|
काठमाडौं/ नेपाल निजामती कर्मचारी संगठनले प्रशासनमा व्याप्त भ्रष्टाचार र विकृति हटाउन विशेष अभियान थाल्ने भएको छ । संगठनले कुशासनका कारण मुलुक आक्रान्त भएको, भ्रष्टाचार र अनियमितता व्याप्त भएको, लोडसेडिङ, खानेपानीको अभाव, दुर्गम क्षेत्रमा खाद्यान्न तथा कृषि मल बीउबिजनको अभाव, शान्ति-सुरक्षाको खस्कँदो स्थितिजस्ता जनसरोकारका विषयलाई लिएर जनसमुदायसँग मिलेर नै विशेष अभियान थाल्ने तयारी गरेको हो । संगठनको राजधानीमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले सुशासन स्थापना गर्ने सवालमा अभियान थाल्नेसहितका ३४ बँुदे निर्णय गरेको छ । संगठनले नवाँै राष्ट्रिय अधिवेशन आगामी चैतमा काठमाडांैमा गर्ने निर्णय गर्दै सबै जिल्ला र विभागीय कार्यसमितिको अधिवेशन असोजदेखि माघ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनका अध्यक्ष भोलानाथ पोखरेलले देशमा भ्रष्टाचार र सुशासन अत्यधिक रूपमा बढेकाले त्यसलाई रोक्न आफूहरूले विशेष अभियानसहितको आन्दोलन थाल्ने जानकारी दिए । उनले विशेष बढुवामा परेकाको व्यवस्थापन नगरे सरकारले मनाउन लागेको निजामती सेवा दिवस बहिष्कार गर्ने चेतावनी पनि दिए ।
|
|
मधुसुधन भट्टराई/नयाँ पत्रिका काठमाडौं, २९ साउन कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन अस्वीकार गर्ने भएको छ । देउवापक्षीय केन्द्रीय सदस्यहरूको सोमबार बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकमा सभापति कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव आए अस्वीकार गर्ने निर्णय गरेको हो । कोइराला स्वयंले सभापतिमा निर्वाचित भएलगत्तै 'एक व्यक्ति एक पदको सिद्धान्त पार्टीमा कडाइका साथ लागू गर्ने' बताएको भन्दै उनैले प्रधानमन्त्रीको उम्मेदवार बन्ने इच्छा प्रकट गरे स्वीकार नगर्ने निर्णय देउवा पक्षले गरेको हो । 'प्रधानमन्त्री पार्टीले पाउने पक्का नहुँदै उम्मेदवार तोक्नु अपरिपक्व हुन्छ, पार्टीले प्रधानमन्त्री पाउने पक्का भएपछि मात्रै उम्मेदवार तोक्ने हो, तर सभापति कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भएको सुनिएको छ,' एक सदस्यले भने, 'नेताहरूसँग कुनै छलफल नै नगरी हठातमा त्यो प्रस्ताव केन्द्रीय समितिमा पेस भयो भने अस्वीकार गर्ने निर्णय भएको छ ।' कांग्रेसले ३२ साउनमा केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकमा उठाउने एजेन्डाबारे छलफल गर्न देउवानिवास बुढानीलकण्ठमा देउवा पक्षको बैठक बसेको हो । संस्थापनपक्षीय नेताहरूले छलफलविना कोइरालालाई प्रस्ताव गरे आफूहरूले आवश्यक परामर्श गरी रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहयोग गर्नेसमेत सहमति भएको एक नेताको भनाइ छ । 'पार्टीको आन्तरिक विषयमा पनि एकलौटी ढंगले अघि बढ्ने, केन्द्रीय समितिले गरेको निर्णय र सभापतिमा निर्वाचित भएलगत्तै आफैंले व्यक्त गरेको धारणाविपरीत अघि बढ्ने सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा हाम्रो समर्थन रहँदैन,' देउवापक्षीय ती नेताले भने, 'पार्टीको इज्जत बढाउन यसअघि हार्ने थाहा हुँदाहुँदै पनि १७ पटकसम्म प्रधानमन्त्रीमा लडेका र यसअघि केन्द्रीय समितिले बहुमतीयमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका उपसभापति रामचन्द्र पौडेलसँग आवश्यक परामर्श गरी सहयोग गर्नेमा सबै साथीहरूको मतैक्यता रह्यो ।' कांग्रेसले एक वर्षअघि सहमतीयमा वरिष्ठ नेता देउवा र बहुमतीयमा उपसभापति पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
देउवा पक्षका विभाग सदस्य र अञ्चल संयोजकले राजीनामा दिने
पार्टीको विधान र आपसी सहमतिविपरीत सभापति कोइरालाले १३ साउनमा गठन गरेका विभाग र तोकेका अञ्चल संयोजकबाट समेत राजीनामा दिने निर्णय देउवापक्षीय बैठकले गरेको छ । कोइरालाले विधानमा व्यवस्था भएका ३२ र १० विभाग आफैंले थपी संयोजक तोकेका थिए भने १४ अञ्चलमा पनि संयोजक तोकेका थिए । कांग्रेस विधानमा सभापतिको प्रस्तावमा केन्द्रीय समितिले उपयुक्त ठाने विभाग थप गर्नसक्ने व्यवस्था भए पनि कोइरालाले कसैसँग छलफल नगरी आफैँ १० विभाग थपेर संयोजक तोकेका थिए । त्यस्तै, विधानमा व्यवस्था गरी प्रत्येक अञ्चलबाट १२औँ महाधिवेशनदेखि एक/एकजना केन्द्रीय सदस्य चुन्ने व्यवस्था कांग्रेसले गरेको थियो, तर सभापति कोइरालाले त्यो व्यवस्था लत्याउँदै अञ्चलबाट निर्वाचित सदस्यभन्दा बाहिर गएर अञ्चल संयोजक तोकेका थिए । 'विधान र सहमतिविपरीत गठन भएका विभाग संयोजक र अञ्चल संयोजकबाट सबैले संयुक्त राजीनामा दिने सहमति भएको छ,' केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले भने, 'केन्द्रीय समिति बैठकमै दिने कि त्यस अगावै दिने भन्ने निर्णय भोलि -मंगलबार)को बैठकमा हुन्छ ।' सभापति सदैव कार्यकर्ताको भावनाविपरीत पेलेर अघि बढिरहेकाले यो निर्णय सुधार्न सक्ने अवस्था नदेखिएकाले राजीनामा नै दिने निष्कर्षमा पुगेको खड्काको भनाइ छ । १३ साउनमा देउवासँग परामर्श नगरी ४२ विभागमा देउवापक्षीय १२ केन्द्रीय सदस्य र १४ अञ्चल संयोजकमा सातजनालाई नियुक्त गरेका थिए । विभाग र अञ्चल संयोजक गठनप्रति असहमति जनाउँदै १५ साउनमा धौलागिरि अञ्चल संयोजक एनपी साउद र सेती अञ्चल संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले राजीनामा दिइसकेका छन् ।
|
|
काठमाडौं/ पछिल्लो राजनीतिक अवस्थाको समीक्षा र पार्टीको भावी कार्यदिशा तय गर्न नेकपा-माओवादीको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । नयाँ पार्टी निर्माणपछि बसेको केन्द्रीय समिति बैठकयताका पार्टी कामको समीक्षा र भावी कार्यक्रम बनाउन बैठक बस्ने नेकपा-माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकले नयाँ योजना ल्याउने र पार्टीका विविध पक्ष सुदृढ गर्ने विषयमा महत्त्वपूर्ण निर्णय लिनेछ । पछिल्लो केन्द्रीय समिति बैठकलगत्तै नेताहरू संगठन निर्माण र महाधिवेशनको तयारीका लागि भन्दै जिल्ला-जिल्लामा गएका थिए । नेकपा-माओवादीले राजनीतिक निकासका लागि गोलमेचसभा प्रस्थानविन्दु हुने आफ्नो पार्टीको निष्कर्ष रहेको भन्दै दलहरूबीचको सहमतिमा संविधानसभा पुनस्र्थापनामा खुला रहेको जनाउ दिएको छ । उसले शानिबार सर्वपक्षीय अन्तरक्रिया गरेको थियो । पोलिटब्युरो बैठकका एजेन्डामा सहयोग पुर्याउन भन्दै सो पार्टीको सल्लाहकार समितिको बैठक आइतबार बसेको थियो । कृष्णदास श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नीतिगत, संगठनात्मक, आर्थिक, सांस्कृतिक विषयमा सुझाब दिने निर्णय गरेको एक सल्लाहकार सदस्यले बताए ।
|
|
काठमाडौं/ नेपाल निजामती कर्मचारी संघ 'सेवासहितको मुस्कान' अभियानसहित विभिन्न मन्त्रालयमा पुग्न थालेको छ । संघको एक टोलीले आइतबार मुख्य सचिव लीलामणि पौड्याललाई भेटी 'सेवासहितको मुस्कान' अभियान सम्बन्धमा जानकारी दियो । संघका अध्यक्ष शोभाकर रेग्मीले कर्मचारीले आमजनतालाई दिने सेवासुविधामा सहजता ल्याउन र चुस्तदुरुस्त सेवा दिलाउनका लागि यसप्रकारको अभियान थालिएको जानकारी दिए । मुख्य सचिव पौड्यालले कर्मचारी संघको यसप्रकारको कार्यक्रमले जनताले सहजतापूर्वक सेवा पाउने कार्यमा निकै सहयोग पुग्ने भन्दै प्रशंसा गरे । उनले कर्मचारीले जनताको कामलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । कर्मचारीमा सदाचार र नैतिकताको विकास हुन सकेमा जनताले सहज रूपमा सेवा पाउन सक्ने विश्वास पनि त्यसअवसरमा मुख्य सचिव पौड्यालले व्यक्त गरे । कार्यक्रममा अध्यक्ष रेग्मीले आफूहरू अब 'सेवासहितको मुस्कान' कार्यक्रम लिएर जिल्ला-जिल्ला र गाउँ-गाउँसम्म पुग्ने जानकारी दिए ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |