|
नयाँ पत्रिका काठमाडौं, २५ जेठ मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले तत्काल निर्वाचन कानुनका विवादित विषयमा सहमति गर्न आग्रह गरेपछि शनिबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कुनै सहमति भएन । शीर्ष नेताहरूले आन्तरिक छलफल गरेपछि आइतबार समितिको बैठक बस्ने भएको छ । प्रमुख दलहरूबीच थ्रेसहोल्ड, फौजदारी अभियोग लागेकाले चुनावमा भाग लिन पाउने–नपाउने र उम्मेदवार मनोनयन गर्दा सम्पत्ति सार्वजनिक गर्नुपर्ने विषयमा मुख्य विवाद छ । यी विषयमा दलहरू पुरानै अडानमा रहे पनि शनिबार बेलुका बानेश्वरमा बसेको समिति बैठक निष्कर्षविहीन भएको हो । ‘दलहरू थ्रेसहोल्डकै पुरानो अडानमा कायम हुँदा सहमति बन्न सकेन,’ एमाले नेता रघुजी पन्तले भने, ‘आ–आफ्नो दलमा एकपटक छलफल गरी पुन: आइतबार बैठक बस्ने भन्ने छ ।’ कांग्रेस र एमाले निर्वाचन अध्यादेशमा चुनावमा न्यूनतम एक प्रतिशत मत ल्याउनुपर्ने प्रावधान थ्रेसहोल्ड राख्नुपर्ने अडानमा छन् । माओवादी र मधेसी मोर्चा भने सबै दललाई निर्वाचनमा सहभागी गराउन थ्रेसहोल्डविना नै चुनावमा जानुपर्ने पक्षमा छन् । साना दलको माग पनि थ्रेसहोल्ड हटाउनुपर्ने भन्ने छ । संविधानसभा सदस्य संख्या चार सय ९१ राख्ने विषयमा भने दलहरू सहमतिनजिक छन् । उच्चस्तरीय समितिको बैठक बस्नुअघि शनिबार बिहान शीर्ष नेताहरूले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँग बालुवाटार छलफल गरेका थिए । बैठकमा रेग्मीले तत्काल विवादित विषयमा सहमति गर्न आग्रह गरेका थिए । नेताहरूले पनि छिटै सहमति गर्ने बताएका थिए । यसअघि रेग्मीले २४ जेठसम्ममा निर्वाचन कानुनमा सहमति जुटाउन आग्रह गरेका थिए ।
|
|
भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, २५ जेठ त्रिभुवन विश्वविद्यालयले आफ्नो सम्पत्ति नयाँ तीन विश्वविद्यालयलाई हस्तान्तरण गर्न ६ सर्त राखेको छ । नयाँ खुलेका तीन विश्वविद्यालयलाई सम्पत्ति दिन नमानेपछि विवादित बनेको विषयमा अहिले त्रिविले ६ सर्त राखेको हो । त्रिविका आंगिक क्याम्पस अलग्गिएर नयाँ विश्वविद्यालयका रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरे पनि सम्पत्ति हस्तान्तरणको विवाद कायम छ । लामो समयसम्मको विवादपछि त्रिविले सुदूरपश्चिममाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई आफ्नो सम्पत्ति दिन शिक्षामन्त्रीसमक्ष ६ वटा सर्त पठाएको छ । नयाँ विश्वविद्यालय स्थापना भए पनि त्रिविको शिक्षक–कर्मचारी कटौती गर्न नहुने, कृषि तथा वन विज्ञान क्याम्पसको जग्गामा नयाँ विश्वविद्यालय स्थापना हुनका लागि त्रिविलाई अन्यत्र जग्गा दिनुपर्ने, त्रिविका कर्मचारी त्रिविमै रहने वा अरू विश्वविद्यालयका हुने भन्नेमा उनीहरूलाई नै रोज्न दिनुपर्ने सर्त राखिएको छ । त्यस्तै, कृषि तथा वन विज्ञान क्याम्पस त्रिविबाट गएपछि विश्वविद्यालय अनुदान आयोगले अर्को ठाउँमा भवन बनाउन रकम दिनुपर्ने, आर्थिक भार नयाँ विश्वविद्यालयले नै लिनुपर्नेलगायतका सर्त राखिएको छ । त्रिविका प्राध्यापक, कर्मचारी र आंगिक क्याम्पस र सम्पत्ति प्रयोग गरेर नयाँ विश्वविद्यालय सञ्चालन गर्न ऐन आए पनि कानुन बाझिएकाले वर्षौंसम्म सम्पत्ति हस्तान्तरण हुन सकेको छैन । ०६७ मा स्थापना भएका सुदूरपश्चिममाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयको ऐनमा त्रिविको सम्पत्ति प्रयोग गरेर विश्वविद्यालय सञ्चालन गर्ने उल्लेख छ । नयाँ खुलेका सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयले त्रिविकै भौतिक सम्पत्ति प्रयोग गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरेका छन् । तर, उनीहरूले प्रयोग गरेको भौतिक सम्पत्तिको लालपुर्जा तथा जनशक्ति त्रिविको नाममा रहेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपानेले अरू विश्वविद्यालयलाई सम्पत्ति दिने विषयमा केही ‘फन्डामेन्टल’ कुरामा सरकारबाट निर्णय हुनुपर्ने बताए । ‘अरू विश्वविद्यालयको ऐन बनाउँदा सोधेका होइनन्, हचुवाका भरमा ऐन ल्याए,’ न्यौपानेले भने, ‘हामीले केही कुराहरू शिक्षामन्त्रीसमक्ष राखेका छौँ, हाम्रो सबै कुरा मिले प्रक्रिया पुर्याएर दिन तयार छौँ ।’
|
|
रामप्रसाद न्यौपाने/नयाँ पत्रिका काठमाडौं, २५ जेठ सरकारी सबै अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने निर्णय ६ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । उपत्यकाका सबै सरकारी तथा क्षेत्रीय अस्पताललाई दुई महिनाभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले मंसिरमा निर्देशन दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समितिको २३औँ बैठकले २२ मंसिरमा सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने निर्णय गरेको थियो । समितिले निर्णय कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागलाई निर्देशन दिएको थियो । जिल्लासहित देशभर ८३ वटा सरकारी अस्पताल सञ्चालनमा छन् । समितिले अस्पतालका आफ्नै फार्मेसी हुँदा बिरामीले गुणस्तरीय औषधि सहज र सुलभ रूपमा पाउन सक्ने तथा अस्पतालको आर्थिक स्रोतसमेत वृद्धि हुने निष्कर्षका साथ फार्मेसी खोल्ने निर्णय गरेको थियो । मन्त्रालयले समितिको निर्णय पहिलो चरणमा उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नमुनाका रूपमा फार्मेसी सञ्चालन गर्ने जनाएको थियो । तर, त्रिवि शिक्षण अस्पतालबाहेक अन्य अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएका छैनन् । त्रिवि शिक्षण अस्पतालले गत माघदेखि नै फार्मेसी २४सै घन्टा सञ्चालनमा ल्याएको छ । बिरामीको चापअनुसारको औषधि नहँुदा अधिकांश बिरामीका आफन्त परिसरमै रहेका अन्य निजी पसलमा जान बाध्य भएका छन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा. बुलन्द थापाले सबै तयारी पूरा भए पनि जनशक्ति अभावमा फार्मेसी खोल्न नसकिएको बताए । ‘हामीले सरकारी निर्देशनभन्दा पहिले नै फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ । सुरुमा नीतिगत अप्ठेरो पर्यो, अहिले निर्देशिका तयार भएको छ, तर फार्मेसीमा रहने जनशक्ति भर्ना गर्न सकिएको छैन,’ डा. थापाले भने । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले फार्मेसी सञ्चालन सुरु भइसकेको बताए । ‘पहिले पनि थियो, तर त्यतिखेर आंशिक रूपमा सञ्चालन हुन्थ्यो । अहिले २४ घन्टे भइसकेको छ । तर, औषधि राख्न टेन्डर खोल्नुपर्ने र आर्थिक वर्ष सकिन लागेको हुनाले प्रक्रिया गतिशील हुन सकेको छैन । साउनपछि अस्पतालको फार्मेसी पूर्ण रूपमा सञ्चालनमा आउँछ,’ कोइरालाले बताए । यसअघि ललितपुरको पाटन हस्पिटल, काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र, मीनभवनको सिभिल सर्भिस हस्पिटलले आफ्नै औषधिपसल सञ्चालनमा ल्याएका छन् । गंगालालका कार्यकारी निर्देशक डा. मनबहादुर केसीले अस्पतालले खोल्ने फार्मेसीबाट अस्पताल र बिरामी दुवैका लागि फाइदा हुने बताए । ‘बिरामीले निकै सस्तोमा औषधि पाउँछन् भने अस्पताललाई पनि गतिलो आर्थिक स्रोत बन्न सक्छ,’ डा. केसीले भने । मन्त्रालय भने ६ महिनाअघिको निर्णय कार्यान्वयनका लागि भर्खर निर्देशिका बनाउने तयारी गर्दै छ । मन्त्रालयका सहसचिव डा. तीर्थराज बुर्लाकोटीले सरकारी अस्पतालले सञ्चालन गर्ने फार्मेसीबारे निर्देशिकाको ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए ।
|
|
रामनारायण विश्वास/नयाँ पत्रिका सप्तरी, २५ जेठ तराई दौडाहामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह २७ जेठमा सप्तरी आएर राति बास बस्ने निश्चित भएको छ । यसअघि बस्ने घरको अभावले सोही दिन साँझ अन्यत्र जाने कार्यक्रम थियो । तर, स्थानीय ‘डिलक्स स्टार होटेल’मा उनको बस्ने व्यवस्था मिलाइएको छ । पूर्वराजा शाहको स्वागत गर्न गठित मूल समितिले शनिबार राजविराजमा पत्रकार सम्मेलन गरेर शाहको राति पनि बस्ने कार्यक्रम निश्चित भएको जानकारी गराएको हो । ‘सुरुमा राति बस्ने कार्यक्रम सरकारको थिएन,’ समितिका अध्यक्ष विनोद पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘आज मात्रै राति बस्ने कार्यक्रम कन्फर्म भएको हो ।’ २७ जेठ बिहान बाराको सिमराबाट राजमार्ग हुँदै सप्तरी आउने कार्यक्रम रहेको पाण्डेले बताए । उनले बिहान साढे १० बजे शम्भुनाथस्थित शम्भुनाथ मन्दिरमा पूजा गरेर सप्तरी भ्रमण सुरु गर्नेछन् । बिहान ११ बजे राजविराज प्रवेशपछि नगर भ्रमण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए । उनी पैदल हिँडेर स्थानीय राजदेवी मन्दिर पुगी पूजा गर्नेछन् । त्यसपछि डिलक्स स्टार होटेलमा करिब साढे ३ बजेसम्म विश्राम गर्ने कार्यक्रम तय भएको उनका सहयोगीले जानकारी दिए । साढे ३ बजे उनी हनुमान मन्दिरको पूजा गर्न जाने कार्यक्रम छ । त्यहाँबाट ४ बजे भारदहस्थित कंकालिनी मन्दिर जानेछन् । भारदहस्थित कंकालिनी मन्दिरको पूजापछि कञ्चनपुर, रूपनगर हुँदै पुन: राजविराज फर्किने र राति डिलक्स स्टार होटेलमा बस्ने व्यवस्था मिलाइएको हो ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |