|
देवेन्द्र कार्की/नयाँ पत्रिका धरान, १ जेठ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले बुधबारदेखि ओपिडी सेवा ठप्प पारेपछि बिरामी मर्कामा परेका छन् । अस्पतालमा तालाबन्दी गर्ने समूहलाई कारबाही नगरेको विरोधमा चिकित्सकले सेवा नै बन्द गरेका हुन् । सर्जरी विभागका विभागीय प्रमुख डा. सिएस अग्रवालको नेतृत्वमा रहेको चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजले ओपिडी सेवा ठप्प पारेका हुन् । चिकित्सकले डा. अग्रवालको कक्षमा तालाबन्दी गर्ने समूहलाई कारबाहीको माग गरेका छन् । इमर्जेन्सीबाहेक अन्य सेवा ठप्प रहेको अस्पतालले जनाएको छ । पिसाबनलीमा पत्थरीको शल्यक्रिया गराएकी धरान-११ की मनमाया तामाङको मंगलबार मृत्यु भएको थियो । उनको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै बिरामीका आफन्तले डा. अग्रवालको कार्यकक्षमा तालाबन्दी गरेका थिए । मंगलबार साँझ तालाबन्दी खुलाउने सहमति भएको थियो । तर, तालाबन्दी खोलेको १२ घन्टा नबित्दै डाक्टरहरूको समूहले सेवा बन्द गराएका हुन् । इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द भएपछि पूर्वीपहाडी जिल्लालगायत स्थानबाट आएका हजारौँ बिरामी मारमा परेका छन् । उनीहरू प्रतिष्ठानपरिसरमा रमिते बनेर बस्न बाध्य छन् । प्रतिष्ठानमा दैनिक दुई हजार बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । चिकित्सक र अस्पताल प्रशासनबीच भएको बिहानैदेखिको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । तालाबन्दी गर्नेलाई कारबाही नगरेका कारण आफूहरू सेवा ठप्प पार्न बाध्य भएको चिकित्सकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पाँच दिनअघिदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन कक्ष -आइसियु)मा उपचार गराइरहेकी तामाङको मंगलबार राति मृत्यु भएको हो । गत २२ वैशाखमा पिसाबनलीमा पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुपूर्व उनको पिसाब बाहिर निकाल्नका लागि प्रयोग गरिएको पाइप अन्यत्र लगाएपछि समस्या सुरु भएको थियो । सो समस्याका कारण उनको २६ वैशाख बिहान पिसाब निकाल्नका लागि शल्यक्रिया गरिएको हो । मृत्युको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समिति बनेपछि मृतकका आफन्तले सर्जरी विभागका विभागीय प्रमुख डा. सिएस अग्रवालको कार्यकक्षमा लागेको ताला खोलेका थिए । डा. अग्रवाल प्रतिष्ठानमा निकै विवादास्पद छवि बनाएका चिकित्सक हुन् । उनले प्रतिष्ठान प्रशासनलाई समेत अटेर गर्ने गरेको प्रतिष्ठान स्रोतले बताएको छ । स्रोतका अनुसार प्रतिष्ठानमा पेइङ सेवा सुचारु भएदेखि डा. अग्रवालले ओपिडीमा समय नदिने, ओपिडीमा आएका बिरामीलाई पेईमा बोलाउने, ल्याब टेस्टलगायतको परीक्षणका लागि अस्पतालबाहिर पठाई कमिसन लिने गरेका छन् ।
|
|
नयाँ पत्रिका ओखलढुंगा, १ जेठ सदरमुकामस्थित अन्तर्राष्ट्रिय युवावर्ष प्राथमिक विद्यालयमा शिक्षिकाबीच दैनिक हुने विवादका कारण लामो समयदेखि पठनपाठन अवरुद्ध हुँदै आएको छ । प्रधानाध्यापकले काज, बिदालगायत सहुलियतमा असमान व्यवहार गरेको भन्दै शिक्षिकाबीच विवाद हुन थालेपछि पठन-पाठन अवरुद्ध भएको हो । प्रधानाध्यापक शारदा राजभण्डारीले नियमविपरीत आफूखुसी व्यवस्थापन समितिको निर्णयविनै स्थानीय बिदा दिने, आफू नजिकका शिक्षिकालाई लामो समयसम्म विद्यालयमा अनुपस्थित हुँदा पनि हाजिर गराउने गरेको शिक्षिका अञ्जना श्रेष्ठले बताइन् । लामो समयदेखि विद्यालय अनियमित रूपमा सञ्चालन भए पनि शिक्षा कार्यालयले अनुगमन नगरेको शिक्षिका श्रेष्ठको भनाइ छ । 'लामो समयदेखि यस्तै विवादै विवादमा विद्यालय चलेको छ, विद्यालयमा राम्रोसँग कक्षा सञ्चालन भएको छैन,' श्रेष्ठले भनिन् । प्रअले छात्रावृत्तिको रकमसमेत किर्ते भर्पाई बनाएर अनियमितता गरेको शिक्षिकाको आरोप छ । 'किर्ते भर्पाईर्को पुनरावलोकन गर्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनक विकलाई भर्पाई बुझाएका छौँ,' अर्की शिक्षिका उर्मिला श्रेष्ठले भनिन् । प्रअले कहिले नागरिक लगानी कोष, काठमाडौंमा काम छ भनेर र कहिले बैठक देखाएर आफूनिकटका शिक्षिकालाई लामो समयसम्म विद्यालयको कामविना काजमा पठाउने गरेको उनीहरूको आरोप छ । १३ वैशाखसम्म विद्यालय बन्द गरे पनि २ वैशाखदेखि नै शिक्षिकाहरूले हाजिर गरेका छन् ।
|
|
राजकुमार गोले/नयाँ पत्रिका काभ्रे, १ ज्ोठ जिल्ला शिक्षा कार्यालयले खेताला शिक्षक र झोले विद्यालय अन्त्य भएको घोषणा गरेको भए पनि खेताला राखेर तलब बुझ्ने शिक्षक भेटिएका छन् । वाङथली-५ को जनजागृति प्राविका प्रधानाध्यापक दीपकराज उप्रेतीले चार वर्षदेखि खेताला शिक्षक राखेर तलब बुझ्दै आएको खुलासा भएको छ । चार वर्षदेखि बनेपा स्थायी बसोबास गर्दै आएका प्रधानाध्यापक उप्रेतीले आफ्नो स्थानमा मासिक तीनदेखि चार हजारसम्म तलब दिएर खेताला शिक्षक राखेका हुन् । नाम नबताउने सर्तमा एक स्थानीयले भने, 'उप्रेतीले संगठनको आडमा शिक्षा कार्यालयलाई समेत भ्रममा पारेर खेताला शिक्षक राख्दै बनेपामा ठेक्कापट्टा, गिट्टी ढुंगाको व्यापार गरेर बसेका छन् ।' यसैगरी जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पर्ने गोकुले-३ छोट्टेसहको चन्द्रोदय प्राविका प्रधानाध्यापक बुद्धिलाल योञ्जनले आफ्ना सट्टामा मासिक तीनदेखि चार हजार तलब दिने गरी खेताला राखेका छन् । उनी भने बनेपामा अन्य व्यापार व्यवसाय गर्दै आएका छन् । डाँडापारि क्षेत्रमा रहेका गोकुले-६ को बालकल्याण प्राविका दिलकुमार दुलाल, बन्खु-६ सरस्वती प्राविका भीमबहादुर लामा, गोकुले-९ सेतीदेवी प्राविका केशरबहादुर योञ्जन, गोकुले-२ ज्ञानोदय प्राविका प्रअ दिलमाया सिँजालीलगायतले पनि खेताला शिक्षक राखेर बनेपा बस्दै आएका छन् । यस क्षेत्रका स्रोतव्यक्ति रामप्रवेश ठाकुरलाई घुस खुवाएर शिक्षकहरूले मनोमानी गरेको स्थानीय बताउँछन् । यस्तै कोसीपारि बिर्तादेउराली गाविसको ज्वालादेवी निमाविका प्रधानाध्यापक टीकाप्रसाद चौलागाइर्ं पनि खेताला शिक्षक राखेर बनेपा बस्दै आएका छन् । उनी जग्गाको कारोबारमा संलग्न रहेको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । उनले भने, 'चौलागाईंले विद्यालय पुगेर एकैपटक महिना दिनको हाजिर गर्ने गरेका छन् ।' यसैगरी जैसीथोक गाविसको भगवती प्राविका शिक्षक गौतम नेपाली, धुसेनी शिवालय डाँडाखर्क प्राविका शिक्षक देवीप्रसाद गौतम, सिमथली गाविस अरुणोदय माविका प्रअ रामचन्द्र भण्डारी, गोकुले गाविस गोकुले माविका शिक्षक सुशीलराज उप्रेती, सरस्वती मावि गोठपानीका शिक्षक ठाकुर गौतमले पनि विद्यालय नै नगई तलब बुझ्ने गरेको पाइएको छ यस विषयमा जिल्ला शिक्षा कार्यालय काभ्रेका जिल्ला शिक्षा अधिकारी नारायण भट्टले अनुगमन गर्न पठाई सत्यतथ्य छानबिन गरेर कारबाही गर्ने बताए । गत ९ फागुनमा शिक्षा कार्यालयले शिक्षक संगठनको इलाकास्तरीय बैठकमा सुन्थान घोषणापत्र जारी गरी जिल्लामा झोले विद्यालय र खेताला शिक्षक नभएको घोषणा गरेको थियो ।
|
|
दिलीप सिंह/नयाँ पत्रिका सिराहा, १ जेठ 'बिहेको कुराकानी हुँदै थियो, अन्तिम वेलामा आएर दुलाहाको मूल्य बढाइयो' सिराहाको दक्षिणी गाविस लक्ष्मीपुर पतारीकी एक महिलाले नाम उल्लेख नगर्ने सर्तमा भनिन्, 'डेढ लाख तय भएकोमा अढाई लाख मागेपछि सम्बन्ध हाललाई रोकिन पुगेको छ ।' बिहेको कुरा चलेको केटो स्नातक तह उत्तीर्ण गरी शिक्षण पेसामा रहेको उनले बताइन् । केटाको परिवारले बजारमा हरेक सामानको मूल्य बढेको भन्दै धेरै पैसा मागेपछि आफूले हाललाई त्यति दिन नसक्ने भनेको उनले जनाइन् । यसअघि शिक्षक पेसा अपनाउने वरको चलनचल्ती तिलक दर एकदेखि दुई लाखसम्म मात्र रहेको उनको भनाइ छ । यसरी तिलकको नाममा दाइजो दिने परम्पराले तराईमा झन् जरा गाड्दै गएपछि विपन्न परिवार समस्यामा परेका छन् । डाक्टर भए १० देखि ५० लाख, इन्जिनियर भए पाँच देखि १० लाख, शिक्षक भए दुई देखि पाँच लाख र सरकारी जागिरे भए पदअनुसार तिलक दाबी गर्ने गरिएको एक स्थानीयले बताए । मूल्यवृद्धिको बहानामा वरपक्षले 'तिलक' को दर बढाउन थालेपछि वधूपक्षका अभिभावक मर्कामा परेका छन् । कतिले घरजग्गा बेचेर पनि वरका निम्ति रकम जुटाउन थालेका छन् । मधेसी समुदायका अधिकांशले महँगो तिलकको समस्या भोगिरहेका छन् । 'पहिला डाक्टरको मूल्य आठदेखि २० लाखको हाराहारीमा रहन्थ्यो', मधेस मिडिया मिसनका केन्द्रीय अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले भने, 'अहिले त्यो पेसामा रहेकाले कम्तिमा १० लाख र बढीमा ५० लाखसम्म तिलक माग्न थालेका छन् ।' तिलकबाटै वरपक्षको स्तर नापिने प्रचलन रहेकाले पढेलेखेका अभिभावक पनि यसतर्फ आकषिर्त भएको उनले बताए । मधेसमा समस्याको रूपमा फैलँदै गएको तिलक प्रथाले मागी विवाहमा मात्र होइन, प्रेम विवाहमा समेत हस्तक्षेप गर्न थालेको छ । वधूपक्षबाट तिलक पाए प्रेमविवाहलाई स्वीकृति दिने अन्यथा नमान्ने अभिभावकको चलनका कारण यसले यो पवित्र बन्धनलाई समेत मोलतोलमा तौलने गरेको छ । 'तिलकले धनीलाई भन्दा पनि निम्न वर्गलाई सताएको छ,' ब्रम्हान गोरछारी गाविसका रामबिलास महतो भन्छन्, 'विवाहका लागि केटी पक्षले कति ठाउँमा केटा हेर्छन् । केटा र केटीको कुरा मिलिसके पनि दाइजोको कुरा नमिल्दा विवाह हँुदैन ।' तिलककै कारण छोरी जन्माउनेको संख्या घट्दै गएको सिंहको भनाइ छ । उनले भने, 'सबै छोरा मात्र जन्माउन चाहन्छन्, भारतका सीमावर्ती सहरमा गएर गर्भ परीक्षण गराउने बढेका छन् ।' सरकारले ल्याएको दाइजोविरोधी कानुनले समेत यो प्रथालाई अन्त्य गर्न नसकेको उनको ठहर छ । विशेषगरी मधेसी समुदायमा व्याप्त रहेको दहेजलाई अन्त्य गर्न कडा कानुनको आवश्यकता रहेको अधिकारकर्मी श्यामकुमारी साहले बताइन् । उनले दहेजसम्बन्धी नेपालको कानुनसमेत फितलो भएको दाबी गरिन् । उनले नेपालको वर्तमान कानुनमा दहेज लिने र दिने दुवैलाई जरिवाना तथा सजाय लेखेको भए पनि दहेज दिनेलाई कारबाही हटाउनुपर्ने बताइन् । शाहले भनिन्, 'दहेज बाध्यतावश दिइरहेका छन् । तर, दिनेलाई समेत कारबाही गर्ने कानुनी प्रावधान रहेकाले उनीहरू उजुरी गर्न जाँदैनन् ।'
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |