Thursday, May 23, 2013

कभरस्टोरी
भयानक दुर्घटनामा यात्रु बाँचे पीडीएफ मुद्रण इमेल

सुदीपकुमार ढुंगाना, काठमाडौं
रोहितराज पराजुली, पोखरा
नयाँ पत्रिका, २ जेठ
मुस्ताङको जोमसोम विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एबिओ कल साइनको टि्वनअटर विमान बिहीबार बिहान दुर्घटनामा परेको छ । अवतरणका क्रममा अनियन्त्रित भएर जहाज धावनमार्गदेखि करिब २० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते चालक दीपेन्द्र प्रधान र सहचालक सुरेश केसीलाई डायनेस्टी एयरको हेलिकोप्टरबाट त्रिवि शिक्षण अस्पताल कठमाडौंमा ल्याइएको छ । विमान परिचारिका सन्तमाया तामाङलाई तारा एयरको विमानबाट पोखरा ल्याइएको छ । उनको मणिपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विमानमा चालक दलका तीन सदस्यसहित २१ यात्रु थिए । तीमध्ये एक बालक र आठ जापानी नागरिक थिए । दुर्घटनामा घाइते अन्यलाई डाइनेस्टी एयरको हेलिकोप्टरबाट पोखरा ल्याइएको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनले जापानी नागरिकलाई जापानी दूतावासको जिम्मा लगाइएको बताए ।
विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको नेपाल वायुसेवाका प्रवक्ता चन्दले जानकारी दिए । विमानको अगाडिको भागमा क्षति पुगेको छ । एक पखेटा भाँच्चिएको र अर्को पखेटाले नदीमा छोएको थियो ।
वायुसेवाका प्रवक्ता चन्दका अनुसार पोखरा विमानस्थलबाट बिहान ८ बजेर १० मिनेटमा उडेको विमान ८ बजेर ३३ मिनेटमा दुर्घटना भएको हो । पहिलो नियमित उडान सकेर दोस्रो चार्टर उडानका क्रममा दुर्घटना भएको निगमले जनाएको छ । ९ एन एबिओ कल साइनको सो टि्वनअटर विमान दुई वर्षअघि जोमसोममा हाइड्रोलिक ब्रेक फेल भएर धावनमार्गबाट बाहिरिएको थियो ।
एक वर्षअघि अर्थात् १ जेठ ०६९ मा पनि जोमसोममा अग्नि एयरको ९ आइजी विमान दुर्घटना भएको थियो । विमानस्थलनजिकै भएको सो दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने ६ जनाको सकुशल उद्धार भएको थियो । घाइतेहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल चन्डिका गणको सीमासुरक्षा पोस्टको टोली र नेपाली सेनाको टोली खटिएको थियो ।

छानबिन समिति गठन

विमान दुर्घटना छानबिन गर्न सरकारले समिति गठन गरेको छ । नागरिक उड्डयन मन्त्रालयका पूर्वमहानिर्देशक रामप्रसाद न्यौपानेको अध्यक्षतामा समिति गठन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिए । समितिमा तारा एयरका वरिष्ठ पाइलट प्रभाकर घिमिरे र वरिष्ठ एरोनोटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य छन् भने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् । समितिले दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने सापकोटाले बताए ।

चालक र सहचालक खतरामुक्त

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विमान दुर्घटनामा घाइते चालक र सहचालक दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ । अस्पतालका प्रवक्ता चन्द्रकुमार राईका अनुसार दुवैलाई सघन उपचार कक्ष -आइसियू) मा राखेर उपचार भइरहेको छ । दुवैजनाको करङ, नलीखुट्टाको हाड भाँचिएको छ । पाइलटको जीउमा धेरै चोट लागेको र फोक्सोमा सामान्य चोट देखिएको राईले जानकारी दिए । प्रवक्ता राईले भने, ँधेरै ठाउँमा फ्याक्चर देखिए पनि दुवैजना आउट अफ डेन्जर छन् ।’

 
क्षेत्र पुनर्निर्धारण थाल्न आग्रह पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २ जेठ
उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ । आयोग गठन गर्दा विवाद नआउने गरी सदस्य छनोट गर्न पनि समितिले आग्रह गरेको छ ।
'निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोगको गठन प्रक्रिया अघि बढाउन पुनः सरकारलाई आग्रह गरिएको छ,' एमाले नेता भीम रावलले बिहीबार बसेको समितिको बैठकपछि नयाँ पत्रिकासँग भने, 'अध्यादेश, निर्वाचनसम्बन्धी कानुन र सिट संख्यामा सामान्य छलफल भयो ।'
समितिको यसअघिको बैठकले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको थियो । मधेसी दलहरूको माग र सर्वोच्च अदालतको आदेशको ख्याल गर्दै ३० वैशाखमा समितिले आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
एमाले अध्यक्ष झलनाथ खनाल समितिको संयोजक भएपछि बिहीबार समितिको पहिलो बैठक बसेको हो । निर्वाचनसम्बन्धी कानुन र अध्यादेशका विषयमा दलहरूबीच समान धारणा छैन । यी विषयमा बिहीबार सामान्य छलफल भएको र शुक्रबारलाई पुनः बैठक बोलाइएको छ । अबको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ न्यूनतम एक प्रतिशत मत ल्याउनुपर्ने थ्रेसहोल्डमा पनि दलीय सहमति जुट्न बाँकी छ । दलहरूबीच फौजदारी अभियोग लागेका र प्रमाणित भएकाले चुनाव लड्न पाउने वा नपाउने भन्नेमा पनि विवाद छ ।
एकीकृत माओवादीसहितका अधिकांश मधेसी दल र साना दल थ्रेसहोल्ड हटाई चुनावमा जानुपर्ने पक्षमा छन् । कांग्रेस-एमाले भने थ्रेसहोल्ड कायम हुनुपर्ने अडानमा छन् । धेरै दल हुँदा अराजकता बढेको भन्दै यी दुई दलले संविधानसभामा एक प्रतिशत मत ल्याउनुपर्ने थ्रेसहोल्ड व्यवस्था गर्नुपर्ने लबिङ गरेका हुन् ।
अघिल्लो बैठकमा चुनावी माहोल बनाउन प्रमुख दलले असन्तुष्ट दलहरूसित वार्ता गरी छिटै निर्वाचनको मिति तोक्न गरी अघि बढ्न सरकारलाई आग्रह गरेका थिए । केही दिन वार्तालाई प्राथमिकतामा राख्दा पनि सहमति नजुटे चुनावको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने दलहरूको अघिल्लो बैठकको निर्णय थियो ।
अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिको विषयमा छलफल भए पनि दलहरू कुनै टुंगोमा पुगेनन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेजी गर्ने विषयमा छलफल भएको बताए । यस विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।

 
पतिकै घरअगाडि सातादेखि धर्ना पीडीएफ मुद्रण इमेल

रामनारायण विश्वास/नयाँ पत्रिका
सप्तरी, २ जेठ
सप्तरी कञ्चनपुर गाविस-२ की नितु गुप्ता रौनियारले आफ्नै पतिको घरअगाडि एक सातादेखि धर्ना दिइरहेकी छिन् । माग छ- घरमा यातना होइन, सम्मान दिइयोस् ।
सिन्दुर, रातो चुरा र रातै सारी लगाएर धर्नामा बसिरहेकी नितुलाई रौनियार सेवा समितिले साथ दिएको छ । उनीसँग स्थानीय महिला र पुरुषहरू पनि धर्नामा
बसिरहेका छन् ।
१३ असार ०६८ मा सप्तरीको कञ्चनपुरनिवासी सुमित गुप्ता रौनियारसँग खोजपुर गाविस-७ की नितुको बिहे भएको थियो । झन्डै ३५ लाख खर्चिएर भएको सो बिहेपछि सुमितले पत्नी नितुलाई एक वर्षसम्म राम्ररी राखेका थिए । काठमाडौंमा बस्दै आएकी नितुलाई सुमितले अचानक माइत पठाए । आफूलाई तिरस्कार किन गरियो भन्नेसमेत बुभ\mन नपाएको उनको गुनासो छ । नितु स्नातक अध्ययनरत छिन् ।
नेपाल टेलिभिजनका प्राविधिक सुमितले श्रीमतीलाई अस्वीकार गरेपछि स्थानीयसमेत नितुको पक्षमा उभिएका हुन् । समाजको समेत सहयोग पाएपछि आफूले न्याय पाउने उनको आत्मविश्वास छ । 'मेरो के गल्ती ? जसरी उहाँले राख्नुभयो, त्यसरी नै बसेँ,' घरअगाडि धर्ना बसेकी नितुले भनिन्, 'बिहेपछि एक वर्षसम्म काठमाडौंमा सँगै राख्नुभयो, पछि आएर अचानक राख्न नसकिने भनेपछि बज्रपात नै भयो, अन्त्यमा मलाई त्यहाँबाट माइती आउनुपर्‍यो, पतिले मलाई राख्नुपर्ने मेरो माग छ ।'
यता पीडित महिलाका बुबा लक्ष्मी साहू रौनियारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् । तर, छोरीलाई ज्वाइँले राख्न अस्वीकार गरेको भन्दै जाहेरी दिए पनि हालसम्म केही हुन नसकेको गुनासो गरे ।
रौनियार समितिको अगुवाइमा धर्ना सुरु भएको दिन सुमितका बुबा-आमाले १ जेठभित्र सुमितलाई बोलाएर समस्या समाधान गर्ने वचन दिएका थिए । तर, उनीहरू पनि सपरिवार बुधबार दिउँसो घर छाडेर भागेको स्थानीय शत्रुघ्नप्रसाद रौनियारले बताए ।
सुमितले कञ्चनपुरका इन्स्पेक्टर लक्ष्मण खड्कालाई सो जाहेरीमाथि केही कारबाही नगर्न निर्देशन दिएको आन्दोलनकारीको आरोप छ । 'जे भए पनि सुमितले नितुलाई राख्नैपर्छ,' रौनियार महिला समितिका अध्यक्ष किरण रौनियार गुप्ताले भनिन्, 'नितुलाई नराखेसम्म हाम्रो धर्ना जारी रहनेछ, यसबाट पनि समस्या समाधान नभए हामी थप संघर्षका कार्यक्रम ल्याउँछौँ ।'
आन्दोलनरत महिलाले सुमितलाई काठमाडौंबाट तत्काल सप्तरी झिकाएर समस्याको समाधान गर्नेतर्फ स्थानीय प्रहरी प्रशासन सक्रिय हुनुपर्ने माग गरेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लक्ष्मण खड्काले भने सुमित काठमाडौंमा भएकाले अनुसन्धान ढिला भएको बताए । 'जाहेरी परेकाले हामी अनुसन्धान गरिरहेका छौँ,' उनले भने, 'हामीलाई कसैको दबाब आएको छैन, हामी आफ्नो काम गरिरहेका छौँ, आरोपी काठमाडौंमा भएकाले समस्या भएको हो ।'

 
ज्ञानेन्द्रलाई अझै बिन्तीपत्रको ओइरो पीडीएफ मुद्रण इमेल

भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, १ जेठ
पूर्वराजा ज्ञानेन्द्र शाहको शासनसत्ता गुमे पनि उनलाई व्यक्तिगत कामदेखि राजनीतिक विषयमा बिन्तीपत्र आउने गरेका छन् । निर्मलनिवासमा शाहलाई 'श्री ५ महाराजधिराज' सम्बोधन गरेर दैनिक दशवटासम्म बिन्तीपत्र दर्ता हुने गरेका छन् ।
नारायणहिटी छोडेर पूर्वराजा निर्मलनिवास गएपछिका सुरुका दिनमा भन्दा संविधानसभा विघटनयता बिन्तीपत्र दर्ता गर्नेहरूको संख्या बढेको स्रोतले बतायो । बिन्तीपत्रमा व्यक्तिगत कामका साथै थरीथरीका सल्लाह हुने गरेको पूर्वराजाको सहयोगीले जानकारी दिए । उनीहरूका अनुसार देशको चिन्ता, पूर्वराजाको चिन्ता र व्यक्तिगत काम गरिदिन आग्रह गरिएका बिन्तीपत्र दर्ता हुन्छन् ।
'अब पनि राजा चुप लागे देश सिद्धिन्छ भन्नेदेखि आर्थिक सहयोग लिन, उपचार मिलाइदिन र छोराछोरीलाई विदेश पठाइदिनसम्मका बिन्तीपत्र दर्ता हुने गरेका छन्,' निर्मलनिवास स्रोतले भन्यो, 'तर अधिकांशले उहाँ -पूर्वराजा ज्ञानेन्द्र)लाई सक्रिय हुन आग्रह गर्दै आफूहरूले के गर्नुपर्छ भनेर भूमिका दिन आग्रह गरेका बिन्तीपत्र हालेका छन् ।'
पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रलाई सक्रिय हुन आग्रह गर्दै आगामी चुनावमा दरबार कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाइएका बिन्तीपत्र दर्ता हुने गरेको स्रोतले बतायो । स्रोतका अनुसार ती बिन्तीपत्रमा थरीथरीका चुनावी रणनीति बनाएर सुझाब दिइएका छन् । केहीले भने चुनावमा कुन पार्टीलाई सहयोग गर्ने भनेर आदेशसमेत माग्ने गरेका छन् ।
बिन्तीपत्र हाल्नेहरूमध्ये अधिकांशले आफैँ निर्मलनिवासको गेटमा पुगेर दर्ता गर्ने र केहीले अरूलाई पठाएर दर्ता गर्ने गरेको पूर्वराजाका सहयोगीहरूको भनाइ छ । गेटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले बिन्तीपत्र बुझेर गेटनजिकैको पूर्वराजाका कर्मचारीको सचिवालय कोठामा पुर्‍याउने गर्छन् । कर्मचारीले सबै बिन्तीपत्र दर्तापछि पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिनालाई दिन्छन् । स्रोतका अनुसार तिमिल्सिनाले सबै बिन्तीपत्र दोहोर्‍याई-तेहेर्‍याई पढेर पूर्वराजा ज्ञानेन्द्रलाई दिने गर्छन् । पूर्वराजा ज्ञानेन्द्रले भने बिन्तीपत्र अध्ययनपछि सक्ने काम पूरा गर्न सहयोगीहरूलाई अह्राउने गरेको स्रोतको भनाइ छ ।
पूर्वराजालाई मात्र नभएर पूर्वयुवराज, पूर्वयुवराज्ञीलाई सम्बोधन गरिएका बिन्तीपत्र पनि दैनिक दर्ता हुने गरेका छन् । राजालाई बिन्तीपत्र हाल्ने परम्परा पञ्चायतकालदेखिको हो । राजाको शासनसत्ता गुमेपछि पनि यो परम्परा रोकिएको छैन ।

नारायणहिटीका बिन्तीपत्र निर्मलनिवासमा सुरक्षित

पञ्चायतकालका केही बिन्तीपत्र अझै पनि निर्मलनिवासमा सुरक्षित रहेको पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरूले बताएका छन् । तर, ती सबै बिन्तीपत्र निकै गोप्य राखिएको स्रोतको भनाइ छ । ती बिन्तीपत्र ज्ञानेन्द्र नारायणहिटीबाट निर्मलनिवास सरेपछि सहयोगीहरूले निर्मलनिवासमै लगेका थिए । लगिएकामध्ये केही बिन्तीपत्र च्यातिएको र केही अलिअलि जलेको अवस्थामा रहेको पनि स्रोतले बतायो ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL