Tuesday, Jun 18, 2013< /p>

कभरस्टोरी
एकै परिवारका आठसहित नौको मृत्यु पीडीएफ मुद्रण इमेल

केशवप्रसाद भट्टराई/नयाँ पत्रिका
ताप्लेजुङ, २३ जेठ
पहिरोमा पुरिएर ताप्लेजुङको थुकिमाका एकै परिवारका आठसहित नौजनाको मृत्यु भएको छ । मंगलबार राति करिब एक बजे आएको पहिरोमा परेका तीनजना हराइरहेका छन् ।
थुकिमा–५ को सिन्थापा भीरबाट मंगलबार राति झरेको पहिरोमा परेर सोही गाविस–६ का अष्टबहादुर सिवा (नेपाली)को परिवारका उनीसहित आठजनाको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक गोविन्द आचार्यका अनुसार मृत्यु हुनेमा अष्टबहादुर सिवा (६५), उनकी श्रीमती जयामाया (६०), छोरा सलमान (३५), बुहारी मनमाया (३०), नातिहरू नानीराम (१२), खगेन्द्र (११), नातिनीहरू नैनकला (९) र आशिका (५) छन् । हराइरहेका पनि उनीहरूकै परिवारका रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर थुकिमा–४ की सुकमाया लिम्बूको पनि मृत्यु भएको प्रनाउ आचार्यले जानकारी दिए । उनका अनुसार ६५ वर्षीया घाइते सुकमायाको जिल्ला अस्पताल ताप्लेजुङमा ल्याएपछि मृत्यु भएको हो । उनका श्रीमान् कुवेरसिंह र छोरी मन्जिता पनि घाइते छन् । जिल्ला अस्पतालमा ल्याइएकी गम्भीर घाइते मन्जितालाई बाहिर रेफर गरिएको छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण बाहिर लैजान नसकेको उनका दाजु तुरोनध्वजले बताए ।
स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार कुवेरसिंहका परिवारका आठमध्ये पाँचजनाले भागेर ज्यान बचाएका थिए । पहिरोले अष्टबहादुर, तेजबहादुर सिवा र कुवेरसिंह लिम्बूको गरी चार घर बगाएको छ । घटनास्थल सदरमुकाम फुङलिङदेखि एक दिनको पैदल दूरीमा छ ।
रातको समयमा पहिरो गएकाले उद्धारमा समस्या भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । छिमेकीहरू घटनालगत्तै उद्धारमा खटिएका थिए । बुधबार बिहान प्रहरी, स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी र गाउँले उद्धारमा खटिएका थिए । हराइरहेकाको खोजी जारी छ । पानी परिरहेकाले पनि उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् । सो क्षेत्रमा दुई सातादेखि पानी परिरहेको छ ।
पहिरोमा एकै परिवारका आठसहित नौजनाको मृत्यु र तीनजना बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ । गाविसका विद्यालय बन्द गरिएका छन् । उनीहरूको मृत्युबाट गाउँ नै शोकमा डुबेको स्थनीय त्रिभुवन उमाविका प्राचार्य ईश्वरी भट्टराईले बताए । उनका अनुसार पहिरोमा मृत्यु भएकामध्ये चारजना त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिए । खगेन्द्र कक्षा ६ मा, नानीराम कक्षा सातमा नैनकला कक्षा चार र आशिका कक्षा एकमा अध्ययनरत रहेको विद्यालयका प्राचार्य भट्टराईले बताए ।
प्राचार्य भट्टराईले ठूलो आवाजमा पहिरो आएको बताए । ‘राति ठूलो आवाज आयो, घर भूकम्प आएजस्तै हल्लियो, त्यसपछि निद्रा आएन, के रहेछ भनेर बाहिर निस्कँदा मानिस पहिरो गएको भनेर जम्मा भइसकेका रहछन्,’ उनले भने ।

दुई घरका १२ विस्थापित

पहिरोका कारण १२ जना विस्थापित भएका छन् । विस्थापितहरू थुकिमा इलाका स्वास्थ्य कार्यालयको भवनमा आश्रय लिएर बसेको ताप्लेजुङ रेडक्रस सोसाइटीका सभापति गणेश अधिकारीले जानकारी दिए । विस्थापित हुनेमा सन्तबहादुर लिम्बूको परिवारका ६ र अम्बर लिम्बूका परिवारका ६ जना छन् ।
यसैबीच नाल्बो गाविस–५ मा पनि पहिरो गएको छ । पहिरोले स्थानीय तुरुनध्वज नाल्बो र ठाकुरसिंह नाल्बोको घर बगाएको छ । विस्थापित उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

 
पूर्वराजाका ज्वाइँ राजबहादुर वान्टेड पीडीएफ मुद्रण इमेल

नवराज मैनाली/नयाँ पत्रिका
काठमाडौं, २२ जेठ
पूर्वराजा ज्ञानेन्द्र शाहका छोरीज्वाइँ राजबहादुर सिंहलाई प्रहरीले पक्राउपुर्जी जारी गरेको छ । क्यासिनोमा गैरकानुनी रूपमा नेपालीलाई जुवा खेलाएको आरोपमा प्रहरीले खोज्न थालेपछि उनी फरार छन् ।
सिंहले दरबारमार्गस्थित याक एन्ड यती होटल परिसरमा रोयल क्यासिनो सञ्चालन गर्दै आएका छन् । सो क्यासिनोमा जुवा खेलिरहेका नेपालीलाई प्रहरीले बारम्बार पक्राउ गर्दै आएको छ । क्यासिनोमा विदेशीलाई मात्र जुवा खेल्ने अनुमति भए पनि नेपालीलाई समेत जुवा खेलाएको आरोपमा सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउपुर्जी काटेको हो । सिंहलाई पक्राउ गर्न काठमाडौं परिसरले मातहतका अधिकारीलाई सर्कुलर पनि गरेको छ । तर, करिब एक महिनादेखि ‘वान्टेड’ राजबहादुरलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
१ वैशाखमा महानगरीय प्रहरी प्रभाग दरबारमार्गले रोयल क्यासिनोमा छापा हानी ११ नेपालीलाई पक्राउ गरेको थियो । क्यासिनोमा नेपालीलाई जुवा खेलाएको भन्दै उनीविरुद्ध प्रहरीको काठमाडौं परिसरले मुद्दा चलाएको थियो । सिंहलाई फरार प्रतिवादी बनाई काठमाडौं परिसरले जिल्ला अदालतमा जुवा ऐनअनुसार मुद्दा दायर गरेको छ । क्यासिनोमा नेपाली प्रवेश नियन्त्रण गर्न जुवा खेल्ने नेपाली मात्र नभई क्यासिनोका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताए । ‘विभिन्न क्यासिनोका सञ्चालक फरार छन्,’ उनले भने, ‘हामीले खोजी गरिरहेका छौँ ।’
जुवा ऐनमा जुवा खेल्नेभन्दा जुवा खेलाउनेलाई प्रमुख दोषी मानिएको छ । जुवा खेलाउनेलाई ६ महिनादेखि एक वर्षसम्म कैद तथा तीन सय रुपैयाँसम्म जरिवाना हुने सजाय जुवा ऐनमा उल्लेख छ ।
स्रोतका अनुसार आफू प्रहरीको वान्टेड सूचीमा रहेको थाहा पाएपछि सिंह विदेश गइसकेका छन् । उनका सहयोगीले क्यासिनो हेर्दै आएका छन् । करिब तीन वर्षअघि पनि सिंह दरबारमार्गबाट पक्राउ परेका थिए । क्यासिनोबाट निस्कने क्रममा झगडा गरेको आरोपमा काठमाडौं परिसरले एक रात थुनेर उनलाई रिहा गरेको थियो ।
करिब पाँच वर्षअघि भारतीय नागरिक राकेश बाधवासँग सिंहले क्यासिनो किनेका थिए । सुरुमा राम्रैसँग चले पनि प्रहरीले नेपाली प्रवेशमा कडाइ गर्न थालेपछि क्यासिनो संकटमा परेको थियो, त्यसपछि उनले बलराम सापकोटा र गणेश लामालाई पनि साझेदार बनाएका थिए ।
केही महिनायता प्रहरीले क्यासिनोमा नेपाली प्रवेश पूरै बन्द गराएपछि उनको क्यासिनो झन् संकटमा परेको छ । केही महिनायता कर्मचारीलाई समेत क्यासिनोले समयमा तलब दिन सकेको छैन ।

अरू क्यासिनोका सञ्चालक पनि वान्टेड

सिंहसहित राजधानीका अन्य क्यासिनोका सञ्चालकसमेत प्रहरीको वान्टेड सूचीमा छन् । अन्ना क्यासिनोका महाप्रबन्धक तप्तबहादुर विष्टलाई प्रहरीले पक्राउ गरी मुद्दा नै दायर गरिसकेको छ । भेनस तथा स्टार क्यासिनोका मालिक किशोर सिलवाल, सांग्रिला क्यासिनोका मालिक मलेसियन नागरिक आइवान लीविरुद्ध समेत काठमाडौं परिसरले पक्राउपुर्जी काटिसकेको छ । क्यासिनोबाट नेपाली पक्राउ पर्दा जुवाडेसँगै भेनस, रोयल र सांग्रिला क्यासिनोका मालिकविरुद्ध समेत मुद्दा दायर गरिएको काठमाडौं परिसरका डिएसपी रमेश बस्नेतले बताए ।
बौद्धस्थित होटल हायातमा स्टार क्यासिनोसमेत सञ्चालन गर्दै आएका सिलवालविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धले समेत प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । बौद्ध वृत्तका प्रमुख डिएसपी मनोज केसीका अनुसार तीनजना नेपाली जुवाडे क्यासिनोमा भेटिएपछि सञ्चालक सिलवाल र सिइओ प्रसन्नमान श्रेष्ठलाई फरार प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।
राजधानीमा सञ्चालित आठ क्यासिनोमध्ये एभरेस्ट र सोल्टी होटलस्थित मोजाङमा भने नेपाली पक्राउ परेका छैनन् । होटल र्‍याडिसनको क्यासिनो र्‍याड भने कर्मचारीसँगको विवादका कारण अहिले बन्द छ ।

 
अख्तियारले माग्यो त्रिशूलीको फाइल पीडीएफ मुद्रण इमेल

सागर पण्डित/नयाँ पत्रिका
काठमाडांै, २२ जेठ
काम ढिला गरेको ठेकेदारको मागअनुसार म्याद र क्षमता थपिदिएर देशलाई करिब १५ अर्ब घाटा लगाउने विद्युत् प्राधिकरणको निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । गम्भीर आर्थिक अपराध भएको भन्दै प्राधिकरणका कर्मचारी, पूर्वऊर्जामन्त्री र विज्ञहरूले आपत्ति जनाएपछि अख्तियारले बुधबार निर्णय प्रक्रियाको फाइल तान्ने निर्णय गरेको हो ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना निर्माणाधीन रहेकै वेला ९० मेगावाटमा पुर्‍याउने, ठेकेदारले मागेजति रकम दिने र आयोजना तीन वर्ष ढिला गराउने निर्णयले प्राधिकरणलाई करिब १५ अर्ब घाटा हुने भएको छ । विवाद चर्किएपछि अख्तियारले बुधबार प्राधिकरणलाई पत्र काटेर आयोजनाको क्षमता बढाउन गरिएको निर्णयका सम्पूर्ण फाइल मागेको हो ।
अख्तियारका आयुक्त केशव बरालले माथिल्लो त्रिशूली–३ ‘ए’को क्षमता बढाउने विषयमा सार्वजनिक रूपमै धेरै चर्चा भएकाले फाइल मगाउने निर्णय गरिएको जानकारी दिए । आयुक्त बरालले प्राधिकरणले गरेको निर्णयका सम्बन्धमा अख्तियारले गम्भीर छानबिन थालेको बताए । ‘सबै फाइल मगाएका छौँ, गम्भीर अध्ययन–अनुसन्धान गरी आवश्यक निर्णयमा पुग्छौँ,’ उनले भने, ‘सो निर्णयका सम्बन्धमा पत्रपत्रिकामा आएका विभिन्न सूचना तथा जनचासोलाई ध्यान दिएर छानबिन थालिएको हो ।’
आयुक्त बरालले पहिला ६० मेगावाटको अनुमति दिँदा र पछि क्षमता विस्तार गरी ९० मेगावाटको बनाउने निर्णय गर्दा हुने हानि–नोक्सानी तथा असरबारे तुलनात्मक अध्ययन गरिने जानकारी दिए । ‘हामी पहिलेका र अहिलेका सबै निर्णय एक–एक गरी केलाएर अध्ययन गर्छौँ,’ उनले भने ।
ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष उमाकान्त झाको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले क्षमता बढाउने निर्णय गरेको थियो । तर, सञ्चालक समितिका सदस्यसमेत रहेका अर्थसचिव शान्तराज सुवेदी भने बैठकमा उपस्थित थिएनन् ।
यसअघि गठन भएका विभिन्न समितिले क्षमता बढाउँदा कानुनी जटिलता आउने र निर्माण ढिला हुने उल्लेख गर्दै क्षमता बढाउन नहुने सुझाब प्राधिकरण व्यवस्थापनलाई दिएका थिए । तर, ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) र त्यसको स्थानीय एजेन्टको दबाब र कमिसनको लोभमा क्षमता बढाइएको स्रोतको दाबी छ ।
ठेक्का टेन्डर आह्वान गर्दा प्राधिकरणले आयोजना निर्माणमा ६०, ९० र १२० मेगावाट निर्माणको प्रस्ताव माग गरेको थियो । सबैभन्दा कम रकमको प्रस्ताव पेस गरेको गेजुवाले ६० मेगावाटको आयोजना बनाउँदा आठ करोड ९१ लाख ८० हजार डलरमा बनाउने कबुल गरेको थियो ।
प्राधिकरणले ६० मेगावाटको प्रस्ताव स्वीकार गरेर गेजुवालाई निर्माण ठेक्का दिएको थियो । तर, ठेक्का सम्झौता कार्यान्वयनमा नआउँदै गेजुवाले क्षमता बढाउन प्राधिकरणलाई दबाब दिन थालेको थियो । यसबीचमा उसले हरेक सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्वलाई प्रभावित गरी क्षमता बढाउन तीव्र दबाब दिँदै आएको थियो ।

 
भारतीय डनलाई गुपचुप सुपुर्दगी पीडीएफ मुद्रण इमेल

सुनील गाउँले/नयाँ पत्रिका
सिमरा, २२ जेठ
गत १५ जेठमा काठमाडौंमा पक्राउ परेका भारतीय डन बब्लु दुबेलाई प्रहरीले गैरकानुनी रूपमा सुपुर्दगी गरेको छ । भारतमा आधा दर्जनभन्दा बढी हत्या, दर्जनौँ धम्की र असुलीमा संलग्न दुबेलाई पक्राउ गर्दा पत्रकार सम्मेलन गरेरै ठूलो सफलताका रूपमा प्रस्तुत गरेको प्रहरीले गुपचुप रूपमै सुपुर्दगी गरेको हो ।
पक्राउ परेका व्यक्ति अर्को देशलाई हस्तान्तरण गर्न दुई देशबीच सुपुर्दगी सन्धि हुनुपर्छ । तर, नेपाल र भारतबीच यो सन्धि नभएकाले दुबेको सुपुर्दगी पनि अवैध भएको छ ।
भारतीय मोस्टवान्टेडको सूचीमा रहेका दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले आठ हजार धरौटीमा रिहा गरेको हो । रिहा गरेपछि भारत बिहार राज्य मोतिहारी जिल्लाका एसपी विनय सिंह नेतृत्वको टोली आएर दुबेलाई लिएर गएको एक प्रहरी अधिकृतले बताएका छन् । तर, भारतीय प्रहरीले भने दुबे आफ्नो नियन्त्रणमा रहेको स्विकारेको छैन ।
नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले नेपालमा कुनै पनि आपराधिक घटनामा दुबेको संलग्नता नदेखिएकाले जिल्ला प्रशासन कार्यालय बाराले आठ हजार धरौटी बुझेर रिहा गरेको जानकारी दिए ।
काठमाडौंको सीतापाइलाबाट पक्राउ गरेपछि वीरगन्जमा पत्रकार सम्मेलनमार्फत दुबेलाई सार्वजनिक गर्दै एसएसपी खनालले उनी नेपाल र भारतको सीमा क्षेत्रमा रहेका उद्योगपति, व्यापारी, सरकारी कर्मचारी तथा भारतका राज्यसभा सदस्यसमेतलाई फोनबाट धम्की दिँदै रकम उठाउँदै आएको बताएका थिए ।
काठमाडौंलाई केन्द्र बनाई ‘बिहार पिपुल्स लिबरेसन आर्मी’ नामक आपराधिक संगठन सञ्चालन गरी नेपालमा समेत आतंक मच्चाउँदै आएका दुबेलाई विशेष सुराकीका आधारमा वीरगन्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
नेपालमा हुने गरेका आपराधिक क्रियाकलापमा दुबेको संलग्नता नदेखिएको भन्ने एसएसपी खनालको अभिव्यक्तिले वीरगन्जका व्यापारी सशंकित र आतंकित भएका छन् । ‘बब्लुको रिहाइले हामीलाई प्रहरीको विश्वसनीयताप्रति आशंकित र त्रसित बनाएको छ,’ वीरगन्जका एक व्यापारीले भने ।
सीतापाइलास्थित एक हाउजिङबाट पक्राउ गरी ल्याइएका मिथिलेश दुबे भनिने बब्लुलाई एसएसपी खनालले जिल्ला प्रहरी कार्यालय बारामा सार्वजनिक मुद्दा लगाएर राख्न लगाएका थिए । बाराका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले पनि दुबेलाई जिल्ला प्रशासन कार्यालयले आठ हजार धरौटीमा रिहा गरेको बताए ।
अञ्चल प्रहरी कार्यालय वीरगन्जले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी खनालकै सामु दुबेले हालसम्म आफ्नै हातले ६ वटा हत्या गरेको र आफूले दिएको निर्देशनमा संगठनका सदस्यले ३० वटा हत्या गरेको स्विकारेका थिए ।
आठ महिनासम्म नेपाली भूमि र नेपाली नम्बरका मोबाइल सिम प्रयोग गरी भारत बिहारका विभिन्न जिल्लामा आपराधिक गतिविधि सञ्चालन गरेका दुबेलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको र दुबेलाई उनका आफन्तले जिम्मा लिएर गएको एसएसपी खनालले दाबी गरेका छन् ।
तर, प्रहरी प्रशासनले दुबेलाई रातारात भारतीय सुरक्षाकर्मीलाई बुझाएको बारा प्रहरी स्रोतले जानकारी दिएको छ । तर, बाराका प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद ज्ञवालीले भने बब्लुको रिहाइबारे केही प्रतिक्रिया दिन चाहेनन् । ‘प्रक्रिया पुर्‍याएरै छाडिएको हो, यसमा मैले भन्नुपर्ने के छ र ?’ एसपी ज्ञवालीले भने ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL