|
देवेन्द्र कार्की/नयाँ पत्रिका धरान, २९ वैशाख धरानको व्यस्त चोकलगायत आसपासमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न धरानको भानुचोकमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । भानुचोक बसपार्क क्षेत्रको गतिविधि नियाल्न चार लाख ५० हजार रुपैयाँबराबरको सिसिटिभी जडान गरिएको हो । सिसिटिभीले करिब पाँच सय मिटरसम्मको गतिविधिलाई कैद गर्न सक्छ । भिगोरस नेपालको पहलमा भानुचोकमा दुई र पुतलीलाइन जाने बाटोको मोड गरी तीन स्थानमा क्यामेरा जडान गरिको छ । सिसिटिभी जडानसँगै भानुचोकदेखि उत्तर छाताचोक, पश्चिम पुतलीलाइन, पूर्व देशीलाइन र दक्षिण पुरानो ट्राफिक कार्यालयसम्मको गतिविधि क्यामेराले कैद गर्न सक्छ । १६ डिभिआर क्षमताको सो क्यामेरा वडा प्रहरी कार्यालय धरानले कन्ट्रोल गर्ने अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी यादवराज खनालले बताए । उनका अनुसार उच्च गतिमा खिच्न सक्ने क्षमता -हाइस्पिड ड्याम्प) को यस सिसिटिभीले अँध्यारोमा पनि खिच्न सक्नेछ । 'यसबाट आपराधिक क्रियाकलापमा केही सहयोग पुग्नेछ,' एसएसपी खनालले भने, 'तर, सबैको सहयोग नभए क्यामेरा जडान गरेर मात्रै केही हँुदैन ।' धरानमा यातायात व्यवसायी र यात्रीबीच तानातानको विषयमा झगडा हुने गरेको छ भने अन्य चोरी, डकैती, लुटपाटका घटना हुने गरेका छन् । क्यामेराको सहायताबाट अपराध नियन्त्रण तथा दोषीलाई कारबाही गर्न सजिलो हुने वडा प्रहरी कार्यालय धरानले जनाएको छ । एक वर्षभित्र धरानका सबै मुख्य स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने अपेक्षा राखिएको खनालले बताए । 'तर, यसका लागि व्यवसायी तथा उद्योगीको सहयोग हुनुपर्छ,' उपरीक्षक खनालले भने । सुनसरी उद्योग वाणिज्य संघले पनि आफ्नो एजेन्डामै सिसिटिभी राख्ने योजना अघि सारेको छ । उद्योग वाणिज्यले आर्थिक कारोबार हुने क्षेत्रका १६ स्थानमा सिसिटिभी राख्ने योजना बनाइरहेको अध्यक्ष सरोज श्रेष्ठले बताए । उनका अनुसार सिसिटिभी जडानका लागि वाणिज्य महासंघका सदस्य किशन मास्केको संयोजकत्वमा सिसिटिभी जडान व्यवस्थापन समिति बनेको छ । समितिले आगामी आर्थिक वर्षको सुरुवातमै जडान आरम्भ गर्ने बताएको छ । दैनिक आवतजावतका क्षेत्रमा क्यामेरा जडान महासंघको पहिलो पहल हुने उनले बताए । धरानको भानुचोकमा दैनिक ६ सयभन्दा बढी सवारी साधन आवागमन गर्छन् भने यात्रुको चाप पनि त्यति नै धेरै हुने गरेको छ । जसका कारण दुर्घटनासँगै अव्यवस्थित पार्किङ हुने र चोरीका घटनालाई पनि नियन्त्रण गर्न सकिने भएकाले सिसिटिभी महत्त्वपूर्ण रहेको वार्ड विकास तथा बजार सुधार समितिका अध्यक्ष रमेश राईले बताए । 'दैनिक ६ सयभन्दा बढी सवारी साधनको चाप हुन्छ, त्यो अवस्थामा के भइरहेको छ, त्यो नियाल्न सकिनेछ,' उनले भने । भिगोरसका अध्यक्ष रोहित दर्नालले भिगोरसका सदस्यबाट व्यक्तिगत दुई लाख र अन्य दातृ निकायको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको बताए । उनका अनुसार सिसिटिभीलाई लोडसेडिङका वेला पनि सञ्चालनमा ल्याउनका लागि ब्याकअप राख्न लागिएको छ । जसलाई धरान नगरपालिका र वार्ड बजार विकास तथा बजार सुधार समिति र धरान स्वतन्त्र समाजको पनि सहयोग छ । पुतलीलाइनको मोडमा जडान गरिएको सिसिटिभीका लागि बराह ज्वेलरी इन्डस्टि्रज प्रालिका परिकल्पनाकार स्वर्गीय इन्द्रबहादुर लामिछानेको नाममा सहयोग गरेको बराहका धरान शाखा प्रमुख मानबहादुर दियालीले बताए ।
|
|
गणेशकञ्चन भारती/नयाँ पत्रिका सुर्खेत, २६ वैशाख जिल्ला प्रहरी कार्यालयले बालविवाह गरेको आरोपमा बुधबार विवाहमण्डपबाटै दुलाहा-दुलहीलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरका कमल शाही र मञ्जु माझी -नाम परिवर्तन)लाई बुधबार साँझ प्रहरीले विवाह गर्न लागेको अवस्थामा मण्डपबाटै पक्राउ गरेको थियो । दुवैलाई दुलाहा-दुलहीकै पहिरनमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । दुलहीकी आमाले बुधबार आफ्नी छोरीको बालविवाह गराउन लागिएको भन्दै रोक्न माग गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ । दुलहीकी आमाले आफ्नी १५ वर्षकी छोरीलाई २३ वर्षको केटासँग ललाई-फकाई विवाह गर्न लागिएको भन्दै निवेदन दिएकी थिइन् । शाही र माझी १५ वैशाखमा भागेको र बुधबार विवाह गर्न लागेको निवेदनमा खुलाइएको छ । दुलही माझीले भने आफू १५ नभई १८ वर्षको भएको दाबी गरिन् । उनले आमाको र केटाको धर्म फरक परेकाले आफूलाई छुटाउन लागिएको बताइन् । 'मेरो ममी क्रिस्चियन हुनुहुन्छ, म हिन्दू हुँ,' उनले भनिन्, 'मलाई हिन्दूसँग गई भनेर छुटाउन लागिएको छ ।' दुलाहाले पनि फरक धर्मका कारण आफूहरूको विवाह रोक्न खोजिएको बताएका छन् । उनले आफूहरूको प्रेम थाहा पाएपछि दुलहीकी आमाले क्रिस्चियन बने छोरी दिने नत्र विवाह नै हुन नदिने धम्की दिँदै आइरहेको दाबी गरे । उनीहरूले आफूहरू कुनै पनि हालतमा छुट्टनि नसक्ने भन्दै प्रहरीलाई समेत प्रेमको अर्थ बुझेर सहयोग गरिदन आग्रह गरेका थिए । आफूहरूको पाँच वर्षदेखि प्रेमसम्बन्ध रहेको दुलाहा दुलहीको भनाइ छ । विवाहमण्डपबाटै दुलाहा-दुलहीलाई पक्राउ गरेपछि आक्रोशित बनेका केटा पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई हातपात गरेको प्रहरी प्रमुख एसपी सुशील यादवले बताए । उनीहरूको आक्रमणबाट दुई महिला प्रहरी घाइते छन् । आक्रमण गर्ने केटातर्फका आफन्त कालिका कार्की र बालसरा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
|
नयाँ पत्रिका ओखलढुंगा, २६ वैशाख गाविस सचिवले कुटेकी एक युवतीलाई प्रहरीले उल्टै सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । गाविस सचिवले पहिला जाहेरी दिएको भन्दै प्रहरीले मंगलबार पीडितलाई पक्राउ गरेर २४ घन्टाभन्दा बढी हिरासतमा राखेको थियो । नारायणस्थान गाविसका सचिव विदुर बस्नेतले गाविस कार्यालयमा नै सोही गाविस-७ की शारदा खत्रीमाथि हातपात गरेका थिए । तर, बस्नेतले उल्टै कार्यालयमा आएर आफूमाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । गाविसको निवेदनका आधारमा प्रहरीले घटनाको अनुसन्धान नै नगरी मुद्दा चलाउने तयारी गरेको हो । जाहेरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए । कुटाइ खाएकी युवतीभन्दा अगाडि नै सचिव बस्नेतले प्रहरीमा उजुरी गरेपछि शारदालाई नियन्त्रणमा लिई मंगलबार हिरासतमा राखिएको थियो । गाविसमा सेवा लिन गएकी शारदा र गाविस सचिव बस्नेतबीच खानेपानी आयोजनाका विषयमा भनाभन भएको थियो । सोही क्रममा बस्नेतले मंगलबार शारदालाई घाइते हुने गरी कुटेका थिए । जग्गाको तिरो तिर्न गाविसको कार्यालय पुगेकी शारदाले गाउँको खानेपानी योजनाको विषयमा विवाद भएको बताइन् । बस्नेतको मुक्का प्रहारबाट खत्रीको दाहिने आँखाको तल्लो भागमा चोट लागेको छ । शारदालाई भने सचिव बस्नेतले गाली बेइज्जती र हातपात गरेको आरोप लगाइन् । प्रहरीले समेत बस्नेतको भनाइलाई मात्र आधार मान्दै शारदाको चोटलाई सामान्य रहेको बताएको छ । 'आँखाछेउमा नील देखिएको छ,' प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले भने, 'तर, गाविस सचिवले नै कुटेर त्यस्तो भएको कुनै प्रत्यक्षदर्शीले भनेनन् ।' पीडित शारदाले भने बस्नेतले नै कुटेको दाबी गरेकी छिन् । 'मैले मुखमुखै भने लागेको हो तर हात हालेको होइन,' शारदाले भनिन्, 'उनले मुक्काले हिर्काएका हुन् । न्याय माग्न आउन खोज्दा उल्टै मलाई प्रहरीले समातेर थुने ।'
|
|
मिलन परियार/नयाँ पत्रिका डोटी, २६ वैशाख डडेल्धुराको जोगबुढा-८ कुरमुल्लेकी ७० वषर्ीया मधु बोगटीले किरिया बसेकै ठाउँमा नागरिकता प्राप्त गरेकी छिन् । श्रीमान्को मृत्यु भएपछि किरियागोठमा रहेकी उनलाई नागरिकता घुम्ती शिविरको लागि पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता उपलब्ध गराएको हो । शिविरमा नागरिकता लिन छुटेकाको खोजी गर्ने क्रममा उनलाई किरियागोठमै नागरिकता उपलब्ध गराइएको शिविर आयोजक संस्था ग्रामीण दलित सुधार समितिका संयोजक ज्ञानेन्द्र पाठकले बताए । दलित गैरसरकारी संस्था महासंघको सहयोगमा ग्रामीण दलित सुधार समितिद्वारा सञ्चालित नागरिकताविहीन दलित तथा विपन्न वर्गका लागि सहयोग परियोजनाअन्तर्गत अभियानको रूपमा नागरिकता घुम्ती शिविर सञ्चालन गरिएको थियो । चरम गरिबी, भौगोलिक विकटता र आवश्यक कागजात जुटाउन नसकेर नागरिकताविहीन भएका दलित, महिला, जनाजाति, वृद्धवृद्धा, अपांग र विपन्न वर्गलाई लक्षित गरी शिविर सञ्चालन गरिएको ग्रामीण दलित सुधार समितिका अध्यक्ष भरत नेपालीले बताए । जिल्लाको भित्री मधेस क्षेत्र आर्थिक रूपले विपन्न र भौगोलिक रूपले विकट भएकाले नागरिकताबारे चेतना नभएकै कारण नागरिकता नबनाउने गरेका छन् । अहिले नागरिकता चाहिन्छ भन्ने बुझेपछि नागरिकता लिनेहरूको संख्या बढेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवालीले बताए । रोजगारीका लागि अधिकांश पुरुष भारत जाने हुँदा सनाखत गर्ने कोही नभएर स्थानीय नागरिकताबाट वञ्चित हुने गरेका छन् । यस वर्ष रोजगारीका लागि भारत गएकाहरू नयाँ वर्ष मनाउन घर आएको अवसर पारेर शिविर सञ्चालन गरेको सहायक प्रजिअ ज्ञवालीले बताए । ग्रामीण दलित सुधार समितिको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शिविर आयोजना गरेको हो । शिविर जिल्लाको जोगबुढा गाविसको साधनी स्वास्थ्य चौकी, वडा नं. ८ कुरमुल्ले र वडा नं. १ लालढुंगा, आलिताल र शीर्ष गाविस भवनमा सञ्चालन गरिएको थियो ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |