|
गणेशकञ्चन भारती/नयाँ पत्रिका सुर्खेत, २२ जेठ कर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपा–८ सिआँलामा बस भीरबाट खस्दा ६ जनाको मृत्यु भएको छ । बुधबार बिहान कालिकोटबाट सुर्खेतका लागि छुटेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा दैलेख सिँगासैन–९ का तर्कबहादुर शाही, हर्कबहादुर विक, भगी विक, अछाम पुलेतोला–५ का देउकला साउँद, काशीराम विष्ट र ६ वर्षीय क्षितिज रावल रहेका छन् । चारजनाको उपचारका लागि दैलेख र थप दुईजनाको सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका ४१ जनालाई क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको छ । तर, त्यहाँ उपचार हुन नसकेपछि सख्त घाइते नौजनालाई कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको छ । रिफर भएकामा प्रकाश विष्ट, पंकज माझी, कृष्ण रावल, जयबहादुर ठकुरी, जलु तिरुवा, दिलबहादुर तिरुवा र बसका चालक कृष्णबहादुर शाहीलगायत अन्य दुईजना रहेका छन् । अन्य ३२ जना घाइतेको क्षेत्रीय अस्पताल सुर्खेतमै उपचार भइरहेको छ । बिहान ७ बजे दैलेखको रामाघाटबाट ३६ जनाको चलानी बुझेर सुर्खेतका लागि हिँडेको बसमा बीचमा अन्य यात्रु पनि चढेका थिए । तर, सोही समयमा काँक्रेविहार यातायात व्यवसायी संघको बा.१ख ४०३९ नम्बरको गाडी केही यात्रु मात्रै बोकेर हिँडेपछि अगाडिका अरू यात्रुलाई कुन गाडीले चढाउने भन्ने विषयलाई लिएर दुई बसबीच एकले अर्काेलाई उछिन्ने प्रतिस्पर्धा जस्तै भएको थियो । सिआँला मोडमा आइपुगेपछि तीव्र गतिमा आएको सो बसले काँक्रेविहारको गाडीलाई उछिनेर अगाडि बढ्न खोज्दा दुर्घटना भएको घाइतेले बताएका छन् । एक यात्रुले भने, ‘काँक्रेविहारको बसले साइड नै नदिने र हाम्रो बसले उछिनेर जाने प्रतिस्पर्धा भएपछि दुर्घटना भएको हो ।’ गाडी सडकबाट करिब तीन सय मिटर तल भीरमा अड्किएको छ ।
|
|
जनकपुर/ पूर्वराजा ज्ञानेन्द्र शाहको तराई भ्रमण गर्ने तय भएपछि मातहतका कर्मचारी तथा राजावादी पार्टीका कार्यकर्ता जनकपुरमा सक्रिय भएका छन् । अगामी २७ जेठमा जनकपुर आउन लागेका शाहको भ्रमण तयारी गर्न उनका निजीसचिव सागर तिमल्सिना, संवादसचिव फणिराज पाठक, सवारी संयोजक किशोरी महतो, निजी अंगरक्षक उद्धव रावल र सवारी सञ्चार संयोजक अस्मिता भण्डारीसहितको टोली बुधबार जनकपुर आइपुगेको छ । तराई भ्रमणका लागि शाह २४ जेठमा बाराको सिमरा आउने कार्यक्रम छ । उनी २६ जेठमा जनकपुर र २७ जेठमा सप्तरी पुग्ने कार्यक्रम छ । २७ जेठमा नै जनकपुर फर्किने र यहाँबाट सिरहा र महोत्तरीको भ्रमण गरेर पुन: सिमरा हुँदै राजधानी फर्कने शाहका संवादसचिव पाठकले जानकारी दिए । सिंगो तराईको भ्रमण गर्ने पूर्वनिर्धारित कार्यक्रम गत फागुनमै सक्ने योजना भए पनि पूर्वयुवराज पारसको स्वास्थ्य स्थिति बिग्रेपछि स्थगित भएको थियो । सो भ्रमण कार्यक्रमलाई पुन: निरन्तरता दिएको पाठकले बताए ।
|
|
भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, २२ जेठ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगन गर्ने विषयमा आफैँ सहमति जनाएर आन्दोलनको घोषणा गरेको नेविसंघले अर्को नाटकीय काम गरेको छ । घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिन ‘नैतिक संकट’ परेपछि नेविसंघका नेताले त्रिविलाई वार्तामा बोलाइदिन आग्रह गरेर बन्द फिर्ता २३ जेठको बन्द फिर्ता लिएका छन् । त्रिभुवन विश्वविद्यालयले पनि नेविसंघको आग्रह स्विकार्दै वार्तामा बोलाएको छ । त्रिविले नेविसंघका नेताको आग्रहमा बुधबार ४ बजे विद्यार्थी संघ/संगठनलाई वार्तामा आउन आग्रह गरी विज्ञप्ति निकालेको थियो । विज्ञप्तिमार्फत वार्तामा आउन आह्वान गरेको केही समयमै नेविसंघले बन्द फिर्ता लिएको थियो । ‘नेविसंघलाई त्यसै बन्द फिर्ता लिन अप्ठ्यारो भएछ, वार्तामा बोलाएकोजस्तो गरी विज्ञप्ति निकाल्नुस् बन्द फिर्ता लिन्छौँ भनेपछि देखाउनका लागि विज्ञप्ति निकाल्यौँ,’ त्रिविका एक अधिकारीले भने, ‘यो औपचारिकताका लागि हो । वार्ता कोसँग, किन गर्ने कुनै कुराको टुंगो लागेर अनुरोध गरेको होइन ।’ तल परिन्छ भनेर विश्वविद्यालयलाई वार्ताको अनुरोध गर्न लगाएको अधिकारीको भनाइ छ । ‘त्रिभुवन विश्वविद्यालय कीर्तिपुर’का नाममा जारी विज्ञप्तिमा कसले वार्तामा बोलायो भन्नेसमेत उल्लेख छैन । ‘सबै विद्यार्थी संघ/संगठनहरूलाई वार्ता र छलफलमा बोलाई समाधान खोज्न उपयुक्त भएको हुँदा विद्यार्थीहरूको पठनपाठनलाई बाधा पर्ने साथै नेविसंंघलगायत अन्य विद्यार्थी संघ/संगठनहरूले उपत्यकालगायत जिल्ला बन्दजस्ता जनसमुदायलाई प्रत्यक्ष मर्का पर्ने कार्यक्रमहरू फिर्ता लिई वार्तामा आउन र छलफलद्वारा समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षहरूलाई त्रिवि हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । २३ जेठमा स्ववियु चुनाव गर्ने मितिअनुसार काम अगाडि बढेको थियो । तर, फर्जी भर्ना विवाद बढेपछि १६ जेठमा विद्यार्थी संगठनको सहमतिमा चुनाव स्थगित गरिएको थियो । नेविसंघका प्रवक्ता युपी लामिछानेले आफूले वार्तामा बोलाउन अनुरोध नगरेको र त्रिवि आफैँले वार्तामा आउन अपिल गरेको बताए । ‘वार्तामा कहिले बस्ने के गर्ने कुरा भएको छैन, प्रवक्ता लामिछानेले भने, ‘हामीले भनेर होइन त्रिविले वार्तामा बोलाएको हो, बन्दले जनजीवनलाई प्रत्यक्ष असर पर्ने भएकाले अरू आन्दोलनका कार्यक्रम यथावत् राखेर बन्द फिर्ता लिएका हौँ ।’ यसअघि पनि उपकुलपति र रेक्टरसँग अनौपचारिक कुराकानी भएको उनले बताए । नेविसंघले स्ववियु चुनाव स्थगित भएपछि १८ जेठमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
|
|
सागर पण्डित/नयाँ पत्रिका काठमाडौं, २१ जेठ गत वैशाखदेखि सुरु भएको नागरिकता वितरण अभियानअन्तर्गत हालसम्म दुई लाख ८३ हजारले नागरिकता पाएका छन् । देशभरमा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा र नागरिकता वितरण टोलीमार्फत मंगलबारसम्म दुई लाख ८३ हजारले नागरिकता पाएको गृह मन्त्रालयले जनाएको छ । आगामी संविधानसभा निर्वाचनमा नागरिकताको अभावमा कुनै पनि बालिग नागरिकले मतदान गर्ने अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गृह मन्त्रालयले गत वैशाखदेखि नागरिकता वितरण कार्यलाई विशेष अभियानकै रूपमा सञ्चालन गर्दै आएको थियो । मन्त्रालयले ग्रामीण भेगमा पनि सहज किसिमले नागरिकता वितरण गर्न तीन सय २५ वटा एकीकृत घुम्ती सेवा सञ्चालन गरिरहेको छ भने नागरिकता वितरण गर्नका लागि पाँच सय ६१ वटा टोली मुलुकका विभिन्न भागमा खटाउँदै आइरहेको छ । एकीकृत घुम्ती सेवामार्फत एक लाख ५४ हजार र नागरिकता वितरण टोलीमार्फत एक लाख २९ हजारलाई नागरिकता वितरण गरिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लामध्ये ६७ जिल्लामा घुम्ती सेवामार्फत नागरिकता वितरण सम्पन्न भएको छ । ती जिल्लामा नागरिकता वितरण गरिएकाको विवरण मन्त्रालयमा प्राप्त भइसकेको छ । तर, बाँकी आठ जिल्ला झापा, खोटाङ, ओखलढुंगा, चितवन, स्याङ््जा, मुस्ताङ, बाँके र डोटीमा घुम्ती सेवा सम्पन्न हुन बाँकी रहेकाले विवरण प्राप्त हुन नसकेको गृह मन्त्रालयले जनाएको छ । यस्तै, नागरिकता वितरण टोलीले पनि जेठ मसान्तसम्म मात्रै नागरिकता वितरण गर्नेछ । गृह मन्त्रालयले जेठ मसान्तसम्म तीन लाख १५ हजारले नागरिकता लिने अनुमान गरेको छ । गृह मन्त्रालयले यसअघि ०६३ सालमा पनि यसरी नै नागरिकता वितरण सञ्चालन गरेको थियो । गृह मन्त्रालयका सहसचिव तथा नागरिकतासम्बन्धी फाँट महाशाखा प्रमुख भोला सिवाकोटीले एकीकृत घुम्ती सेवा र नागरिकता टोलीले गरिब, विपन्न र सीमान्तकृत नागरिकलाई उच्च प्राथमिकता दिएर नागरिकता वितरण गरेको जानकारी दिए । ‘वर्षौंदेखि प्रशासन कार्यालयसम्म जान नसक्ने तथा पहुँच नभएका विपन्न ग्रामीण र सीमान्तकृत आदिवासी जनजातिसमेत यो अभियानबाट विशेष रूपले प्रभावित भएका छन्,’ सहसचिव सिवाकोटीले नयाँ पत्रिकासँग भने । गृह मन्त्रालयका अनुसार घुम्ती सेवा र नागरिकता टोलीले वंशजका आधारमा र वैवाहिक अंगीकृतको आधारमा नागरिकता वितरण गरेको हो । यसैगरी, ०६३ सालमा जन्मको आधारमा नागरिकता पाएकाका सन्ततिलाई पनि वंशजको आधारमा नागरिकता वितरण गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानमा नागरिकता वितरण गर्दा केही स्थानमा गैरनेपालीले पनि नागरिकता लिन खोजेपछि विवाद भएको थियो । केही गाविस सचिवले गैरनेपालीलाई पनि नागरिकताका लागि सिफारिस गरेका थिए । तर, प्रशासन कार्यालयको छानबिनका क्रममा नक्कली व्यक्ति फेला परेपछि नागरिकता दिन रोकिएको थियो । सहसचिव सिवाकोटीले त्यस्ता गैरनेपाली कसैलाई पनि नागरिकता नदिएको दाबी गरे । उनले कसैले गैरनेपालीलाई नागरिकता दिएको तथा दिने प्रयास गरेको पाइए कडा कारबाही गरिने चेतावनी पनि दिए ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |