|
गणेशकञ्चन भारती/नयाँ पत्रिका सुर्खेत, २६ वैशाख जिल्ला प्रहरी कार्यालयले बालविवाह गरेको आरोपमा बुधबार विवाहमण्डपबाटै दुलाहा-दुलहीलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वीरेन्द्रनगरका कमल शाही र मञ्जु माझी -नाम परिवर्तन)लाई बुधबार साँझ प्रहरीले विवाह गर्न लागेको अवस्थामा मण्डपबाटै पक्राउ गरेको थियो । दुवैलाई दुलाहा-दुलहीकै पहिरनमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । दुलहीकी आमाले बुधबार आफ्नी छोरीको बालविवाह गराउन लागिएको भन्दै रोक्न माग गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको छ । दुलहीकी आमाले आफ्नी १५ वर्षकी छोरीलाई २३ वर्षको केटासँग ललाई-फकाई विवाह गर्न लागिएको भन्दै निवेदन दिएकी थिइन् । शाही र माझी १५ वैशाखमा भागेको र बुधबार विवाह गर्न लागेको निवेदनमा खुलाइएको छ । दुलही माझीले भने आफू १५ नभई १८ वर्षको भएको दाबी गरिन् । उनले आमाको र केटाको धर्म फरक परेकाले आफूलाई छुटाउन लागिएको बताइन् । 'मेरो ममी क्रिस्चियन हुनुहुन्छ, म हिन्दू हुँ,' उनले भनिन्, 'मलाई हिन्दूसँग गई भनेर छुटाउन लागिएको छ ।' दुलाहाले पनि फरक धर्मका कारण आफूहरूको विवाह रोक्न खोजिएको बताएका छन् । उनले आफूहरूको प्रेम थाहा पाएपछि दुलहीकी आमाले क्रिस्चियन बने छोरी दिने नत्र विवाह नै हुन नदिने धम्की दिँदै आइरहेको दाबी गरे । उनीहरूले आफूहरू कुनै पनि हालतमा छुट्टनि नसक्ने भन्दै प्रहरीलाई समेत प्रेमको अर्थ बुझेर सहयोग गरिदन आग्रह गरेका थिए । आफूहरूको पाँच वर्षदेखि प्रेमसम्बन्ध रहेको दुलाहा दुलहीको भनाइ छ । विवाहमण्डपबाटै दुलाहा-दुलहीलाई पक्राउ गरेपछि आक्रोशित बनेका केटा पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई हातपात गरेको प्रहरी प्रमुख एसपी सुशील यादवले बताए । उनीहरूको आक्रमणबाट दुई महिला प्रहरी घाइते छन् । आक्रमण गर्ने केटातर्फका आफन्त कालिका कार्की र बालसरा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
|
नयाँ पत्रिका ओखलढुंगा, २६ वैशाख गाविस सचिवले कुटेकी एक युवतीलाई प्रहरीले उल्टै सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । गाविस सचिवले पहिला जाहेरी दिएको भन्दै प्रहरीले मंगलबार पीडितलाई पक्राउ गरेर २४ घन्टाभन्दा बढी हिरासतमा राखेको थियो । नारायणस्थान गाविसका सचिव विदुर बस्नेतले गाविस कार्यालयमा नै सोही गाविस-७ की शारदा खत्रीमाथि हातपात गरेका थिए । तर, बस्नेतले उल्टै कार्यालयमा आएर आफूमाथि हातपात गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । गाविसको निवेदनका आधारमा प्रहरीले घटनाको अनुसन्धान नै नगरी मुद्दा चलाउने तयारी गरेको हो । जाहेरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए । कुटाइ खाएकी युवतीभन्दा अगाडि नै सचिव बस्नेतले प्रहरीमा उजुरी गरेपछि शारदालाई नियन्त्रणमा लिई मंगलबार हिरासतमा राखिएको थियो । गाविसमा सेवा लिन गएकी शारदा र गाविस सचिव बस्नेतबीच खानेपानी आयोजनाका विषयमा भनाभन भएको थियो । सोही क्रममा बस्नेतले मंगलबार शारदालाई घाइते हुने गरी कुटेका थिए । जग्गाको तिरो तिर्न गाविसको कार्यालय पुगेकी शारदाले गाउँको खानेपानी योजनाको विषयमा विवाद भएको बताइन् । बस्नेतको मुक्का प्रहारबाट खत्रीको दाहिने आँखाको तल्लो भागमा चोट लागेको छ । शारदालाई भने सचिव बस्नेतले गाली बेइज्जती र हातपात गरेको आरोप लगाइन् । प्रहरीले समेत बस्नेतको भनाइलाई मात्र आधार मान्दै शारदाको चोटलाई सामान्य रहेको बताएको छ । 'आँखाछेउमा नील देखिएको छ,' प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले भने, 'तर, गाविस सचिवले नै कुटेर त्यस्तो भएको कुनै प्रत्यक्षदर्शीले भनेनन् ।' पीडित शारदाले भने बस्नेतले नै कुटेको दाबी गरेकी छिन् । 'मैले मुखमुखै भने लागेको हो तर हात हालेको होइन,' शारदाले भनिन्, 'उनले मुक्काले हिर्काएका हुन् । न्याय माग्न आउन खोज्दा उल्टै मलाई प्रहरीले समातेर थुने ।'
|
|
मिलन परियार/नयाँ पत्रिका डोटी, २६ वैशाख डडेल्धुराको जोगबुढा-८ कुरमुल्लेकी ७० वषर्ीया मधु बोगटीले किरिया बसेकै ठाउँमा नागरिकता प्राप्त गरेकी छिन् । श्रीमान्को मृत्यु भएपछि किरियागोठमा रहेकी उनलाई नागरिकता घुम्ती शिविरको लागि पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता उपलब्ध गराएको हो । शिविरमा नागरिकता लिन छुटेकाको खोजी गर्ने क्रममा उनलाई किरियागोठमै नागरिकता उपलब्ध गराइएको शिविर आयोजक संस्था ग्रामीण दलित सुधार समितिका संयोजक ज्ञानेन्द्र पाठकले बताए । दलित गैरसरकारी संस्था महासंघको सहयोगमा ग्रामीण दलित सुधार समितिद्वारा सञ्चालित नागरिकताविहीन दलित तथा विपन्न वर्गका लागि सहयोग परियोजनाअन्तर्गत अभियानको रूपमा नागरिकता घुम्ती शिविर सञ्चालन गरिएको थियो । चरम गरिबी, भौगोलिक विकटता र आवश्यक कागजात जुटाउन नसकेर नागरिकताविहीन भएका दलित, महिला, जनाजाति, वृद्धवृद्धा, अपांग र विपन्न वर्गलाई लक्षित गरी शिविर सञ्चालन गरिएको ग्रामीण दलित सुधार समितिका अध्यक्ष भरत नेपालीले बताए । जिल्लाको भित्री मधेस क्षेत्र आर्थिक रूपले विपन्न र भौगोलिक रूपले विकट भएकाले नागरिकताबारे चेतना नभएकै कारण नागरिकता नबनाउने गरेका छन् । अहिले नागरिकता चाहिन्छ भन्ने बुझेपछि नागरिकता लिनेहरूको संख्या बढेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ज्ञवालीले बताए । रोजगारीका लागि अधिकांश पुरुष भारत जाने हुँदा सनाखत गर्ने कोही नभएर स्थानीय नागरिकताबाट वञ्चित हुने गरेका छन् । यस वर्ष रोजगारीका लागि भारत गएकाहरू नयाँ वर्ष मनाउन घर आएको अवसर पारेर शिविर सञ्चालन गरेको सहायक प्रजिअ ज्ञवालीले बताए । ग्रामीण दलित सुधार समितिको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शिविर आयोजना गरेको हो । शिविर जिल्लाको जोगबुढा गाविसको साधनी स्वास्थ्य चौकी, वडा नं. ८ कुरमुल्ले र वडा नं. १ लालढुंगा, आलिताल र शीर्ष गाविस भवनमा सञ्चालन गरिएको थियो ।
|
|
हरिराम उप्रेती/नयाँ पत्रिका गोरखा, २५ वैशाख जिल्ला अस्पताल गोरखामा ठूलो परिमाणमा म्याद नाघेका औषधि भेटिएका छन् । उपभोक्ता हित संरक्षण मञ्च र जिल्ला अनुगमन समितिले बुधबार अनुगमनका क्रममा म्याद नाघेका औषधि भेटेको हो । ०६८ देखि नै म्याद सकिएका औषधि अस्पतालको स्टोरमा फेला परेको जिल्ला अनुगमन समितिका अधिकृत डोलराज ढकालले जानकारी दिए । जिल्लाभर ८० ठाउँमा औषधि वितरण गर्ने गरेको अस्पतालको स्टोरमा सिप्रो एफएम लिभसियन, क्लोरोमफेनिकल, जेन्टामाइसिन इन्जेक्सन, एक्सोन क्याप्सुल, मेट्रोनलगायत थुप्रै म्याद नाघेका औषधि भेटिएका हुन् । 'स्टोरभित्र भद्रगोल अवस्थ्ाामा म्याद नाघेका र म्याद भएका औषधि एकै ठाउँमा राखिएको पाइयो,' अनुगमन अधिकृत ढकालले भने, 'औषधिको प्रकार र प्रकृतिअनुसार स्टोरको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छौँ ।' अस्पतालको औषधि वितरण कक्ष अनुगमनका क्रममा आइरन चक्की लेभल नभएको प्लास्टिकको सानो प्याकेटमा राखिएको पाइएको पनि ढकालले जानकारी दिए । प्रायः औषधि सन् २०११ मा म्याद सकिएको पाइएको तथा म्याद सकिन एक-दुई दिन मात्रै बाँकी रहेको पनि पाइएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापाले बताए । अस्पतालले स्टोरबाहिर लापरबाहीप्ूर्ण तरिकाले उत्तरी गोरखाको लाप्राक, गुम्दा तथा जिल्लाका अन्य स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा लैजान राखेको औषधि फेला परेको छ । त्यस्तै स्टोरभित्र राखिएका औषधि पनि जमेर एक-अर्कामा टाँसिएका छन् । खुला तरिकाले औषधिका प्याकेट राखिएकोमा त्यसलाई व्यवस्थापन गर्न पनि अस्पताल प्रशासनलाई अनुगमन समितिले निर्देशन दिएको छ । अस्पतालको औषधि वितरण कक्ष तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको मेडिकल स्टोर निरीक्षणमा गएको अनुगमन टोलीले स्टोर कक्षको ताला तोडेर अनुगमन गरेको थियो । अस्पताल प्रशासनले सँँचो नभएको जानकारी गराएपछि ताला तोडेर अनुगमन गरेको ढकालले बताए । 'औषधिको भण्डारण एकदमै नाजुक र भद्रगोल पाइयो,' ढकालले भने, 'एक साताभित्र म्याद नाघेका औषधि नष्ट गर्न निर्देशन दिएका छौँ ।' जिल्ला जनस्वास्थ्य प्रमुख विश्वराम श्रेष्ठले भने एक वर्षमा एकपटक मात्रै औषधि नष्ट गर्ने गरिएकाले म्याद नाघेका औषधि रहेको बताए । उनले भने, 'हामीकहाँ थुप्रै म्याद नाघेका औषधि छन् । म्याद नाघेका औषधि लैजान ट्रक नै चाहिन्छ ।' अस्पतालले वर्षको एकपटक म्याद नाघेका औषधि नष्ट गर्ने जनाए पनि दुइ-तीन वर्षअघि नै म्याद सकिएका औषधि भेटिएको थियो । बिरामीलाई म्याद नाघेका औषधि वितरण नगरिएको श्रेष्ठको दाबी छ ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |