|
विष्णु शर्मा/नयाँ पत्रिका दैलेख, ३० वैशाख दुर्घटना हुने सडकको उपमा पाएको माथिल्लो कणर्ाली राजमार्गले यतिवेला अर्को नयाँ उपमा पाएको छ 'धुलेमार्ग' । यो राजमार्गमा यात्रा गरेपछि यात्रुलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने समस्या सामान्य भइसकेको छ । अहिले राजमार्गमा उड्ने धुलोका कारण यात्रामै बिरामी परेर आधी बाटोमै झर्नुपर्ने समस्या देखिएको छ । विशेषगरी दम, खोकीका बिरामी र वृद्धवृद्धाका लागि कणर्ाली राजमार्गको यात्रा निकै कठिन हुने गरेको छ । यात्रापछि बिरामी हुनु स्थानीयका लागि सामान्य भइसकेको सुर्खेतबाट कालिकोट जाँदै गरेका ४७ वषर्ीय फुरे रावतले बताए । बाटोको अवस्था निकै नाजुक छ । सानादेखि ठूला सबै सवारी साधनमा यात्रा गर्नेलाई धेरै चुनौती हुने गरेको स्थानीय बताउँछन् । धुलोले सडक ढपक्कै ढाकेपछि कतिपय ठाउँमा पूरै अँध्यारो हुने गरेको छ । बाटो नदेखिने भएपछि सवारी साधनले दिउसै बत्ती बालेर हिँड्ने गरेका छन् । यात्रुलाई मात्र नभएर राजमार्गआसपास बसोबास र व्यापार गर्नेलाई समेत धुलोले हैरान बनाएको बताउँछन् सुवाछेडाका स्थानीय व्यापारी नगेन्द्रबहादुर थापा । उनले भने, 'धुलोले फोक्सो क्यान्सर बनाउने अवस्थामा पुगेको छ । यात्रुहरू झरेर खाना खाँदै गर्दा गाडी आउँछ, खाँदै गरेको खानामै धुलो टाँसिन्छ, कतिपयले खाना नखाएर उठेर हिँड्ने गर्छन् ।' थापाले भन,े 'नेताहरू सरकारका लागि मात्रै लडिरहन्छन् । उनीहरूलाई त भोट भए पुगिहाल्छ । जनताको पीडा कसले कुझ्ने हुन् ?' राजमार्गका अधिकांश खोलामा पक्की पुल छैनन् । निर्माण भइरहेका पुल पनि लामो समयदेखि काम रोकिएर अलपत्र छन् । तीव्र गतिका कारण साँझमा बढी दुर्घटना हुने गरेको स्थानीयवासीको भनाइ छ । पालतडामा रहेको प्रहरी बेसक्याम्पले आजभोलि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रि सेवा बन्द गराएको छ । रात्रि सेवा बन्द गरेपछि दुर्घटनामा कमी आएको प्रहरीले बताएको छ । सरकारले निकै महत्त्वका साथ निर्माण सुरु गरेको माथिल्लो कणर्ाली राजमार्ग निर्माण कार्य दिगो रूपमा सञ्चालन हुन नसक्नु र लथालिंग बन्दै जानुले जुम्ला, कालिकोट र दैलेखका यात्रुलाई निकै सास्ती भएको छ ।
|
|
कुलबहादुर तामाङ/नयाँ पत्रिका ओखलढुंगा, ३० वैशाख हलेसी दर्शनमा गएका दर्शनार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको विरोधमा स्थानीयले सिद्धिचरण राजमार्ग बन्द गरी आन्दोलन थालेका छन् । स्थानीयले हिलेपानी-दिक्तेल सडकखण्ड बन्द गरेका कारण यातायात अवरुद्ध हुनुका साथै खाद्यान्न ढुवानीसमेत रोकिएको छ । उनीहरूले घटनाका पीडितलाई क्षतिपूर्ति र पीडकमाथि कारबाहीको माग गरेका छन् । ७ वैशाखमा हलेसी दर्शनमा गएका ओखलढुंगाको थाक्ले गाविसका ११ युवायुवतीलाई सामान्य विवादपछि नियन्त्रणमा लिएर यातना दिएको स्थानीयको आरोप छ । कुटपिटपछि प्रहरीले भागदौडमा लडेर घाइते भएको भन्ने कागजमा सही गराई सोही दिन साँझ छाडेको थियो । प्रहरीको कुटाइबाट थाक्ले-६ का २६ वषर्ीय गन्जुराम राईको बायाँ हात भाँचिएको छ भने बाहुनीडाँडा-९ जयरामका ३५ वषर्ीय दिनेश राईको खुट्टा भाँचिएको छ । गञ्जुरामको ओखलढुंगास्थित सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ भने दिनेश राईको अर्थोपेडिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनीहरू दुवैजना संघीय समाजवादी पार्टीका कार्यकर्ता हुन् । प्रहरीको कुटाइबाट थाक्ले-८ का मिलन राई, सोही ठाउँका हेमराज राई, कविराम राई, हिराचन्द राई तीर्थराज राई, दिलकुमारी राई, सविता राई, सविना मगर र यानिका मगर घाइते भएका थिए । उनीहरूको खुट्टा र ढाडमा चोट लागेको थियो । हलेसीस्थित श्रीराम कपडा पसलमा सामान्य भनाभन भएको विषयलाई लिएर प्रहरीले ७ वैशाखको बिहान ८ बजेदेखि हिरासतमा राखेर बेलुका पाँच बजेसम्म कुटपिट गरेको पीडित गञ्जुराम राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले घटनाको छानबिन गरी जिल्ला सुरक्षा समितिको बैठकले पीडितलाई क्षतिपूर्ति दिने निर्णय भइसकेको बताए । उपचार खर्च र क्षतिपूर्ति तथा पीडकमाथि कारबाहीको माग गर्दै आएका पीडितले माग पूरा नभएको भन्दै शनिबारदेखि बन्दको घोषणा गरेका छन् । घटनामा आफ्ना कार्यकर्ताले कुटाइ खाएको भन्दै संघीय समाजवादी पार्टी नेपाल र नेकपा-माओवादी आन्दोलनमा सहभागी भएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघीय समाजवादी पार्टी नेपालका जिल्ला सचिव नेत्रबहादुर नेम्वाङले जानकारी दिए । सडक अवरुद्ध हुँदा खोटाङ जाने यात्रु र अन्य मालबाहक सवारी जयरामघाटमा अलपत्र परेका छन् ।
|
|
नयाँ पत्रिका मकवानपुर, ३० वैशाख जिल्लाका क्याम्पसमा हुने आगजनी र तोडफोडको घटनामा वृद्धि भएपछि विद्यार्थी त्रसित हुन थालेका छन् । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा आगजनी भएको तीन महिना बित्न नपाउँदै पुनः क्याम्पस हाताभित्र बसमा आइतबार राति आगजनी भएको छ । ग्यारेजमा पार्किङ गरिराखेको ना.१क ३१९३ नम्बरको बसमा आइतबार राति आगजनी भएको प्रहरीले जनाएको छ । क्याम्पसको 'ए' ब्लकसँगैको पार्किङमा राखिएको बसमा आगजनी भएको हो । बसमा कसले आगो लगायो भन्ने केही खुल्न नसकेको प्रहरीको भनाइ छ । भारत सरकारको सहयोगमा प्राप्त सो बस क्याम्पसले विद्यार्थीका लागि प्रयोग गर्दै आएको थियो । आगजनीका कारण बसमा पूर्ण रूपमा क्षति पुगेको छ । क्याम्पसबाट ५० मिटरको दूरीमा वारुणयन्त्र छ । उता क्याम्पस गेटमा सुरक्षा गार्ड हुँदाहुँदै बस ध्वस्त हुनुले घटनालाई थप रहस्यमय बनाएको छ । यस विषयमा क्याम्पस व्यवस्थापनले बोल्न चाहेको छैन । हाल क्याम्पसमा मोहन वैद्यनिकटको अखिल क्रान्तिकारी, मातृका यादवनिकटको क्रान्तिकारी विद्यार्थी संगठन, अखिल छैटाँै र अग्रगामी विद्यार्थी युनियन वृद्धि गरिएको शुल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । उनीहरूका मागबारे छलफल गर्न शुक्रबार आयोजित विशेष क्याम्पस सभाले पनि शुल्क वृद्धि फिर्ता नलिने निर्णय गरेको थियो । निरन्तरको आन्दोलन र आगजनीले पठनपाठन प्रभावित भएको छ । 'क्याम्पसमा ढुक्क भएर पढ्न नपाइने अवस्था आउन थाल्यो,' स्नातक पहिलो वर्षमा अध्ययनरत निशा लामाले भनिन्, 'क्याम्पसभित्र हुने राजनीतिले सीमा नाघिसक्यो ।' मकवानपुर क्याम्पस स्ववियु एकाइको कार्यालयमा पनि तीन महिनाअघि आगजनी भएको थियो । सो घटनामा संलग्नको अहिलेसम्म पहिचान हुन सकेको छैन । दोषीमाथि छानबिन गरी कारबाही हुन नसक्दा आपराधी मनोवृत्तिका व्यक्तिको मनोबल बढेको अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष प्रदीप अर्यालले बताए । यता हेटौंडा क्याम्पसमा समेत केही समयअघि आगजनी भएको थियो । घटनाको कारण अहिलेसम्म खुलेको छैन । स्ववियु निर्वाचन नजिकिँदै गर्दा आगजनीको घटना बढे पनि स्थानीय प्रशासन र क्याम्पस व्यवस्थापन भने मौन छन् ।
|
|
रामनारायण विश्वास/नयाँ पत्रिका सप्तरी, ३० वैशाख कोसी परियोजनासँग समन्वय गर्न नियुक्त गरिएका सम्पर्क तथा भू-आर्जन कार्यालय विराटनगरका सम्पर्क अधिकृत सुरेन्द्रप्रसाद गुप्ताले सवारी साधनको दुरुपयोग गरिरहेको खुलासा भएको छ । नेपालको मन्त्रिपरिषद्को सिफारिसमा विहार सरकार जलसंसाधन विभागले गुप्तालाई उपलब्ध गराएको महिन्द्रा मार्सल जिपको पछिल्लो डेढ वर्षदेखि गुप्ताले व्यापक दुरुपयोग गर्दै आएको पाइएको छ । सोमबार बिहान पनि गुप्ता स्वयंले राजविराज-७ स्थित मिलन डेरीमा उक्त गाडीमा दही लोड गराउँदै थिए । बिआर-५०-०१९१ र को.१च २४४२ भारतीय र नेपाली नम्बर रहेको सो गाडीमा दही लोड गराउँदै गरेको फोटो खिच्दा गुप्ताले सञ्चारकर्मीको क्यामेरासमेत खोस्ने प्रयास गरेका थिए । सञ्चारकर्मीविरुद्ध निकै आक्रोशित बनेका गुप्ताले भने, 'यो मेरो निजी गाडी हो, निजी गाडीमा जे पनि गर्न पाइन्छ, यसको प्रयोग कसरी गर्ने मेरो नितान्त व्यक्तिगत कुरा हो ।' सम्पर्क अधिकृतमा गुप्ताको नियुक्ति भएको १६ महिनाको अवधिमा अधिकांश समय उनी चढ्ने गाडीको दुरुपयोग भएको कोसी परियोजना वीरपुरका कर्मचारीले बताए । गाडीको रेखदेख, चालक नियुक्ति, इन्धन, मर्मत-सम्भारसहितका सम्पूर्ण जिम्मेवारी भारत सरकारले नै पूरा गरेको छ । नेपाल-भारतबीच भएको बहुचर्चित कोसी सम्झौताअनुरूप भारतमातहतको कोसी परियोजनासँग समन्वय गरी नेपालतर्फको कामकाज हेर्नका लागि मन्त्रिपरिषद्को निर्णयले सम्पर्क अधिकृतको नियुक्ति गर्ने गरिन्छ । सम्पर्क अधिकृतलाई मन्त्रिपरिषद्को सिफारिसमा विहार सरकार जलसंसाधन विभागले नेपाल तथा भारत दुवैतर्फको नम्बर प्लेटसहितको गाडी उपलब्ध गराउने गरेको छ । दुवै देशको नम्बर प्लेट प्रयोग गर्न सक्ने अधिकार सम्पर्क अधिकृतलाई मात्रै प्राप्त छ । कोसीमा सञ्चालित योजना नेपालतर्फ रेखदेख तथा समन्वयका लागि भारत सरकारले सम्पर्क अधिकृतको गाडीलगायत सेवा सुविधाको प्रबन्ध मिलाउने गरेको हो । तर, सम्पर्क अधिकृतमा नियुक्ति भएदेखि गुप्ता एकपटक पनि आफ्नो कार्य क्षेत्रमा नगएको भन्दै कोसी परियोजनाका कर्मचारीले पटक-पटक असन्तुष्टि जनाउँदै आएका छन् । सो गाडीका चालक विहार सरकार कोसी परियोजनाले नियुक्त गरेको छ । तर, चालकसँग साँचो खोसेर अधिकृत गुप्ताले गाडीलाई २४ घन्टै आफ्नो निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । नातामा सम्पर्क अधिकृत गुप्ताको भतिजा पर्ने शम्भु भन्ने व्यक्तिले सो गाडी चलाउने गर्छन् । गुप्ताले आफ्ना नातागोताका साथै अन्यलाई भाडामा समेत गाडी उपलब्ध गराउने गरेका छन् ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |