहरी अपराध महाशाखाले व्यवसायी अग्रवाललाई अपहरण गराउन सहयोग गर्ने हीरा भनिने सुशीला गुरुङलाई बुधबार पक्राउ गरेको हो । कलंकीमा भेट्न बोलाएर गुरुङले व्यापारी अग्रवाललाई अपहरण गराएकी थिइन् । कंलकीको बाबा पेट्रोलपम्पनजिक भेटेर आफ्नो डेरामा जाने भन्दै एक निर्माणाधीन घरमा पुर्याएर उनले अग्रवालको अपहरण गराएकी थिइन् । अपहरणको दुई दिनपछि प्रहरीले तीन अपहरणकारीलाई पक्राउ गरी अग्रवाललाई सकुशल मुक्त गरेको थियो । घटनामा फरार रहेका सुशीलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा कल्पना भनिने मोती विष्ट र मोबारक अन्सारी छन् । 'अपहरणको मुख्य योजनाकारमध्ये एक मोती पनि रहेको खुलेको छ,' महाशाखाका डिएसपी शिव श्रेष्ठ भन्छन्, 'अग्रवाललाई बन्धक बनाइएको ठाउँ उनकै डेरा रहेछ ।' महाशाखाका प्रहरी निरीक्षक शिशु शर्माका अनुसार भेट्नका लागि भनेर विष्टले पटक-पटक व्यापारी अग्रवाललाई फोन गरेकी थिइन् । भेट्न भने सुशीलालाई पठाएकी थिइन् । अग्रवाललाई सुशीलाले विष्टकै कोठामा पुर्याइएकी थिइन् । कोठामा राखेर चिया बनाउँछु भनेर उनी निस्किएलगत्तै नकाब लगाएका व्यक्तिहरूले अग्रवाललाई नियन्त्रणमा लिएका थिए । अपहरणको भेालिपल्टबाट परिवारसँग अपहरणकारीले दुई करोड फिरौती माग्दै नदिए मारिदिने धम्की दिएका थिए । भोलिपल्टै प्रहरीले खबर पाई तेस्रो दिन उनलाई बन्धक बनाइएको ठाउँ पत्ता लगाएर बिहान २ बजे मुक्त गराएको थियो । मीठो स्वरमा नियमित फोन गरेर भेट्न बोलाएपछि व्यापारी अग्रवाल गत ९ वैशाखमा कलंकी पुगेका थिए । तर, योजनाबद्ध रूपमा अपहरण गर्न उनलाई त्यसरी युवती प्रयोग गरिएको थियो । योजनाअनुसार अपहरण गर्न सफल भए पनि फिरौती लिन भने अपहरणकारी असफल भएका थिए । फिरौती रकम आएपछि पैसा दिने आश्वासन युवतीलाई दिइएको थियो । उनी व्यापारी अग्रवाललाई डेरामा पुर्याएलगत्तै मोबाइल अफ गरेर फरार भएकी थिइन् । प्रहरीका अनुसार दाङलगायत विभिन्न जिल्ला पुगेर उनी केही दिनअघि मात्र काठमाडौं फर्किएकी थिइन् । प्रहरीले गोंगबुबाट उनलाई पक्राउ गरेको हो । विष्टलाई भने कीर्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, भीम बस्नेतलाई अपहरण गर्नेहरू पनि पक्राउ परेका छन् । व्यापारिक प्रयोजनका लागि बोलाएर बन्धक बनाउने वसन्त परियार र अर्जुन खत्रीलाई महाशाखाले पक्राउ गरेको हो । उनलाई बन्धक बनाएर एक लाख फिरौती मागिएको थियो ।
|
|
गणेशकञ्चन भारती/नयाँ पत्रिका सुर्खेत, १ जेठ नेकपा-माओवादीका कार्यकर्ताले सुर्खेतमा सञ्चालित एकीकृत घुम्ती शिविरमा अवरोध गर्ने प्रयास गरेपछि झडप हुँदा प्रहरीसहित पाँचजना घाइते भएका छन् । सुर्खेत मैनतडाको जहरेमा बुधबारदेखि सुरु भएको शिविरमा माओवादी कार्यकर्ताले अवरोध प्रयास गरेका हुन् । घुम्ती शिविरको काम सुरु हुनेबित्तिकै माओवादी कार्यकर्ताले नारा जुलुससहित ढुंगामुढा गर्न थालेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा दुई प्रहरी र तीन माओवादी कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले १६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । घाइते हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार मानबहादुर बुढा, जवान नरबहादुर आचार्य र माओवादी कार्यकर्ता सहवीर महर, टेकबहादुर तिरुवा र रामबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले शिविर अवरोध गर्न ढुंगामुढा गर्ने आठ माओवादी नेता-कार्यकर्तालाई पक्राउपछि नियन्त्रणमा लिएर छाडेको छ । प्रहरीले नेकपा-माओवादीका केन्द्रीय सदस्य भरत बम, राज्यसमिति सदस्य जेबी सुनार, जिल्ला कमिटी सदस्य तुलसीप्रसाद पौडेल र अन्य कार्यकर्ता खगेन्द्र बुढा, सोमबहादुर राना, टोपबहादुर चलाउने, देवबहादुर चलाउने, कुलबहादुर परियार, पूर्णबहादुर परियारलाई मैनतडाबाट नियन्त्रणमा लिई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ छाडेको थियो । सुर्खेतका प्रहरीप्रमुख एसपी विश्वनिरञ्जन प्रधानले शुक्रबार तारिखमा उपस्थिति हुने गरी उनीहरूलाई छाडिएको जानकारी दिए । मैनतडामै पुगेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले झडपको केही समयपछि नै शिविर सुचारु भएको जानकारी दिए । कुँवरले ढुंगामुढा प्रहार गर्नेलाई बयान लिएर छानबिनपछि छाडिएको बताए । शान्तिपूर्ण कार्यक्रममा ढंुंगामुढा प्रहार गरेका कारण माओवादीविरुद्ध बल प्रयोग गर्नुपरेको उनको भनाइ थियो । जनताका घरदैलोमा पुगेर सेवा दिइरहेका वेला ढुंगामुढा गर्ने काम असुहाउँदो भएकोसमेत कुँवरले बताए । बुधबार बेलुकादेखि प्रशासनले मैनतडामा सयौँको संख्यामा प्रहरी परिचालन गरेको छ । सुर्खेत बन्द घोषणा नेकपा-माओवादी जिल्ला कमिटी सुर्खेतले आफ्ना कार्यकर्तामाथि दमन गरेको र शान्तिपूर्ण विरोधमा हस्तक्षेप गरेको भन्दै बिहीबार सुर्खेत बन्दको घोषणा गरेको छ । बुधबार बेलुका विज्ञप्ति निकालेर माओवादीले आफ्ना कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेर यातना दिएको भन्दै आपत्ति जनाएको छ । पार्टीको शान्तिपूर्ण जुलुसलाई हस्तक्षेप गरी विनाकारण प्रहरीले मुठभेडको स्थिति सिर्जना गरेको माओवादीको आरोप छ । यसअघि जिल्लाका विभिन्न स्थानमा कार्यक्रम हुँदा अवरोध नगरेको पार्टीले मैनतडामा अवरोध पुर्याउने प्रयास गरेको भए पनि साँझसम्म सेवाग्राहीले नागरिकतादेखि मतदाता नामावलीसहितको परिचयपत्र बनाएका छन् । बुधबार साँझसम्म मैनतडामा ७३ जनाले नागरिकता लिएका छन् । त्यस्तै, ४६ जनाले मतदाता नामावली दर्ता गरेका छन् भने एक सय ५६ जनाले कृषि कार्यालयको सेवा लिएको र एक सय २५ जनाले स्वास्थ्य परीक्षण गराएको भीमप्रसाद पौडेलले जानकारी दिए ।
|
|
काठमाडौं/ नेपाल आदिवासी जनजाति महासंघका नवनियुक्त अध्यक्ष नगेन्द्रकुमार कुमालले जनजातिका माग पूरा गर्न सशक्त आन्दोलन गर्ने बताएका छन् । आवश्यक परे राज्यद्रोहसमेत गर्ने चेतावनी अध्यक्ष कुमालले दिए । अध्यक्ष पदमा निर्वाचित भएपछि बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कुमालले सरकारले अझै पनि आफूहरूका माग बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रने बताए । त्यसका लागि सचेत रहनसमेत उनले सरकारलाई आग्रह गरे । 'हामीमाथि दमन भइरह्यो भने त्यसको प्रतिकारमा राज्यद्रोह हुनेछ,' उनले भने, 'त्यसमा सम्पूर्ण आदिवासी जनजातिले साथ दिनेछन् ।' अध्यक्ष कुमालले सबै राजनीतिक दललाई समेत आदिवासी जनजातिका मागप्रति गम्भीर हुन आग्रह गरे । 'अहिले कांग्रेस, एमाले, माओवादी र फोरमलगायत सबै दल जनजातिप्रति स्पष्ट छैनन्,' कुमालले भने, 'नरम भाषण गर्छन्, तर हाम्रोविरुद्धमा समानुपातिक सिट घटाउँछन्, त्यसैले म उनीहरूलाई चेतावनी दिन चाहन्छु ।' उनले जनजातिको आन्दोलनप्रति सकारात्मक नभए राजनीतिक दलहरूविरुद्ध सशक्त आन्दोलन गर्ने स्पष्ट पारे । अध्यक्ष कुमालले सम्पूर्ण आदिवासी जनजाति अगुवा, जातीय संगठनलगायतसँग छलफल गरी कार्यदिशा तय गर्ने पनि बताए । महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले नयाँ कार्यसमितिलाई भव्य कार्यक्रम गरी कार्यभार सुम्पिने जानकारी दिए । 'हामीलाई डलर खेतीको आरोप लाग्ने गरेको छ, 'उनले भने, 'त्यसैले त्यो भ्रम चिर्न सार्वजनिक रूपमा भव्य कार्यक्रम गरी हामी नयाँ कार्यसमितिलाई कार्यभार मात्रै सुम्पिदैनौँ, आर्थिक हिसाब-किताब पनि पारदर्शी रूपमा बुझाउनेछौँ ।'
|
|
सागर पण्डित/नयाँ पत्रिका काठमाडौं, १ जेठ सर्लाहीको सिमरा गाविसका तत्कालीन सचिव रामउज्जैन रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तारेखमा छाडेको छ । सचिव राय र स्थानीय उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएपछि अख्तियारले उनीहरूमाथि छानबिन गर्दै आइरहेको छ । अख्तियार स्रोतका अनुसार गाउँमा बिजुली विस्तारका लागि आएको ३१ लाख रुपैयाँमा अनियमितता गरेको पाइएपछि तत्कालीन गाविससचिव राय अख्तियारको छानबिनमा तानिएका हुन् । सचिव रायले उपभोक्ता समितिका पदाधिकारीसँग मिलेर गुणस्तरहीन र कामै नलाग्ने पोल खरिद गर्दा लाखौँ रुपैयाँ अनियमितता गरेको आरोप स्थानीयले लगाउँदै आइरहेका छन् । सिमरा समाजसेवी युवा क्लबले अनियमितता गर्नेमाथि छानबिन र कारबाहीको माग गर्दै आठ महिनाअघि अख्तियारमा उजुरी दिएको थियो । अख्तियारका एक अधिकृतका अनुसार अनियमिततामा उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार मिश्र, कोषाध्यक्ष श्यामबाबु राय र सचिव रामविजय रायको समेत संलग्नता रहेको पाइएपछि उनीहरूलाई बयानका लागि अख्तियारमा उपस्थित हुन पत्राचार गरिएको छ । तर, उपभोक्ता समितिका पदाधिकारीहरू भने बयानका लागि उपस्थित हुन आलटाल गरिरहेका छन् । अझैँ आलटाल गरे पक्राउ गरेर अख्तियारमा हाजिर गराउने तयारी गरिएको अख्तियारले जनाएको छ । अख्तियारले बयानका लागि बोलाए पनि उनीहरूले अख्तियारलाई नै चुनौती दिँदै हिँडिरहेको सिमरा समाजसेवी युवा क्लबले जनाएको छ । तत्कालीन गाविससचिव रायले आर्थिक वर्ष ०६६/६७ मा गाउँको विकासका लागि आएको २२ लाख रुपैयाँमा समेत अनियमितता गरेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |